उनको आँसुमा शक्ति र शोभा थियो

- खगेन्द्र संग्रौला

भुइँफुट्टा ज्ञानशाही फौजीतन्त्रको उन्मत्तकाल । अनेक रङका बुद्धिजीवीहरुको एक जमात सशस्त्र प्रहरी क्याम्पमा छ, दुवाकोटमा । अनुभव अजीत खोरको आँखो देखा हाल सुनाउँछन् । सधैँ भालेको डाकपछिको बिहानीपख । सबैजसो थुनुवा अझै निदाएका हुन्छन्, एक जना अघि नै उठिसक्छन् । उता अरु हाई काड्दै उठ्दा यता उनी सफाचट भइसक्छन् । चिउँडोमा फ्रेन्च कट तीलचामले दाह्री, ओठमाथि छोटा बाक्ला, काला जुँगा । दुवै कलात्मक ढंगले कलमी गरिएका । मंगोल बान्कीका सनक्क गाला चिल्ला र चम्किला । किम इल सुङ शैलीमा उँभो फर्काएर सलक्क कोरिएको नरम कपाल । देहमा फटिक सेतो सर्ट । मुलायम र अनुरागयुक्त नयन । को हुन्, ती फूर्तिला मानव ? ती उनै पद्मरत्न तुलाधर हुन्, जो एकाध दिनअघि एक बारको जुनी बिसाएर हामीसँग सदाका लागि बिदा भए ।

तुलाधरको त्यो सुन्दर रुपसज्जा संस्कार र चरित्रको भित्री कालोमैलो छोप्ने छलकारी आवरण किमार्थ होइन । उनी बाहिरजस्ता देखिन्थे, भित्र ठीक त्यस्तै थिए । निष्कपट र इमानी । सत्यनिष्ठ र निष्कलंक । उदार र न्यायप्रेमी । र, सारमा निर्भीक र अथक अभियानी ।

असनमा शुक्रराज शास्त्री तुलाधरका छिमेकी रहेछन् । नागरिक अधिकारकर्मी शास्त्री क्रूर राणातन्त्रको हातबाट मारिए र लगत्तै मानौँ, तिनको उत्तराधिकार वहन गर्न तुलाधर जन्मिए । कुन बालहठले वा कसको हाहामा हो थाहा छैन, दस वर्षका तुलाधर लुखुरलुखुर सानो गौचर पुगे । दिल्ली पलायनपछि फिर्ती सवारी भएका विलासवीर राजा त्रिभुवनको ठाँटबाँट हेर्न । त्यो थियो, जटिल जीवनमा तुलाधरको राजनीतिक यात्राको बालसुलभ पहिलो पाइलो । परिवेशको संगतले राजनीतिमा रस बस्दै गयो । र, ०१५ को चुनावमा उनी कमरेड पुष्पलालका प्रचारक बने । त्यो थियो, लालमार्गी वाम पाठशालामा उनको रोमाञ्चक पहिलो पाठ । समयको पदचापसँगै उनी आफ्नो जातिको पहिचान र अस्मिताप्रति जागरुक बन्दै गए । र, ०२३ मा उनले नेपाल भाषा आन्दोलनको विद्रोही झन्डा बोके । त्यो थियो, जातीय पहिचानको शिक्षालयमा उनको प्रथम दीक्षा । ०३७ मा जब नीलो–पहेँलो जनमत संग्रह आयो, सार्वजनिक डबलीमा उत्रिएर उनी प्वाक्क बोले । बिनाधक, बिनाडर, बिनाकष्टकर नतिजाको पर्वाह । उनले आक्रोशको लबजमा उद्घोष गरे– ‘सम्पूर्ण जनताले नबुझ्ने भाषामा मात्र प्रचार भएको जनमत संग्रह गर्ने अधिकार राजा वीरेन्द्रलाई पनि छैन ।’

समय ठीक थिएन । सत्य बोल्यो कि बोल्नेलाई उल्टै पोल्यो ! सिंहासनबासी मौसुफ वीरेन्द्रको अनुकम्पाले तुलाधर भद्र बन्दीगृहतर्फ चलान गरिए । त्यो थियो, न्यायिक संघर्षको वेदीमा उनलाई हात लागेको एक निर्मम शिक्षा । त्यो कठोर शिक्षाले तुलाधरलाई भन्यो– ‘बाबु, लोकमंगलकारी सत्य जति सुन्दर हुन्छ, त्यसलाई प्राप्त गर्न त्यति नै कठिन हुन्छ । अझ त्योभन्दा पनि बढी !’

आफ्नै बोलीले पोल्यो र तुलाधर कारागारको कहर काट्न विवश भए । ती यातनामय दिनमा स्वप्नशील तुलाधरले गम खाए हुनन्– के सत्यको यात्रा कठिन हुनु त्यो असम्भव हुनु हो र ? जीवनमा आज जे असम्भव प्रतीत हुन्छ, कष्टसाध्य यत्नले भोलि सम्भव नहुने आखिर के छ ?

सुखद संयोगवश भनूँ, तुलाधरको जिज्ञासामय जीवनयात्रामा असल गुरु, सहपाठी र कमरेडहरु भेटिए । वाममार्गी र सत्य एवं न्यायका कर्मठ योद्धाहरु । कारागारमा अग्निवर्षी झापाली विद्रोहीहरु भेटिए । जीवनको नाटकमा गुरुको भूमिकामा अश्रुमय कवि दुर्गालाल श्रेष्ठ उदाए । र, सहपाठीको भेषमा भेटिए हितकरवीर, मंगलसिद्धि, रुपचन्द्र र निर्मल लामा आदि । त्रिचन्द्रका औपचारिक कक्षाहरु जीवनका सनातनी कर्मकाण्डी क्रीडाहरु थिए । अन्तरंग र अर्थपूर्ण कक्षाहरु त खाली पिरियडमा बाहिर चौरतिर पो हुन्थे । रुपचन्द्र र निर्मल वाचाल वक्ता, तुलाधर उत्सुक, मौन र विनम्र श्रोता । दर्शन र राजनीति, इतिहास र समाज, विद्रोह र क्रान्ति– यी थिए खुला चौरमा तुलाधरको वैचारिक एवं नैतिक व्यक्तित्वको बीजारोपण गरिदिने दुर्लभ र अमूल्य पाठहरु ।

आयो अब घुम्दैफिर्दै ०४२ । तिनताक म चाबेलको मैजुबहालमा डेरा गरी बस्थेँ । पद्मरत्न तुलाधर राष्ट्रिय पञ्चायतको चुनावमा उठे– जनपक्षीय उम्मेदवारको औतारमा । र, उनको भीषण भाषणले आकाश–पाताल हल्लायो । त्यो भीषण भाषण वास्तवमा नेपाली जीवनको निरंकुशतन्त्रकालीन अचल तलाउमा हानिएको एउटा बेगवान ढुंगो थियो । ठूलो साँझ पर्‍यो कि मेरो छिमेकमा क्यासेटमा टोलै घन्किने गरी त्यो भाषण बज्थ्यो । रुमानी भावुकता, उत्ताल आवेग, उच्च आक्रोश, कारुणामयी अश्रुधार, अविरल प्रवाह– मैले सास रोकेर त्यो भाषण सुनेँ । मजदुर चुसियो, किसान थिचियो, महिला मिचियो, दलित दलियो– अन्याय अति भो ! मजदुर उठिदिनु पर्‍यो, किसान बोलिदिनु पर्‍यो, महिला हिँडिदिनु पर्‍यो, दलित जागिदिनु पर्‍यो, क्रान्ति गरिदिनु पर्‍यो र यो नारकीय जीवन फेरिदिनु पर्‍यो । बस्, भाषणको कथ्य र लय लगभग यस्तै थियो ।

‘क्रान्ति’ शब्द सुन्दा मेरो आङ त्यसैत्यसै सिरिंग भयो । डर लाग्यो– मण्डलेहरुले मार्ने पो हुन् कि ! भाषणका चक्का ब्ल्याकमा लटालट बेचिए । र, त्यसले देशै पिट्यो । तर, तुलाधर पक्राउ परेनन् । सायद पञ्चायत जराजीर्ण हुँदै गएर होला । अथवा, तुलाधरको लोकप्रियता उनका लागि रक्षाकवच भएर होला ।

चुनाव तुरियो र तुलाधरले जिते । शानले जित्नु के थियो, उनले आँसुको भाकामा राष्ट्रिय पञ्चायतमै बहुदल मागे । मलाई फेरि डर लाग्यो– आततायीहरुले मार्ने पो हुन् कि ! तर, उनलाई केही भएन । जनताको तहमा उनी जताततै हाईहाई भए । उनको लोकप्रियता तुफानी गतिमा चारै दिशामा फैलियो । उनी राजनीतिका हिरो भए । सबैले देख्ने, सबैले चिन्ने, सबैले सुन्ने । जनताको तहमा आँखाको नानी, जनद्रोहीका तहमा आँखाको कसिंगर । अब यताका नजर पनि उनैमाथि, उताका नजर पनि उनैमाथि । अब पद्मरत्न तुलाधर माने बागी राजनीतिको एक स्वनिर्मित कीर्तिमानी विम्ब । अब पद्मरत्न तुलाधरको पहिचान थाहामार्गी रुदानेका मन मिल्ने सहयात्री, एक निर्भीक सहयोद्धा ।

तुलाधर– एक सिर्जनशील अगुवा, एक करुणामयी जनक । पञ्चायती खोरमा राजबन्दीको बिजोग जब देखे, उनी त्यसैत्यसै द्रवित भए । र, केही गरुँ भन्ने मनसुवाले बनाए ‘बन्दी विमोचन समिति’ । यो थियो वास्तवमा मानव अधिकारवादी संगठनको एक भ्रुण, एक प्रेरक, एक प्रवद्र्धक ।  त्यसउप्रान्त बनेका सबै मानव अधिकार संगठन वास्तवमा यसै समितिका सन्तति हुन्, जसका जनक उनै तुलाधर हुन् । आखिर मंका खल:को कथा पनि त उस्तै हो । मंका खल: भाषिक अभियानको एक चौतारी, तुलाधरको एक नूतन सिर्जना । तसर्थ, यसका पनि जनक उनै । समयसँगै जातिको अस्तित्वमा भाषा–संस्कृतिको महत्तासम्बन्धी चेतना बढ्यो, पहिचानको मुद्दाले शनै:शनै: आकार ग्रहण गर्‍यो । नतिजावश, आदिवासी–जनजाति महासंघको जायजन्म भयो । यो संघका पनि जनक उनै अविश्रान्त अगुवा, उनै पद्मरत्न तुलाधर । गजप छ बा, यी तुलाधर माने जनक सिरियल !


तस्बिरहरु : विकास रौनियार


तुलाधर एक संयोजक, एक सूत्रधार, एक सहजकर्ता । उनी सबै परिवर्तनकामीका आवश्यकता, उनी ती सबैका उदारमना सहयोगी । वामहरुमाझ उनी साझा वाम, काङ र वाममाझ उनी एक अद्भुत सुपरग्लु । ०४६ ले ढोका ढकढक्यायो । र, आयो फेरि आन्दोलनको मौसम । तुलाधरलाई लाग्यो– वाम र काङ नमिली बेसारे पञ्चायत मरिकाट्टे ढल्दैन । मिलाउन उनले पाइला चाले । निष्ठावान गणेशमानले भने– पद्म, वामेहरु बाह्र थरी छन्, र ती बाह्रै टुक्रा छन् । कुन टुक्रे वामसँग गर्ने हो हाम्रो काङले सहकार्य ? तुलाधरले छिन्नभिन्न टुक्रे वामहरुलाई जुटाए र फकाए । अहोरात्र यत्न गर्दै जाँदा वाम मोर्चा बन्यो । त्यही लाल–वाम मोर्चाको चारतारे काङसँग सहकार्य भयो र राजाको नोकरतुल्य पञ्चायत धुलिसात भयो ।

सूत्रधार तुलाधरको अर्को जोखिमपूर्ण कदम प्रारम्भ भयो । त्यो कदम रोल्पातिर सोझियो । साथमा थिए, दमननाथ ढुंगाना । उद्देश्य कोलाहलमय रक्तपातलाई विश्राम दिनु थियो । र, विद्रोही माओवादीलाई प्रतिस्पर्धाको अपेक्षाकृत शान्तिपूर्ण राजनीतिमा फर्काउनु थियो । आवरण मानव अधिकारवादीको, कर्म छद्म वागीको । पद्म–दमन चिम्टाका अभिन्न दुई खुट्टीजस्ता । दुवै कुशल सहजकर्ता, दुवै प्रतिष्ठित नागरिक अगुवा । शाही सेनाका गोली छल्दै ती रोल्पा पुगे । तिनले विद्रोहका नायकहरुसँग पटक–पटक बात मारे । रोल्पा र सिंहदरबारको भेट भयो । तिनको वार्ता भयो, तिनको सहमति भयो, तिनको सहकार्य भयो र खुनी राजतन्त्र इतिहासको मसानघाटतर्फ चलान भयो ।

नागबेली जीवनपथमा बहुविध कर्ममा संलग्न र रंगीन व्यक्तित्वयुक्त तुलाधर वास्तवमा हुन् चाहिँ के ? साहित्य स्रष्टा ? मानव अधिकारवादी ? भाषा–संस्कृतिका अभियन्ता ? पहिचानवादी नेता ? मध्यस्थकारी सहजकर्ता ? संयोजनकारी सूत्रधार ? अथवा ? मलाई लाग्छ– गाँठ्ठी कुरा, तुलाधर वाममार्गी रुमानी क्रान्तिकारी हुन् । उनलाई गुथाइने यी नानाओली पगरी यही क्रान्तिकारी आदर्श र दृष्टिकोणको वृक्षमा लागेका फूल र फल हुन् ।

सुन्दा बडो अनौठो लाग्छ, जीवनको विसंगत नाटकमा पद्मरत्न  मन्त्री पनि भए । उनको मनोभाव, स्वभाव र शैलीसँग कहीँ–कतै नमिल्ने एक भद्दा दायित्व । आदेश दिनु र आदेश लिनु, हप्काउनु र हप्काइनु, ठाँटबाँट गर्नु र रोबरवाफ देखाउनु, हात मल्नु र केही पाउनुमा उनलाई न कुनै रुचि न कुनै लालसा । तैपनि, उनी मन्त्री बनाइए र मन्त्री छँदै बित्थामा निन्दित भए । सनातनी वर्चस्वशालीहरु उनीमाथि यसरी खनिए, मानौँ– उनी ज्यानमारा हुन् । पद्मरत्नले गाई काट्ने कुरा गर्‍यो– तिनले गर्जन गरे । यो उन्मादी साम्प्रदायिक हो, धार्मिक सद्भावको बैरी । यो धार्मिक कलहको स्रष्टा हो, सरासर नरक पठाइन लायक । तुलाधरलाई तिनले मुर्दावाद भने । तिनको पुत्ला जलाए । धूवाँको मुस्लो उठाए । र, तिनले यत्रतत्र विष वमन गरे । वास्तवमा भनिएको त्यस्तो केही थिएन । तुलाधरले त केवल बहुधार्मिक समाजमा धार्मिक समानता र स्वतन्त्रताको कुरा गरेका थिए । चलेको चलनमा चल्ने र मानेको आस्था मान्ने हक सबैलाई हुनुपर्छ । चलन र आस्थाअनुसार मुस्लिम र मंगोलले गाईको मासु खान पाउने कि नपाउने ? बस्, तुलाधरको भनाइ यत्ति थियो । कालक्रममा उन्मादीहरु थाके र संविधानमा धर्मनिरपेक्षता लेखियो । तुलाधरले भनेकै त्यही थियो । मान्नेले आ–आफ्नो आस्था आ–आफ्नो ढंगले मान, वर्चस्ववादी ठालू भएर अरुको आस्थाको खोइरो नखन, बस् ।

सादा जीवन, उच्च विचार– पद्मरत्न तुलाधरको प्रिय जीवन–आदर्श । श्रमको सम्मान– उनको नित्य जीवनशैली, उनको एक प्रिय साधना । उनी आफैँ प्रिन्टिङ प्रेसका मालिक थिए र आफैँ त्यसका कम्पोजिटर । आफैँ आफ्नो बाइन्डर, आफैँ आफ्नो कटर । पत्रिका पोको पार्ने आफैँ, गल्ली–चोक–डबलीमा गएर बेच्ने आफैँ । आफैँ आफ्नो स्वामी, आफैँ आफ्नो सेवक । ढोँगमुक्त, सच्चा र असल एक कम्निस्ट ! आदर्श पात्रको एक अब्बल दृष्टान्त । पद्मरत्न तुलाधर !

तुलाधर जे भन्थे, त्यो गर्थे । जे गर्थे, त्यो भन्थे । उनले भनेको र गरेको एउटा रोचक घटना मलाई याद छ । एक भेटमा कुरैकुरामा उनले भने– “कुरामा महिला–पुरुष बराबरी भन्या छ, व्यवहारमा कतै छैन । कस्तो अप्ठ्यारो ! कस्तो चित्त नबुझ्दो ! मेरी श्रीमती बिहानैपिच्छे मलाई ढोग्ने, म नढोग–नढोग भन्ने । म हामी बराबरी हौँ भन्ने, उनी मान्दै नमान्ने । अनि, फेरि ढोग्ने । एक दिन उनले मलाई ढोगेपछि मैले पनि उनलाई ढोगिदिएँ । अनि ? ओहो ! उनी त स्तब्ध, अवाक, हतप्रभ ! अनि मैले सम्झाएँ– आइन्दा कि दुवैले ढोगाढोग गर्ने कि ढोग्दै नढोग्ने । अनि ? अनि हाम्रोमा नढोग्ने चलन चल्यो । चलाए चल्छ त चलन । अनि पो महिला–पुरुष बराबरी !”

तुलाधरलाई रुन्चे भनेर उपहास गरेको जब सुन्छु, मलाई त्यसैत्यसै झोँक चलेर आउँछ । तुलाधरका आँसु वास्तवमा कायरताका आँसु होइनन् । हताशाका आँसु होइनन् । न पराजयकै आँसु हुन् । ती करुणाका आँसु हुन् । ती आलोचनात्मक क्रोधका आँसु हुन् । र, ती न्यायोचित आक्रोशका आँसु हुन् । तसर्थ, ती पवित्र आँसु हुन्, निश्छलताका ज्वलन्त निशानी ! म त भन्छु– आँसुमा नै तुलाधरको शक्ति र शोभा निहित छ ।

बस्, यति नै ।

आफ्नै वचन र कर्मको अजम्मरी प्रकाशमा चम्किएका पद्म  दाइ, अलबिदा !

यो पनि पढ्नुहोस् :

→ सूर्य छाप स्वतन्त्र

प्रकाशित: कार्तिक २५, २०७५

ट्याग: सम्झना