[नोटबुक] हिरो भेट्ने हुटहुटी

- भिषा काफ्ले

१३ सेप्टेम्बरमा इन्डोनेसियाको बालीमा एसिया प्यासिफिक टोबाको एन्ड हेल्थ कन्फ्रेन्स हुँदै थियो । उद्घाटन कक्षमा जाँदै गर्दा भर्खरै चिनजान भएका इन्डोनेसियाली साथी वाङवाङ प्रियोनोले म पत्रकार भएको थाहा पाएपछि एउटा सूचना दिए– सम्मेलनमा ‘हिरो अफ इन्डोनेसिया’ पनि आएका छन् भनेर । उद्घाटन कार्यक्रम सकिएपछि उनले मलाई कफी बेचिरहेको एक व्यक्तिसँग भेटाइदिए । भने, “यिनै हुन् हाम्रो देशको हिरो अर्थात् ‘हिरो अफ इन्डोनेसिया’ ।” मलाई लाग्यो, पहिले हिरो होलान्, अहिले पेसा परिवर्तन गरी कफी व्यापार गरिरहेका छन् । त्यसैले मैले ढिलो नगरी सोधेँ, “कति वटा चलचित्रमा खेल्नुभएको छ ?” अंग्रेजीमा सोधेको यो प्रश्नको उत्तर उनले दिएनन् । बरु वाङवाङले नै मलाई त्यो प्रश्नको उत्तर दिए, “यी फिलिमका हिरो होइनन्, सुर्ती खेती छाडेर कफी खेती गरी देशमै नमुना कृषक भएकामा सरकारले दिएको उपाधि हो ।” छक्क परेँ । यिनी रहेछन्, जोग जकार्ताका कफी किसान सुकिमान मोचटार प्राथोमो । सुर्ती खेती गर्दा बिहानबेलुका हातमुख जोर्न मुस्किल पर्ने अनुभव सुनाए । जब त्यो काम छाडेर कफी खेती सुरु गरे, गाउँलेले उनलाई बौलाएको समेत भने । कफी खेती थालेको छोटो समयमै आफ्नै कार र घर जोडिसकेका रहेछन् । कफी खेती सुरु गर्दा ९५ प्रतिशत सुर्ती खेती हुने गाउँमा उनकै प्रेरणाले अहिले १० प्रतिशतमा झरिसकेको रहेछ । उनको यही मिहिनेतलाई राज्यले सम्मान गरेर उपाधि दिएको रहेछ ‘हिरो अफ इन्डोनेसिया’ । कृषक पनि देशको हिरो ? मैले आफ्नै देशका बारे सोचेँ । कृषिप्रधान हाम्रो देशमा कृषकलाई उत्प्रेरणा दिन यस्तो सम्मान कहिलेबाट सुरु होला ?

नरिवलमाथि शिवजी

बाली जानुअघि सोचिएको थियो, फराकिला बाटा र अग्ला अपार्टमेन्ट/घर होलान् । किनकि, वार्षिक ७० लाखभन्दा बढी पर्यटक पुग्ने ठाउँबारे जिज्ञासु बन्नु स्वाभाविकै हो । तर, जब बाली पुगियो, यी दुवै कुरा मेरो सोचाइ विपरीत पाएँ । न त्यहाँ बडेमाका सडक छन्, न त गगनचुम्बी घर नै । केवल दुई लेनका सडक र बढीमा चारतले (अन्डरग्राउन्डसमेत पाँच) घर । सडक साना भए पनि धूँवाधूलो, खाल्डाखुल्डी कहीँकतै छैन । अफिस समयमा भने झन्डै काठमाडौँकै झल्को दिने जाम हुँदो रहेछ । यद्यपि, जामको बेला पनि वरपरको हरियाली वातावरण र पर्यटकलाई टुटेफुटेको अंग्रेजीमा जानकारी गराइरहने मर्यादित सवारी चालकका कारण यात्रा पट्यारलाग्दो भएन ।

अग्ला घर किन नबनाइएको होला भन्ने मेरो खुलदुली मेटिन भने बाली घुमाइको चौथो दिन कुर्नुपर्‍यो । यात्रामा सहभागी हामीले भूकम्प, ज्वालामुखी र सुनामीको जोखिम क्षेत्र भएकाले ठूला घर नबनाइएको होला भनेर निष्कर्ष निकाल्यौँ । चौथो दिन उदायना विश्वविद्यालयमा पब्लिक हेल्थका अध्यापक मादे केर्तालाई भेटियो, त्यसपछि मात्र कुरोको चुरोमा पुगियो । ९० प्रतिशत हिन्दु बसोबास गर्ने यो टापुमा प्रत्येक घरअगाडि नरिवलको बोट अनिवार्य रोपिँदो रहेछ– जसरी हाम्रोमा तुलसीको मठ हुन्छ । उक्त नरिवलको रुख जति अग्लो हुन्छ, त्यति मात्र अग्लो घर बनाउन पाइने नियम रहेछ । नरिवलको रुखमाथि शिव भगवान्को स्थान भएकाले त्योभन्दा अग्लो घर बनाउन हुँदैन भन्ने मान्यता रहेछ ।

घर पुग्ने हतारो

एक साताको बाली यात्रापछि नेपाल फर्कने क्रममा मलेसिया ट्रान्जिट थियो । बालीबाट तीन घन्टाको यात्रापछि क्वालालम्पुर एयरपोर्ट उत्रियो । एयरपोर्ट आइपुगेपछि नेपाल आएजस्तो लाग्यो । किनभने, नेपाल आउने तयारीमा रहेकामध्ये झन्डै ७५ प्रतिशत नेपाली थिए भने १५ प्रतिशत भारतीय र १० प्रतिशत अन्य थिए । जहाज काठमाडौँ उडानका लागि रनवे जाँदै गर्दा अधिकांशका अनुहार हँसिला थिए । चार घन्टाको उडानपछि पाइलटले अब १५ मिनेटमा काठमाडौँ ओर्लिने जानकारी दिए । जहाजपछाडिको पांग्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छोएको मात्र के थियो, एउटा सिटमा बसेका तीन युवा जुरुक्क उठे । अरु यात्रीहरु आत्तिए, के भएछ भनेर । जहाज रन वेमा गुडिरहेको थियो । यतिन्जेलसम्म पाइलटले राम्ररी ब्रेक पनि लगाइसकेका थिएनन् । अर्को सिटमा बसेका युवाहरु पनि र्‍याक खोलेर आफ्ना सामान निकाल्न थाले । एयर होस्टेजले जहाज नरोकिइसकेकाले सिट बेल्ट नखोल्न र हतार नगर्न पुन: माइकिङ गरिन् । यात्रुले जहाज नरोकिँदै हतार गर्नुको कारण त ४ वर्षपछि घर फर्किएपछि गन्तव्यमा पुग्ने हतारो पो रहेछ ।

प्रकाशित: कार्तिक १६, २०७५

ट्याग: नोटबुक