पात्रहरूको जमघट [पुस्तक समीक्षा : सखी]

पुस्तक : सखी | स्रष्टा : रामलाल जोशी | प्रकाशक : बुक–हिल | पृष्ठ : ३४४ | मूल्य : ४५० रुपैयाँ

- दिपेश नेपाल

बाल्यकालबाट नि:सृत सम्झनाको ठेलीबाट जुन यादहरू निस्कन्छन्, तिनलाई साहित्यिक रुप दिन सजिलो हुन्छ । चिचिला उमेरको पात्रबाट भनिने कथामा पाठकले आफ्नो समयको स्वतन्त्रता र मर्म भेट्छ । रामलाल जोशीको उपन्यास सखी  पहाडबाट तराई बसाइँ सरेर आएको त्यस्तै एउटा पात्रको कथा हो, जो आफ्नो छुटेकी बालसखीको सम्झना र जीवनका वियोगका कथाहरु सुनाउँछ । त्यसभित्र थारु जातिले भोगेको उत्पीडनको, संयोगहरुमा अडिएको जीवनको उतारचढावको र सम्झनामा अल्झिरहने भावनाको कथा छ । थारु गीत र संस्कृति जति भर्भराएर आएको छ, त्यस्तै पर्दापछाडिको कमैया र कमलरी प्रथाको दुखेसो पनि अनुभव गर्न सकिन्छ । मिलनविछोड र हार्दिक सम्बन्धहरुको कथामा अनेक पात्रहरु विविध रङ र विशेषता लिएर उपस्थित भइरहन्छन् । तर, सुरुमा आकर्षक पात्रहरुले नै उपन्यासलाई अन्त्यमा अल्मल्याइदिन्छन् ।

सम्पूर्णताको लोभमा पात्रहरुको जमघटजस्तो भएको छ उपन्यास । नटिक्ने पात्रहरुलाई माया गरेर सम्झिरहनुपर्ने बोझबाट पाठक वाक्क हुन थाल्छ । उपन्यास कथासंग्रहजस्तो पनि लाग्न सक्छ । घटनाहरुलाई दिइएको मोड चित्तबुझ्दो लाग्दैन । बलियो पात्रलाई कमजोर घटनाहरुमा उभ्याइदिँदा पात्रकै तेजोवध भएको छ ।

कथालाई घटनाहरुको भरमा कम र मर्महरुको भरमा बढी उभ्याएको देखिन्छ । उपन्यासका पछिल्ला पाठहरुमा पात्रहरुको पुनर्मिलन पत्यारिलो लाग्दैन । सखीको सम्झना गर्नु मूलपात्रलाई जीवित राख्ने अभिप्रायजस्तो मात्र हुन गएको छ । काँचो संवेदनालाई ज्यादा वर्णन गरिएको अनि प्रकृति वर्णनमा धेरै वाक्यहरु खर्चिएको पढ्दा कथाइतरका प्रसंग पढेको अनुभूति हुन्छ । पात्र र भावभूमिलाई न्याय गरेजस्तो लाग्दैन । पात्र र पाठकको हृदयसँगै रसाउने क्षण कमै पाइन्छ ।

कमैया मुक्ति आन्दोलन, माओवादी आन्दोलन र बदलिादो समाजको चित्रण पनि गरिएको छ । घटना भन्नु नै नयाँ पात्रको उपस्थिति हुन गएको छ । कथा विस्तारमा सामग्री नै कमी भएजस्तो लाग्छ । खुलस्त भनिदिनु कथाको प्राविधिक पक्ष राम्रो होइन, छायामा राख्नु नै खुल्दुली गराइराख्ने तरिका हो । तर, अपेक्षित घटनाको बाहुल्यले उपन्यास कमजोर बनाएको छ ।

कथानकलाई बाँध्न नसक्दा कुन सम्झने र कुन बिर्सनेको दोधार हुन्छ उपन्यासमा । यति हुँदाहुँदै पनि धेरै पात्रहरु सामाजिक भएकाले तिनको सजीवता प्रशंसनीय छ । बसाइँसराइ गर्दाको यात्राविवरण, बाजेको चरित्र, गाउँघरमा बोलिने ठेट कथ्यहरुको प्रयोग पनि स्तरीय र प्रभावपूर्ण छ । मूलपात्रले सम्झिरहने सीमित पात्रपरिवेशहरुको विकास नगरेकाले त्यसैलाई उपन्यासको चाल मानिरहने धैर्य पाठकलाई हुँदैन । राजीपुरको छाप जति गाढा हुनुपर्ने हो त्यो पछि हुन सक्दैन ।

सखी  सन्देशमूलक उपन्यास होइन । मनोरन्जनात्मक उपन्यास पनि होइन । औपन्यासिक गुणहरु धेरै खट्किन्छन् । कति ठाउँमा वाक्य र अनुच्छेदहरु नै अनुपयुक्त लाग्छन् ।

प्रकाशित: कार्तिक १५, २०७५