एक गुल्मेलीको दुर्गम उचाइ [पुस्तक समीक्षा : ग्लोबल सिटिजन फ्रम गुल्मी ]

पुस्तक : ग्लोबल सिटिजन फ्रम गुल्मी | लेखक : कुलचन्द्र गौतम | प्रकाशक : नेपालय | पृष्ठ : ५४६ | मूल्य : ८९५ रुपैयाँ

- निशान्त खनाल

डायस्पोरामा अभूतपूर्व उचाइ छुने नेपालीको सूचीमा कुलचन्द्र गौतम अघिल्लो हारमा भेटिन्छन् । पश्चिम नेपालको गुल्मी, अझ जिल्लाकै पनि विकट अमरपुर गाउँमा विसं २००० को दशकमा जन्मेर कालान्तरमा संयुक्त राष्ट्रसंघजस्तो सर्वोच्च विश्वसंस्थामा एक उपमहासचिव बन्न सक्नु सानो उपलब्धि होइन । गौतमको पछिल्लो पुस्तक ग्लोबल सिटिजन फ्रम गुल्मीमा भनिएजस्तै नेपालका पहाडदेखि राष्ट्रसंघसम्म उनको सफलताको यात्रा समेटिएको इतिवृत्त हो ।

गौतमको गुल्मीदेखि अमेरिका, राष्ट्रसंघसम्मको यात्रा र व्यावसायिक जीवनमा बढी केन्द्रित छ यो पुस्तक । राष्ट्रसंघीय बालकोष (युनिसेफ) को उपकार्यकारी निर्देशकको जिम्मेवारीबाट अवकाश पाएका गौतमले आफ्नो बाल्यकाल, शैक्षिक आरोहअवरोह र संयुक्त राष्ट्रसंघीय बालकोषमा रहँदाका अनुभव पुस्तकमा समेटेका छन् । नेपाल, नेपाली अनि नेपाली राजनीतिबारे आफ्नो पहिलो पुस्तक लस्ट इन ट्रान्जिसनमै धेरै लेखेकाले होला, यस पुस्तकमा उनले ती विषयमा उति चर्चा गरेका छैनन् । यद्यपि सुन्दर, शान्त र विशाल नेपालका लागि आफ्नो सोच भने उनले यस पुस्तकमा समेटेका छन् । 

पुस्तकको पहिलो पाँच अध्याय नेपालजस्तो अतिकम विकसित देशबाट गौतम कसरी डार्टमथ, प्रिन्सटनजस्ता विश्वकै उत्कृष्ट शैक्षिक संस्थाहरु हुँदै राष्ट्रसंघसम्म पुगे भन्नेमा केन्द्रित छन् । तत्कालीन परिवेशमा सामान्य नागरिकले राहदानी  प्राप्त गर्नसमेत दरबारमा खबर पुग्ने घटना रोचक छ । त्यसपछिका अध्यायमा युनिसेफमार्फत उनले बालबालिकाका लागि गरेका काम र विभिन्न देशहरुमा युद्धका समयमा गरेका काम पढ्न पाइन्छ । भियतनाम, कम्बोडियाजस्ता युद्धग्रस्त देशमा गौतमले गरेका काम पढ्दै गर्दा उनी एक उच्चकोटिका कूटनीतिज्ञ हुन् भन्ने कुरा प्रस्ट हुन्छ । तीन दशकको कार्यकालमा बालबालिकाका लागि विश्व सम्मेलन गरी इतिहासमै पहिलोपटक विभिन्न राष्ट्रप्रमुखहरु एकै ठाउँमा उभ्याउन पाउनु आफ्नो ठूलो सफलता रहेको गौतम लेख्छन् । युनिसेफका तत्कालीन प्रमुख कार्यकारी निर्देशक जिम ग्रान्टका विश्वासपात्र गौतम ग्रान्टलाई आफ्नो प्रेरणाको स्रोत मान्छन् । गौतमको सरल व्यक्तित्व र लगनशील स्वभावका कारण पनि होला ग्रान्टले उनलाई थुप्रै प्रमुख जिम्मेवारीहरु दिएको हुनुपर्छ । ल्याटिन अमेरिका, सोभियत संघ, अफ्रिकाका विभिन्न देशमा युनिसेफको स्थापना र सहज कार्य सञ्चालनमा गौतमले पुर्‍याएको योगदान अतुलनीय देखिन्छ ।

लेखकले भेटेका थुप्रै विशिष्ट व्यक्ति अनि उनीहरुसँग भेटघाटका प्रसंगहरु रोचक छन् । पुस्तकको एउटा भागमा उनले आफ्नो सफलताका पाँच गोप्य सूत्रहरु सार्वजनिक गरेका छन् । यी सूत्रहरु सबैका लागि सफलताको मार्गमा डोर्‍याउने मन्त्र हुन सक्छन् । पुस्तकमा गौतमले धर्म र अध्यात्म अनि युनिसेफका लागि आफूले धार्मिक संघ–संस्थाहरुसँग मिलेर गरेका काम समेटेर एउटा अध्याय लेखेका छन् । अत्यन्तै रोचक र बुझ्नैपर्ने महत्त्वपूर्ण विषय नभए पनि यस अध्यायमा गौतमको धर्मसम्बन्धी ज्ञान र धारणा बुझ्न पाइन्छ ।

नेपालले आफूलाई के दियो अनि आफूले नेपाललाई के दिएँ भन्ने प्रसंगमा राष्ट्रसंघका माथिल्ला केही पदहरुको दौडमा नेपाल सरकार र सरकारका केही प्रतिनिधिहरुसँग आफ्नो चित्त दुखाइ व्यक्त गरेका छन् । ‘मेरो सफल कार्यकालमा नेपाल सरकारको सहयोग कहिले पनि प्रभावकारी रहन सकेन,’ उनी लेख्छन् । सन् २०१० को संयुक्त राष्ट्रसंघ महासभाको अध्यक्षका लागि नेपालको उम्मेदवारीका रुपमा गौतमको अनुभव र नेपालको कूटनीति पहल रोचक छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनमा बालबालिकासम्बन्धी मुद्दाहरुको उठान, युनिसेफको सार्कस्तरीय कार्यालय नेपालमा स्थानान्तरण, नेपालको शान्ति प्रक्रिया र राष्ट्रसंघीय मिसन (अनमिन) स्थापनामा आफ्नो भूमिकाबारे उनले पुस्तकमा जस लिन भुलेका छैनन् । 

पुस्तकको सुरुका पाँच अध्यायपछिका अध्यायहरु क्रमैसँग पढ्नुपर्छ भन्ने छैन । पाठकले आफ्नो रुचिअनुसारको अध्याय पढ्दा पुस्तकको सिलसिला छुटेजस्तो अनुभव गर्नुपर्दैन । लेखकले पुस्तक लेख्दै गर्दा सकेसम्म धेरै जानकारी र घटना उल्लेख गर्न खोजेको देखिन्छ । यसले गर्दा पुस्तकको आकार बढ्नुका साथै पाठकलाई केही विषय पट्यारलाग्दा लाग्न सक्छन् । गौतमको पहिलो पुस्तक पढेका पाठकलाई कतिपय पहिले नै पढेका विषय पुन: पढ्नुपर्ने हुन्छ । पुस्तकको कमजोर पक्ष सम्पादन हो । गौतमले राष्ट्रसंघीय बालकोष किन विशिष्ट छ भन्न मात्रै ६० पृष्ठ खर्चेका छन् । अगाडिका ९ पाठमा पनि युनिसेफकै अनुभव लेखेका छन् ।

गौतमको जीवनकथा सबैका लागि प्रेरणाको स्रोत हो । यो पुस्तक पढ्ने जोकोहीले पनि आफूमा नयाँ ऊर्जा सिञ्चित भएको महसुस गर्न सक्छन् ।  

प्रकाशित: कार्तिक १४, २०७५