हिप्पीको काठमाडौँ कनेक्सन

हिप्पी | लेखक : पाउलो कोहेलो | प्रकाशक : पेन्गुइन भाइकिङ | पृष्ठ : २८५ |मूल्य : ३९९ भारू

- नीरज लवजू

पाउलो कोहेलोले आफ्नै जीवनको एउटा कालखण्डलाई औपन्यासिक कलेवरमा लेखेको कृति हो, हिप्पी । उनले यसलाई ‘आफ्ना व्यक्तिगत अनुभवका कथा’ भनेका छन् । आम आत्मसंस्मरणभन्दा पृथक यस कृतिमा कोहेलोले तेस्रो पुरुष दृष्टिबिन्दु प्रयोग गरेका छन् । पाठकले लेखकीय व्यक्तित्वको बोझ बोकिरहनु पर्दैन किनभने लेखक स्वयं एक सामान्य पात्रका रुपमा प्रस्तुत भएका छन् ।

हिप्पीको प्रारुप पृथ्वीका दुई भूगोलको यात्रा हो– ल्याटिन अमेरिका र युरेसिया । यी दुई यात्रामा भेटेका पात्रमार्फत लेखकले सन् १९७० दशकको युरोपेली समाजको मनोदशा चित्रण गरेका छन् । लेखक यात्राका क्रममा पुगेका भूगोलको सामाजिक अवस्थाको मात्र चित्रण गर्दैनन्, बरु भेटिएका पात्रका मनोविज्ञान र सामाजिक पृष्ठभूमिको गहिराइसम्म पुग्छन् ।

तत्कालीन कम्युनिस्ट मुलुक युगोस्लाभियाकी प्रेमिकासँग पाउलोको ल्याटिन अमेरिकाका विभिन्न देश र सभ्यता (विशेषत: माचुपिचु सभ्यता) को यात्राले चे ग्वेभाराको मोटरसाइकल डायरिज् को सम्झना दिलाउँछ । उनीहरु ‘डेथ ट्रेन’ बाट ल्याटिन अमेरिकाको गहिराइ नाप्दै हिँड्छन् । कुनै बेला कुष्ठरोगी र औलो लागेका मजदुर बोक्ने भएकाले ती रेलको नामकरण नै ‘डेथ ट्रेन’ गरिएको हुन्छ । यसमा उपनिवेशवादी शक्तिले ल्याटिन अमेरिकाका प्राकृतिक स्रोत दोहन गर्न त्यहाँका मानिसमाथि गरेको निर्मम चित्रण गरिएको छ । ब्राजिल पुगेर पाउलो र उनकी प्रेमिका जीवनको आ–आफ्ना बाटामा अगाडि बढ्छन् । न एकअर्काप्रति कुनै गुनासो, न त कुनै आग्रह । यौन, प्रेम, माया, आत्मीयताजस्ता शब्दभित्र हामीले अझै बोकिहिँडेको मान्यता यहाँनेर पूरै भत्केको अनुभव हुन्छ । पहिलो अध्यायको ल्याटिन अमेरिकी यात्रा समाप्त हुन्छ । तर, पाउलोभित्रको यात्रा (जीवनको खोज) को चाह सकिएको हुँदैन ।

प्रमुख पात्रमध्येकी कार्लासँग पाउलोको भेट डाम स्क्वायरमा हुन्छ । त्यही उनले थाहा पाउँछन्– हिमालको काखमा रहेको एसियाको अनकन्टार देश नेपालको राजधानी काठमाडौँबारे । नेपालको कुनै पहाडी गुफामा एकान्तवास बस्ने कार्लाको इच्छा पूरा गर्न उनलाई एक साथी खाँचो परेको हुन्छ । पाउलो उनका लागि एक ब्राजिली ठिटोसिवाय अर्थोक होइन । तर, नेपालसम्मको लामो यात्राका लागि उनले पाउलोलाई साथी बनाउँछिन् ।

हिप्पीहरु समाजको आँखामा भिन्न मानिसहरु । लामोलामो कपाल पाल्ने, रंगीचंगी उज्याला लुगा लगाउने, मुस्किलले नुहाउने, लागूपदार्थ र यौनबारे असामाजिक धारणा बोकेका युवक–युवती । उनीहरु स्वयंको आँखामा भने तत्कालीन समाज र राजनीतिले बनाइदिएको चौघेराभन्दा बाहिर जीवन र संसारको नयाँ परिभाषा खोज्न हिँडेका यात्रीहरु । एम्स्टरडाम चोकबाट सुरु भएको यात्राका चालक, सहचालकदेखि सबै यात्रीका आ–आफ्ना जीवनकथा छन् र नेपालसम्म पुग्ने चाहनाका फरक–फरक पृष्ठभूमि । तर, उनीहरुको संसार चिन्ने लक्ष्य भने साझा । आफ्ना अभिभावकसँग बाहेक यात्रा गर्न उमेर नपुगेका दुई किशोरी, आइरिस स्वतन्त्र आन्दोलनका पक्षधर दम्पती रायन र मिर्थ, फ्रान्सको अराजकतावादी आन्दोलनमा संलग्नतापछि निराश भई नेपालमा बढ्दो माओवादी आन्दोलनबारे जानकारी दिन काठमाडौँ आएका बाबु–छोरी सबैका आ–आफ्ना कथा हिप्पीले बोकेको छ ।

कुनै बेला काठमाडौँ हिप्पीहरुको हब हुने गथ्र्यो । युरोपको चरम यान्त्रिक सम्बन्ध, नैतिकताको ढोँगी परिभाषा, आर्थिक विशृंखलताले जन्माएको अराजक मनोविज्ञान नै हिप्पीको उद्भव हो । हिप्पीहरु स्थापित मूल्यमान्यतालाई चुनौती दिन खोज्थे । संसारका नयाँ–नयाँ आयामको उद्घाटन गर्ने उनीहरुको चाह हुन्थ्यो । त्यही भूगोलको ‘नयाँ’ आयाम र सभ्यताको ‘नवीन’ पाटो खोज्ने चाहले हिप्पीहरुलाई काठमाडौँ  ल्याइपुर्‍यायो । काठमाडौँको हिमालसँगको सामीप्य, मौलिक र पृथक एसियाली संस्कृति, खुकुलो कानुन, नउधिनेको भूगोलका कारण नेपाल आकर्षण बनिरह्यो । हिप्पीको दोस्रो यात्रामा उनीहरुको लक्ष्य हुन्छ– काठमाडौँ । नेपालको तत्कालीन परिवेशबारे पुस्तकमा धेरै ठाउँमा प्रसंग छ । लेखक आफैँ भने काठमाडौँ पुग्दैनन् । पाउलो एसिया र युरोप महादेशको संगम टर्कीको इस्तानबुल सहरमै सुफिज्मको अभ्यास गर्न रोकिन्छन् । कार्ला काठमाडौँ त आउँछिन् तर नेपालमै बसेर कुनै अज्ञात गुफामा तपस्या गरेर जीवन बिताउने चाहना त्याग्छिन् । इस्तानबुलमा कार्ला र पाउलोको प्रेमपूर्ण बिदाइ चुम्बनमा पुस्तकले बिट मार्छ ।

कोहेलोका कृतिमा लगभग नछुट्ने विषय हो, यात्रा । तर, त्यो सामान्य भौतिक यात्राभन्दा गहिरो, विचार र जीवन दर्शन हुन्छ । हिप्पी जीवन दर्शनको यात्रा हो । एम्स्टरडाममा उनी ‘हरे कृष्ण’ जीवन दर्शनका अनुयायीहरुसँग सडकमा निसंकोच नाच्दै हिँड्छन् । इस्तानबुलमा उनी सुफी दर्शनको अभ्यासमा लाग्छन् ।

पाउलोका अन्य कृतिमा भेटाइने लयबाट भने यसमा धेरै अन्तर छैन ।

प्रकाशित: कार्तिक २०, २०७५

ट्याग: पुस्तक