वामलाई मात्रै नपढौँ

- खगेन्द्र प्रसाईं

खुला बजारको मिथक पढ्ने क्रममा दक्षिण कोरियाली लेखक हा जुन चाङको ब्याड समारिटन्र्ससम्म  पुगेँ । वैचारिक कोणले अति नै शक्तिशाली यस पुस्तकले खुला बजारका कारण पश्चिमा मुलुकहरु विकसित भएका हुन् भन्ने आम बुझाइलाई गलत ठहर्‍याएको छ । बेलायत, फ्रान्स र अमेरिकाजस्ता पश्चिमा पुँजीवादी संसार खुला अर्थतन्त्रका कारण समृद्ध रहेको अवधारणालाई उदारवादी र माक्र्सवादीसमेत स्वीकार्छन्, जसलाई ब्याड समारिटन्र्सले तार्किक ढंगले खण्डन गरेको छ ।

ताइवान, जापान, दक्षिण कोरिया र सिंगापुरको आर्थिक प्रगतिमा खुला बजारभन्दा राज्यको व्यापक हस्तक्षेपमा आधारित लगानी, नियन्त्रण र निगरानीको भूमिका बलियो रहेको तथ्यलाई पुस्तकले प्रकाश पारेको छ । अमेरिकामा अध्ययनरत छँदा नोम चोम्स्कीको अन्तर्वार्तामा यो पुस्तक उपयोगी रहेको जानकारी पाएँ । विकासको महत्त्वकांक्षा राख्ने नेपाली युवा पिँढीले यस्तै किताब अध्ययन गर्नु जरुरी छ किनकि पुँजीवादको प्रक्रिया नबुझीकन हाम्रो विकासको मोडेल कस्तो हुने भन्ने भेउ नपाउने यस किताबले प्रस्ट पारिदिन्छ ।

डेबिड हार्बी, चोम्स्की, कान्ट, युर्गन हाबर्मास र शशी थरुरका लेखन प्राय: पछ्याउँछु । विवेक चिबरको लेखनमा रहेको ‘मिथक भञ्जन’ प्रति आकर्षित छु । ऐतिहासिक महत्त्वका गैरआख्यान बढी पढ्छु । आत्मरतिमा डुबेका आत्मकथाहरुप्रति मेरो मोह छैन ।

एडवर्ड एस हम्र्यान र नोम चोम्स्कीको म्यानुफ्याक्चरिङ कन्सेन्टमा गोप्य तथ्यहरुद्वारा पुँजीवादी मिडिया स्वतन्त्र हुँदैनन् भन्ने प्रमाणित गरिएको छ । अमेरिकाजस्ता पुँजीवादी लोकतन्त्र रहेको देशमा पुँजीपति र मिडियाको साँठगाँठमा अमेरिकी सत्ता, सेना र सम्भ्रान्तहरुको पक्षमा कसरी प्रोपगन्डा/ब्रेनवास गर्छन् भन्ने देखाएको छ । अमेरिकाको घरेलु तथा वैदेशिक नीतिबारे यी मिडियाले तथ्यहरु लुकाइदिन्छन् या भत्काएर कुरुप स्वरुपमा बाहिर ल्याइदिन्छन् भन्ने सप्रमाण पुष्टि गरिदिन्छ पुस्तकले ।

अमेरिकी मिडिया मालिकले नाफाका लागि सेना र सीआईएसँग करार लिएर काम गर्छन् । वासिङ्टन पोस्ट  यसको जिउँदो उदाहरण हो । मिडिया स्वतन्त्र नभएमा लोकतन्त्र खतरामा पर्छ । लोकतन्त्रवादीहरु स्वतन्त्र मिडियाका पक्षमा हुने हुँदा उनीहरुले यो किताब पढ्नैपर्छ ।

सिल्भिया फ्रेडेरिचीको कालिबान एन्ड विच  मलाई पछिल्लो समय मन परेको किताब हो । माक्र्सवादका एकाध कमजोरीहरुलाई औँल्याइए पनि मूलत: माक्र्सवादी–नारीवादी धारबाट लेखिएको रुपमा बढी चित्रित छ यो पुस्तक । सामन्तवादी समाजबाट पुँजीवादतर्फ संक्रमित हुँदा महिलाहरुलाई झन् बढी शोषणमा पारिएको र सम्पत्तिबाट अझ बेदखल पारी सडकमा पछारिएको दृश्यलाई सिल्भियाले उदांगो पारिदिएकी छन् । पुँजीवादी प्रक्रियाले महिलालाई घरेलु र कारखानाको दोहोरो बोझ थपिदिएको तर्क किताबमा छ ।

पूर्वपुँजीवादी समाजमा महिला घरभित्रै खुम्चिएका हुन्थे तर पुँजीवादी समाजमा उनीहरु घरबाहिर निस्कने हुँदा यो प्रगतिशील रहन्छ भन्ने भाष्यलाई यस किताबले भत्काइदिन्छ । पुँजीवादी व्यवस्थाले महिलालाई घरबाट घोक्र्याएर कारखानाको दास बनाएको निचोडलाई सिल्भियाले ऐतिहासिक प्रमाणसहित पुष्टि गरेकी छन् । महिला मुक्तिका कुरा गर्नेले यो किताब पढ्नु राम्रो हो । पुँजीवादी व्यवस्थाले आफ्नो फाइदाका लागि महिलाहरुलाई कसरी सस्तो मजदुरका रुपमा बजारमा किनबेच गर्छ भन्ने कुरा स्थापित गर्छ यस पुस्तकले ।

१५/१६औँ शताब्दीतिर युरोपमा हजारौँ संख्यामा महिलालाई बोक्सीको आरोप लगाएर मारेको र तिनका सारा सम्पत्ति खोसेको रहस्य किताबले खोल्छ । क्रिस्तानी अन्धविश्वासका कारण मात्रै नभई अन्य राज्यसँग युद्ध गर्न पुँजी सञ्चयका लागि पनि त्यहाँको सत्ताले नै ‘विच हन्टिङ’ चलाएको दाबी कालिबान एन्ड विचमा छ ।

वामपन्थी लेखन मात्रै पढ्दा हाम्रो विचार एकलकाँटे भइदिन्छ । कम्युनिस्टहरुले गरेको सैद्धान्तिक जिकिरलाई विश्वास गर्दा आलोचनात्मक चेतको ठूलो हिस्सा छुट्न सक्छ । ज्ञान, विज्ञान, चेतना र अध्ययनको उद्देश्य नै उज्यालोको खोजी र प्रज्ञावान हुनु हो भने सत्य र जीवनोपयोगी किताब छनोट गर्नुको विकल्प छैन । नत्र, अन्धविश्वास बढाउने र बुद्धि प्रदूषित पार्ने पुस्तकको कमी छैन । नेपाली राजनीतिमा अहिले सत्ता मात्रै छ, विमर्श कम छ । अर्थात्, संवादहीनता छ । अर्थपूर्ण संवादका लागि संरचनाबोधी अध्ययन आवश्यक हुन्छ ।

 प्रस्तुति : गुरुङ सुशान्त 

प्रकाशित: कार्तिक २०, २०७५

ट्याग: किताब