चालीस वर्षपछि युधीर थापा

- रोशन शेरचन

अकस्मात विचार आयो, अहिलेको समयमा युधीर थापाका उपन्यासहरुको पुनर्पठन गर्ने हो भने त्यसले कस्तो प्रभाव उत्पन्न गर्ला ? स्कुले जीवनमा उनका उपन्यासहरुले वशमा पारेको प्रगाढ सम्झना छ । अनुमान गर्छु, त्यस तहको प्रभाव अब पक्कै उत्पन्न नहोला । तर, कस्तो अनुभव होला ? उनका उपन्यासमा के त्यस्ता तत्त्व छन्, जसले किशोर मनलाई लट्ठै पार्छ ? पुन: पढ्छु र पर्गेल्छु भन्ने ठानेँ । विसं २०३५ को गन्तीले ४० वर्ष नै हुन आउँछ । उमेर पनि १२–१३ को थियो । कौतूहलाको पाइन चढेको ।

जगजाहेर नै छ, गम्भीर पाठकहरुबीच युधीर थापा कमजोर, सतही र निम्न कोटिका लेखकमा पर्छन् । तर, आश्चर्यको कुरो– अहिलेका कैयन् स्थापित लेखक युधीर थापाकै उपन्यासहरु पढेर, प्रभावित भई हुर्केका हुन् । अन्तर्वार्ताहरू पढ्दा थाहा लाग्छ । त्यस अर्थमा, उनी औपन्यासिक विम्ब नै हुन् । खास उमेर समूहको पाठकका निम्ति उनी अत्यन्त लोकप्रिय उपन्यासकार थिए ।

पढ्न बाँकी आठ–दस पुस्तक यतिखेर र्‍याकमा छन् । अधिकांश विमोचन कार्यक्रममा किनेका, लेखक हस्ताक्षरसहित । तर, युधीर थापाकै पुस्तकहरुबाट पठन थाल्नुपर्छ भन्ने लाग्यो । प्रदर्शनीमार्गस्थित फिनिक्स बुक स्टोरमा थापाको उपन्यासबारे खोजीनीति गरेँ । संयोगवश केही उपन्यास रहेछन् । स्कुले जीवनमा अत्यधिक प्रभाव पारेको र नाम नबिर्सेको दुई उपन्यास सिंगमरमरको ढुंगा  र हुरीको लहर  किनेँ ।

अहिलेको कलेवरको तुलनामा झुत्रो लाग्ने, ख्याउते र भद्दा स्केच भएको उपन्यास हातमा लिँदा पनि अप्ठ्यारो लाग्यो । कसैले देख्ने पो हो कि ? खैर, कसैले देखेन । मोल २५ रुपैयाँ रहेछ । सिंगमरमरको ढुंगा  रत्न पुस्तक भण्डार, भोटाहिटीबाट प्रकाशित रहेछ । विसं २०४६ मा । हुरीको लहर  भने त्रिमूर्ति प्रकाशन वाराणसीबाट प्रकाशित रहेछ ।

उपन्यास झोलामा लिएर फर्कंदा समयको बर्बादी हो कि जस्तो लाग्यो । नोस्टाल्जियाको मन्द विषमा नपरुँ भन्ने लाग्यो । त्यसको सट्टामा बजारमा भर्खर आएका नयाँ आख्यान पढ्न सकिन्थ्यो । तर, मलाई आफ्नो पठनको रुचिमा परिवर्तन आएको छ कि ? छ भन्ने कस्तो परिवर्तन थाहा पाउन मन लाग्यो । विगतमा परेको गहिरो प्रभावमा उमेरको भूमिका ठूलो छ वा पुस्तककै गुणवत्ताको ? परख गर्ने मन भयो । के कारणले उनका उपन्यासले उबेला उधुमै मच्चाएका रहेछन् ? विश्लेषण गर्न मन लाग्यो ।

कम्तीमा पनि आठ वटा उपन्यास पढेछु– सिंगमरमरको ढुंगा, हुरीको लहर, एक फूल धेरै काँडा, कक्टेल्स, फेरि कहिले भेट होला, एक मुटु अनेक ढुकढुकी, यहाँ यस्ता यस्तै हुन्छ, सिस्टर कल्पना, रातो दरबार, लुकेको समाजहुरीको लहरको ब्याक कभरमा सूची हेर्दा थाहा भयो । केही नाम सम्झन नसकेको पनि हुन सक्छ ।

दसैँ २०७५ को छेकोमा हुरीको लहर  दुई अढाई घन्टामै सकियो । कथानक यस्तो छ– मदन नामको एक जना धनी युवक छ । त्यस्तै, अर्की सुन्दरी नलिनी छिन् । नलिनी महात्त्वाकांक्षी छिन् । नीलिमाकी दिदी छन्, रोशनी । सादा शील स्वभावकी । उपन्यासकारकै शब्दमा, दुई दिदीबहिनीबीच आकाश–जमिनको भिन्नता । मदनको जीवन दर्शन छ, दुई दिनको जिन्दगीमा मोज गर । आर्थिक स्तर समृद्ध छ । गाडी छ, बंगला छ, अफिस छ । विलासिताका निम्ति सम्पूर्ण बन्दोबस्तीका सामान छ । जीवन त्यही लिकमा चलेको छ, अनवरत ।

यौवन, यौन, मादकता, प्रपञ्च, प्रेम र लज्जा रोमाञ्चक यात्राका मोड भएका छन् । पात्रहरु सीमित छन् । पात्रहरुको आर्थिक सामाजिक पृष्ठभूमिको लेस पनि छैन । सोझो वर्णन छ । तत्कालीन राजनीतिक व्यवस्थाको संकेत छैन । केही हिन्दी पदावलीहरुको प्रयोग छ । भाषा सरल छ । अधिकांश पात्रको अतिशय भावुक संवादबाट थाहा लाग्छ– रोमान्टिसिज्म छ्यालब्याल छ । संवादप्रधान छ उपन्यास । डेपिक्सन, परिवेशको दृश्यांकन छैन ।

सिंगमरमरको ढुंगा  बेड टी समातेरै सक्काएँ, एक डेढ घन्टामै । यसमा कथानकको थोरै फैलावट छ । अशोक शर्मा नामको लेखक मुख्य पात्र छ । मदनजस्तै धनी बाउको छोरा पनि छ । नाम प्रकाश । अशोकको साथी । थापाकै शब्दमा, प्रकाश र अशोकमा आकाश जमिनको अन्तर छ । प्रकाश सधैँ आकर्षक युवतीहरु बाहुपासमा पार्ने योजना बुनिरहन्छ ।

अर्कातिर, अशोक गरिब र आदर्शको भारी बोकेका युवक छ । मूलघर डोटी । संर्घषरत उपन्यासकार । तर, कृष्ण पुस्तक भण्डार प्रकाशनले कम रोयल्टी दिएर उनको आर्थिक शोषण गरिरहन्छ । गरिब भएकैले अशोक सम्झौता गर्न बाध्य छ । निजी प्रकाशनगृहले संघर्षरत लेखकहरुलाई आर्थिक शोषण गरेको कथानकले भने उपन्यासकारलाई थोरै भए पनि सामाजिक सरोकारको नजिक पुर्‍याएको छ, जसबाट अहिलेको समय पनि मुक्त हुन सकेको छैन ।

एउटा उपन्यासको लेखनको तयारीमा गोदावरीको बसाइमा बाख्रा चराउँदै गरेको पार्वती नामक ग्रामीण युवतीसँग अशोकको भेट हुन्छ । दोहोरो कुराकानी हुन्छ । र, एक आपसलाई मन पराउँछन् । अशोककै शब्दमा, स्वच्छ, निर्दोष र कपटरहित गाउँले केटीको प्रेममा उनी पर्छन् । दुवैले सँगै बाँच्ने, सँगै रहने बाचा गर्छन् । एक दिन अशोकको प्रतिभा पहिचान गरेर चन्दन नाम गरेको भारतीय प्रकाशकले उनलाई भारतको विभिन्न स्थान घुमाउँछ र उपन्यास लेख्न आर्थिक हिसाबले सघाउँछ । तर, अशोकले नेपालकै भावभूमिमा उपन्यास लेख्ने अठोट गर्छ । चन्दन थप प्रभावित हुन्छ । शीर्षक बेपत्ताको छ, संसारको सबभन्दा अग्लो ठाउँ । उपन्यास अत्यन्त लोकप्रिय हुन्छ । लोभलाग्दो सफलतासहित छ–सात हजार रोयल्टी बोकेर अशोक नेपाल फर्कन्छ । व्यग्र हुँदै गोदावरी पुग्दा कालो ज्वरोले पार्वतीको मृत्यु भएको थाहा पाउँछ । संसारै खसेजस्तो अशोकलाई रित्तो अनुभव गरेको देखाउँदै वियोगान्तमा उपन्यास सकिन्छ ।

दुवै उपन्यासलाई कुन औपन्यासिक विम्बले न्यायपूर्ण प्रतिनिधित्व गर्ला ? आफैँलाई प्रश्न गरेँ । धेरै सोचेपछि जवाफ पाएँ । मादकता । युवती पात्रहरुको वर्णनमा उपन्यासकारले मिहिनेत गरेका छन् । पर्याप्त आकर्षक, गुलाबी बनाएका छन् वर्णन । पृष्ठपृष्ठलाई शृंगार रसमा चोपलेका छन् ।

समाज टाढाटाढासम्म पनि देखिँदैन । पात्रहरु समाजमा होइन, हावामा अडिएजस्तो लाग्छ । केही पात्रहरुको चरित्र र स्वभावमा विपर्यास देखाइएको छ । कोही आदर्शको भारीले किचिएको, कोही फुक्काफाल भएर हिँडेको । कोही धनी, कोही गरिब । कोही भावुक, कोही माहिर । विपरीत स्वभावका पात्रहरु फेरि घनिष्ट साथी छन् । कथानकले अघि बढ्न कैयौँ पटक संयोगको सहारा लिएको छ । मादकता र यौवन किशोरलाई उमेरजन्य कारणले मनपर्ने विषय नै हो । थप, विपर्यासले किशोर मनलाई भावुक र द्रवित बनाएको छ । मादकता र विपर्यासको गज्जबको ककटेल्स । सरल भाषाशैली बुझ्न बल गर्नु नपर्ने । डिटेलिङमा नअल्झेको संवादप्रधान शैली उसै रसिलो । उनी किशोर मनोविज्ञानलाई नजिकबाट बुझ्न सक्ने लेखक रहेछन् ।

झिनो सम्झना छ । सिंगमरमरको ढुंगा  पढ्दा म टिलपिल टिलपिल भएको थिएँ । समयको खातमा कथानक बिर्सिसकेको थिएँ । सम्झेको थिएँ त, त्यसले सम्मोहित पारेको अवस्था र सिंगमरमरको ढुंगा  मसिनो प्रसंग । ४० वर्षपछि पढ्दा थाहा भयो, द्रवित पारेको अन्तिम परिच्छेदमा रहेछ । लामो संघर्षपछि स्थापित भएको उपन्यासकार अशोक नेपाल फर्कन्छ । र, सरासर पार्वतीलाई भेट्न गोदावरी आउँछ । थला परेकी पार्वतीको बूढी आमाबाट पार्वती कालो ज्वरोले मरेको सुन्छ । अशोकलाई सिंगमरमरको ढुंगा  दिँदै बूढी आमै भन्छिन्, ‘आखिरी समयसम्म पनि पार्वतीले हजुरकै नाम लिइराखेकी थिई । पार्वती ज्वरोमा बर्बराउँदा पनि हजुरकै नाम मात्र बर्बराइरहन्थी । आखिरी समयमा केही नलागी पार्वतीले हजुर आउनुभयो भने त्यो सेतो ढुंगा दिनु भनेर आखिरी सास फेरेकी थिई ।’ यिनै अतिशय भावुक हरफहरुले मेरो किशोर मन पगालेको हुनुपर्छ ।

 स्मृतिले विगतका प्रभावहरु सोहोरेर ल्यायो । तर, पठनमा कुनै प्रभाव पाइनँ । उबेला अनुभूतिको सघनताले झ्वाम्म छोपेजस्तो उपन्यास यो पटक फिका अनुभव भयो । समाजसँग बिच्छेद भएको रुमानी कथाभन्दा बढी लागेन । निश्चित फम्र्याटमा बुनिएको उपन्यास पढ्दा बरु हाँसो उठ्यो । त्यतिबेला रुवाउने उपन्यासले किन हँसायो ? अचम्ममा परेँ ।

समय फेरिँदो छ । राजतन्त्रबाट प्रजातन्त्र हुँदै देश संघीय गणतन्त्रमा गइसक्यो । उथलपुथल गर्दै सशस्त्र संघर्ष भयो । सूचना प्रविधिको विशाल संसार कोठाभित्र छिर्‍यो । सामाजिक सञ्जाल विश्वव्यापी बन्यो । तर, सायद मान्छेका आदिम वृत्तिहरु मूलभूत रुपमा उस्तै छन् ।

यस्तो समय, युधीर थापाहरु नयाँ अवतारमा देखिएका छन्, नयाँ सन्दर्भ, नयाँ ट्वीस्ट, नयाँ क्लिसे लिई । तर, केन्द्रमा मनोरञ्जनलाई नै राखेर । मनोरञ्जन पनि स्वच्छ होइन, मादक । यौनकेन्द्रित । इन्द्रियजनित । नयाँ अवतारहरु यौवन, प्रेम, वियोग र मादकताको रिप्याकेजिङमै व्यस्त छन् । निजी प्रकाशन गृहहरु लगानी गरिरहेका छन् । नौलो पनि होइन । मूलमन्त्र नाफा भएपछि जस्तो सिर्जनाको बजार छ, प्रकाशनगृहले त्यसैलाई प्रबर्धन गर्ने हो । विगतलाई नजीर मान्ने हो भने नवअवतारहरुको ठूलो ट्रयाजेडी, खास उमेर कटेपछि रुचि परिष्कार गर्दै पाठकहरु आफ्ना लेखकहरुलाई छाडेर अगाडि निस्कन्छन् । गम्भीर र सचेत पाठकहरुको लेखक बन्न नसक्नुजस्तो निराशा लेखनमा अरु छैन ।

मनले भन्छ, ‘प्रारम्भिक पठनयात्रामा थापाका उपन्यासहरुले सघाएकोमा जस पनि देऊ न । कति कञ्जुस भएको ।’ मस्तिष्कले सोच्छ, ‘पाठमा के लेखिएको छ, कसरी लेखिएको छ भन्ने नै प्राथमिक कुरो हो । पाठ स्तरीय छैन ।’ यस्तो बेला जिम रोन सम्झन्छु । जिम रोन भन्छन्– ‘सजिलो किताब मात्र नपढ, त्यसले मनोरञ्जन त देला तर त्यसबाट सिक्ने कुरा खासै केही हुँदैन ।’

पुनपर्ठन नगरेको भए म चार दशकअगाडिकै प्रभावलाई समाती बस्ने रहेछु । प्रभावलाई नयाँ दृष्टिबाट अनुभव गर्न नपाउने रहेछु । र, आफ्नो रुचिमा आएको परिवर्तनलाई अनुमानकै भरमा छाड्ने रहेछु ।

प्रकाशित: कार्तिक २८, २०७५

ट्याग: अनुभूति