खालि हँसाउने ध्याउन्न [फिल्म समीक्षा : चंगा चेट]

फिल्म: चंगा चेट | रेटिङ: २/५

- गोकर्ण गौतम

छक्कापञ्जा  सिरिजको सफलतासँगै कमेडी फिल्मको खहरे भेल आएको छ । हास्यप्रधान फिल्म बन्नु आफैँमा गलत होइन तर हँसाउने चक्करमा कथालाई ‘सौतेनी’ व्यवहार गर्नुचाहिँ विडम्बना हो । मौलिक र सन्देशमूलक फिल्मको पैरवी गर्ने निर्देशक दीपेन्द्र के खनालसमेत यही भीडमा मिसिएका छन् । नयाँ फिल्म चंगा चेटमा खनालको ध्याउन्न एउटै देखिन्छ, जसरी हुन्छ हँसाउने ।

कथामा नयाँपन फिटिक्कै छैन । चिनिएका कलाकारको डफ्फा कहीँ न कहीँ बजार निर्देशित नै हो । यद्यपि, अहिले बनिरहेका अन्य कमेडीभन्दा चंगा चेट  निम्छरो लाग्दैन । अर्थ र प्रसंगलाई पर राख्ने हो भने कमेडी भरपूर छ । गीत छ, रोमान्स छ, एक्सन छ । अर्थात्, चंगा चेटलाई मनोरञ्जनको ‘फुल डोज’ बनाउन कुनै कसर छाडिएको छैन ।

पैसा नभएकाले नीरज (आयुष्मान देशराज श्रेष्ठ जोशी) हिरो हुन सकेको छैन । पढ्न काठमाडौँ आएको उदीतनारायण (रवीन्द्र झा)को हालत उस्तै छ । बीए पास नगरी आफूले मन पराएकी केटी उर्मिला (परमिता राज्यलक्ष्मी राणा) सँग बिहे गर्न नपाउने भएपछि थमनबहादुर (सन्दीप क्षत्री) काठमाडौँ आएको छ तर पढाइमा प्रगति छैन । उनीहरुको संयोगले भेट हुन्छ । तीनै जनालाई पैसा र पढाइको पिरलो छ । एउटा समस्या समाधान गर्न खोज्दा अरु तनाव आइपर्छ र फस्दै जान्छन् । त्यसपछि, सपनाको सहर काठमाडौँमा यी उरन्ठेउला केटाले पाउने ठक्करमै केन्द्रित छ फिल्म । हेराफेरी, धमाल, ढोलमार्काका हिन्दी फिल्म हेरेका दर्शकले चंगा चेटको क्लाइमेक्स सहजै पहिल्याउन सक्छन् ।

पैसाको पछाडि लाग्दा अवैध काममा जाकिने पात्रका व्यथा कैयौँ पटक पर्दामा हेरिसकिएको छ । बलिउडमा सन् ९० को दशकमै यस्ता फिल्म बन्न थालेका थिए । त्यसैले चंगा चेट  आफैँमा नवीन सोच होइन । फरक पृष्ठभूमि र परिवेशका पात्र अनि कथ्य संरचनामा स्थानीय पन रोचक हुन सक्थ्यो । तर, लेखक प्रदीप भारद्वाज बासी पात्र र घटनाक्रममै अल्झिएका छन् । सहायक पात्रसमेत ‘क्लिसे’ छन् । पैसा भनेपछि मरिहत्ते गर्ने घरबेटी, घुस खाने र पत्नी छाडेर बाहिर सल्किने प्रहरी अधिकृत, बाहिर सशक्तीकरणको गफ दिने तर आफैँ दलालीमा संलग्न महिला, पैसाका लागि प्रेम गर्ने युवती, मिटर ब्याजवाला गुन्डाहरु आदि–आदि । यद्यपि, यी पात्रका हास्य संवादले घरीघरी सान्त्वना दिन्छ । जागिर दिने विज्ञापन छपाएर ठगी गर्ने प्रवृत्ति, नक्कली मार्कसिटको कारोबार, मधेसमा विद्यमान दाइजो प्रथा, पारिवारिक बेमेल, प्रहरी र तस्करबीचको सम्बन्धजस्ता पक्ष धेरै हदसम्म यथार्थपरक लाग्छ ।

कथा प्रवाह सुस्त हुनु फिल्मलाई चेट बनाउन भूमिका खेल्ने अर्को तफ्व हो । उदीतनारायण, नीरज र थमनबहादुर पैसा नभएर पीडित छन् । थमनबहादुरको पढाइ नभएकाले विवाह रोकिएको स्थापित भइसक्दा पनि लेखक भारद्वाज हँसाउने लोभमा उस्तै प्रकृतिका दृश्य दोहोर्‍याउँछन् । यस्ता दृश्य सम्पादन गरेर फिल्म चुस्त बनाउने सम्भावनालाई नकारिएको छ । मध्यान्तरको ‘ट्वीस्ट’ ले भने दर्शकमा उत्सुकता थप्छ । सारमा यस फिल्मका पात्र हाम्रै वरपरका हुन् तर तिनको चारित्रीकरण गहिरो र विश्वसनीय छैन ।

सुरक्षा पन्तबाहेक प्रियंका कार्की, ऋचा शर्मा, वेनिशा हमाल, सरिता गिरी र परामिताजस्ता महिला कलाकारलाई चटनी भूमिकामा सीमित गरिएको छ । सन्दीप क्षत्रीको पञ्चलाइन गज्जब लाग्छ तर मुख बंग्याएर हँसाउने धङधङीबाट मुक्त छैनन् । रवीन्द्र झा ‘टाइपकास्ट’ भइसके । उनी एउटै चरित्रमा कहिलेसम्म रमाउने ? आयुष्मान औसत लाग्छन् । कर्कश पाश्र्वध्वनि चंगा चेटको बिझाउने पक्ष हो । ‘गोजीमा दाम छैन...’ मात्र होइन, अन्य गीत पनि श्रुतिमधुर छन् । तर, फिल्ममा तिनको प्रयोग सान्दर्भिक छैन ।

माधव वाग्ले निर्मित लुट, मिसन पैसा, रेशम फिलिली, लुट मा पैसाको पछाडि दौडने केटाहरुको कथा भनिएको थियो । चंगा चेट त्यसकै निरन्तरता हो । भलै, उनले दृश्यको मागअनुरुप लगानीमा कन्जुस्याइँ गरेका छैनन् । अर्को उल्लेखनीय पक्षचाहिँ, चंगा चेटको कथ्यशैली बलिउड निर्देशक प्रियदर्शनबाट अति प्रभावित छ । प्रियदर्शन बलिउडमा करिब ‘रिटायर्ड’ भइसके । तर, सिर्जनशील निर्देशकका रुपमा कहलिएका खनालले यही शैली पछ्याउनु श्रेयस्कर होइन । उनीसँग ‘टाइमपास’ मात्र होइन, सार्थक सिनेमाको अपेक्षा छ ।

चंगा चेटमा कन्टेन्ट होइन, कमेडी छ । प्रस्तुति कलात्मक होइन, परम्परागत छ । यद्यपि, हँसाउने नाममा भद्धा मजाक गरिएको छैन । हेर्ने/नहेर्ने आफ्नै रोजाइ ।

प्रकाशित: कार्तिक १६, २०७५