[झटारो] ध्यान भंग

- लक्ष्मण गाम्नागे

धेरैतिर प्रयास गर्दा पनि ध्यान नलागेपछि तपोवनतिर ध्यानतप गर्न जाने विचार गर्दै थिएँ, त्यही बेला समाचार आयो ओशो तपोवनले सरकारी जग्गा अतिक्रमण गर्‍यो । सरकारी जग्गा ताछेर निजी जग्गाको क्षेत्रफल बढायो । वनमा आफूखुसी सडक पुल बनायो । सन्यासीहरूको संस्थाले सरकारी नियम कानुन उल्लंघन गर्दै व्यापार व्यवसाय गर्‍यो । यस्तो समाचार आएपछि ध्यानमा जाने विचार त्यागी ओछ्यानमा बसेर सोच्न थालेँ । 

मलाई धेरैले योगी, सन्यासी, माता, बाबाहरूको संगत गरे शरीर र मन दुवैलाई फलीफाप हुन्छ भनेर सल्लाह दिन्छन् । मलाई पनि यो कुरा ठीकै लागेको हो । बेलाबेला विभिन्न थरीका बाबा, साधु सन्त, महात्मा र माताहरूका पार्टी कायकर्ताले भक्त बनाउन तानातान पनि गरिरहन्छन् । केही पटक केही शिविरहरूमा गएर ध्यान गर्ने प्रयास पनि नगरेको होइन । तर, मलाई ध्यान लाग्दै लागेन । ध्यान गराउने गुरु भन्छन् “आँखा चिम्लेर ध्यान गर बालक । आँखा चिम्ले पनि तिमीले केही न केही देख्नेछौँ । रातो, पहेँलो, कालोजस्ता विभिन्न रंग र अनेक आकृतिहरू तिम्रा आँखाअगाडि आउनेछन् । ती भित्री आँखाले देखिएका दृष्यहरू हुन् । हामीले भित्री आँखा खोलेर यो संसारलाई हेर्नुपर्छ ।”

गुरुले यसरी भित्री आँखा खोल्न निर्देशन दिएपछि म बाहिरी आँखा चिम्लन्छु । आँखा चिम्लन पाएको छैन– रातो, सेतो, पहेँलो, गेरु अनेक रंगका वस्त्रधारी र कतिपय लुगै नलगाएकासमेत अनेक ढंगका बाबाहरू, स्वामीहरू, सन्त, महन्तहरूलाई देख्न थाल्छु । लुगा नलगाएका सन्तहरूले मेरो ध्यान तुरुन्तै भंग गरिदिन्छन् ।

फेरि ध्यानमा बस्ने बारेमा सोच्दै गर्दा सञ्चारमाध्यमहरूले मस्तिष्क नै बिथोलिदिन्छन् । हामी सर्वसाधारणभन्दा धेरै माथि पुगेर आचार्य, स्वामी, बाबा, गुरु, माता बनेका सन्त महात्माहरूले देशको महत्त्वपूर्ण सम्पदा वनजंगल, राष्ट्रिय निकुञ्जहरू मासेर आफ्ना निजी आश्रमहरू बनाएका समाचार सञ्चारमाध्यमहरूले प्रकाशन प्रसारण गर्छन् । सार्वजनिक जमिन अतिक्रमण गरेर व्यापार चलाएका समाचारहरू आउँछन् । बलात्कार गर्नेदेखि आफैँले आफैँलाई गोली हानेर झ्यालखाना पर्नेसम्मका आचार्यहरू आफ्नै वरिपरि भेटिन्छन् । सरकारले कानुन पालना गराउन खोज्दा शक्तिकेन्द्रहरूको प्रयोग गरेर सरकारलाई नै उठबस गराउने सामथ्र्य भएका बाबाहरू पनि देखिन्छन् ।

संसारबाट बिरक्त भएर सन्यास ग्रहण गरेका सन्तहरू रेष्टुराँ चलाउँछन्, अस्पताल र स्कुल कलेजहरू सञ्चालन गर्छन् । उद्योगधन्दाहरू खोल्छन् । अथाह सम्पत्ति आर्जन गर्छन् । धनाढ्यहरूका सूचीमा पर्छन् । करोडौँ पर्ने गाडी चढ्छन्, निजी हेलिकप्टर र हवाईजहाज खरिद गर्छन् । कानुन मिच्छन्, कर छल्छन् । सम्पत्ति र शक्ति बढाउन सधैँ लालायित हुन्छन् ।

दुनियाँलाई अर्ती दिन्छन्, बुद्धि बाँड्छन्, घरघरमा फोटो टँसाउँछन्, पाउको पानी चखाउँछन् । संसारिक मायामोहबाट माथि उठेको भन्दै सन्यासी बन्छन्, गेरुवस्त्र लगाउँछन् अनि अर्को कुनै सन्तको वस्त्र उतार्न किन अघि सर्छन् ? अरुअरु समुदाय वा समूहको खोइरो किन खन्छन् ? भक्तहरूलाई काम, क्रोध, लोभ, मोह त्याग भन्छन् अनि आफैँ यौनकाण्डहरूमा किन पर्छन् ? सन्यासीहरू सिरानेमा किन हातहतियार राख्छन् ? राजनीतिक दलहरूभन्दा बढी गुटहरू यस्ता संस्थामा किन जन्मिन्छन् ? यस्ता अनेकअनेक प्रश्न दिमागमा घुम्न थालेपछि कसरी ध्यान लागोस् ! यो जुनीमा ध्यान लाग्ला र ध्यानी, ज्ञानी र स्वस्थ्य बनौँला भन्ने मैले चाहिँ नसोचे पनि हुने भयो । 

प्रकाशित: कार्तिक २६, २०७५

ट्याग: झटारो