रावणायण

- अभय श्रेष्ठ

हामी सानै छँदा बा र दौँतरीहरूले दसैँमा रामकथामा नाटक गरेको सम्झनाको रिल आँखाअगाडि अझै घुमिरहन्छ । बाले हनुमानको रोल गर्नुभएको थियो । काकाले सीताको । सीताको रोलमा जब काकाको धोद्रो पुरुष स्वर निस्कन्थ्यो, दर्शकबीच हाँसोको फोहोरा छुट्थ्यो । बाले हनुमानको रोल गर्नुभएकाले होला, बाल्यकालमा मलाई पनि हनुमानझैँ महान् रामभक्त बन्ने ठूलो इच्छा थियो ।

वाल्मीकि रामायणलाई भानुभक्त आचार्यले सिर्जनशीलतासहित नेपालीमा अनुवाद गरेपछि रामकथाको महानता नेपाली जनमानसमा स्थापित भयो । रामानन्द सागरले भारतीय टीभी दूरदर्शनका लागि रामायण  सिरियल बनाएपछि त यसको लोकप्रियता चुलीमा पुग्यो । ०४४ तिर मोदनाथ प्रश्रितको देवासुर संग्राम  पढेपछि पहिलोपल्ट मेरो रामभक्तिमा दस रेक्टर स्केलको भूकम्प गयो । त्यसपछि रजनीकान्त शास्त्रीको हिन्दु धर्म का उत्थान और पतन अनि देवीप्रसाद चट्टोपाध्यायको लोकायतले त मेरो विचारमा कायाकल्प नै गरिदिए । रामभक्ति मेरो एकांगी दृष्टिकोणको परिणाम थियो । दार्शनिक भाषामा यसैलाई अधिभूतवाद भनिँदो रहेछ । भोगटेको पहेँलो छाला हेरेर पूरै भोगटे पहेँलो छ भनी मूल्यांकन गर्ने प्रवृत्तिजस्तै रहेछ यो दृष्टिकोण । पहेँलो छालाभित्र भोगटे सेतो वा रातो हुन्छ । वस्तुगत नजरले हेर्ने हो भने वर्णन गरिएजस्तो न रावण खलनायक देखिन्छन्, न त राम महान् भेटिन्छन् ।

भारतीय निर्देशक मणिरत्नमले एउटा चलचित्र बनाए, रावण । यसले रामायणप्रतिको प्रचलित अवधारणा पूरै भत्काइदिन्छ । अभिषेक बच्चन, ऐश्वर्या राय, गोविन्दाले अभिनय गरेको रावणमा रामायणसँग मिल्दोजुल्दो आधुनिक कथा छ । यसमा राम होइन, रावण नायक छ ।

रामायण  कथाअनुसार रावणले बित्थामा सीता हरण गरेका थिएनन् । रावणकी बहिनी सुपर्णखाले रामसँग प्रणय कामना गरिन् । रामले आफू विवाहित भएकाले लक्ष्मणकहाँ जाऊ भने । लक्ष्मणको पनि उर्मिलासँग बिहे भइसकेको थियो । रामले प्रणय निवेदन गरिरहेकी युवतीको भावनामाथि यसरी खेलवाड गरे । उनी लक्ष्मणकहाँ गइन् । रिसाहा लक्ष्मणले नाक, कान, चुल्ठो काटेर फर्काइदिए । बहिनीको यही दशाको प्रतिशोध लिन रावणले सीता हरण गरे । तथापि, उनले सीतासँग बिहेको आग्रहबाहेक कुनै जबर्जस्ती गरेनन् । सीतालाई सीधै अन्तपुर नलगी अशोकवाटिकामा राख्नु र उनको इच्छाविरुद्ध कुनै काम नगर्नु रावणको उच्च नैतिकता थियो । रावणकै भाइ विभीषणलाई हात लिएर रामले रावणको हत्या गरे र सीतालाई मुक्त गराए । अपहरणकारीकहाँ वर्षौं बिताएकी सीताप्रति रामलाई शंका थियो । ‘कुनै तुच्छ नारीका लागि नभई शत्रुसँग बदला लिन’ लंका आक्रमण गरेको भन्दै रामले सीतावरण गर्न अस्वीकार गरे । सीतालाई ‘लक्ष्मणसँग बस्ने भए बस’ समेत भनिदिए । आखिर सीताले अग्निपरीक्षा दिनुपर्‍यो । उनी सफल भइन् । पछि फेरि धोबीको आक्षेपलाई निहुँ बनाएर गर्भवती सीतालाई उनले बाघभालुको शरणमा घना जंगलमा छाड्न पठाए । अन्तत: सीताले आत्महत्या गर्नुपर्‍यो ।

मणिरत्नमको चलचित्रमा भने रावणको भूमिकामा विद्रोही आदिवासी युवक वीरा छ । प्रहरीद्वारा बहिनीमाथि बलात्कारको बदला लिन ऊ प्रहरी अधिकारी देवकी सुन्दरी पत्नी रागिनीलाई हरण गर्छ । १४ घन्टाभित्र हत्या गर्ने घोषणा रद्द गर्दै ऊ अपहरितको अस्मिताको पूरै सम्मान गर्छ । रागिनीसँग आकर्षित भएर बिहेको प्रस्ताव राख्छ । अस्वीकृति र तिरस्कारको बदलामा कुनै अमानवीय व्यवहार गर्दैन । शान्ति सम्झौता गर्न गएको उसको भाइलाई प्रहरी अधिकारी देव गोलीले उडाइदिन्छ । ‘लंका’ जलाउन आएको ‘हनुमान’ लाई भने पक्राउ गरे पनि मार्दैन । देवलाई जिउँदै छाडिदिने सर्तमा रागिनी वीरासँग बस्न राजी छु भन्छे । रागिनीको असीम प्रेम देखेर देवलाई जिउँदै छाडिदिन्छ र रागिनीलाई मुक्त गर्छ । प्रहरी अधिकारी भने बिटुलिइसकेको आरोप लगाएर रागिनीलाई अस्वीकार गर्छ । निराश ‘सीता’ रावणकहाँ फर्कन्छे । सशस्त्र फौजसहितको प्रहरी अधिकारी निहत्था र एक्लो विद्रोहीमाथि आक्रमण गर्छ । ढाल बनेर उभिएकी ‘सीता’ लाई पन्छाउँदै ‘रावण’ वीरता साथ मृत्यु स्वीकार्छ । को नायक, को खलनायक ? छुट्याउने जिम्मा दर्शकलाई छाडेर चलचित्र सकिन्छ ।

रावण आर्य पिता र अनार्य माताका सन्तान हुन् । पिता विश्रवा ऋषि र माता असुर सुमालीकी पुत्री कैकसी । आधुनिक विज्ञानले पनि फरक दुई नश्लबाट जन्मेका सन्तान मेधावी हुने साबित गरिसकेको छ । रावण आफ्नो समयका मेधावी वैज्ञानिक र बौद्धिक थिए । उनका दस टाउका र बीस हात भएको वर्णन रामायणमा छ । विश्लेषकहरु उनलाई दस टाउका बराबरको दिमाग र बीस हात बराबर सामथ्र्य भएका व्यक्तिका रुपमा व्याख्या गर्छन् ।

रामकथासँग सम्बन्धित पहिलो आधिकारिक ग्रन्थ वाल्मीकि रामायणअनुसार राक्षसका प्रमुख तीन शाखा थिए, विराध, दानव र राक्षस । रावण राक्षसका नायक । राक्षसको अर्थ हुन्छ, रक्षक । उत्तरकाण्ड (सर्ग ४–११) का अनुसार ब्रह्माले जलको रक्षाका लागि प्राणीहरुको सृष्टि गरे । जो क्षुधित थिए, तिनले भने– रक्षाम् अर्थात् म रक्षा गर्छु । जो क्षुधित थिएनन्, तिनले यक्षम् भने अर्थात् म यज्ञ गर्छु । यसरी रक्षकहरु राक्षस र यज्ञ गर्नेहरु यक्ष भए । आजभोलि राक्षसलाई जुन खलनायकको प्रतीक मानिन्छ, त्यसलाई वाल्मीकि रामायणले नै खारेज गर्छ ।

सुमाली आफूले गुमाएको लंका यक्षहरुबाट फिर्ता चाहन्थे । अत: उनले छोरी कैकसीलाई विश्रवा ऋषिकहाँ पठाए । विश्रवाबाट कैकसीले कुम्भकर्ण, रावण र विभीषणलगायत पुत्रहरु तथा सुपर्णखा नामकी पुत्री जन्माइन् । हजुरबा सुमालीको चाहनाअनुसार रावणले सौतेला आर्य भाइ कुवेरबाट लंका कब्जा गरे । लंका पहिल्यैदेखि समृद्ध थियो । रावणले यसको समृद्धि र यशलाई चुलीमा पुर्‍याए । भारतको विश्व बुक्सद्वारा प्रकाशित राम और रामराज्यका अनुसार उनले अंगद्वीप (सुमात्रा), यवद्वीप (जावा), मलयद्वीप (मलाया), शंखद्वीप (बोर्नियो), कुशद्वीप (अफ्रिका), वराहद्वीप (मडागास्कर) माथि पनि चाँडै विजय प्राप्त गरे । आफ्नो अद्भुत शौर्यद्वारा चाँडै नै उनले देवता, दानव, गन्धर्व, यक्षजस्ता तत्कालीन प्रमुख जातिमाथि प्रभुत्व कायम गरे । यसप्रकार उनले अभूतपूर्व साम्राज्य स्थापना गरे ।

राजनीतिक र रणनीतिक हिसाबले मात्र नभई रावणले लंकाको सांस्कृतिक विकासमा पनि ठूलो भूमिका खेले । राक्षस धर्म र संस्कृतिका प्रथम व्याख्याता र संस्थापक उनै थिए । उनले आदित्य (रायानी–सूर्य) संस्कृति र यक्ष संस्कृति समन्वय गरी राक्षस संस्कृति बनाएका थिए । राक्षस संस्कृतिको मूल मन्त्र थियो, सारा विश्वलाई एक धर्म, एक संस्कृतिद्वारा दीक्षित गर्नु । यही उद्देश्यले उनले वेदको सम्पादन, वैदिक ऋचामाथि नवीन टिप्पणी र व्याख्या गरे । राम और रामराज्यका अनुसार रावणद्वारा प्रतिपादित यही भाष्य नै आज ‘कृष्ण यजुर्वेद’ का रुपमा प्रसिद्ध छ । रावणलाई रामकथाका रचयिताहरु परस्त्रीगामीका रुपमा चित्रण गर्छन् । तर, रामायण कथा स्वयंले त्यसको खण्डन गर्छ । उनले आफ्ना अधिकांश रानी अग्निदीक्षाकै माध्यमबाट प्राप्त गरेका थिए ।

दण्डकारण्यका १४ हजार राक्षसमध्ये एक्लो बचेका अंकपनको सुझावमा रावणले सीता हरण गरेका थिए । एक स्त्रीको अपमानको बदला अर्की स्त्रीको अपहरण ! यो न्यायोचित कदम थिएन । मारीचले त रावणलाई यसको परिणाम ठूलो युद्ध र धनजनको क्षति हुने चेतावनी दिएर यो कदम नचाल्न सुझाएका थिए । रावणले सीतासँग बिहेको आग्रह र प्रणय कामना गरे । पतिव्रता सीता एक रति डगिनन् । रामायण : एक नयाँ दृष्टिकोणमा भारतीय लेखक पह गुप्ता लेख्छन्, ‘यसमा सीताको दृढ अठोटको मात्र नभई रावणको संयमको पनि उत्तिकै भूमिका छ । चार वर्षसम्म लंकामा कैद गरिएकी सीतामाथि उनले कहिल्यै जबर्जस्ती गरेनन् । चाहेका भए उनी सजिलै सीतामाथि अधिकार जमाउन सक्थे ।’

रावण महावीर थिए । रामसँग बाहेक एकपल्ट मात्र उनी किष्किन्धाका राजा बालीसँग पराजित भए । उनी असल मित्र, कुशल शासक, मायालु पति, स्नेही पिता थिए । द्रविडहरुमा एकताको अभाव र भाइ विभीषणले धोका दिँदा उनका यी सबै गुण निरर्थक भए । युद्धमा अन्तत: रावणको मात्र हत्या भएन, समृद्ध राक्षस सभ्यता र गौरवकै पतन भयो ।

विजया दशमीलाई रावणमाथि रामको विजयसँग जोडिन्छ । यसलाई असत्यमाथि सत्यको जित भनिन्छ । सुन्दा यो मिथक महान् लाग्छ तर वास्तविकता त्यस्तो छैन । इतिहास जित्नेहरुकै हुन्छ । जित्नेहरु जति अन्यायी र क्रूर भए पनि असल ठहरिन्छन् । युद्धमा नमारिएका भए रावण र बाली नै महान् ठहरिन्थे ।

वाल्मीकि रामायणकै स्वतन्त्र अध्ययन गर्ने हो भने विवेकी पाठकले अयोध्याका राजा रामलाई महान् आदर्श मान्न कठिन छ । विजेता भएकैले उनलाई वीर, आज्ञापालक पुत्र, मायालु दाजु, सहृदय मित्र, प्रजावत्सल राजा, मर्यादा रक्षक पुरुष आदि विशेषण दिइयो । विवेकलाई कुनामा नराखी हेर्ने हो भने रामको चरित्र र शासन व्यवस्था प्रश्नको घेरामा पर्छन् । बालीवध, सीता परित्याग, शम्बुकवध, ताडकावधलाई मर्यादा पुरुषोत्तमको कार्य कसरी मान्न सकिएला ? सुग्रीव र बालीको मल्लयुद्ध भइरहेका बेला सात रुखको छेको लागी वाण हानेर बालीको हत्या गर्नु मर्यादा पुरुषलाई सुहाउने कदम थिएन । नारद ऋषिको संयोजकत्वमा मार्केण्डेय, मौद्गल्य, वामदेव, काश्यप, कात्यायन, जाबाली, गौतमको समितिले शूद्र शम्बुकले तपस्या गरेका कारण बाबु जिउँदै हुँदा एक ब्राह्मण बालकको मृत्यु भएको ठहर्‍यायो । रामले यसमा अलिकति पनि परीक्षण नगरी शीर्षासन गरिरहेका शूद्र शम्बुकलाई स्पष्टीकरणको मौकासमेत नदिई तपस्यास्थलमै हत्या गरे । ताडकावधको कथा पनि यस्तै छ । यक्ष जाति ब्राह्मण प्रभुत्वविरोधी थियो । अगत्स्य नामक ब्राह्मणले यक्ष जातिकी ताडकाका पतिलाई मारेका थिए । यसबाट अवसादग्रस्त ताडका ब्राह्मण जातिसँग बदला लिन चाहन्थिन् । विश्वामित्रबाट यो सुनेपछि राम र लक्ष्मणले क्रूरतापूर्वक ताडकाको हत्या गरे । न्यायप्रेमी हुँदा हुन् त क्रूरताका लागि उनीहरुले पहिले अगत्स्यलाई दण्ड दिनुपथ्र्यो ।

भनिन्छ, यतातिर रामायणजस्तै द्रविड समुदायमा रावणायण प्रख्यात छ । यसमा रावणको सौर्य, वीरता र कुशल शासनको महिमागान छ । मणिरत्नमको चलचित्रको प्रयास पनि त्यही हो । रामकथाको एकांगी महिमामण्डनलाई खण्डन गरी विवेकको आाखा खोलेर हेर्न त्यसले सार्थक प्रेरणा दिन्छ ।

प्रकाशित: कार्तिक २०, २०७५

ट्याग: विचार