हेलो सरकार, प्रधानमन्त्रीलाई कस्तो छ ?

- बाबुराम विश्वकर्मा

स्वस्थ खाना, पर्याप्त सुताइ तथा आराम, अनि शारीरिक अभ्यास एवं मनोरञ्जन– व्यक्तिको कार्यक्षमता बढाउन यी पक्षले निर्णायक भूमिका खेलेका हुन्छन् । एउटा स्वस्थ व्यक्तिले दैनिक ८–१० घन्टा काम गरेर अरू समय आराम तथा मनोरञ्जन आदिमा लगाएको हुन्छ ।

तर, प्रधानमन्त्री केपी ओली भने यसको अपवाद बनेका छन् । असीमित काम र जिम्मेवारीको बोझले थिचिएका ओलीको दैनिकी व्यस्त मात्र होइन, अस्तव्यस्त नै बनेको छ । प्रधानमन्त्रीको निजी सचिवालय र सहयोगीहरूको व्यवस्थापकीय क्षमताको कमी र ओलीकै जबर्जस्तीका कारण उनले खाने र आराम गर्ने समय पाएका छैनन् । त्यसले उनको स्वास्थ्यमा समेत असर पारेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पाँच दिनको उपचारपछि उनी १६ कात्तिक बेलुकी बालुवाटार फर्के । अझै पनि चंगा भइसकेका छैनन् । आत्मबलको सहारामा चलिरहेका उनले अस्पतालबाटै सरकारी कामकाज चलाउने हिम्मत गरे । चिकित्सकहरूले भने अझै पनि आरामको खाँचो औँल्याइरहेका छन् ।

प्रधानमन्त्री ओलीको दैनिकी आदर्श नै हुनुपर्ने हो । सुताइ, उठाइ, खानपिन, शारीरिक अभ्यास, कामबीच सन्तुलन कायम गरेर अरूलाई प्रेरणा दिन सक्छन् ओलीले । तर, कम महत्त्वका भेटघाट, उद्घाटनजस्ता अनुत्पादक काममा उनको समय दुरुपयोग गरिएको छ । स्रोतका अनुसार असीमित भेटघाट, कोठे बैठक र छलफलले ओलीको शोषण नै भएको छ ।  त्यसबाट खासै नतिजा देखिएको छैन ।

११ वर्षअघि मृगौला प्रत्यारोपण गरेका थिए ओलीले । त्यसयता पनि उनी निमोनियालगायतले सताइए र एकाध पटक गम्भीर बिरामी परेका छन् । तर, उनको स्वास्थ्यलाई समेत बेवास्ता गरेर बालुवाटारमा बिहान ८ देखि राती १२ बजेसम्म भेटघाट तालिका तय गर्ने गरिएको छ । ओलीका चिकित्सकहरूले धेरै पटक ‘शारीरिक अभ्यास, खानपान, आराम र कामबीच सन्तुलन मिलाउन’ उनको सचिवालयलाई झकझक्याउने गरे पनि त्यसको खासै पालना भएको छैन ।

६८ वर्षका ओली आफैँले धपेडीपूर्ण जीवनशैली अपनाएका छन् । चुनावदेखिको ओलीको तीव्र दौडधूप प्रधानमन्त्री बनेपछि पनि रोकिएको छैन । एकीकृत पार्टीको अध्यक्ष, संसदीय दलको नेता र कार्यकारी प्रधानमन्त्रीको तीन अलगअलग तर गहन जिम्मेवारीले ओलीलाई राम्ररी सास फेर्न पनि दिएको छैन । प्रेस सल्लाहकार कुन्दन अर्याल भन्छन्, “प्रधानमन्त्रीलाई खाने र आराम गर्ने मात्र होइन, आरामले सास फेर्ने फुर्सद पनि छैन ।”

दृष्टान्तका लागि २३ असोजको घटना हेरौँ : काठमाडौँ ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई त्यो क्षेत्रबाट चुनाव लडाउने प्रस्तावले प्रधानमन्त्री ओलीको त्यो दिनको तालिका प्रभावित बन्यो । दिनभरिका भेटघाट, बैठक र छलफलका कारण ओली त्यो दिन राती ३ बजे मात्र सुतेका थिए । ढिलो सुतेका कारण भोलिपल्ट पनि असर पर्‍यो । सामान्य अवस्थामा ओली बिहान ६ बजेसम्म उठी सक्छन् । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको बगैँचामा उनी ३० देखि ४० मिनेट हिँड्डुल गर्छन् । बालकोट हुँदा उनी बिहान ब्याडमिन्टन खेल्थे । बालुवाटार सरेपछि त्यो क्रम टुटेको छ ।

हिँड्डुल सकेर उनी नुहाउने र दाह्री काट्ने गर्छन् । बालुवाटारमा प्रधानमन्त्रीको कपाल र दाह्री काट्न सरकारी हजामको व्यवस्था छ । तर, ओली दाह्रीचाहिँ दैनिक आफँै काट्छन् भने कपाल सेना वा प्रहरीले मिलाइदिन्छन् । बालुवाटारमा कपाल र दाह्री काट्न राखिएका हजाम लक्ष्मी ठाकुर सेना–प्रहरीले नै प्रधानमन्त्रीको कपाल काट्ने गरेका कारण आफू त्यो कामबाट वञ्चित भएको गुनासो गर्छन् ।

बिहानको नित्यकर्म सकेपछि भने प्रधानमन्त्रीको खाजा खाने समय हुन्छ । प्राय: ८ देखि ९:३० सम्ममा उनी बिहानको खाजा (ब्रेकफास्ट) खान्छन् । प्रधानमन्त्रीको ब्रेकफास्ट पत्नी राधिका शाक्यले तयार गर्छिन् । ओटमिल्क, ब्रेड, अन्डा तथा मौसमी फलफूल ओलीका ब्रेकफास्ट मेनु हुन् । ब्रेकफास्टकै बेला मुख्य पत्रपत्रिका र इन्टरनेट हेरिसक्छन् ।

अनौपचारिक रूपमा सर्ट, टिसर्ट, ट्राउजर र हाफ ज्याकेट लगाउने ओलीको औपचारिक पोसाकचाहिँ दौरासुरुवाल र कोट हो । बालुवाटारमा पनि पत्नी राधिकाले नै ओलीको कपडा आइरन गरेर तयार पार्छिन् । औपचारिक पोसाकमै दैनिक काम गर्छन् ओली । ब्रेकफास्टपछिको अधिकांश समय भेटघाट, सार्वजनिक कार्यक्रम, औपचारिक बैठक आदिमा बित्ने गरेको छ ।


प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी दिँदै डा उत्तमकृष्ण श्रेष्ठ | तस्बिर : कविन अधिकारी 


प्रधानमन्त्री ओली दोस्रो कार्यकालमा बालुवाटारमै केन्द्रित छन् । उनी मन्त्रिपरिषद्को बैठकमा मात्र सिंहदरबार जाने गर्छन् । त्यसैले उनी राजकीय मामिलाका धेरै काम बालुवाटारबाटै गरिरहेका हुन्छन् । सरकारी फाइल सदर गर्ने, मन्त्री, सचिवका ब्रिफिङ सुन्ने काम बालुवाटारमै हुन्छ । नेकपाका शीर्ष नेता–कार्यकर्तादेखि विपक्षी दलका नेता, राजदूत र विदेशी कूटनीतिज्ञ सबैलाई ओलीले बालुवाटारमै भेट्ने गरेका छन् । कतिसम्म भने पार्टी कार्यकर्तालाई पनि उनले बालुवाटार नै बोलाउने गरेका छन् । प्रेस सल्लाहकार अर्याल थप्छन्, “प्रधानमन्त्रीको अधिकांश दैनिकी बालुवाटारमै बित्छ । समय बचत गर्न पनि त्यो उपयुक्त छ ।”

बिहानको काम सकेर वा कामको बीचमै ओलीले दिउँसोको खाना खाने गरेका छन् । दिउँसो १ देखि २ बजेभित्र खाना खाने समय हो । तर, कार्यव्यस्तताले धेरैजसो दिउँसोको खानाको समय तलमाथि हुने गरेको छ । दिउँसोको खाना पनि ओलीपत्नी राधिकाले नै तयार गर्छिन् । बालुवाटारबाहिर भएका बेला पनि राधिकाले बनाएको खाना नै ओलीलाई खुवाउने गरिएको छ ।

ओलीको दिउँसो र बेलुकीको खानाको ठूलो हिस्सा तरकारीले लिएको हुन्छ । भात, दाल, तरकारी, कुखुराको मासु र माछा खान्छन् ओली । स्वादिलो खाना र गतिलो पोसाक ओलीको पुरानो सोख हो । तर, अहिले स्वास्थ्यका कारण माछा–मासु कम खान्छन् । सिमी, बोडी, चाइनिज साग, रामतोरिया ओलीका मन पर्ने तरकारी हुन् ।

खसीको मासु, रातो मासु, गेडागुडी, आलु आदि नखान चिकित्सकहरूले सुझाएका छन् । गुलियो, चिल्लोपिरो, दूध चिया, कफी, मदिराबाट ओली टाढा बसेको धेरै भइसकेको छ । ओली हरियोपरियोमा रमाउँछन् । चिकित्सकको सल्लाहकै कारण दैनिक उनी ३ लिटरजति पानी पिउँछन् ।

कामको बोझले ओलीलाई दिउँसोको खाना खाने फुर्सद हुँदैन । काम र भेटघाटकै बीचमा खान्छन् । खानापछि मिलेसम्म एक घन्टा ओलीलाई आराम गर्न चिकित्सकहरूले सुझाएका छन् । तर, त्यसरी आराम गर्ने समय छैन उनलाई । खानापछि फेरि सुरु हुन्छ उनको काम । कार्यालयका काम सकेर धेरैजसो सचिव तथा मन्त्रीहरू ओली भेट्न साँझ बालुवाटार नै पुग्छन् । तर, भेटघाटको चाप हुने भएकाले आगन्तुकले बालुवाटारमा एकाध घन्टा पर्खिनु सामान्य बनेको छ ।

ओलीका डाक्टरले बेलुकीको खाना ८ बजेअघि खान भने पनि त्यो पालना भएको छैन । काम र भेटघाट सकेर खाना खाँदा प्राय: राती ११ बज्ने गरेको छ । ओलीमाथि अचाक्ली चाप परेका कारण बालुवाटारमा ८ बजेपछि भेटघाट बन्द गर्ने भनिए पनि त्यो सम्भावना नभएको स्रोतले बतायो । ओलीको व्यस्तताको एउटा दृष्टान्त २४ असोजलाई नै लिन सकिन्छ । दिनभरिको काम सकेर ओली राती ९ बजे ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ का लागि नेपाल टेलिभिजनको स्टुडियो पुगेका थिए । कार्यक्रम सकेर बालुवाटार फर्किंदा राती ११ बज्न लागेको थियो ।

औषधीको सहारा

मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको दैनिकीमा औषधीको महत्त्वपूर्ण योगदान छ । उनी अहिले दैनिक दुईपटक ६ प्रकारका औषधी सेवन गर्छन् । मोटोपन, उच्च रक्तचाप, मधुमेह र बाथले ओलीलाई दु:ख दिने गरेको छ । उनको रक्तचाप पनि घटबढ भइरहन्छ । ओलीको चिकित्सक टोलीले साप्ताहिक रूपमा स्वास्थ्य परीक्षण गर्छ भने दैनिक रूपमा पनि स्वास्थ्यस्थिति मनिटरिङ भइरहन्छ । करिब १२ वर्षदेखि ओलीको स्वास्थ्योपचारमा खटिएका निजी चिकित्सक डा दीलिप शर्मा भन्छन्, “प्रधानमन्त्रीको स्वास्थ्य सामान्य छ । मृगौला प्रत्यारोपणपछि पनि ३० वर्ष सक्रिय जीवन बिताएका मानिस भेटिन्छन् । तर, विशेष हेरचाह महत्त्वपूर्ण सर्त हो ।”

प्रधानमन्त्री ओलीको तौल र उचाइबीच सन्तुलन मिलेको छैन । उनको उचाइ करिब ५ फिट ८ इन्च छ । तर, तौल भने बढी छ । शर्मा भन्छन्, “तौल ७ किलोजति घटाउनुपर्छ भनिएको छ ।” मृगौला प्रत्यारोपण गरेका बिरामीमा सानातिना कारणले नै संक्रमण हुने गर्छ । ओली पनि त्यसरी संक्रमित भएर तंग्रिएका हुन् । चिकित्सकले ओलीलाई कसैसँग हात नमिलाउन, भीडभाडमा नजान र धेरै भेटघाट नगर्न पटक–पटक पटक सुझाए पनि त्यो पालना भएको छैन ।

इच्छाशक्ति र आत्मबल नै प्रधानमन्त्री ओलीको जीवनको सबैभन्दा बलियो पक्ष ठान्छन् शर्मा । भन्छन्, “बिरामीलाई जोगाउने नै उसको मनोबलले हो, त्यो प्रधानमन्त्रीमा बढी छ ।” मनोबलकै कारण ओलीलाई गम्भीर स्वास्थ्य स्थितिबाट बाहिर निकालेर सामान्य स्थितिमा फर्काउन सहयोग पुगेको छ । ओलीको सबैभन्दा राम्रो पक्ष भनेको तनाव कम गर्ने र निद्रा लाग्ने औषधी सेवन गर्नु परेको छैन । शर्मा भन्छन्, “पल्टेको एकैछिनमा निदाइहाल्ने र यात्रा गर्दा गाडीमै निदाएर आराम गर्नुहुन्छ ।”

प्रकाशित: कार्तिक १८, २०७५

ट्याग: समसामयिक