‘विदेशी’ बिल्लाबाट मुक्ति

- पर्वत पोर्तेल

गुवाहाटीबाट फर्केर

सन् २०१९ को लोकसभा चुनाव नजिकिँदै गर्दा केन्द्र सरकारले असमका गोर्खाको हितमा एउटा महत्त्वपूर्ण निर्देशन गर्‍यो राज्य सरकारका नाममा । असमेली गोर्खालाई विदेशीको आरोप लगाउन नपाइने भारतको केन्द्रीय गृह मन्त्रालयको निर्देशनले असमका नेपालीभाषीको आत्मसम्मान थोरै भए पनि उँचो भएको छ ।

यसअघि असमका गोर्खाहरूलाई विदेशी नागरिकता न्यायाधीकरणले ‘डी भोटर’ (शंकास्पद मतदाता) भन्दै बेलाबेला सास्ती दिने गथ्र्यो । १४ साउनमा असम गोर्खा स्टुडेन्ट युनियन (आग्सु) प्रतिनिधिमण्डलले गृहमन्त्री राजनाथ सिंहलाई भेटेर समस्या सुझाउन अनुरोध गरेको थियो ।

गोर्खाको गुनासोपछि गृह मन्त्रालयले ८ असोजमा राज्य सरकारका नाममा निर्देशन जारी गर्‍यो, ‘विदेशी नागरिकता ऐन, १९४६ अनुसार असमका गोर्खाहरू भारतीय हुन्, उनीहरूलाई भारतीयलाई जस्तो व्यवहार गर ।’

“लामो समयदेखि बसोबास गर्दै आए पनि असमका नेपालीभाषी (गोर्खा) ले सधँै ‘विदेशी’ को लाञ्छना बेहोर्दै आएका थियौँ,” जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वविद्यार्थी रोहित गौतम भन्छन्, “वर्षौंदेखि हामीले बेहोर्दै आएको निराधार आरोपबाट बल्ल मुक्ति मिल्यो ।”

असममा अहिले दुई थरी नेपाली छन् । एक थरी त्यही जन्मे–हुर्केका, अर्का थरी कामको सिलसिलामा पुगेका । असमका नेपाली भारतीय हुन् । व्यावसायिक कामले पुगेका नेपाली प्रवासी नेपाली हुन्, रैथाने होइनन् ।

त्यसो त, असमका रैथाने र प्रवासी नेपालीलाई एउटै डालोमा राख्दा पनि समस्या आएको हो । कहिलेकाहीँ नेपाली राजनीतिक दलका भ्रातृ संगठनका प्रवासी कार्यकर्ताले नेपालको चुनावको प्रवासबाटै भोट हाल्ने व्यवस्था गर्न आग्रह गर्छन् । “यस्ता कुराले हामी रैथानेलाई गाह्रो हुन्छ,” पत्रकारसमेत रहेका गौतम थप्छन्, “सत्ताले त्यसै नेपाली भन्छ, यस्तो गर्दा झन् उसलाई आरोप लगाउन मद्दत मिल्छ ।”

सन् १९७९–८५ सम्म असममा चर्किएको ‘विदेशी भगाउ’ आन्दोलनमा नेपालीभाषी पनि सिकार भए । नेपालीसँगै बंगाली, मुसलमान, बिहारी लखेटिए । धेरैको हत्या पनि भयो । बंगलादेशीको घुसपैठ बढेपछि यो आन्दोलन भएको थियो ।

आन्दोलनका अन्य घटकले नेपालीलाई पनि लखेट्ने उर्दी गर्दा आग्सुले प्रतिवाद गरेको थियो । सन् १९७८ देखि १९८५ सम्म चलेको करिब ६ वर्ष लामो ‘विदेशी भगाउ’ आन्दोलनले खासगरी असमका हजारौँ नेपालीभाषीले थातथलो त्याग्नुपर्‍यो । “यही आन्दोलनले नेपालीलाई विस्थापित गर्‍यो,” स्थानीय सञ्जीव दाहाल भन्छन्, “आज त्यतिबेलाजस्तो पल्टन बजार छैन ।” असमको गुवाहाटी, तेजपुर, जागुन, सोनितपुर, तीनसुकिया आदि क्षेत्रमा नेपालीको बाक्लो बसोबास छ । सोनितपुरमा मात्रै करिब ६ लाख नेपालीभाषी छन् ।

नेपालीभाषीको इतिहास


गुवाहाटीको पल्टन बजारमा दूध बेच्दै नेपाली | तस्बिरहरू : पर्वत पोर्तेल


खासगरी भारतमा जति पनि नेपालीभाषी छन्, तिनीहरू तीन वटा प्रक्रियाबाट भारत आएको देखिन्छ । भूमिसँगै, सैनिक भएर र वैवाहिक सम्बन्धले । सन् १८१६ को सुगौली सन्धिपछि नेपालले टिस्टादेखि कांगडासम्मका भूभाग गुमाउनुपर्‍यो । दार्जिलिङ, देहरादुन आदि क्षेत्र गुमाउँदा त्यहाँका नेपाली भूमिसँग भारतीय बनेका हुन् ।

असममा चाहिँ कसरी आइपुगे त नेपाली  ? असमका अग्रज साहित्यकार लीलबहादुर क्षत्रीका अनुसार १९औँ शताब्दीताका असम स्वतन्त्र देश थियो । अहिलेजस्तो राज्य थिएन । स–साना टुक्रे राज्य थिए । मिजोरम, मणिपुरसम्म भौगोलिक सीमा थियो असमको ।

सन् १८२३ ताका असममा बर्माले आक्रमण गर्‍यो । त्यसक्रममा असमका राजाले ब्रिटिससँग गुहार मागे । इस्ट इन्डिया कम्पनीको राजधानी कोलकाता थियो । त्यहीबाट ब्रिटिस आए । बर्माको आक्रमणमा ब्रिटिससँगै गोर्खा सैनिक पनि सहभागी थिए । असमलाई बर्माबाट मुक्त गर्न सबैभन्दा ठूलो भूमिका गोर्खा सैनिकको थियो । गोर्खा सैनिकको वीरताबाट प्रभावित भएर असमका राजाले गोर्खालाई पुरस्कार दिएर त्यही बसाले । “राजाको सुरक्षाका लागि हाम्रो प्रयोग भयो,” क्षत्री भन्छन्, “पछि बिर्ता दिएर राखियो ।”

असमका राजाहरूसँग नेपाली राजाहरूको घनिष्ट सम्बन्ध थियो । खासगरी नेपाल र असमका राजपरिवारबीच वैवाहिक सम्बन्ध बलियो थियो । त्यही क्रममा नेपालबाट बिहे भएर आउने राजकुमारीले आफूसँगै ल्याइन् सुसारे, दासदासी, धाईआमाहरू पनि । तिनीहरूलाई पनि राजाले जग्गा दिएर बसाए । कति फर्किएर नेपाल गए, कति यतै बसे । कतिपयले ओहोरदोहोर गरे । पछि कामको खोजीमा पनि नेपालीहरू असममा आएको देखिन्छ । तिनीहरू यतै ‘सेटल’ भए ।

सन् १८६५ ताका पूर्वोत्तर भारतमा कोइला र पेट्रोल खानी पत्ता लाग्यो । जंगल सफारीमा हात्ती चढेर गएका एक ब्रिटिसले हात्तीको खुट्टामा तेलजस्तो पदार्थ लागेको देखे । सर्भे गर्ने क्रममा तेलखानी पत्ता लाग्यो । असमको तेलखानीमा नेपालीले मजदुरका रूपमा काम गरेका थिए । रेलको लिक बिछ्याउन पनि ब्रिटिसले नेपालीकै प्रयोग गरे । “कोइला, चिया र तेलको औद्योगिक विकासमा ब्रिटिसपछि गोर्खाको हात छ”, साहित्यकार क्षत्री भन्छन् ।

ब्रिटिसले नेपालीलाई गौपालक तथा कृषकको रूपमा अधिकार स्थापित गराएको थियो । तर, सन् १९६३ मा मुख्यमन्त्री महेन्द्रमोहन चौधरीले अधिकार खारेज गरे । तर, ९० को दशकमा जब मणिकुमार सुब्बा सांसद बने, तब यो अधिकार पुन:बहाली भयो ।

भारत स्वाधीन हुनु तीन वर्षपहिला स्थापना भएको संस्था अखिल असम गोर्खा सम्मेलन असमका नेपालीको मातृसंस्था हो । त्यसबाहेक नेपाली साहित्यसभा, अखिल असम गोर्खा छात्र संघ आदि संस्थाले गोर्खाको हकहितका लागि संघर्ष गरिरहेका छन् ।

असम सरकारले नेपालीभाषीको विकासका लागि अलग्गै परिषद् गठन गरिदिएको छ । १ डिसेम्बर सन् २०१० मा गोर्खा डेभलपमेन्ट काउन्सिल गठन भएको छ । त्यसका अध्यक्ष लोकनाथ उपाध्यायका अनुसार असमका गोर्खाहरूको भाषा, साहित्यदेखि विविध पक्षमा परिषद्ले सघाउँदै आएको छ । परिषद्लाई राज्य सरकारले वार्षिक ५ करोड भारतीय रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भारतमा डेढ करोड नेपालीभाषी (गोर्खा) को बसोबास रहेको अनुमान छ । खासगरी पूर्वोत्तर भारतका असम, मेघालय, मिजोरम, अरुणाञ्चल, नागाल्यान्ड, मणिपुर, सिक्किमजस्ता राज्यमा नेपालीभाषीको जनसंख्या उल्लेख्य छ । असममा सबैभन्दा बढी २० लाख हाराहारी नेपालीभाषी छन् ।

भारतका नेपालीमाथि त्यहाँको सत्ताले सधैँ शंकास्पद दृष्टिले हेर्ने गर्छ । चार, पाँच पुस्ता बितिसक्दा पनि नेपालीभाषीलाई ‘विदेशी’ को बिल्ला भिराउने क्रम उस्तै छ । राज्य र केन्द्र सरकारको नजरिया जहिल्यै ‘यिनीहरू नेपालबाट आएका नेपाली हुन्’ भन्ने मात्रै छ ।

राजनीति र अन्य क्षेत्र


गुवाहाटीको मालीगाउँमा आयोजित गोर्खा सम्मेलन


भारत स्वाधीनता आन्दोलनमा पनि नेपालीको उल्लेख्य सहभागिता थियो । छविलाल उपाध्याय, जीतबहादुर, भक्तबहादुर प्रधानलगायत ब्रिटिसविरुद्धको आन्दोलनमा महात्मा गान्धीसँगै एउटै मोर्चामा उभिएका थिए । एकपटक छविलाल उपाध्यायलाई एक ब्रिटिसले भनेछन्, ‘तँ नेपाली यो भारतको स्वतन्त्रता संग्राममा किन कुद्छस् ?’ छविलालले जवाफ फर्काएछन्, ‘मेरो जन्म भारतमै भयो, मेरो मृत्यु पनि यही हुन्छ ।’

छविलाल र जीतबहादुरहरूको योगदानले राजनीतिमा अन्य नेपालीभाषीलाई सहज भयो । अहिले असमको राजनीतिमा नेपालीको उल्लेख्य स्थान छ । असम साहित्य सम्मेलनका कार्यकारी अध्यक्ष कृष्ण भुजेलका अनुसार रामप्रसाद शर्मा असमकै पहिलो नेपालीभाषी मन्त्री बनेका थिए । पछि कुलबहादुर क्षत्री र पदमबहादुर चौहानले पनि मन्त्री बन्ने अवसर पाए । उनका अनुसार टंकबहादुर राई असम विधानसभाको उपसभामुख, सभामुख हुँदै पछि योजना विकासमन्त्रीसमेत भएका थिए । मणिकुमार सुब्बा र उनका भाइ सञ्जयराज सुब्बा विधायक बने । अखिल असम गोर्खा छात्र संघका अध्यक्ष प्रेम तामाङ, बडोल्यान्ड टेरिटोरियल काउन्सिल क्षेत्रका अध्यक्ष रोहित दाहाल आदि असमको राजनीतिका उदाउँदा नेतृत्व हुन् ।

असमको राजनीतिमा गोर्खाहरूले सम्झिने पहिलो नाम हो, छविलाल उपाध्याय । साहित्यमा हरिभक्त कटुवाल र माया ठकुरी । लीलबहादुर क्षत्री, नव सापकोटा, केपी उपाध्याय, गीता उपाध्याय पनि असमका नेपालीका श्रद्धाका पात्र हुन् । राजनीति, साहित्यसँगै व्यवसायमा समेत नेपालीहरू जमेका छन् । गुवाहाटीको पल्टन बजारमै रहेको चारतले अतिथि होटलका सञ्चालक हुन्, युवराज शर्मा ।

अतिथि नजिककै सागर र महाराजा होटल पनि नेपाली व्यवसायी सुमन केसी (गोपाल) को हो । अरुण उपाध्याय पेट्रोल पम्प सञ्चालक छन् । डा कमल क्षत्री असम मेडिकल कलेज डिब्रुगढका प्रिन्सिपल हुन् ।

डा नारायण उपाध्याय स्नायु रोग विशेषज्ञ हुन् । कलाकारितामा पनि प्रवीण गुरुङ, रोहित सुनार, ओम क्षत्री आदिको नाम उल्लेख्य छ । असमका नेपाली प्रकाश राईका अनुसार कलाकारितामा नेपाली गोर्खाको दबदबा बढिरहेको छ ।

नेपाली भाषा पढ्ने, बुझ्ने ज्यादै कम छन् । नेपाली भाषाका पाठशाला कम छन् । अहिले नेपाली भाषाका तीन वटा पाठशाला छन् । कक्षा ९ देखि एमएसम्म ऐच्छिक नेपाली पढाइ हुन्छ । भाषिक दक्षता अभावले नेपाली साहित्य र पत्रकारिताले सोचेजस्तो प्रगति भने गर्न सकेको छैन ।

सन् १९३६ मा मणिसिंह गुरुङले मासिक गोर्खा सेवक पत्रिका प्रकाशित गरेका थिए । ६ वर्ष चलेर बन्द भएको थियो । १९४६ मा तेजपुरबाट प्रभात निस्कियो । १० वर्ष चल्यो, पछि बन्द भयो । ७० को दशकमा सञ्चालनमा आएको साप्ताहिक देशवार्ता अहिले पनि प्रकाशित भइरहेकै छ । सिक्किमको दैनिक अखबार प्रजाशक्ति ०१० देखि असम संस्करण पनि प्रकाशित भइरहेको छ । सपरिवार मासिक पत्रिका ००६ बाट सुरु भएर तीन वर्षअघि बन्द भयो । बिन्दु साहित्यिक पत्रिका ५५ वर्षदेखि निरन्तर प्रकाशित छ । “असमको पत्रकारितामा भाषिक दक्षताको अभाव छ,” पत्रकार गौतम भन्छन्, “दक्ष पत्रकार छैनन् । परिवार पाल्न सक्ने अवस्था छैन । रुझान छैन । गाह्रो छ ।”

नेपाली मन्दिरको महिमा


गुवाहाटीको नेपाली मन्दिर


भारतको पूर्वोत्तर राज्य हुँदै नेपाल फर्किने र नेपालबाट विभिन्न सिलसिलामा यतातिर आउने नेपालीले सधैँ सम्झिने नाम असम गुवाहाटीको राधाकृष्ण नेपाली मन्दिर हो । मन्दिर समितिले नेपालीका लागि आवास र खानपिनको समेत व्यवस्था मिलाएको छ । त्यसैले गुवाहाटी पुग्नेले नेपाली मन्दिर नसम्झी धरै छैन ।

गुवाहाटीको ‘मुटु’ चाहिँ पल्टन बजार हो । यो बजार पनि नेपाली सैनिकको सम्मानमा राखिएको हो । यो मन्दिर हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर मात्रै नभएर नेपाली समुदायको पीरमर्काको थलो बनेको छ । 

“यहाँ आएपछि नेपालीको दु:ख र पीरमर्का आफैँ हराएर जान्छ,” नेपाली मन्दिर प्रवद्र्धन समितिका सहसचिव धनप्रसाद चापागाईं भन्छन्, “बेखर्ची र अलपत्र नेपालीका लागि मन्दिरले सहयोग गरिरहेको छ ।” मन्दिरद्वारा सञ्चालित धर्मशालामा नेपालीको बाक्लै भीड लाग्छ । खासगरी प्रवासमा दु:ख पाएका, बेखर्ची र लुटिएका नेपालीका लागि नेपाली मन्दिर वास्तविक देउताका रूपमा उभिएको छ ।

चापागाईंले पीरमर्कामा परेका नेपालीलाई नि:शुल्क आश्रय व्यवस्थाका लागि धर्मशाला सञ्चालन गरिएको बताए । उनका अनुसार विभिन्न राज्यमा काम गरेर घर (नेपाल) फर्किने बेलामा लुटिएका कैयौँ नेपालीलाई मन्दिर प्रवद्र्धन समितिले उद्धार गरेर पठाएको छ । घरसम्म पुग्ने खर्च दिएर पठाएका घटना बग्रेल्ती छन् । समितिका सचिव राजेश ठकुरीका अनुसार समस्यामा परेका व्यक्ति पुग्ने ठाउँ नेपाली मन्दिर नै हो । दैनिक ५० भन्दा बढी नेपाली मन्दिरको आश्रयमा आउँछन् । ठकुरी भन्छन्, “नेपाली मन्दिर नामकरण गरेरै भारतका अन्य प्रान्तमा यसरी मन्दिर निर्माण भएको थाहा छैन । यो भारत वर्षमै पहिलो हो ।”

पुरोहित विश्वनाथ उपाध्यायका अनुसार सन् १९३२ ताका यो मन्दिर निर्माण गरिएको हो । तत्कालीन समयमा असममा बसोबास गर्ने नेपालीको सहकार्यमा मन्दिर निर्माण गरिएको उपाध्यायको भनाइ छ । “असमको सुरक्षा निकायमा कार्यरत नेपाली सुरक्षाकर्मी र परिवारको यसमा महत्त्वपूर्ण भूमिका छ,” पुरोहित उपाध्याय भन्छन्, “उहाँहरूले प्रयास नगरेको भए यो दिन देख्न पाइँदैनथ्यो होला ।”

खासगरी गुवाहाटीको मुटुमा नेपाली सुरक्षाकर्मीको बाक्लो बसोबास रहेका कारण यो ठाउँलाई पल्टन बजार भनिएको हो । “यो सिंगो क्षेत्रमा नेपालीको मात्रै बसोबास थियो,” उपाध्याय सम्झिन्छन्, “अहिले नाम मात्रै बाँकी छ ।”

महाकविको नाममा नेपाली नगर



असमको प्रान्तीय राजधानी गुवाहाटी नजिकै छ, देवकोटा नगर । पहिले यसलाई मालीगाउँ बडाबजार भनिन्थ्यो । अहिले चाहिँ मालीगाउँ देवकोटा नगर । असमका नेपालीभाषी स्थानीय साहित्यकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा यो बस्तीलाई देवकोटा नगरका रूपमा स्थापित गरेका हुन् । सन् २०११ ताका देवकोटाको अर्धकदको सालिक पनि राखिएको छ । यो काममा साहित्यकार तथा स्थानीय नव सापकोटा, कृष्ण भुजेललगायतको देन मुख्य रह्यो । “भारतमा कुनै पनि प्रान्त या स्थानमा साहित्यकारको नाममा नेपाली बस्ती छैन,” पत्रकार रोहित गौतम भन्छन्, “भारतमै पहिलो पटक असममा त्यो काम भएको छ ।”

भानुभक्तपछि भारतका नेपाली (गोर्खा) ले सबैभन्दा बढी सम्झिने नाम महाकवि देवकोटाको रहेको गौतम बताउँछन् । देवकोटा नगरको नाम राख्नु पछाडिको कारण असमका नेपालीभाषीले देवकोटालाई सधैँ सम्झिरहून् भन्ने रहेको सापकोटाले बताए । “देवकोटालाई भारतका नेपालीले कहिल्यै नभुलून् भन्ने हाम्रो स्वार्थ हो,” सापकोटा भन्छन् ।

मालीगाउँ देवकोटा नगर नेपालीभाषीको बाहुल्य भएको बस्ती हो । यहाँ चार सय घरधुरीमा करिब पाँच हजार नेपालीभाषीको बसोबास छ । यहाँका अधिकांश नेपालीभाषी गाईपालन, कृषि र व्यापार व्यवसायमा संलग्न छन् । यो बस्तीमा नेपालीको चौथो पुस्ता हो ।

हजुरबा, जिजुबाले घना जंगल फाँडेर नेपाली बस्ती बसाएका थिए । “पहिला दिउँसो हिँड्न गाह्रो थियो,” भुजेलले भने, “बाघ, भालुको आतंक थियो ।’ यस्तो डरलाग्दो ठाउँलाई नेपालीभाषीले दु:ख गरेर अहिले स्वर्गजस्तो बनाएका छन् ।”

स्थानीय वृद्धा सीतादेवी भुजेलले देवकोटा नगर भनेर बस्तीको नामकरणपछि यहाँका नेपालीभाषीले अपनत्व महसुस गर्दै आफूलाई सुरक्षित ठान्ने गरेको बताइन् । “देवकोटा नगर भनेपछि नेपालीकै गाउँ भनेर बुझ्न सजिलो भएको छ,” उनले भनिन्, “देवकोटा नगरले असममा नेपाली (गोर्खा) हरूको पहिचान बलियो बनाएको छ ।”

‘भारतमा गुणात्मकभन्दा संख्यात्मक लेखन’


लीलबहादुर क्षत्री, वरिष्ठ साहित्यकार


असममा नेपाली भाषा र साहित्य बाँचिरहनुमा लीलबहादुर क्षत्रीजस्ता साहित्यकारको सक्रियता नै हो । ८४ वर्षको वृद्ध उमेरमा पनि क्षत्री साहित्य सिर्जनामा सक्रिय छन् । चर्चित बसाइँ उपन्यासका लेखक उनले तेस्रो उपन्यास ब्रह्मपुत्रको छेउछाउका लागि भारतको प्रसिद्ध साहित्य एकाडेमी पुरस्कार जितेका थिए । गुवाहटी विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका क्षत्रीका दर्जनभन्दा वढी कृति प्रकाशित छन् ।

६ दशकभन्दा लामो समयदेखि साहित्यमा अनवरत सेवा गरेका क्षत्रीलाई प्रतिष्ठित जगदम्बाश्री पुरस्कारसमेत प्रदान गरिएको थियो । असमको भाषा र साहित्यका सन्दर्भमा गुवाहाटीमा गरिएको कुराकानी :

असमको नेपाली साहित्य कुन स्तरमा ?

असम ठूलो राज्य हो । यहाँ असमिया साहित्यको प्रभाव बढी छ । गुवाहाटीमा मात्रै केन्द्रित छैनन् नेपाली सर्जक । त्यसैले सर्जकबीच हत्तपत्त भेटघाट हुँदैन । अझ राम्रो बनाउन सक्ने अवस्था हुँदाहुँदै पनि सोचे जसरी फस्टाउन पाएको छैन । दार्जिलिङ या सिक्किममा जस्तो एकै स्थानमा नेपाली भएका हुन्थे भने साहित्यको माहोल अर्कै हुन्थ्यो । जसोतसो बाँचेको मात्रै छ । बचाइराख्न पनि निकै गाह्रो भइरहेको छ । 

समग्र पूर्वोत्तर भारतको साहित्यिक अवस्था कस्तो ?

पूर्वोत्तर भारतमा गुणात्मकभन्दा संख्यात्मक लेखन बढी छ । संख्यात्मकभन्दा पनि गुणात्मक जरुरी छ, यतिबेला भारतेली नेपाली साहित्यलाई । पहिला असमको साहित्य पूर्वोत्तर भारतमै अग्रणी थियो । पछि दार्जिलिङले फड्को मार्‍यो । अहिले सिक्किमले केही गर्न खोज्दै छ । पहिला साहित्य, कला, संगीतमा नेपालले पनि दार्जिलिङलाई अनुसरण गथ्र्यो । तर, आज सम्पूर्ण गतिविधि नेपालमै छ । बरु दार्जिलिङ, सिक्किम, असमले सिकिरहेको छ, नेपालबाट ।

नेपाली साहित्यको उत्थानमा भारत सरकारको कस्तो सहयोग ?

सन् १९९२ मा नेपाली भाषाले भारतमा संवैधानिक मान्यता पाएपछि साहित्य सिर्जनामा गुणात्मकता बढेकै छ । नेपाली साहित्यलाई प्रोत्साहन गर्दै बर्सेनि साहित्य एकाडेमी पुरस्कार प्रदान गरिरहेको छ । नेपाली साहित्य सिर्जनामा लागेका सर्जक र स्रष्टामा स्वाभाविक रूपमा ऊर्जा थपेकै छ ।

भारतमा बसेर साहित्य सिर्जना गर्दाको अप्ठेरो ?

अप्ठेरा र चुनौतीहरू पनि धेरै छन् । साहित्यिक संस्थाहरू धेरै छन् तर आर्थिक अवस्था नाजुक छ, चन्दाका भरमा चलेका छन् । प्रकाशकको अभाव छ । पठन संस्कृति बिल्कुलै छैन । पैसा खर्चेर छाप्दा पनि बजार छैन, बिक्री वितरण छैन, पूर्वोत्तरमा नेपाली पुस्तक पसल छँदै छैन भन्दा पनि हुन्छ ।

प्रकाशित: कार्तिक १९, २०७५

ट्याग: स्थलगत