जहाँतहीँ दुर्व्यवहार

- विभु लुइटेल

‘केटाहरू हुन्, अलिअलि रमाइलो त गरिहाल्छन् नि । तिमीहरू मतलबै नगरिदेऊ न,’ एक सहपाठीले दुव्र्यवहार गरेपछि कलेज प्रशासनमा उजुरी गर्दा यस्तो प्रतिक्रिया पाइन्, प्रतीज्ञा जोशी, २०, ले । कलेज प्रशासनको यस्तै असहयोगी रबैयाका कारण जोशीका कति साथी कलेज आउन डराउँछन् भने कतिलाई परिस्थितिले बलियो बनाउँदै लगेको छ । त्यसैले उनीलगायतका केही साथी अचेल सहँदैनन्, उल्टै धावा बोल्छन् । हात हालाहालको अवस्थामा समेत पुगेका छन् ।

नेपालका सबैजसो इन्जिनियरिङ कलेजमा पुरुषभन्दा महिला विद्यार्थीको संख्या निकै कम छ । दुव्र्यवहारका घटना आइहाले लोकलाजका लागि भए पनि कलेजले त्यस्ता घटना सकेसम्म दबाउने गरेको उनको अनुभव छ । “दुव्र्यवहार गर्नेलाई थर्काए कलेज प्रशासन उल्टै हामीलाई गाली गर्छ, उनीहरूलाई केही भन्दैन,” उनी आक्रोश पोख्छिन् ।

प्रतीज्ञा बास्केटबल खेल्न रुचाउँछिन् । कलेजमा थोरै मात्र महिला विद्यार्थी भएकाले उनलाई सुरुमा टोली पुर्‍याउनै हम्मेहम्मे भयो । तर, त्यसले उनलाई बास्केटबल खेल्नबाट रोकेन । उनी केटाहरूसँग खेल्न थालिन् । खेल्ने क्रममा अनावश्यक हिसाबले छुने हुन्थे । हातमा अलिकति छोइए उनी प्रतिक्रिया व्यक्त गर्दैनथिन् । तर, हात अस्वाभाविक रूपमा अन्यत्र लैजान थाले उनलाई असह्य हुन्थ्यो । धकेलेर लडाइदिन्थिन् । यति हुँदासमेत त्यस्ता विद्यार्थीमाथि कारबाही गर्नुको सट्टा कलेज प्रशासन टुलुटुलु हेरेर बसेको गुनासो उनको छ । यस्ता सबै घटना आँखाअगाडि दबाइन्छन् र पीडकलाई थप हौसला मिल्दै जान्छ ।

जोशी अध्ययनरत सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजका प्रधानाध्यापक यी सम्पूर्ण कुरा बेतुक भएको बताउँछन् । “अहिलेसम्म एउटा पनि त्यस्तो उजुरी आएको छैन । नभए कारबाही गर्न हामी किन पछि पथ्र्यौं ?” कलेजमा सौहार्दपूर्ण वातावरण कायम राख्न प्रशासनले सक्दो प्रयास गरिरहेको उनको भनाइ छ । यसमा सही थाप्न भने कोही पनि छात्रा तयार छैनन् । जोशी प्रश्न गर्छिन्, “आखिर यस्तो लाचारी कहिलेसम्म ?” अधिकांश अभिभावकसमेत यस्ता घटनालाई ‘झिनामसिना’ ठान्छन् ।

काठमाडौँको एक विद्यालयमा केही वर्षअघि पढाउने सुनिता विश्वास, २७, को जागिर अनौठो ढंगले खोसियो । “निम्नमाध्यमिक तहमा पढाउँथेँ, विद्यार्थी साह्रै उदण्ड,” उनले विगत सम्झिइन् । केटीहरूले थाहा नपाउने गरी उनीहरूको स्कर्टमा पछाडिपट्टि रातो रङ लगाइदिन्थे । केटीहरू आत्तिन्थे । महिनावारीलाई यस्तो हल्काफुल्का रूपमा लिएको विश्वासलाई चित्त बुझ्दैनथ्यो । त्यस्ता विद्यार्थीलाई यस विषयमा सचेत बनाउन उनी कहिलेकाहीँ सिंगो घन्टी खर्चिन्थिन् । तर, विद्यालय प्रशासनलाई त्यो स्वीकार्य थिएन । ‘गणित पढाउने शिक्षकले जनसंख्या पढाउने शिक्षकको काम गर्न नपाइने’ भन्दै विद्यालयले धेरै पटक उनलाई रोक्यो । त्यसैले यस्ता घटना पछिसम्म पनि आइरहे ।

एक विद्यार्थीले गरेको ननिको कार्यको सम्झनाले उनलाई अहिले पनि बेलाबेला सताउँछ । तिनले जुत्तामा ऐना टाँसेर ल्याएका थिए । बिहानीसभामा आफूभन्दा अगाडि उभिएकी साथी नजिकै जुत्ता पुर्‍याई ऐनाबाट स्कर्टभित्र नियाल्थे । कक्षा जाने बाटोमा फलामे भर्‍याङ थियो । त्यहाँ उभिएर माथि गइरहेका केटी साथीहरूको स्कर्टभित्र समेत हेर्थे । केटीहरूलाई यसबारे थाहा थियो । तर, उजुरी गरे उल्टै आफ्नो बेइज्जत हुने डर । एक दिन एक छात्रा प्यान्ट लगाएर आइन्, विद्यालयको नियम मिचेको भन्दै प्रिन्सिपलले उनलाई अर्को दिनदेखि स्कर्टमै आउन भने । “एक छात्रले अति गरेपछि चड्काइदिएँ । अभिभावक आएर उजुरी गरे । प्रिन्सिपलले उल्टै मलाई माफी माग्न लगाए,” विगत सम्झिँदै उनले भनिन् । उनले माफी मागिनन्, राजीनामा दिइन् । अहिले पनि त्यो समयको सम्झनाले उनलाई बेलाबेला झस्काउँछ । भन्छिन्, “हाम्रो लालनपालनको तरिका नै गलत भयो । महिला मान्छे होइन, वस्तु हो भन्ने मान्यता सिकाइयो ।”

अञ्जली अमात्य, ३०, ले विमान परिचारिकाका रूपमा काम गर्न थालेको एक दशक भयो । राम्रा/नराम्रा दुवै खाले यात्रु आउँछन् । ‘यात्रु भगवान् हुन्’ भनी उनीहरूलाई प्रशिक्षणको समयदेखि नै सिकाइन्छ । तर, कतिपय खराब नियतका यात्रुलाई झेल्नुपर्दा भने उनी दिक्क हुन्छिन् ।

काठमाडौँदेखि पोखरा गइरहने एक यात्रुलाई अञ्जली कहिल्यै बिर्सिन्नन् । आइरहन्थे, देखभेट भइरहन्थ्यो । सबै विमान परिचारिकाले हाँसेरै कुरा गर्नुपर्ने हुन्छ । त्यसैले ती व्यक्तिले अञ्जली आफूतर्फ आकर्षित भएको भ्रम पाल्न थालेछन् । एक उडानमा ती यात्रुले अमात्यबारे जान्न चाहे । विमान परिचारिका नियमावलीले यात्रुसँग व्यक्तिगत रूपमा निकट नहुन भन्छ । उनले आफ्नो नामबाहेक केही भनिनन् । पोखरा एयरपोर्टमा पुगेर कसोकसो उनले अमात्यको फोन नम्बर पनि पत्ता लगाए । बारम्बार फोन गरेर दु:ख दिने क्रम जारी रह्यो ।

त्यसपछिको उडानका क्रममा ती यात्रुले अञ्जलीका लागि नोट छाडे । नोटमा डिनर डेटका लागि प्रस्ताव गरिएको थियो । आफू बसेको होटलको ठेगाना पनि उनले त्यसमा लेखेका रहेछन् । अति भएर अञ्जलीले उजुरी गरिन् । प्रशासनले आफ्नै पक्षमा निर्णय लिएकाले अहिले पनि उनलाई त्यस्ता बेथितिविरुद्ध आवाज उठाउने हिम्मत आउँछ । हिजोआज प्रशासनसम्म कुरा पुर्‍याउनुअघि उनी आफैँ त्यस्ता यात्रुसँग भिड्छिन् ।

दुव्र्यवहार गर्ने ती एक मात्र यात्रु होइनन् । रातीका उडानमा त्यस्ता यात्रु बढी हुन्छन् । कोही त रक्सी खाएर आउँछन् । सहयोग चाहिएको निहुँमा बोलाउँछन् र जानीजानी हात समात्न खोज्छन् । विमान परिचारिकाको औपचारिक पहिरन स्कर्ट हो । पहिले खुला गला भएको सर्ट हुन्थ्यो, अहिले भने त्यो हटेको छ । पहिले छातीमा आँखा गाडेर कुरा गर्ने धेरै हुन्थे । हिजोआज घुँडा हेरेर टोलाइरहने धेरै हुन्छन् । भन्छिन्, “हिजोआज त्यस्ता यात्रुलाई सुरुमा सम्झाउने र त्यति गर्दा पनि नमाने कारबाही गर्ने गरेका छौँ ।”

बिरामीदेखि डाक्टरसम्मले आफूलाई दुव्र्यवहार गरेको अनुभव साट्छिन्, नर्स सुप्रिया शिवाकोटी, २९ । ‘दुव्र्यवहार’ शब्द सुन्नेबित्तिकै उनले सम्झिने एक डाक्टर छन् । उनले अस्पतालमा जागिर खान थालेको केही दिन मात्र भएको थियो । ती डाक्टरले केही कुरा सिकाउनु छ भनी आफ्नो क्याबिनमा बोलाए । ‘बिरामीलाई कहिलेकाहीँ खाना खुवाइदिनुपर्छ । ल, मलाई खुवाउँदै अभ्यास गर त,’ उनले शिवाकोटीलाई अह्राए । उनीसँग अन्य विकल्प थिएन । मिलेन भन्दै डाक्टरले आफैँ हात समातेर खुवाउन सिकाउन थाले । शिवाकोटीले डाक्टरको मनसाय बुझिसकेकी थिइन् । प्रतिकार गर्ने हिम्मत आएन, बल्लबल्ल पाएको जागिर थियो । उनले आफूलाई निरीह महसुस गरिन् । हरेक ड्युटीमा ती डाक्टर उनलाई नै सहायकका रूपमा बोलाउन थाले । दुव्र्यवहारको क्रम रोकिएन ।

एकपटक राती ड्युटी परेका बेला ती डाक्टरले उनलाई फेरि खुवाउन सिकाउन बोलाए । उनी गइन् । डाक्टरले काखमा बसेर खुवाऊ भने । उनले मानिन् । डाक्टरका हात उनको शरीरमा सल्बलाउन थालिसकेका थिए । खाइसकेपछि डाक्टरले भने, ‘अर्को साता नगरकोट बस्ने गरी जाऔँ । म तिम्रो प्रमोसन गरिदिन्छु ।’ भोलिपल्ट उनले हिम्मत गरेर प्रशासनमा उजुरी गरिन् । “अस्पतालले उल्टै मलाई जागिरबाट निकालिदियो,” विगतको नमीठो अनुभूतिले उनलाई अझै दु:खी बनाउँछ । घरमा वास्तविकता भन्न डर लाग्यो । त्यसैले परिवारले पछिसम्म उनलाई राम्ररी काम नगरेको दोष लगाइरह्यो । “अहिले ती डाक्टर एक शिक्षण अस्पतालको प्रमुख भएका छन्,” उनी सुनाउँछिन् ।

बह पोख्न बोजुबज्यै


भृकुटी राई र ईतिशा गिरी


तीन वर्षअघि योनिका कथा (भजाइना मोनोलग्स) नाटक हेर्न जाँदा हाम्रो भेट भयो । थुप्रै विषयमा दुवै जनाको दृष्टिकोण उस्तै पायौँ । त्यसताका महिला सेलिब्रिटीका फेसबुक तथा इन्स्टाग्राम  पोस्टमा अहिलेभन्दा बढी नकारात्मक टिप्पणी आउँथे । हामीलाई असह्य हुन्थ्यो । महिलामाथि हुने हिंसाका कथाहरू सबैलाई सुनाउने उद्देश्यले ‘बोजुबज्यै’ सुरु गरेका हौँ । पहिले रमाइलोका लागि कहिलेकाहीँ पोडकास्ट गथ्र्यौं, श्रोता सीमित थिए । बोजुबज्यैमार्फत समाजका यथार्थ बोकेका पोडकास्ट सुनाउन थाल्यौँ, श्रोता बढ्दै गए । थप जिम्मेवार भएको महसुस गर्दै गयौँ । पहिले हामीलाई साउन्ड क्लाउडमा मात्र सुन्न सकिन्थ्यो । अहिले पकेटकास्ट, नेपाली पोडकास्टजस्ता अन्य प्लेटफर्ममा पनि सुन्न सकिन्छ ।

कोही केटी मन नपर्दा केटाहरूले यत्तिकै प्रयोग गर्ने ‘भालु’ शब्दमाथि केन्द्रित रही हामीले तयार पारेको पोडकास्ट ‘बियर्स एन्ड होर्स’ ले निकै चर्चा कमायो । महिलालाई अनावश्यक प्रश्न सोधी दिक्क बनाउने पत्रकारबारे बनाएको पोडकास्ट पनि धेरैले रुचाए । हामी पूरै गम्भीर प्रस्तुति दिँदैनौँ । बेथितिबारे बोल्दा हास्य संवादमार्फत प्रहार गर्छौं । ट्वीटरका केही गालीगलौजबाहेक हाम्रो प्रस्तुतिमाथि सकारात्मक टिप्पणी आउँछन् । नराम्रा प्रतिक्रियाले हामीलाई छुँदैनन् । हामीले जे देखे–भोगेका छौँ, त्यसबारे बोल्दा डराउनुपर्छ जस्तो लाग्दैन ।

यो पोडकास्ट सञ्चालन गर्न कसैले प्रायोजन गरेको छैन । धेरैलाई त्यो भ्रम रहेछ । सबै आफ्नै खर्चबाट गरेका हौँ । आर्थिक रूपमा हामीलाई एक पैसा पनि फाइदा छैन । कहिलेकाहीँ अरूका कथा सुन्दा नरमाइलो लाग्छ । तर, हामीले उनीहरूका आवाज अगाडि ल्याउने काम गरिरहेका छौँ ।

दिनहुँ भोग्ने कथा


उरुषा पौडेल | विद्यार्थी, ललितपुर


बाटोमा जिस्क्याइने अनुभव कसले नगरेको होला र ! केही वर्षअघि केही उच्छृंखल केटाहरू जिस्क्याउँदा–जिस्क्याउँदै पछि लागेर घरसम्मै आउँथे । कतिले त नजिक आएर छुनसमेत खोज्थे । परिवारसँग हिँड्दा पनि त्यस्तै गर्देलान् कि भन्ने डर हुन्थ्यो । सास फुकीफुकी हिँड्नुपर्ने । सम्भावित दुव्र्यवहारको डर मनबाट कहिल्यै हटेन । केही केटाहरूको त मेरै नाममा झगडा परेको पनि थाहा छ । बाटोमा हिँड्दा सधैँ आफूलाई कमजोर महसुस गर्थें ।

सामाजिक सञ्जाल पनि मलगायत कतिका लागि सुरक्षित छैनन् । इनबक्समा नग्न फोटो आइरहेका हुन्छन् । अश्लील कुरा गर्न खोज्ने पनि थुप्रै छन् । त्यसैले होला, मेरो ब्लक लिस्ट पनि लामै छ । सार्वजनिक यातायातमा सहचालकले सधैँ गुन्द्रुक खाँदेजस्तो यात्रु कोच्छ । केहीले त्यसैको ‘फाइदा’ उठाउँछन् । गाडी यताउता हल्लिँदा ठोकिएजस्तो गर्ने, संवेदनशील अंगमा छुन खोज्ने, प्रतिकार गर्न खोजे उल्टै कराउने त दिनहुँको कथा हो ।

लिफ्टमै दुव्र्यवहार


उस्मा रिबेल | अध्यापक, अस्ट्रेलिया


म अस्ट्रेलियाको एक अस्पतालमा नर्सिङ पढाउँछु । कसैले केही नराम्रो गर्न खोज्यो कि आवाज उठाइहाल्ने बानी छ । पहिलेदेखि नै कडा स्वभावकी भएकाले होला, मसँग अपाच्य पाराले बोल्ने हिम्मत कसैले गर्दैनथे । तर, केही साताअघि अस्पतालमा मैले यौन हिंसा भोग्नुपर्‍यो ।

म कक्षा लिइसकेर अर्को तल्लामा जानुपर्ने काम आयो । लिफ्ट चढेँ । मोबाइल चलाइरहेकी थिएँ । पूरा ध्यान मोबाइलमै केन्द्रित थियो । त्यसैबेला पछाडिबाट भीमकाय शरीर भएका तीन जना आएर मलाई घेरे । म आत्तिएँ । कराएँ । त्यही भएकी एक वृद्धा पनि मसँगै चिच्याउन थालिन् । इमर्जेन्सी बटन थिचेर लिफ्ट रोकिन् । हामी दुवै उत्रियौँ । ती तीन व्यक्ति त्यसपछि कता लागे, थाहा छैन ।

मेरो पहिरन, तिनको चयन ?


समृद्धि राई | सञ्चारकर्मी


एक दिन सिंहदरबार बग्गीखानामा लेन अनुशासनको कक्षा लिन गएकी थिएँ । घुँडासम्म पुग्ने ड्रेस लगाएकी थिएँ । मलाई त्यहाँ कार्यरत महिला पुलिसले नै भित्र जान दिइनन् । कुर्ता–सुरुवाल लगाएर जानुपथ्र्यो रे । उनका लागि मेरो पहिरन असभ्य भइदियो । म एक वयस्क महिला हुँ र कुन ठाउँमा कस्तो पहिरन लगाउने भन्ने निक्र्योल गर्न सक्छु । सभ्य र असभ्य पहिरन छुट्याउन सक्छु । त्यसको अर्को दिन नै उपत्यकाबाहिर जानुपर्ने थियो । त्यसैले, बाझ्नुको साटो ड्रेसबाहिर रेनकोटको सुरुवाल लगाएर गएँ ।

त्यहाँका ट्राफिक पुलिससँग एकछिन भनाभन परिसकेपछि मलाई कक्षामा पठाइयो । कति पुरुष मेरो ड्रेसभन्दा छोटो हाफप्यान्टमा आएका रहेछन् । उनीहरूलाई कसैले किन रोकेन ? किन यस्ता मनगढन्ते नियम महिलाका लागि मात्रै ? नियम पनि भन्नु मात्रै, लिखितमा कतै थिएन ।

सबैको ध्यान यसतर्फ पनि जाओस् भन्ने हिसाबले भिडियो बनाएँ । त्यसपछि बल्ल त्यहाँका ट्राफिक अधिकृतले गल्ती स्वीकारे । पछि भिडियो फेसबुक  र इन्स्टाग्राममा पोस्ट गरेँ । मेरो समर्थनमा हजारौँ प्रतिक्रिया आए । लोकप्रियताका लागि यस्तो गरेको भन्नेजस्ता प्रतिक्रिया थुप्रै पाएँ । नेपाली सभ्यतामाथि आँच आउने काम गरिस् भन्ने पनि नभएका होइनन् । पछि प्रतिक्रिया हेर्दा याद गरेँ, मेरो विरोधमा बोल्नेजति सबै पुरुष मात्र रहेछन् ।

प्रतिकार गरिहाल्छु


एनी पाखरीन् | परामर्शदाता, हङकङ


मैले ११ वर्षजति हुँदा पहिलो यौन हिंसा देखेँ । बोल्न नसक्ने एक दिदी मेरो घरनजिकै मन्दिरमा माग्न बस्थिन् । मलाई उनीसँग कुरा गर्न मन लाग्ने हुँदा हातको इसाराले केही न केही संवाद गरिरहेकै हुन्थेँ । एक दिन स्कुलबाट फर्किंदा ती दिदीलाई झोक्राएर बसेकी देखेँ । छेउमा सेतो पानीजस्तो केही थियो, वरपर झिँगा भन्किरहेका थिए । मैले के भयो भनी सोध्दा हातले जोगी बस्ने ठाउँ र आफ्नो यौनांगतर्फ इसारा गरिन् । अहिलेसम्म त्यो घटनाले मेरो दिमागमा जरो गाडेको छ । तर, त्यही घटनाले मलाई केही पर्दा बोल्न सक्ने पनि बनायो ।

म डिल्लीबजार क्याम्पसमा पढ्दा बिहान ५ बजेतिरै हिँड्नुपथ्र्यो । बाटोमा सुनसान गल्ली पथ्र्यो । दिनहुँजसो बाटोमा हेरेर बस्ने एक केटाले एक दिन मलाई हेर्दै हस्तमैथुन गर्न थाल्यो । मैले ढुंगा टिपेर हानेँ, ऊ टाप कस्यो । मैले परसम्म लखेटेँ । अहिले पनि बाटोमा कसैले जिस्क्याउन खोजे कुटिहाल्छु ।

छाती चौडा पारेर हिँड्न सकिनँ


इन्दिरा जोशी | गायिका


मेरो संघर्षका दिनमा आफ्नै गाडी थिएन । सार्वजनिक यातायातमा यात्रा गर्थें । बसमा उभिँदा माथिको डन्डी समाइन्थ्यो, कतिले त्यही बहानामा हात समात्थे । कुमतिर हात लान्थे । म कराउन डराउँथेँ । त्यसले पनि तिनीहरूलाई थप आँट मिल्थ्यो । कसैले छोइदेलान् कि भनी सधैँ सजग भएरै जीवनको एउटा ठूलो कालखण्ड पार गरेकी छु ।

बिस्तारै तर्कीतर्की हिँड्ने बानी बस्दै गयो । पाइलैपिच्छे डराउँथेँ । कसैले नराम्रो दृष्टिले हेर्‍यो कि डरले शरीर खुम्च्याउँथेँ । त्यसैले मेरो शरीर खुम्चिँदै गयो । अहिले टिभीमा हेर्दा आफैँलाई ननिको लाग्छ । टिभी सोमा कति पटक त मलाई रिटेक नै गराइएको छ । ‘पब्लिक फिगर’ भई नसक्दा डरैडरमा बिताएका दिनको असर मैले आजसम्म भोगिरहनु परेको छ । छाती चौडा पारेर आजसम्म हिँड्न सकेकी छैन ।

यो पनि पढ्नुहोस् :

मौनता तोड्ने हिम्मत

→ ‘मीटू’ले तोडेको मौनता

प्रकाशित: कार्तिक १९, २०७५

ट्याग: समसामयिक