अनि पो अस्पताल !

- जितेन्द्र साह

विराटनगर– अस्पतालको जाँच कक्षभित्र घुइँचो देखेर रुन थाल्छिन् २ वर्षीया जेनिशा चौधरी । नानीलाई सम्हाल्न आमा सकिलालाई हम्मे पर्छ । तर, चिकित्सकले मुस्कुराउँदै उनलाई बाहिर ढोकाछेउमा लहरै राखिएका कृत्रिम घोडाघोडीमा नानीलाई बसाएर एकछिन खेलाउन सल्लाह दिन्छन् ।

त्यसपछि त जेनिशा मख्ख पर्छिन् । अनि, उफ्रिँदै जचाएर फर्किन्छिन् । सुनसरीको इटहरी–१० डुमरटाका टोलकी जेनिशाको संक्रमणका कारणले आँखा रातो भएर बाआमाले उपचारका लागि ल्याएका रहेछन् । आफूजस्तै नानीबाबुको भीड लागेपछि यूकेजीमा अध्ययनरत ६ वर्षीय अमन रौनियारले पालो कुर्नुपर्ने हुन्छ । तर, उनी त झनै खुसी देखिन्छन् । बाआमा पनि तनावमा देखिँदैनन् ।

सुनसरीकै बर्जु गाउँपालिका–२ भीमपुर टोलका अमनले मातापिताको हात तान्दै अस्पताल कक्षबाहिरको सुन्दर र सफा बाल–बगैँचामा लग्छन् । पिङमा मस्त मच्चिन्छन् । रोटेपिङ खेल्छन् । चिप्लेटीमा चिप्लिन्छन् । ठ्याक्कै अमनलाई जाँच्ने पालो आएपछि सिस्टरले बोलाउँछिन् ।

कक्षाकोठाभित्र १४ साउनमा एक साथीले पेन्सिलले घोचेपछि उनको बाँया आँखाको कालो भागमुनि चिरिएर भोलिपल्टै शल्यक्रिया गर्नुपरेको थियो । नियमित परीक्षणका लागि उनी अस्पताल आइराख्छन् । अस्पतालको नाम सुन्नबित्तिकै उनी दु:खी हुँदैनन्, बरु दंग पर्छन् । आनन्दले खेल्न पाउनु यसको एउटा कारण हो ।

यस्तो सुविधा मुलुकको कुनै महँगा निजी अस्पतालमा नभएर नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सीमावर्ती रानीस्थित गैरनाफामूलक विराटनगर आँखा अस्पतालमा उपलब्ध छ । बिरामीको सहुलियत शुल्क, अर्धशुल्क र नि:शुल्कमा उपचार हुने यो अस्पतालको सुन्दर प्रबन्ध देखेर अमनका बुबा ३५ वर्षीय राजकुमार र आमा २४ वर्षीया पूजा पनि दंग छन् । “अमन बाबु यहाँ आएपछि सबै पीडा बिर्सन्छ,” आमा पूजा भन्छिन् । चिकित्सकले अमनलाई कालो चस्मा पनि दिएका छन् ।

कुल ११ बिघा क्षेत्रफलमा फैलिएको अस्पतालको बाल नेत्र विभागमा आँखाको समस्याबाट पीडित दैनिक १ सय ५० बालबालिका आउँछन् । यो संख्या अस्पतालमा दैनिक आउने औषत १ हजार १ सय सेवाग्राहीको झन्डै १४ प्रतिशत हो ।

बालबालिका र अभिभावकको मनोविज्ञानलाई ध्यानमा राखेर जाँच कक्षको ढोकाछेउमै र नजिकै बाहिर आधुनिक शैलीमा बाल क्रीडास्थल निर्माण गरिएको उक्त अस्पतालका प्रबन्धक कुमार पृथु बताउँछन् । “बच्चाबच्चीलाई यहाँ ल्याएर खेलाउदा बाआमाले अतिरिक्त शुल्क तिर्नुपर्दैन,” भन्छन्, ‘तर विद्यालय छुट्टी भएका बेला बिहान–बेलुका वरिपरिका स्थानीय बच्चाबच्ची पनि खेल्न आइपुग्दा सम्हाल्नै गाह्रो हुन्छ ।”

विराटनगर–१३ रानीकै १५ वर्षीय उमेश राजवंशी अस्पतालमा घुमफिर गर्ने, खेल्ने र सुस्ताउने ठाउँ भएकाले यहाँ आउन मन लाग्ने बताउँछन् । आँखामा धूलो परेर मिच्दा संक्रमणले घाउ भएपछि आएका उमेश भन्छन्, “लगाउनलाई औषधी दिए, धूलो र घामबाट बच्न भनेका छन् ।”

बालबालिका एवं अन्य आगन्तुकमा प्रत्यक्ष नजर पर्ने गरी अस्पतालद्वारमा सुरक्षाकर्मीसमेत तैनाथ छन् । उक्त अस्पतालका बाल नेत्र रोग विशेषज्ञ डा पवन श्रेष्ठ वंशानुगत, पोषण तत्त्वमा कमी, कम तौलमा जन्मेका र चोटपटक लागेका आधाजसो बालबालिकामा आँखाको ज्योति कमजोर भएकाले चस्मा लगाउनुपर्ने देखिएको बताउँछन् । “यसमा विपन्न परिवारकै बालबालिका बढी छन्,” डा श्रेष्ठ भन्छन् ।

शल्यक्रिया गराएका २ सयदेखि ३ सय अतिविपन्न बालबालिकालाई उक्त अस्पतालले बर्सेनि नि:शुल्क चस्मा उपलब्ध गराउँछ । यसबाहेक उक्त अस्पतालले सुनसरी र मोरङका बालबालिकाको नि:शुल्क आँखा परीक्षण, शल्यक्रिया तथा चस्मा उपलब्ध गराउँछ । अस्पतालले अन्यलाई पनि ५० प्रतिशत छूट वा सहुलियत शुल्कमा उपचार एवं चस्मा उपलब्ध गराउँछ ।


अस्पतालमा अभिभावकसहित आँखा जचाउन आएका बालबालिका । तस्बिरहरु : जितेन्द्र साह


बालबालिकाको रुचिअनुरूप गुणस्तरीय, स्टाइलिस र चिकित्सकले भनेअनुसारकै ‘पावर क्वालिटी’ भएको चस्मा उपलब्ध गराइने अस्पतालका प्रबन्धक पृथु सुनाउँछन् । उक्त अस्पतालभित्रै अत्यधिक आधुनिक यन्त्रबाट चस्मा तयार हुन्छ । ‘प्युपिलोमिटरले आँखाको नानीको आकार र ठाउँ नापिन्छ,” उनी भन्छन्, “खुला बजारमा यसरी उच्च प्रविधिबाट बनेको गुणस्तरीय चस्मा उपलब्ध हुन सम्भव छैन ।”

डा श्रेष्ठका अनुसार आँखा कमजोर भएका बालबालिकाको समयमै उपचार नभए ‘अल्छी आँखा (लेजी आई)’ र टेढोपनको समस्या आउँछ । “अल्छी आँखा (एम्प्लोपिया) रोगमा दुईमध्ये एक आँखाले पूरै वा आंशिक रूपले काम गर्न छाड्छ,” डा.श्रेष्ठ भन्छन्, “यो चरणमा पुगेपछि चस्मा लगाउँदा पनि देख्न सकिन्न ।”

यस्तोमा सावधानी नअपनाउँदा अर्को आँखा पनि बिग्रिन सक्छ । दुइटामध्ये अर्को आँखालाई बचाउन पटका नपड्काउने, चोटपटक लाग्न नदिने, तिखो/धारिलो वस्तुबाट टाढा बस्ने र घामपानीबाट बच्नुपर्ने उनी सल्लाह दिन्छन् । विज्ञ चिकित्सकका अनुसार ८ देखि १५ वर्ष उमेरभित्र अल्छी आँखाको उपचार भएन भने एउटा आँखाले पूरै देख्न छाड्छ अनि टेढोपन हुन्छ ।

‘शल्यक्रियाबाट बाह्य रूपले सामान्य देखिने गरी आँखालाई सीधा त पार्न सकिन्छ तर ज्योति फर्किंदैन,” डा.श्रेष्ठ भन्छन्, “त्यही भएर बच्चाको आँखा कमजोर भएको थाहा हुनेबित्तिकै चिकित्सककहाँ पुगिहाले कम समयमै राम्ररी उपचार हुन्छ ।”

आँखामा कुनै पनि खाले संक्रमण हुँदा उपचारमा लापरवाही गर्न नहुने उनी सुझाव दिन्छन् । ‘संक्रमणले आँखामा घाउ हुन्छ, त्यसको पनि राम्ररी उपचार भएन आँखाको नानी कुहिएर प्वाल पर्छ,” डा श्रेष्ठ भन्छन्, “यसपछि कामै नलाग्ने गरी आँखाको भित्री भाग बाहिर निस्कन्छ, पछि उपचार गराए पनि पहिलेको दाँजोमा आँखाले राम्ररी देख्दैन ।”

सीमावर्ती रानीस्थित आँखा अस्पतालले सम्पन्न बिरामीका लागि छुट्टै भवनमा असोज तेस्रो सातादेखि उपचार सेवा सुरु गरेको छ । धनी वर्गबाट हुने आम्दानीसमेत गरिबको सेवा विस्तारमा खर्चिने अस्पतालका अधिकारी बताउँछन् ।

गरिब एवं पहुँचविहीनलाई नै प्राथमिकतामा राख्दै आएको छ, अस्पतालले । तर, धनाढ्य वर्गका लागि छुट्टै उपचार एकाइ पनि छ । आकस्मिक सेवा कहिल्यै बन्द नहुने उक्त अस्पतालमा वर्षको १० दिन मात्र बिदा हुन्छ । त्यसमा पाँच दिन दसैँको, तीन दिन तिहारको, एक दिन छठ र एक दिन होलीको छुट्टी हुन्छ ।

नयाँ २० कोठामध्ये छुट्टै भवनको चार वटा कक्षमा दृष्टि जाँच, दुईमा सामान्य शल्यक्रिया, दुईमा आधुनिक यन्त्रयुक्त जटिल शल्यक्रिया, लहरै पुर्जी काउन्टर, स्वागत डेस्क र कफी सप निर्माण गरिएको छ । चिकित्सक, सहयोगी र प्रशासनिक कर्मचारीसहित ५० जनाको छुट्टै टोलीले सेवा दिने यो कक्षबाट हुने अतिरिक्त आम्दानीले विपन्न वर्गको सहुलियत एवं नि:शुल्क उपचारमा सहयोग पुग्ने अस्पतालले जनाएको छ ।

“आँखा उपचार सेवाको क्षेत्रमा यहाँजस्तो सुविधा स्वदेशमा कहीँ छैन, विदेशमा पनि औँलामा गन्न सकिने केही अस्पतालले मात्र यस्तो प्रबन्ध गर्न सकेका छन्,” पृथु भन्छन्, “धनी वर्गले निजी अस्पतालकै बरोबरी शुल्क तिरेर उपचार गराउँछन्, त्यो रकम पहुँचविहीनको हितमा उपयोग हुन्छ ।”

उक्त अस्पतालको पुरानो भव्य भवनको सय कोठामा गरिबदेखि धनीसम्मका लागि आँखा जाँचदेखि शल्यक्रियाको सम्पूर्ण सुविधा छँदैछ । यहाँ बिरामी कक्ष भित्र, मूल भवन मुन्तिर र वरिपरि बस्न, सुत्न, खान, आराम तथा घुमफिरका लागि रिसोर्टकै माहोल छ । सेवाग्राहीको आरामका लागि अस्पताल परिसरमा निर्मित वातानुकूल स–साना कटेजले उपचार हुने थलोभन्दा पनि पाँचतारे होटलमा आइपुगेको भान हुन्छ । “पुरानो एवं नयाँ भवनबाट प्रदान गरिने उपचार सेवामा फरक वा विभेद छैन,” अस्पतालका कार्यक्रम निर्देशक एवं कोर्नियाविज्ञ डा. सञ्जय सिंह भन्छन्, “समय अभाव हुने र भीडमा बस्न नचाहनेका लागि आरामदायक प्रबन्ध गरिएको मात्र हो ।”


रानी मिल्स एरियास्थित विराटनगर आँखा अस्पतालको ठिक पूर्व पट्टि सम्पन्न वर्गका सेवाग्राहीको लगातारको आग्रहपछि निर्मित नयाँ सुविधा सम्पन्न उपचार भवन । 


नेपाल र भारतका साथै एसियाकै धेरै मुलुकका आँखाका बिरामी आउने उक्त अस्पतालमा सन् ०१७ मा ४ लाखले उपचार पाए । यसमा ८० प्रतिशत ४८ रुपैयाँको सामान्य पुर्जी कटाएर जँचाउने र २० प्रतिशतले मात्र ३ सय २० रुपैयाँको शुल्क तिरेर पेइङ क्लिनिकमा देखाउने प्रबन्धक पृथुको भनाइ छ । पेइङ क्लिनिकमा दैनिक १ सय ५० भन्दा बढी बिरामीको जाँच हुँदैन । आँखा अस्पतालले वर्षमा ३ सयभन्दा बढी पटक मधुमेहका रोगी, श्रमिक र विद्यार्थीका लागि नि:शुल्क स्वास्थ्य शिविर राख्ने गरेको छ ।

आँखा रोगको पहिचानका लागि उक्त अस्पतालले ग्रामीण भेगमा महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक, औषधी बिक्रेता र धामीझाँक्रीलाई आधारभूत प्रशिक्षण दिने गर्छ । “समस्याअनुरूप प्राथमिक उपचारका रूपमा आँखामा कुन औषधी हाल्ने सिकाउँछौँ,” डा सिंहले भन्छन्, “धामीझाँक्रीलाई पनि खरानी वा अक्षताले आँखा पूरै बिग्रने हुनाले नहाली मन्त्र जप गर्न भन्छौँ, निको नभए हाम्रो अस्पतालमा पठाउन भन्छौँ ।”

यो गैरनाफामूलक अस्पतालले ०१३ देखि समुदायमा आधारित पुन: स्थापना कार्यक्रमसमेत ल्याएको छ । कार्यक्रमअन्तर्गत अहिलेसम्म प्रदेश १ का विभिन्न जिल्लाका २ सय ५० दृष्टिविहीन, बहिरा एवं शारीरिक अपांगता भएकालाई आत्मनिर्भर बनाउन प्राविधिक तालिम, सहयोग सामग्री र आर्थिक मद्दत गरेको उक्त कार्यक्रमका प्रमुख अफाक अनवर बताउँछन् ।

सहयोग पाउनेमा २ सय २० दृष्टिविहीन र केवल ३० बहिरा एवं शारीरिक अपांगता भएका व्यक्ति छन् । अनवरका अनुसार यसमा ४९ प्रतिशत महिला छन् । यो कार्यक्रम मोरङको दक्षिणपूर्वी भेगबाट सुरु भएको थियो । ‘सूचना पाएर वा स्वतस्फूर्त रूपमा हरेक दिन समुदायमा जान्छौँ, आँखा, कानको परीक्षण गर्छौं,” फिल्ड वर्कर रवीन्द्र देव भन्छन्, “उपचार र सहयोग जरुरी भएका दृष्टिविहीन एवं अन्य खाले अपांगता भएका व्यक्ति छनोट गर्छौं ।”

प्रकाशित: कार्तिक २६, २०७५

ट्याग: समाज