‘मीटू’ले तोडेको मौनता

- नेहा शर्मा

मीटू अर्थात् म पनि । म पनि यौन हिंसाको सिकार भएकी छु । हलिउडबाट उदाएको यो ह्यासट्याग अभियान मीटूको मूल भाव यही हो । सन् २००६ मा अफ्रो–अमेरिकी तराना बर्कले यौन हिंसापीडितहरुलाई आवाज उठाउन प्रेरित गर्न र उनीहरु एक्ला छैनन् भन्ने महसुस गराउन यो शब्दको प्रयोग गरेकी थिइन् । उनको मीटू शब्दले एक दशकपछि विश्वव्यापी रुपमा यति धेरै चर्चा बटुल्छ भनेर सायदै तरानाले सोचेकी थिइन् होला ।

सन् २०१७ अक्टोबरमा हलिउड निर्माता हार्वी वाइन्स्टाइनमाथि ५० भन्दा बढी महिलाहरुले लगाएको यौन उत्पीडनसम्बन्धी आरोपले इतिहासमा लुकिसकेको शब्द मीटूलाई फेरि उजागर गरायो । बिस्तारै महिलाहरुले आफ्नो कथा भन्न थाले र मीटू ह्यासट्याग कमसेकम ८० देशमा ट्रेन्डिङ भएको थियो । अमेरिकामा एक वर्षअघि नै सुरु भएको यस अभियानले भारतमा तनु्श्री दत्तले नाना पाटेकरलाई यौन दुव्र्यवहारको आरोप लगाएपछि मात्र तीव्रता लियो । तनुश्रीको हिम्मत भारतका अरु महिलाका लागि उदाहरण बन्यो र बिस्तारै उनीहरुले आफ्नो उत्पीडनको कथासहित मीटूको ह्यासट्याग लगाएर स्टाटस अपलोड र ट्वीट गर्न थाले । विशेषत: ठूला पदमा भएका पुरुषले गरेको उत्पीडनका किस्सा बाहिर आउन थाले ।

भारतीय दुई लेखक चेतन भगत र इरा त्रिवेदी पनि निकै चर्चामा आए । भर्खरै आफ्नो किताब सार्वजनिक गरेका चेतन भगतले इरा त्रिवेदीसहित अरु एक/दुई महिलाको आरोप पनि खेप्नुपर्‍यो । आफूलाई चुम्बन गर्न खोजेको इराको आरोपपछि चेतनले आफ्नो सफाइमा इराले पठाएको इमेलको फोटो सार्वजनिक गरे, जहाँ इराले इमेल टुंग्याउँदै लेखेकी थिइन्– ‘मीस यू, किस यू’ । इन्टरनेटमा इराको समर्थनमा आएका मानिस पनि चेतनले आफ्नो सफाइमा राखेको फोटो हेरेपछि उनको समर्थन गर्न थाले । इरा कि चेतन को सही भन्ने विषयमा अझै पनि ठूलो विवाद भइरहेको छ । यसैबीच इराले चेतनलाई कानुनी सूचना पठाएकी छिन् ।

मीटू एक्काइसौँ शताब्दीकै निकै शक्तिशाली अभियान हो । मीटूले महिलालाई आफ्नो आवाज र व्यथा पोख्ने ठाउँ दिएको छ । मीटूले दिएको हौसला र ऐक्यबद्धताका कारण आफ्नो मुहार वा नाम लुकाउने महिलाहरु अहिले आफ्नो पहिचान खुलाएर अपराधीको नाम भन्न तयार छन् । उनीहरु आफूलाई गम्भीरताका साथ लिन मानिसलाई आग्रह गरिरहेका छन् । यस अभियानले अपराधीलाई सजायतर्फ धकेल्ने हिम्मत महिलालाई दिएको छ ।

मीटू असल उद्देश्यले अघि बढाइएको अभियान हो तर यसका अनभिप्रेरित प्रभाव पनि बढ्दै गएको देखिन्छ । एक रिपोर्टका अनुसार अमेरिकाको पेन्सिलभानियास्थित सेनेका भ्याली स्कुलमा अध्ययनरत दुई छात्राले आफूलाई एउटा केटो मन नपरेका कारण उसलाई स्कुलबाट निष्कासित गराउन निर्दोष छात्रमाथि यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकारेका छन् ।

महिलाको हातमा मीटूले शक्ति दिएको छ । ठूला पदमा भएका मानिसले पद र शक्तिको दुरुपयोग गरेर महिलाको उत्पीडन गरेको उदाहरण त छँदैछ । तर, यस अभियानले दिएको शक्तिलाई नकारात्मक रुपले प्रयोग गर्नु सरासर अनुचित हो । निजी प्रतिशोधका कारण आफ्नो विगत र वर्तमान सम्बन्धको अनुचित फाइदा उठाएर त्यसलाई आपराधिक प्रताडनाको रुपमा पेस गरिएका घटना पनि धेरै छन् ।

मीटू नभएको भए क्रमिक यौन हिंस्रकको वास्तविकता अझै कति वर्षसम्म दबिन्थ्यो होला । यद्यपि, अहिले मीटू यस्तो मोडमा छ, जहाँ कुनै महिलाले प्रमाणित गर्न नसकिने आरोप लगाइन् भने त्यस कुरालाई हामी अनुसन्धानबिनै गम्भीरताका साथ लिन्छौँ । कुनै व्यक्तिमाथि आरोप लगाउनुपूर्व महिलाहरुले पनि ध्यान दिन जरुरी छ : के यस पुरुषको मप्रतिको व्यवहार साँच्चै यौन हिंसा वा उत्पीडनको श्रेणीमा पर्छ ? पुरुषसँग गरेको कुराकानी वा कार्यमा मेरो पनि सहमति थियो कि थिएन ?

अर्को प्रश्न यो पनि छ – के मीटू अभियानले महिला–पुरुष जातिबीचमा नै विभेद ल्याउने त होइन ? आजकल सामाजिक सञ्जालमा हिटू पनि चर्चित बन्दै गएको छ । धेरैले यसलाई ठट्टाको रुपमा लिन्छन् भने कतिले पुरुष जातिले भोगेको उत्पीडन जनाउने ह्यासट्याग भन्छन् । एउटा कुरा के बुझ्न जरुरी छ भने मीटूको ‘मी’ अर्थात् ‘म’ ले कुनै लिंगलाई जनाउँदैन । पुरुष र महिला दुवैको मीटूमा बोल्ने उत्तिकै अधिकार छ । तर, धेरैजसो मानिसको मानसपटलमा मीटू भनेको महिलाको आन्दोलन हो । यो एकदमै नारीवादी छ भन्ने छाप परिसक्यो । मीटूले दिएको शक्तिको दुरुपयोग हुने डरका कारण आजकल धेरै पुरुष महिलाउँग खुलेर बोल्न पनि डराउन थालेका छन् ।

यद्यपि, यस अभियानले कैयौँ गुणा राम्रो काम गरेको छ । यो संसारमा यौन हिंसाका सिकार भएका कैयौँ महिला र थुप्रै असल पुरुष पनि छन् । म उनीहरु सबैको साथमा छु ।

यी पनि पढ्नुहोस् :

मौनता तोड्ने हिम्मत

 

→ जहाँतहीँ दुर्व्यवहार

प्रकाशित: कार्तिक २०, २०७५

ट्याग: विचार