‘मीटू मेरा लागि पुरानो भइसक्यो’– अस्मिना रञ्जित

- मनबहादुर बस्नेत

आर्ट र एक्टिभिज्मको समानान्तर नाम हो, अस्मिना रञ्जित । दुवैलाई जोडेर न्वारानसमेत गरेकी छिन्, आर्टिभिस्ट । कलाका माध्यमबाट सशक्त तवरमा लैंगिक मुद्दा उठान गर्ने रञ्जितको साइलेन्स नो लङ्गर : एक्टिभिज्म अफ अस्मिना  पुस्तक आएको छ । यसैबारे रञ्जितसँगको कुराकानी : 

पुस्तकमा विभिन्न विद्वानका विचारलाई स्थान दिनुको विशेष कारण केही छ ?

विभिन्न क्षेत्रका विद्वानले लामो समयदेखि मेरो कामलाई हेरिरहेका थिए । मेरो कलाले समाज र राजनीतिक तहमा कस्तो प्रभाव पारिरहेको छ भन्ने मूल्यांकन आओस् भनेर यो विधि अपनाएकी हुँ । आफ्नो कुरा आफैँ बखान गर्नुभन्दा उनीहरुको मूल्यांकन वस्तुवादी हुन्छ ।

अहिले चलिरहेको मीटू अभियानसँग पुस्तकको केही साइनो छ ?

गहिरो छ । अहिले मीटू अभियान निस्कियो । लामो समयदेखि मैले आर्टमा उठान गरेको विषय नै मीटूको हो ।

तपाईं विचारप्रधान कला मन पराउनुहुन्छ । कलाका अन्य विधाभन्दा यो कसरी फरक छ ?

पेन्टिङ विधा माध्यम मात्रै हो । म माध्यमभन्दा विचारलाई ठूलो मान्छु । तर, एउटै माध्यममा बसेर काम गर्दिनँ । विचारले जे माग्छ, त्यही माध्यम रोज्छु ।

लैंगिक राजनीतिमा किन यति धेरै लगाव ?

संसारभरि नै पितृसत्तात्मक समाज छ । दक्षिण एसिया र नेपालमा हेरियो भने लैंगिक विभेद विशाल छ । कुनै पनि विभेदबारे प्रश्न गर्ने मेरो सानैदेखिको आदत हो । हामी प्रजातन्त्र आयो भन्छौँ । तर, विद्यमान विभेदले त्यसलाई मान्दैन । यो घरपरिवार, समाज हुँदै राजनीतिको विषय भयो । आफू बाँचेको सन्दर्भबाट लैंगिक विषय मभित्र आएको हो ।

तपाईं यस्तो विभेदको सिकार हुनुभएको छ ?

सानो बेलामा दाइहरुसँग भएका कुराकानी सम्झिन्छु । केटी मानिसले यो गर्नुहुन्छ, त्यो हुँदैन भन्नेमा विवाद हुँदा म जित्थेँ । तर्कबाट हारेपछि उहाँहरु ‘के गर्नु छोरीको जन्म हारेको कर्म’ भन्नुहुन्थ्यो । मेरो एक दाइ नेपालबाहिर हुनुहुन्थ्यो । एकपटक उहाँले केटीले जिन्स पाइन्ट किन लगाउनु हुन्न भनेर मलाई दुई पाना चिठी लेख्नुभयो । मैले झगडा गरेँ, मानिनँ ।

तपाईंलाई उग्र महिलावादी भनिँदा कस्तो लाग्छ ?

उग्र र नरम बुझाइको कुरा हो । महिलावादले समानता माग्छ । लोग्ने मानिसको विकल्प होइन । लोग्ने मानिसबीच नै फरक हुन्छ । लैंगिक समानता भएदेखि महिलावादको कुरै आउँदैन ।

शतप्रतिशत समानता सम्भव छ ?

बाटो लामो छ । तर, सम्भव छ । शक्ति लिनेले दिन नचाहने अर्को कुरा हो । 

लैंगिक समानताका लागि कला प्रभावकारी माध्यम बनेको छ ?

समाजमा चेतना फैलाउन कला सशक्त माध्यम हो । औषधी खाएजस्तो यसको प्रभाव आजको भोलि देखिँदैन । अभियानसहितको कलाले मानिसलाई सोच्न बाध्य बनाउँछ, प्रश्न गर्न सिकाउँछ । आफू भएर बाँच्ने र अरु भएर बाँच्न दिने हो कलाले ।

सुरुमा तपाईं जे सोचेर कलामा लाग्नुभएको थियो, त्यो कुन हदसम्म भेटियो ?

पहिला कला सौन्दर्यको हिसाबले संग्रहालय वा धनाढ्यका घरको भित्तामा सजिन्थ्यो । अहिले कलालाई समाज परिवर्तनको वाहकका हिसाबले अभ्यासमा ल्याउन थालिएको छ । यसलाई सहज रुपमा लिन थालिएको छ ।

प्रकाशित: कार्तिक २८, २०७५

ट्याग: अचानक