[नोटबुक] प्रहरी कसरी मेरो साथी ?

- गोकर्ण गौतम

घटना

घनिष्ट मित्रको चेक बाउन्स भएपछि असोज दोस्रो साता महानगरीय प्रहरी परिसर, टेकु पुगियो । चेक थियो, तीन लाख रुपैयाँको । बैंकिङ कसुर शाखामा निवेदन र चेक थमाउनासाथ प्रहरी हामीतिर फर्केर फिस्स हाँसे । गिज्ज्याएको आभास भयो । भनिहाले पनि, ‘यति पैसा त डाङडुङ पारेर लिएको भए हुन्थ्यो नि । तपाईंले दु:ख पाउनुहुन्छ ।’

के भन्ने–के भन्ने ! कति हन्डर खाएर प्रहरीकहाँ पुगेका थियौँ । अलि दबेको स्वरमा साथीले जवाफ दिए, “त्योभन्दा यही बाटो उपयुक्त लाग्यो ।” निवेदन त लिए तर उनको भावभंगिमाले भनिरहेको थियो, हामी लाछी हौँ । यति लाठे भएर नाथे तीन लाख पनि थर्काएर लिन नसक्ने ?

निवेदन दर्तापछि केही समय बस्न भनियो । भोकाएकाले गर्दा त्यही शाखाका अर्का प्रहरीलाई सोध्यौँ, “सर, अब कति बेर लाग्ला ?” उनी अझ रुखो स्वभावका रहेछन् । होच्याउने शैलीमा भने, “कुर्ने बानी छैन ?”

निवेदनको ‘फलोअप’ गर्न पर्सिपल्ट परिसर पुगियो । मधेसी मूलका एक अधबैँसे आए, हातमा चेक थियो । उनले तिनै प्रहरीलाई चेक थमाए र बिन्ती बिसाए, “सर, पैसा दिँदै दिएन । खातामा छैन ।” प्रहरीले पीडितलाई ढाडस दिएनन् । उल्टै झोँक्किए, “यति पैसाका लागि यहाँ आउने ? मान्छे पनि तालतालका हुन्छन् ।” उनी कालोनीलो भए । ११ हजारको चेक रहेछ । त्यो रकमले उनका लागि ठूलो अर्थ राख्थ्यो र त न्याय खोज्दै त्यहाँ पुगे । तर, जनताको सेवक भनिने प्रहरीलाई ... ?

घटना

दसैँ टीकाको भोलिपल्ट । हेटौँडा चौकीटोलस्थित सुमोको एकीकृत काउन्टरअगाडि सयौँ उभिएका छन् । दसैँको उमंगलाई टिकट नपाउँदाको पीडाले थिचेको छ । बल्लतल्ल सुमो आउँथ्यो, सुमोधनीले चिनेजानेकालाई मात्र चढाउँथे । अरु हेरेको हेर्‍यै । काउन्टरका कर्मचारीहरु सुमो छैन भन्थे । कसैले ९ सय रुपैयाँ थमायो भने उत्तिखेरै उसका लागि सुमो हाजिर भइहाल्थ्यो । साविक भाडादर भने ४ सय मात्र हो ।

दोब्बर भाडा असुल्न र यात्रुलाई ‘चेताउन’ कृत्रिम संकट निम्त्याउने काइदा रहेछ सुमोधनीको । यसबारे छेवैको प्रहरी जानकार नहुने कुरै भएन । तैपनि, आफैँ गएर व्यथा कहेँ । बर्दीधारीको जवाफ थियो, “दसैँ हो, यस्तो भइहाल्छ नि ।” मानौँ– दसैँ चाड मात्र होइन, ठगीको उपयुक्त याम पनि हो ।

अति भएपछि यात्रुको हूलै गएर प्रहरीलाई गुहार्‍यो । प्रहरीलाई केही ‘एक्सन’ देखाउन करै लाग्यो । हिँडिसकेको सुमोलाई बढी भाडा लिएको भन्दै नियन्त्रणमा लिइयो । अलपत्रमा को परे ? फेरि पनि यात्रु । जबकि, तत्काल जरिवाना तिराएर वा चालकको लाइसेन्स लिएर काठमाडौँ पठाउने उत्तम विकल्प छँदै थियो । तर, सुमो चल्न नदिएपछि यात्रु डराएर ठगिएको गुनासो गर्न सक्दैनथे । तैँ चुप, मै चुप । वर्षौंदेखि प्रहरीको रवैया देखिरहेका एक स्थानीय भन्दै थिए, “कारबाहीको नाटक गर्दै सुमो रोकेर यात्रु तर्साउने आइडिया व्यवसायीको हो । प्रहरीले त त्वम् शरणम् गरेका मात्र हुन् ।”

घटना

राती साढे ८ बजे त्रिपुरेश्वरबाट वनस्थली पुग्नु छ । जति ट्याक्सी रोकिए पनि मिटरमा जान मरिगए मान्दैनन् । ट्याक्सी रोक्ने र मिटरमा जान बिन्ती बिसाउने क्रम जारी छ । छेवैको अर्को ट्याक्सीका चालकलाई वनस्थलीसम्म मिटरमा जान आग्रह गरेँ । उनले यसरी हेरे, मानौँ मिटरको कुरा निकालेर मैले अपराध गरेँ । कति कुर्ने ! त्यसैले मिटरमा उठेभन्दा सय रुपैयाँ थपिदिने प्रस्ताव राखेँ । उनले ढोका खोले ।

ट्याक्सी जमल पुग्यो । हाम्रो बातचित सुरु भयो ।

“दाइ, ट्याक्सी चलाउन थालेको कति भयो ?”

“एक महिना ।”

“ए, विदेश गएर फर्केको ?”

“होइन, प्रहरीबाट रिटायर्ड भएको ।”

जागिर छाडेको महिना दिन बित्न नपाउँदै ठगेकाले उनी प्रहरी हुन् भन्ने पत्यारै लागेन । ट्याक्सीले ठमेल छिचोल्दै गर्दा सोधेँ, “दाइ, आफैँ प्रहरी, आफैँ नियम मिच्ने ?”

“सबैले ठग्न हुने । प्रहरीले चाहिँ नहुने ?” शानले जवाफ फर्काए ।

“भनेपछि १६ वर्षसम्म तपाईंलाई यस्तै स्कुलिङ दिइयो ?”

“भाइ, अघि नै नचढेको भए हुने । किन अहिले ल्याङल्याङ गरिरा ?” उनी रिसाए ।

‘प्रहरी मेरो साथी’ नारा दिने नेपाल प्रहरीको पारा भने यस्तो !

प्रकाशित: कार्तिक २१, २०७५

ट्याग: नोटबुक