कोइरालालाई सुब्बेनीको बकस

- कमल कोइराला

नेपाली राजनीतिमा कोइराला परिवार उँचो  स्थानमा छ । आर्थिक रुपमा पनि यो वैभवशाली थियो । सगोलमा हुँदै हजुरबा कृष्णप्रसाद कोइरालाले नेपालभरका भन्सारको ठेक्का पाउनुभएको थियो । व्यापार कोलकातासम्म फैलिएको थियो । ठेक्काबाट प्राप्त आम्दानी र करिब ४०/५० मौजाका कारण कोइराला परिवार त्यतिबेलाको ठूलो जमिनदार नै थियो भन्दा हुन्छ । कृष्णप्रसादले दार्जिलिङदेखि सिरहा चन्द्रगन्ज, माडरलगायतको भन्सार ठेक्कामा लिएका थिए । त्यसबेला भन्सारलाई बजारअड्डा भन्थे । तर, केही वर्षपछि ९० हजार रुपैयाँ बक्यौता रह्यो । किनभने, अलगअलग ठाउँमा रहेका मान्छेलाई तोकिएको समयमा रकम बुझाउन ढिलो हुन्थ्यो ।

कृष्णप्रसादले प्रजाको अवस्थाबारे फाटेको लुगा, भोटो र लंगौटी श्री ३ चन्द्रशमशेरकहाँ पठाइदिए । त्यसबाट क्रूद्ध चन्द्रशमशेरले कृष्णप्रसादले समय माग्दामाग्दै ठेक्का सबै तोडिदिए । र, कुमारीचोक (हालको महालेखा) बाट हुलाकमार्फत पक्राउ पुर्जी बडाहाकिम जीतबहादुर केसीकहाँ पठाउन लगाए । तर, जीतबहादुर कृष्णप्रसादका मित्र थिए । उनले त्यो पक्राउ पुर्जी त्यसै दिन दर्ता नगरी कृष्णप्रसादलाई आजै नेपाल छाड्नू भने ।

कृष्णप्रसाद जेठा छोरा साढे सात वर्षका मातृका र करिब ५ वर्षका बीपी कोइरालालाई डोर्‍याउँदै माडरबाट जयनगर सीमा पार गरे । एकतन्त्रीय राणा शासनको विरोधमा लागेपछि कोइराला परिवारको सबै सम्पत्ति चन्द्रशमशेरको निर्देशनमा भन्सार लागेको थियो । त्यतिबेला भन्सार लाग्नुको अर्थ जफत हुनु थियो । चन्द्रशमशेरले कोइराला परिवारको जायजेथा कब्जा गरेर अरुलाई बाँडिदिए । जुद्धशमशेरको पालामै विसं १९९९ मा कृष्णप्रसाद राणा शासनविरोधी काम गरेको भनी पक्राउ परिसकेका थिए । राणा शासक प्रजातान्त्रिक आन्दोलन दबाउन जुनसुकै हथकण्डा प्रयोगमा ल्याउँथे ।

 कुनै सम्पत्ति बाँकी नरहेको कोइराला परिवारले दशक लामो कष्टसाध्य निर्वासन जीवन भारतमा बितायो । भीमशमशेर श्री ३ महाराज भएपछि कृष्णप्रसाद कोइरालाको बक्यौता रकम मिनाहा गरिदिए र नेपाल फर्किन अनुमति दिए । कुनै सम्पत्ति बाँकी नरहेका कृष्णप्रसाद कोइराला दिवंगत दाजु सुब्बा नारायणप्रसाद कोइरालाकी श्रीमती मानकुमारी सुब्बेनीसँग छोराछोरीका साथ बस्न थाले । मानकुमारी सुब्बेनी ६८ वर्ष पुगेपछि काशीवास जान लाग्दा मृत देवर कृष्णप्रसाद कोइरालाका जेठी श्रीमती मोहनकुमारी र कान्छी श्रीमती दिव्याकुमारीका नाममा बकसपत्र गरिदिइन् ।

२००१ माघ १४ मा जुद्धशमशेरको थुनामा पिता कृष्णप्रसादको मृत्यु भयो । त्यसपछि बीपीले २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे ।

२००२ कात्तिक २ मा मानो छुट्टिई २००३ कात्तिक २६ मा मातृकाप्रसाद, विश्वेश्वरप्रसाद, केशवप्रसाद, तारिणीप्रसाद र  गिरिजाप्रसाद कोइरालाको अंशबन्डा भएको कागज देखिन्छ । कृष्णप्रसादका दाजु सुब्बा नारायणप्रसाद कोइराला नि:सन्तान थिए । उनकी श्रीमती मानकुमारी सुब्बेनी उपाध्याय पनि सरकारी जागिरे थिइन् । श्रीमान् नारायणप्रसाद कोइरालाको निधनपछि मानकुमारी काशीवास गइन् । काशीवास जाँदा उनले आफ्नो भयभरको श्रीसम्पत्ति कोइराला परिवारलाई सुम्पिइन् । सुब्बेनीले देवर कृष्णप्रसादका श्रीमतीलाई बकसस्वरुप करिब ४/५ सय बिघा जग्गा दिएकी थिइन् ।

कृष्णप्रसादका दुई श्रीमती मोहनकुमारी पिताजी मातृकाकी आमा र दिव्याकुमारी बीपीकी आमाले करिब ५/६ सय बिघा जग्गा बकसमा पाएका हुन् । परिवार छुट्टिएपछि त्यो सम्पत्ति मातृका र बीपी दुवैतिरका दाजुभाइलाई ५/२ भाग गरी भागबन्डा लगाइएको थियो । बीपी, मातृका, केशव, तारिणी, गिरिजाप्रसाद र आमाहरु गरी बकस सम्पत्ति सगोलबाट छुट्टिँदा ७ भाग लगाइएको थियो । छुट्टिएपछि कोइराला परिवारले सुब्बेनीले दिएको सम्पत्ति आ–आफ्ना नाममा दर्ता गराए ।

अझ रोचक किस्सा त के भने सुब्बेनी मानकुमारी नि:सन्तान भएकाले जायजेथा कोइराला परिवारलाई बकस दिँदा कानुनी झमेला उठेको थियो, साक्षी बस्ने सन्दर्भमा । साक्षी बस्दा सहोदर दाजुभाइले सहीछाप लगाउनुपथ्र्यो । तर, सुब्बेनीका कोही पनि दाजुभाइ त्यहाँ थिएनन् । त्यस समस्यालाई पार लगाउन पिताजी मातृका र बीपीले आफ्नो कोइराला थरलाई उपाध्याय बनाउनुपरेको थियो । साक्षीका रुपमा कोइरालाबाट उपाध्याय बनेपछि मानकुमारी सुब्बेनीको बकस सम्पत्तिले बल्ल वैधानिकता पाएको थियो ।

विराटनगरमा रहेको अहिलेको कोइराला निवास पनि उनै सुब्बेनीले काशीवास जाँदा कोइराला परिवारलाई बकसमा दिएकी हुन् । त्यो अद्यापि कमलप्रसाद कोइराला, विजय, नोनापुत्र निरञ्जन र शेखर, तारिणीपुत्र ज्योति र गिरिजापुत्री सुजाता कोइरालाको नाममा छँदैछ । यसरी सुब्बेनीले बकसमा दिएको करिब ४/५ सय बिघा सम्पत्ति मातृका र बीपीतिरका ४ भाइ र आमालाई समेत भागबन्डा गर्दा टुक्राटुक्रा भयो । अहिले कोइराला परिवारभित्रकै केही सदस्यले बकस सम्पत्ति बिक्री गरेर काठमाडौँमा घर बनाएका छन् । केही सय बिघा अहिले पनि दुवैतिरका सन्तानको बकस सम्पत्ति छ ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: कार्तिक १६, २०७५

ट्याग: स्मरण