डाक्टर बाजे

- राजकुमार बानियाँ

बिहान ९ देखि साँझ ५ बजेसम्म काठमाडौँ मेडिकल कलेज (केएमसी) परिसरमै भेटिन्छन्, डा मणीन्द्ररञ्जन बराल, ८२ । दिउँसो २ बजेसम्म चिकित्साशास्त्रका कक्षामा हुन्छन् भने त्यसपछि अस्पतालकै पेइङ क्लिनिकमा ।

बिरामी जाँचिरहेका हंसमुख डाक्टरको हातेझोलामा चकलेट कहिल्यै टुट्दैन । टाइफाइड भएर आएका बालबालिकालाई उनी सोधिहाल्छन्, ‘तिमीले पानीपुरी खाएका थियौ ?’ बिरामीले मुख मिठ्याउँदै त्यसको जनाउ दिने नै भए । उनी महानगरपितालाई सम्झिन्छन्, ‘कमसेकम कुनामा बसेर पानीपुरी बेच्नेलाई रोकिदेऊ ।’

डाक्टर नेभर रिटायर्ड । डा बरालसँगै जनरल फिजिसियन डम्बरबहादुर कार्की, ८३, स्त्रीरोग विशेषज्ञ सरस्वती पाध्ये पनि केएमसी परिसरमै उमेरको हदबन्दी नाघेर प्राध्यापन र प्राक्टिस एकसाथ गरिरहेकै छन् । सेवारत बालरोग विशेषज्ञमा सबैभन्दा जेठा डा बराल नै हुन् ।

नेपाली मेडिकल इतिहासमा डा महेन्द्र प्रसाद पहिलो बालविशेषज्ञ मानिन्छन् तर बिनाडिग्रीधारी । राणाकालमै उनी बाल विशेषज्ञता लागि बेलायत  गए पनि कोर्स नसकी फर्किए । तर, राणाले ‘अफिसियल्ली’ तँ बालविशेषज्ञ भइस् भनेपछि कसको के लाग्छ ? पढेर आउने पहिलो बालविशेषज्ञ भने पुष्पलाल राजभण्डारी हुन् । योगेन्द्रभक्त श्रेष्ठ, बद्रीराज पाण्डे, हेमांगमणि दीक्षितपछि डा बरालकै नाम अग्रपंक्तिमा आउँछ ।

डा बरालले काठमाडौँमा झिटीगुन्टा सारेको दशकौँ भइसक्यो तर ‘मेरो प्यारो बस्तीपुर’ फलाक्न छाडेका छैनन् । पहाडबाट बसाइँ सर्दै आएको मुख्यत: दुई परिवारको थातथलो हो, बस्तीपुर (सिराहा) । पुरोहित बराल परिवार अनि जजमान गिरी परिवार । बरालहरू विद्याव्यसनमा थिए भने गिरीहरू राजनीति र व्यापारमा ।

नामुद पण्डित देवरञ्जन र विदुषी आमा भुवनेश्वरीका साइँला छोरा मणीन्द्रको न्वारानको नाम रहेछ, ङमणीन्द्ररञ्जन । तर, उनको बोलाउने नाम भने अद्यापि शम्भुदाइ/शम्भुभाइ नै हो ।

गाउँमा उनलाई संस्कृत पढाउन सीमापारिबाट पण्डित झिकाइएको थियो । बस्तीपुरमै हाइस्कुल खुलेपछि भने उनी एकैचोटि ५ कक्षामा भर्ना भए । कोचिङ–ट्युसनको प्रतापले दोस्रो वर्ष कक्षा ७ मा ‘डबल प्रमोसन’ पाए ।

ईश्वर बराल दार्जिलिङको सरकारी कलेजमा शिक्षक भएकाले तेस्रो वर्ष टर्नबुल हाइस्कुलमा कक्षा ८ का विद्यार्थी भए । चण्डीपाठ गर्ने टुप्पीवाल बाहुन चरीले बाइबलको पाठ घोक्नुपर्‍यो । संस्कृत शिक्षक हरिप्रसाद भन्थे रे, ‘हेर केटा हो, म नआएको दिन बरालले क्लास लिन्छ है ।’

टर्नबुलमा उनका सहपाठीका रूपमा भेटिए, अम्बर गुरुङ । अम्बरले बरालसित संस्कृत सिक्न चाहे, बरालले अम्बरसित संगीत । अम्बर एन्ड मणीन्द्र एसोसिएसन खुब जम्यो । मणीन्द्र तबला बजाउँथे, अम्बर हार्मोनियम समातेर गाउँथे ।

बस्तीपुर, दार्जिलिङ र तानसेन नगरी ग्वालियरले बराललाई संगीतका सोखिन बनाइदिए । तबला, हार्मोनियम, सन्तुर, जाइलोफोनलगायत सात बाजालाई उनी सजिलै नचाउन सक्छन् ।

राजनीतिज्ञ प्रदीप गिरिको सम्झनामा हरेक पटक गाउँ जाँदा नाटक खेलाउँथे बराल । चार्ली च्याप्लिनजस्ता जम्बुरे हुन्थे हरेराम आचार्य र ओस्ताद बराल आफैँ । तर, आफूलाई कुनै भूमिका नपत्याएको गुनासो गर्छन् अझै पनि गिरि ।

कक्षा सुरु भएको चार महिनापछि दार्जिलिङ पसेका बराल प्रथम भए । तर, अर्को वर्ष मदनमोहन मालवीयको हिन्दु स्कुल बनारसतिर रवाना भए । बीचमा त्रिचन्द्र कलेजमा आईएस्सी पढे पनि पढाइ अधूरै छाडेर काशी विश्वविद्यालय पुगे । त्यहीँबाट मध्यप्रदेशको ग्वालियरस्थित गजराज (जीआर) मेडिकल कलेजमा एमबीबीएसका लागि छानिए ।

०१८ मा उनको पहिलो पदस्थापन भयो, सदर जेल अस्पतालमा । जहाँ बेलायती रानी एलिजावेथ द्वितीयलाई कालो झन्डा देखाएको अभियोगमा उनकै बहिनी विजया शर्मा थुनिएकी थिइन् । जनना जेलमा मंगलादेवी सिंह, शैलजा आचार्य, गौरी राणा, कुन्दन शर्मा पनि थिए ।

जेलमा दुई वर्ष बिताएपछि वीर आए, डा बराल । त्यहीबाट ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा बालरोग विषयमा उच्च अध्ययनार्थ बेलायत जाने साइत जुर्‍यो । त्यसमा हात थियो गृहराज्यमन्त्री दिलबहादुर श्रेष्ठको । “त्यतिबेला डाक्टर नै कम भएकाले ढिलोचाँडो पालो त आउँथ्यो,” उनी हाँस्छन्, “तर गोरखापत्रमा छात्रवृत्तिको विज्ञापन हुँदा पनि डा बरालका लागि आएको भनेर कसैले दरखास्त हालेनन् ।”

०१९ को एउटा घटना छ । राती पेट दुखेर छटपटाएका गृहराज्यमन्त्री श्रेष्ठले कोही डाक्टर फेला पारेनन् । मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीले वीरका मेडिकल सुपरिटेन्डेन्ट डा महेन्द्र प्रसादलाई खबर गरेछन् । सुपरिटेन्डेन्टले डा बराललाई गुहारेछन् ।

मन्त्रीको हालत देख्नेबित्तिकै डा बरालले सुई झिके । ‘जनी गरेर मलाई सुई नदिनुस्,’ बालहठ लिए मन्त्रीले । खाने औषधीले छुँदैन भन्दा पनि उनले मानेनन् । र, जुकाशूलका लागि बिटर पिल्स दिएर फर्किए । भोलिपल्टै अस्पतालमा गाडी हाजिर भयो । मन्त्रीजीले धन्यवाद दिन पो बोलाएका रहेछन् ।

“दिसा जाँच गर्दा जुकाको अन्डा भेटियो भने त्यसलाई आँखा चिम्लेर नेपाली नागरिकता दिए हुन्छ,” डा बराल जुका महात्म्य सुनाउँछन्, “यहाँ रेलसेलका कुरा हुन्छन्, पानीको कुरा कसले सुन्ने ?”

डा बरालले डाक्टरी थाल्दा बच्चा लिएर कोही महिला आए भने जँचाउन आएको हो भने सोधीखोजी गर्नुपथ्र्यो । अहिले सरकारी अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, क्लिनिक जताततै बिरामीको घुइँचो छ । कहिलेकाहीँ उनलाई लाग्छ, कतै काठमाडौँ नै बिरामी त होइन ?

सरकारी अस्पतालमा ड्युटी सकिएपछि उनी जनसम्पर्कका निम्ति औषधी पसलमा नि:शुल्क उपचारमा संलग्न हुन्थे । वीरमा हुँदा जनसाधारणका छोराछोरी सेवाग्राही हुन्थे भने कान्ति बाल अस्पतालमा गएपछि भीआईपीका छोराछोरी ।

एक जमाना उनको परिचय थियो, मारवाडी डाक्टर । काठमाडौँका ९० प्रतिशत मारवाडी घरपरिवारका चिकित्सक उनै भए । “गणबहालको (रामलाल) गोल्छा परिवारले मलाई पाँचपुस्ते डाक्टर बनायो, चारपुस्ते बनाउने थुप्रै छन्,” उनी भन्छन्, “पछि त बुहारी पनि मारवाडी नै भित्र्याएँ ।”

महान्  फिल्मको सुटिङका लागि एभरेस्ट होटलमा बसेका अमिताभ बच्चनसित भेटे मारवाडी विनय साहूमार्फत । अमिताभले भनेछन्, ‘बम्बई आए तो हम से जरुर मिलिएगा डाक्टर साहेब ।’ उनले ठट्टा गरेछन्, ‘जरुर । लेकिन क्या आपका गार्ड हमें गेट से अन्दर घुसने देगा ?’ ‘क्यों नहीं ? हमारा गार्ड नेपाली है । नेपाली मे बात करना । हम उनके दोस्त है बोलना ।’ अमिताभले भनेछन् ।

डा बराल घरीघरी पहिलो नेपाली डाक्टर सिद्धिमणि आचार्य दीक्षितका प्रसंग उप्काइरहन्छन् । रातबिरात खबर आउने । बिरामी कस्तो भयो होला भनेर निद्रा नलाग्ने । यस्तो हैरानीका कारण आफ्ना छोरालाई डाक्टर पढाउँदिनँ भनेका थिए उनले । तर, कान्छा छोरा हेमांगमणिलाई डाक्टरी पढ्न बेलायत नपठाई धर पाएनन् ।

पछि गएर हेमांग पनि दरबारकै डाक्टर भए । उनको अनुपस्थितिमा दरबारका वैकल्पिक डाक्टर थिए, डा बराल । एकपटक अधिराजकुमारी श्रुतिको स्वास्थ्य परीक्षणका लागि दरबारबाट जिप पठाइएछ । उनी टोपी लगाएर कुदिहाले । शृंगारबिनाकी ऐश्वर्य रानीजस्तै लागेन उनलाई । “शान्ति सिंहका बच्चालाई रोगको चुइँसम्म हुनु हुँदैनथ्यो, डाक्टर हावाको वेगसरह दाखिला हुनुपर्ने,” उनी सम्झिन्छन्, “शोभा शाहीका जुम्ल्याहा बच्चालाई २१ वर्षसम्म मैले नै हेरेँ ।”

एक राजकुमारीका बाल सदस्यलाई २४ घन्टाभित्र झाडापखाला छुमन्तर पारी निको पार्न नसक्दा हप्की पनि खाएछन् उनले । धन्य डा बराल, दरबारको तरबारबाट जोगिए ।

डाक्टरी पेसाकै कारण राष्ट्रिय पञ्चायत सदस्य गुन्जेश्वरीप्रसाद सिंहलाई स्वास्थ्यमन्त्री बन्दैछन् भनेर अग्रिम बधाइ दिन पाएका थिए उनले । भारतीय राजदूत केभी राजनका नाति दमका बिरामी भएकाले उनी बरोबर लैनचौरस्थित दूतावासमा गइरहन्थे । गोप्य बैठकबाट निस्केका राजदूतले भनेछन्, ‘नयाँ मन्त्रिमण्डलमा गुन्जेश्वरी तिमीहरूको स्वास्थ्यमन्त्री हुँदैछन् । तिमीले आजै गएर बधाइ दिनू । उनी छक्क पर्नेछन् ।’

नभन्दै डा बरालले टेलिफोनमा खबर सुनाइदिए । ‘कस्तो फट्याइँ कुरा गरेको ? स्वास्थ्य त म खाँदै खान्नँ, उद्योग–वाणिज्य भए दोस्रो कुरा ।’ हुनेवाला मन्त्री जंगिएछन् । नभन्दै भोलिपल्ट रेडियो नेपालले त्यही समाचार फुक्यो । डा बराल उनका अघोषित सल्लाहकार भए । सरुवा–बढुवाका आकांक्षीले निकै दु:ख दिए । “बजेट र पूर्वाधार नहुँदा पहिले स्वास्थ्यमन्त्री बन भन्दा भागाभाग हुन्थ्यो,” उनी व्यंग्य गर्छन्, “अहिलेका स्वास्थ्यमन्त्री उपेन्द्र यादव परराष्ट्रमन्त्री हुँदा भन्दा बढी विदेश घुमिरहेका छन् ।”

त्यसबेला वीर अस्पताल, अमेरिकीले चलाएको शान्त भवन (पाटन अस्पताल) र रसियन अस्पताल थिए । रसियनले ०२६ मा सरकारलाई नै जिम्मा दियो र त्यो कान्ति बाल अस्पताल बन्यो । १० शय्याको बालरोग विभागमा ६ जना विशेषज्ञ थिए वीरमा, रसियन अस्पताल भनिने कान्ति बाल अस्पतालचाहिँ विशेषज्ञविहीन । कान्ति अस्पतालका लागि छुट्याइएको ११ लाखमध्ये ८ लाख त तलबभत्तामै स्वाहा हुन्थ्यो । वरिष्ठतम चिकित्सक योगेन्द्रभक्त श्रेष्ठले अस्पताल प्रमुख हुन नमानेपछि डा बरालले त्यो जिम्मेवारी सकारे ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलको नाडी छाम्ने डाक्टर पनि बराल नै थिए । उनको अनुरोधमा तत्काल एक करोड रुपैयाँ बजेट छुट्टियो । त्यही बेला नेपालका हितैषी जापानी सांसद (पछि प्रधानमन्त्री) रियोतारो हासिमोतो काठमाडौँ आएका थिए । उनले अस्पताल विकास समिति अध्यक्ष रहेका याक एन्ड यती होटलका सञ्चालक रामशंकर श्रेष्ठसहित हासिमोतोसित भेटेर कान्ति बाल अस्पताललाई सहयोगको आग्रह गरे । हासिमोतो कान्तिको कन्तबिजोग देखेर रुन मात्र सकेनन् । अर्को वर्ष सांसद कोषको रकम दिएर नवजात शिशुको उपचार गर्ने ठाउँ बनाइदिए ।

त्यही बेला ३० वर्षे सेवा अवधि वा ५८ वर्ष उमेर हदबन्दीका आधारमा अनिवार्य अवकाश दिने नीतिको चपेटामा परे डा बराल । उनी ५५ वर्ष मात्र टेकेका थिए । गिरिजाप्रसाद कोइरालाको ठाडो आदेशमा उनको पद दुई वर्ष थमौती भयो ।

तिनताका कान्ति बाल अस्पताल प्रमुख र नेपाल मेडिकल काउन्सिल अध्यक्षको दोहोरो जिम्मेवारीमा थिए, डा बराल । हासिमोतोकै कारण जापानले १ अर्ब ३० करोड रुपैयाँ बराबरको भवन र उपकरण दिने भयो । तर, नेपालका निर्माण कम्पनीलाई नपत्याएर झ्यालढोका पनि उतैबाट आए ।

त्यसको टेन्डर प्रक्रियाका निम्ति जापानको टोकियो उडिरहेकै बेला स्वास्थ्य राज्यमन्त्री डा रामवरण यादवले उनलाई सेवाबाट अवकाश मात्र दिएनन्, काउन्सिलको अध्यक्ष पदबाट पनि बर्खास्त गरिदिए । “त्यत्रो रकमको टेन्डर पर्दा बरालले पनि केही हिस्सा पाउँछ भन्ने आशंकाले मसँगै एक जना पठाउन खोजिएको रहेछ,” उनी खोसुवाको कारण खोतल्छन्, “तर मलाई मात्रै बोलाइएकाले अरूलाई लैजान सकिएन ।”

प्रधानमन्त्रीले पुनर्बहाली गरिदेलान् भन्ने झिनो आशा रहेछ उनमा । तर, कोइरालाले भने, ‘विभागीय मन्त्रीले गरेको निर्णय उल्टाउन सक्दिनँ ।’ डा बरालले बडो अपमानबोध गरे । वरिष्ठ अधिवक्ता गणेशराज शर्माले नि:शुल्क मुद्दा लडिदिए । सर्वोच्च अदालतले अन्तरिम आदेश दियो, काउन्सिलको अध्यक्षबाट हटाउन नमिल्ने । तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललगायत थुप्रैले त्यही ‘डाक्टर बराल नजीर’ को लाभ लिए/लिइरहेका छन् ।

डा हेमांगसँग मिलेर कान्ति बाल अस्पताललाई सुविधासम्पन्न बनाउन सकेकामा सन्तोष छ, डा बराललाई । “ठूलाबडा, पहुँचवाला र दरबारका केटाकेटीको उपचारमा संलग्न हुन पाएकाले राम्रो बजेट पार्न सक्यौँ,” उनी कान्तिको २४ वर्षे सेवाको समीक्षा गर्छन्, “हासिमोतोलाई पाँच मिनेटका लागि घुमाउन नलगेको भए कान्ति नबन्न पनि सक्थ्यो ।”

मेडिकल काउन्सिलको दंगलमा इन्साफ पाएर मात्रै चित्त बुझाएनन्, डा बरालले ।  ०५१ को संसदीय निर्वाचनमा गृहजिल्ला सिरहा–२ बाट स्वतन्त्र उम्मेदवार बने, घडी चिह्न लिएर । परिवार र नातागोता कांग्रेसमा भए पनि जित्ने आत्मविश्वास थियो उनमा । नि:शुल्क क्लिनिक खोलेर झन्डै पाँच हजार बालबालिका जाँचे र औषधी बाँडे । सबैले घडीमा मोहर लगाउने भनेकाले ढुक्क थिए, डा बराल । तर, मत आयो, २२ सय मात्र ।

जनवादी मोर्चाका रामराजाप्रसाद सिंह, कांग्रेसकी चित्रलेखा यादव, कांग्रेसकै बागी नथुनीसिंह दनुवार र एमालेका नरेन्द्र पोखरेल मैदानमा थिए । कांग्रेसको मत बाँडिँदा एमाले उम्मेदवारलाई चिट्ठा पर्‍यो । “म तुलसी गिरी, रामवरण यादव, शेखर र शशांक कोइरालाजस्तो राजनीतिमा सफल हुन सकिनँ,” उनी भन्छन्, “राजनीति मेरो बाटो होइन भनेर काठमाडौँ मेडिकल कलेजमा आबद्ध भएँ ।”

त्यतिबेला ‘काठमाडौँ मोबाइल कलेज’ भन्थे केएमसीलाई । कहिले जोरपाटीमा ठडियो त कहिले क्षेत्रपाटीतिर । खासमा भारतीय पार्टीले चलाउन नसकेपछि नेपाली डाक्टरले ‘टेक ओभर’ गरेका थिए केएमसीलाई ।

निजी मेडिकल कलेजका अस्पताल खुलेपछि सरकारी अस्पताललाई हाइसन्चो भएको उनको टिप्पणी छ । “हुन त, डाक्टर गोविन्द केसीले निजीलाई मेडिकल माफिया भनिरहेका छन्,” उनी भन्छन्, “निजी मेडिकल कलेजहरूले जनशक्ति उत्पादनका साथै ठूलो संख्यामा बिरामीको सेवा गरेका छन् ।”

नीति निर्माताले कुनै बेला आफू पनि बालक थिएँ भन्ने चटक्कै बिर्सिएको उनको आरोप छ । “मनमोहन अधिकारीका पालामा बाल स्वास्थ्य अध्ययन संस्थान स्थापनाका लागि मेरो नेतृत्वमा समिति गठन भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन,” उनको दु:खमनाउ छ, “भोटको अधिकार नभएकाले बाल आयोग बनेको छैन ।”

घोस्ट राइटरहरूले रातदिन पछ्याउन थालेपछि उनीभित्रको सुषुप्त लेखक ब्युँझियो । अनि, आफूले देखे–भोगेका, सुनेका अनुभवको पेटारो फुकाए, नियति  र अनुभूतिमा । स्तम्भ ‘अथ: म.र.ब. उवाच’ लेख्थे, साप्ताहिक जनज्योतिमा । एक वर्ष त त्यसको प्रकाशक पनि भए । उनले थाहा पाए, औषधी पसल र पत्रिका पसल खोल्न केही लगानी चाहिँदैन ।

हिन्दीमा कुशवाह कान्तको जगजगी देखेर घनिष्ट मित्र हेमांग दीक्षितसित मिलेर यती जेबी पुस्तक प्रालि खोले । दीर्घबाहुलाई एक दर्जन जासुसी उपन्यास लेख्न लगाए । यती परिवार डाइजेस्ट  निकाले । नेपाल पेडियाट्रिक सोसाइटी र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष रहिसकेका डा बरालले मेडिकल प्रोफेसनका थुप्रै कोर्सबुक लेखेका छन् ।

मित्र, दोस्त, साथी, मीत, लंगौटिया यारको चर्चा गर्दागर्दै पनि आफ्नो पुस्तकमा मनिला (फिलिपिन्स) को एसियन कंग्रेस अफ पेडियाट्रिक्सको सम्मेलनमा ‘ब्युटी क्विन’ इमेल्डा मार्कोससँग रातभरि नाचेको फोटो र अटोग्राफ छुटेकामा खेद रहेछ उनलाई । दोस्रो संस्करणमा त्यसलाई समेट्ने उनको विचार छ ।

हसिना र जवानीले मदमस्त कतिले एकतर्फी मायाप्रीति बसाले, आँखा जुधाए, भ्यालेन्टाइन डेमा उपहार दिए उनलाई । तर, ०१८ मा एमबीबीएस गरेपछि बिहे गरे सुस्मिता गौतमसँग । नेपाल राष्ट्र बैंकका दोस्रो गभर्नर लक्ष्मीनाथ गौतमकी माइली छोरी, विद्वच्छिरोमणि कुलचन्द्र गौतमकी नातिनीसँग । कान्छा छोरा विजयेन्द्र सिंगापुरमा बाबुको पदचिह्न पछ्याइरहेका छन् भने जेठा रवि बराल फिल्म चमेलीका निर्देशक हुन् ।

बानेश्वरको घर बेचेर मूलपानी क्रिकेट मैदाननेर दुइटा घर बनाएर बसेका छन् डा बराल । अस्पताल आउने–जाने बाटो मात्र मुस्किल हो, मूलपानीको हावापानीमा रत्तिएका छन् । पुराना डाक्टर भए पनि नयाँनयाँ कुरामा अपडेट छन् ।

उनी बिहान ४–५ बजे उठिसक्छन् । डेढ घन्टा अनलाइनमा क्लासको तयारी गर्छन् । “पहिले एक्सपिरियन्स मेडिसिन थियो, अहिले इभिडेन्स मेडिसिन,” उनी भन्छन्, “बिरामी आइरहेका छन्, कलेजले पत्याइरहेको छ ।”

फेसबुकमा पनि डुल्छन् डा बराल । कतिपय बिरामी घरमै आउँछन्, हुनेले फी पनि दिन्छन्, नहुनेले दिँदैनन् । उनी परमपिता परमात्मालाई मान्छन् । धर्म, अर्थ, काम र मोक्ष नै उनका जीवनसूत्र हुन् । उनको कटाक्ष छ, “नपढेको भए म पनि नेता बन्थेँ होला । नियतिले मलाई डाक्टर बनायो ।”

‘भगवानको कृपाले’ डा बरालको गाथमा कुनै रोग छैन । जीउले साथ दिएसम्म सेवा गरिरहने अदम्य अठोट छ । केएमसीमा वार्ड माथिल्लो तलामा छ, पेइङ क्लिनिक भुइँ तलामा । दिनहुँ चार–पाँचचोटि अस्पतालको भर्‍याङ चढ्नु र ओर्लिनु नै उनको मर्निङ वाक हो ।

जानाजान दु:खी नबनाएकाले शत्रु कम, मित्र धेरै बनाएजस्तो लागिरहन्छ उनलाई । ५७ वर्षसम्म पचासौँ हजार बिरामीको उपचार गरिसकेका यी डाक्टरको चाहना छ, “अन्तिम समयमा पनि बालबालिकाको नाडी हेर्न सकूँ ।”

प्रकाशित: कार्तिक २९, २०७५