संगीत सपना

- गोकर्ण गौतम

स्कुल पढ्दा कुन्ती मोक्तान र श्रेया घोषालका गीत खुब गाउँथिन्, आमचोक, इलामकी सुनिता थेगिम, २२ । सबैले रुचाउँथे, दंग पर्थिन् । एसएलसीपछि दमकमा संगीत सिक्न थालेपछि त संकल्प नै गरिन्, संगीतलाई पेसा नै बनाउँछु । पारस मुकारुङको संगीतमा उनको पहिलो एल्बम सेप्माङ  त्यसकै एउटा कडी हो । लिम्बू भाषामा सेप्माङको अर्थ हुन्छ, सपना । शास्त्रीय संगीत सिकेकी सुनिता भन्छिन्, “यो एल्बम निकाल्नु सपना पूरा हुनु हो । सँगै यसले अरु सपना पनि थपिदिएको छ ।”

त्यसो त, सुनिताले ९ कक्षा पढ्दा नै गीत रेकर्ड गराएकी थिइन्, लिम्बू भाषामा । नेपाली गीत रेकर्ड गरेको चाहिँ ४ वर्ष बित्यो, ‘मलाई माया मारेपछि...’ । त्यसयता उनले एक सय नेपाली र अन्य भाषाका ३५ गीत गाइसकेकी छन् । फिल्म जालोको ‘बाउ बाजेको पालाको...’बाट पाश्र्व गायन सुरु गरिन् । ‘हत्केलामा...’, ‘के छ समाचार...’, धानैमा नाच्ने सोल्टिनी...’ जस्ता गीतकी गायिका सुनिता भन्छिन्, “मलाई एकोहोरो बिक्नेभन्दा टिक्ने गीत गाउन मन लाग्छ ।” सेप्माङमा यस्तै वजनदार चार गीत राखेको जानकारी दिइन् उनले ।

नेपालीसँगै भाषिक गीत उत्तिकै अब्बल शैलीमा गाउन सक्नु उनको खुबी हो । “मेरो गीत भाइरल नहोला तर जसले सुन्नुहुन्छ, मन पराउनुहुन्छ,” सेप्माङको प्रतिक्रियाबाट हौसिएकी सुनिता भन्छिन्, “क्षणिक लोकप्रियता कमाएर छिट्टै हराउनुभन्दा लामो रेसको घोडा हुने प्रयास गरिरहेकी छु ।”

प्रकाशित: कार्तिक १९, २०७५

ट्याग: रङ