लाल सलाम कमरेड

- सुरेन्द्र लाभ

चल्तीको ‘जय नेपाल दाजु’ कै बीच नेपालमा भित्रियो ‘लाल सलाम कमरेड ।’ नेपाली कम्युनिस्ट आन्दोलनको मूल मन्त्रझैँ बनेर यो शब्दावली विकसित भयो । ‘जय नेपाल संस्कृति’ बारे अघिल्लो स्तम्भमै चर्चा गरिसकिएकाले यहाँ दोहोर्‍याइरहनु परेन । यति भनौँ, ‘जय नेपाल’ ले एक किसिमको सोपान सिर्जना गरेको थियो, ‘कमरेड’ ले क्रान्तिकारी बन्धुत्वको बोध । ‘लाल सलाम’ को अभिवादनमा गजबको जादूयी शक्ति थियो । एकअर्कालाई भेट्दा कस्सिएर हात मिलाउँदै ‘कमरेड लाल सलाम’ भन्दा यो जादूमा धेरै गुणा वृद्धि भइहाल्थ्यो । कांग्रेस नेताहरू पनि भन्ने गर्थे– ‘कम्युनिस्टहरूको हात मिलाउने तरिकामा गजबको शक्ति छ । झन् कमरेड लाल सलाम भन्दा त क्रान्तिको बिगुल फुकेको अनुभूति हुन्छ ।’

पञ्चायतकालभरि दलहरू प्रतिबन्धित अवस्थामा थिए । थुप्रै कम्युनिस्ट पार्टीहरू मधेसको समथर मैदानदेखि पहाडको कुनाकाप्चासम्म भूमिगत अवस्थामा कार्यरत थिए । त्यस्तो कालरात्रिमा पनि जब कुनै कम्युनिस्ट पार्टीको सानो बैठक ‘कमरेडहरू लाल सलाम’ को उद्घोषबाट सुरु हुँदा माहोलमा नयाँ ऊर्जा थपिन्थ्यो । भूमिगत बैठक भए पनि तालीको गडगडाहटबाट वातावरणमा क्रान्तिको लहर उठ्थ्यो । ‘कमरेड लाल सलाम’ भन्नासाथ ‘म एक्लै छैन यो क्रान्तिमा, मसँग संसारभरिका सर्वहारा छन्’ भन्ने बोध तत्क्षण हुन्थ्यो ।

पञ्चायत गयो । देशमा बहुदलीय व्यवस्था आयो । कतिपय कम्युनिस्ट पार्टीहरू सत्तामा पनि पुगे । सत्ताको स्वादमा कुन्नि के मिसिएको थियो, लाल सलामको शक्ति क्षीण हुन थाल्यो ।  थाहा छैन, के–कति कारणले कहिले

‘लाल सलाम’ को सट्टा ‘अभिवादन’ शब्द नै प्रयोग गर्न थाले नेता/कार्यकर्ता । कतिपय नेता अलमलमा परे– के भनौँ, लाल सलाम अथवा अभिवादन ! यहाँसम्म कि कतिपय कम्युनिस्ट पार्टीहरू पनि अलमलिए । एउटा गान्धीवादी कम्युनिस्ट पार्टी, जो नेकपा माओवादीमा विलीन भयो, त्यो पार्टी धेरै अप्ठेरोमा परेको अनुभूति हुन्थ्यो । त्यस पार्टीका नेता/कार्यकर्ता लाल सलाम, अभिवादन हुँदै नमस्कार, नमस्ते, प्रणामसम्म आइपुगे ।

माओवादीको युद्धताका ‘कमरेड लाल सलाम’ ले फेरि नवजीवन पायो । बन्द मुठ्ठी जब ‘कमरेडहरू लाल सलाम’ भन्दै माथि उठ्थ्यो, क्रान्तिकारी भावना सम्पूर्ण शरीरको रगतमा करेन्ट बनेर दौडिन थाल्थ्यो । तर, माओवादी सत्तामा आउनासाथ फेरि लाल सलामको तेज हराउन थाल्यो । अन्तत: सूर्यको रापतापमा समर्पित हुन पुग्यो ।

आज लाल सलाम भन्नेहरूको दुई तिहाइ बहुमतको सरकार छ देशमा । नेपालको राजनीतिक इतिहासको बिरलै संयोगमध्येको हो यो । तर, बन्द मुठ्ठी किन कसिलो छैन ? हात किन क्रान्तिकारी शैलीमा माथि उठिरहेको छैन ? हात मिलाउँदा हुने चुम्बकीय शक्ति खोइ ? कता हरायो लाल सलामको जोश ? सर्वहारा विचार कता लुप्त भयो ? श्रमिक वर्गको चिन्ता कसले गर्ने ? शोषित वर्गबारे कसले सोच्ने ?

सगरमाथामा पुग्न जति सजिलो छ, त्यहाँ लामो समयसम्म टिक्न त्यत्तिकै गाह्रो । एकचोटी पार्टीका सम्पूर्ण अग्रदूतले गम्भीर चिन्तत गर्नैपर्छ । नेपालका प्रत्येक राजनीतिक दल अहिले विभिन्न गुट–उपगुटमा विभाजित छन् । कम्युनिस्ट पार्टीहरूको आन्तरिक बैठकको पुरानो परम्परा रहिआएको छ– आत्मालोचना र आलोचना । यो ठूलो हतियार हो, जसलाई पुनर्जीवन दिन सक्नुपर्छ । चाकडी प्रथा अन्त्य गर्दै प्रणालीबाट चल्ने परिपाटी बसाल्नु जरुरी छ ।

जबसम्म प्रत्येक दल आ–आफ्ना सिद्धान्तमा अडिग, आचरणमा विश्वसनीय र पार्टीमा एकजुट हुन सक्दैनन्, तबसम्म लोकतन्त्र बलियो हुन सक्दैन । अरू दलको नराम्रो पक्ष केलाउनुभन्दा आफ्नै दलमा शुद्धीकरणको प्रक्रिया अगाडि बढाउँदा गणतन्त्र टिकाउ हुन सक्छ ।

कमरेड लाल सलामले दक्षिण एसियाका कम्युनिस्टलाई जोडेकै छ । नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश आदि सबै देशमा यो कम्युनिस्टहरूको अभिवादन शैली हो । यस आधारमा पनि यसको पुनर्जीवन आवश्यक छ ।

प्रकाशित: कार्तिक १५, २०७५

ट्याग: विचार