विराटनगरको त्यो विमर्श

- भास्कर गौतम

उत्पल, सुधांशु र म बेग्लै स्कुलमा पढ्ने साथी थियौँ । तर, हाम्रा साझा कुरा धेरै थिए । एउटै टोलमा बस्थ्यौँ । सामाजिक परिवेश उस्तै थियो । दुवैलाई समान किसिमले साहित्यको अनुरागले तानेको थियो । हिन्दी साहित्यबाट दुवै मोहित थियौँ । अलिअलि अंग्रेजी साहित्य पनि पढ्थ्यौँ । नेपाली साहित्य बेलाबखत पढ्ने नै भयौँ । तथापि, हाम्रो पठन छरिएको थियो । बुझाइ धेरै छिपछिपे थियो । सन्दर्भ ०४९–०५० तिर विराटनगरको हो ।

हाम्रो आपसी परिवेश केही पृथक थियो । पारिवारिक पृष्ठभूमि भिन्न थियो । उनका बुबा भौतिक विज्ञान पढाउने विराटनगरका नामी प्राध्यापक थिए । तर, साहित्यका अनुरागी । दाजु अंग्रेजी साहित्यका विद्यार्थी । मेरो घरमा भने पठनपाठनको खासै माहोल थिएन । हाम्रो पारिवारिक पृष्ठभूमिसागै आएको अनुभवजन्य ज्ञान फरक थियो । त्यसले साहित्यको रुचिलाई थोरबहुत असर पाथ्र्यो । दुवैलाई आकर्षित गर्ने भाव र विचार भिन्न हुन्थे । त्यसैले बेलाबखत साहित्यबारे मतान्तर चल्थ्यो । साहित्यिक वादबारे विवादले कहिलेकाहीँ कुनै उपन्यासको पात्र आफूमै सरेको वा आफन्तै हो कि जसरी जटिल मोड लिन्थ्यो । साहित्यका केही पात्रले हाम्रो भाव र विचारमा गहिरो प्रभाव पार्थे ।

पच्चीस वर्षपूर्व दुई मित्रबीच भएका कुराकानी, सहमति र विमति, केही वादविवाद र यदाकदाको तात्तातो संवाद आज फर्केर हेर्दा अर्कै देखिन्छ । त्यसमा आवेग कम, सम्झना बढी हुनै नै भयो । त्यसैले यो आलेखले त्यसबेलाको आवेगात्मक अभिव्यक्तिमाथि आज विजय हासिल गरेको छ । त्यसबेलाको संवादले भने कुनै सार नगुमाई खास स्वरुप पाएको छ । अब लागौँ, उत्पलसँग भएको साहित्य विमर्शतर्फ ।

प्रारम्भमा हाम्रो पठनको दायराबारे केही भनौँ । त्यसबेला उत्पलले मलाई शरतचन्द्र चट्टोपाध्या, फणीश्वरनाथ रेणु, अज्ञेय, निर्मल वर्मा, गालिब आदिका कृतिसँग परिचय गराए । मैले साहिर लुधियानवी, फैज अहमद फैज, रघुवीर सहाय, प्रेमचन्द आदिका रचनासँग उनलाई चिनाएँ । त्यसबेलाको नेपाली पाठ्यपुस्तकमार्फत तानिएर होला, हामीले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मैनाली, भीमनिधि तिवारी र अन्य केही लेखकका कृति पढ्यौँ । कतैबाट हात लागेकाले पारिजात, शंकर लामिछाने, सरुभक्त आदि लेखकका पुस्तक पनि छिचोल्यौँ । गाउँघरका दाइहरुसँग उपलब्ध पुस्तक र वरिपरिका पुस्तकालयमा जे पाइन्थ्यो, त्यसले हामीलाई बेलाबखत म्याक्सिम गोर्की, फ्योदोर दोस्तोवस्की, अन्तोन चेखव, रवीन्द्रनाथ टेगोर, एरिक सेगल, ऐन रेन्ड आदिका रचनासम्म पुर्‍यायो । यी केही प्रतिनिधि नाम हुन् । यी लेखकका पुस्तकसँग एक वा अर्को तवरमा साक्षात्कार भइरहँदा हाम्रो साहित्यप्रतिको अनुराग गहिरिँदै गयो । कति बुझेर पढ्यौँ, कति नबुझिकनै पढ्यौँ । तर, पठनसँगै आएको छिपछिपे ज्ञानले हामीलाई साहित्यको विमर्शतर्फ धकेल्यो ।

एक दिन एक मित्रले अर्कोलाई भन्यो, ‘मलाई लाग्छ– नेपाली भाषामा उपलब्ध आरम्भिक साहित्यको उद्देश्य, भाव र विचारलाई उद्वेलित गर्ने कार्यमा कम, भाषाको प्रचारमा बढी केन्द्रित छ । तिमीलाई त्यस्तो लाग्दैन ?’

अर्कोले जवाफ दियो, ‘त्यस्तै लाग्छ ।’ जबसम्म कुनै भाषाले खास किसिमको स्थायी रुप हासिल गर्दैन, त्यस भाषामा उच्च भाव र विचार अभिव्यक्ति गर्ने शक्ति र सामथ्र्य सीमित हुन्छ । नेपाली भाषाका आदिप्रचारकहरुले पनि नेपाली भाषा निर्माण कार्यमा बढी ध्यान दिए । त्यसका लागि आदिप्रचारकहरु कृतज्ञका पात्र हुन् ।

पहिलोले थप्यो, ‘मलाई लाग्छ– भाषा साध्य होइन, साधन हुनुपर्छ । तर, भर्खरै तिम्रो स्कुलको स्मारिकामा प्रकाशित नेपाली भाषाको उत्पत्तिसम्बन्धी एउटा लेखको आशय ठीक उल्टो छ । भाषा कतै साध्य हो कि जसरी लेखिएको छ । तिमीलाई के लाग्छ ?’

दोस्रोले भन्यो, ‘त्यो लेख मैले अलि बुझिनँ । नेपाली जातिको विकासमा धेरै आदिप्रचारकहरुले भाषालाई साधन त ठाने, तर आफ्नो जातिको पहिचान स्थापित गर्नका लागि । किनकि, भाषालाई परिस्कृत अवस्थामा पुर्‍याउने कार्यले नेपाली जातिको सामूहिक पहिचान निर्माण गर्न सघाउँथ्यो । नेपाली जातिलाई स्थापित गर्न सहयोग मिल्थ्यो । तर, परिस्कृत रुपमा भाषाले स्थायित्व हासिल नगरेसम्म साहित्यमा भावप्रति बढी ध्यान दिने बिन्दु सुरु हुँदैन । हिजो वंशावली, शिलापत्र वा प्रशस्ति लेख्दा भाषाको प्रचार हुन्थ्यो । रामायणको अनुवाद गर्दा, उपदेशमूलक कविता लेख्दा, दन्त्य कथा वा जादूमयी कहानी रच्दा साहित्यको सेवा हुन्थ्यो । अब नेपाली भाषाले त्यो उचाइ हासिल गरिसकेको छ कि विज्ञानबारे विवेचना गर्न सकोस् । मानव समाजको जटिल मनोभावसँग गाँसिएको सामाजिक परिवेशका अप्ठेरोलाई चित्रण गरोस् । शास्त्रको मीमांसा प्रस्तुत गरोस् । अब नेपाली भाषामा यस्तो साधना आवश्यक छ । आजको समयले पनि त्यही माग गर्छ । तिमीलाई त्यस्तो लाग्दैन ?’

पहिलो मित्रले थप्यो, ‘कुरा त सही हो, तर भाषा बोलीचालीको हुन्छ । भाषा लेख्नका लागि पनि हुन्छ । बोलीचालीको भाषा त आदिप्रचारकको समयभन्दा पहिला पनि जीवन्त थियो । आज पनि जीवन्त छ । यो परिवर्तनशील पनि छ । यसमा सुख–दु:खका भाव अभिव्यक्त हुन्छन् । विचार प्रकट हुन्छ, तर केवल आपसमा । प्रारम्भिक चरणको साहित्यमा हर्ष–विस्मात वा विचार मन्थनले आधारभूत ठाउा ओगटेको पाइँदैन । किनकि, लेख्ने भाषाले विकसित रुप लिएको थिएन ।’

‘त्यही त,’ दोस्रो मित्रले भन्यो । त्यही गाउँ परिवेशमा बोलचालबाट हुने अभिव्यक्तिलाई साहित्यकारले लेखनद्वारा नयाँ स्वरुप दिन्छ । फरक यत्ति हो, लेखेपछि त्यसको परिधि व्यापक हुन्छ । हिजो गोर्कीले एउटा परिवेशमा लेखेको कुरा आज हामी अर्कै परिवेशमा पढ्दैछौँ । भोलि फरक अवस्थामा अर्कै समाजमा कसैले पढ्छ । तर, कुनै साहित्य यसरी कालजयी हुन त्यहाँ लेखिएको भाषाले अर्कै स्थानको पाठकसँग जोडिने मानव सभ्यताको कडी समात्नुपर्छ । पाठकमा भाव उद्वेलित गर्न सक्नु नै सशक्त कडी हो । विचारलाई तरंगित गर्न सक्नु अर्को आधारभूत पक्ष । साहित्यमा चित्रण गरिएको जीवनको सत्यसँग गहिरो सम्बन्ध हुनुपर्‍यो ताकि मनमस्तिष्कलाई प्रभावित गर्ने सामथ्र्य राखोस् ।

पहिलो साथीले भन्यो, ‘त्यसको मतलव साहित्य के प्रेमचन्दले भनेजस्तै जीवनको आलोचना नै हो त ?’

हो, दोस्रो यारले थप्यो । सायद राणाकालमा र त्योभन्दा पहिल्यै पनि नेपाली समाजलाई धार्मिक उक्ति र पुराण, भूतप्रेतको कथा र तिलस्मी कहानीले बाँधेको थियो । त्यसैले नेपाली साहित्यको आरम्भमा प्राय: साहित्यिक रचनामा जीवनको सत्य प्रकट हुँदैनथ्यो । धेरै पछिसम्म नेपाली कविता, निबन्ध र आख्यानको भाषा मनमस्तिष्कमा गहिरो प्रभाव पार्ने उद्देश्यसहित परिमार्जित र सुन्दर थिएन । साहित्यमा यस्तो गुण हम्मेसी हासिल हुँदैन । साहित्यमा जीवन भोगाइको उच्चतम अभिव्यक्ति त्यस्तो अवस्थामा मात्र प्रकट हुन्छ, जुन समय साहित्यमा चित्रित जीवन सत्यको नजिक हुन्छ । त्यसैले प्रेमचन्दले कहानी कहानी हो, जीवन जीवन हो भनेनन् । उनले भने, ‘साहित्य जीवनको दर्पण हो, त्यस्तो दर्पण जसले मानव जीवनको सीमिततालाई औँल्याउादै हाम्रो भावको तीव्रता र विचारको कल्पनाशीलता जगाउाछ, मूलत: नवीनतम खोजका लागि अभिप्रेरित गर्न ।

‘त्यही त,’ पहिलो मित्रले भन्यो । त्यसैले होला, हामी शेक्सपियरको नाटकमा एकैपटक विभिन्न तहको साहित्यिक रणनीति देख्छौँ । उनका पात्र कहीँ आफू बाँचेको समयको विडम्बनालाई चित्रण गर्छन् । कतै खास कालखण्डको ऐतिहासिकतामा पात्र जीवन्त देखिन्छन्, कतै उनका पात्र हृदयलाई प्रभावित गर्ने कविताजस्ता लाग्छन् । कतै छलकपट गर्ने पात्रले आफ्नो सामाजिक रुप बदलेको हुन्छ । कतै पात्र आफैँ नै व्यंग्यात्मक नाटकजस्तो लाग्छ । तर, उनको कालभन्दा धेरै पछिको नेपाली साहित्य भने नीति कथा, विरह व्यथा, शृंगारिक मनोभाव र उपदेशात्मक विचारमा अल्झिएर समयको गति नसमातेजस्तो देखिन्छ ।

दोस्रो मित्रले भन्यो, ‘त्यही त, त्यस्तै देखिन्छ ।’ मलाई लाग्छ, कवि लेखनाथ पौड्यालको ऋतुविचारको प्रकाशनसँगै नेपाली साहित्यले नयाँ मोड लियो । बालकृष्ण समको मुटुको व्यथा ले शेक्सपियरको नाटकमा पाइने पात्र र संवादको झझल्को दियो । विस्तारै नेपाली साहित्यले आफू बाँचेको समयलाई समात्न खोज्यो । मानवीय भावलाई उद्वेलित गर्ने र विचारलाई आमन्त्रित गर्ने साहित्य रच्न खोज्यो । त्यसको केही समयमै नेपाली साहित्यको रुचि तेज रफ्तारमा बदलियो । साहित्य मन बहलाउने माध्यम वा उपदेश दिने साधन मात्र रहेन । नायक–नायिका, संयोग–वियोगभन्दा विस्तृत तवरमा यसले मानव जीवनका अनेकौँ अवस्थालाई चित्रण गर्‍यो । लेखन कार्यले नयाँ उद्देश्य देख्यो । अद्भुत घटनाको खोजीबाट गद्य र पद्य बाहिर निस्कन थाले । त्यसैले मुनामदन  लेखियो । मानव जीवनको कठिनाइमाथि विजय प्राप्त गर्ने अभिलाषालाई साहित्यले जगाउन थाल्यो । त्यसैले आमाको सपना  लेखियो । जीवनको प्रत्यक्ष अनुभवलाई आख्यानमा नयाँ उचाइ दिने चेष्टा भयो । त्यसैले आज रमिता  रचियो । दैनन्दिनीको निरर्थकताले जीवनलाई अठ्याएको र मानवीय कल्पनाशीलतालाई बाँधेको देख्दा साहित्य छटपटायो । त्यसैले शिरीषको फूल लेखियो ।

‘हिन्दी भाषाको सौन्दर्य र अभिव्यक्ति सामथ्र्यले धेरै आशक्त बनाएको छ’, पहिलो साथीले भन्यो, ‘नेपाली साहित्यमा डुब्न बाँकी नै छ । फेरि हाम्रो स्कुलमा तिम्रो स्कुलमा जस्तो राम्रो पुस्तकालय पनि छैन । विराटनगरमा हिन्दी किताब जति सजिलै पाइन्छन्, नेपाली साहित्य कहाँ त्यसरी पाइन्छ ! त्यसैले अज्ञेयको नदी के द्वीपका पात्रहरुलाई नै सोचिरहेको छु । यो बताऊ, साहित्यका पात्र र कथामार्फत हामीले जीवनको कस्तो सत्य खोज्ने हो ?’

दोस्रोले भन्यो, ‘खोइ के भनौँ । मलाई यस्तो लाग्छ, साहित्यले हामीलाई विविध पात्र, नितान्त फरक सामाजिक परिवेश र मानवीय मनोभावको बहुआयामिक अवस्थासँग साक्षात्कार गराउँछ । त्यसैले साहित्यको गहन पाठकमा अरु केही नभए पनि सामाजिक सहिष्णुता, विविधतालाई स्वीकार्ने क्षमता, जटिल परिवेशमा बाँधिएको मानव जीवनलाई बोध गर्ने र सके त्यसलाई बदल्ने क्षमता विकास हुन सक्छ । सायद साहित्यकारमा यी विशेषता अझ प्रचुर मात्रामा हुन्छन् होला । तिमीलाई थाहा नै छ, कुनै साहित्यकार वा अध्ययनशील पाठकसँग हाम्रो उठबस छैन । त्यसैले अनुमान मात्र गर्न सकिन्छ ।’

अन्त्यमा, शंकर लामिछानेले भनेका थिए, ‘हामी सबैको मृत्युपछि... कसैले नेपालको आजको कालको साहित्यको अध्ययन गर्दा भूपि शेरचनका कविताहरु... एक नसुल्झने समस्या बन्न जानेछन् ।’ हामी दुई स्कुले ठिटाका लागि साहित्यको बोधार्थ त्यस्तै नसुझिल्ने समस्या बनेको थियो । तर, त्यहीताका उत्पलको जीवनमा एक स्त्रीको प्रवेश भयो । उनले उत्पलको हृदयलाई साहित्यको कुनै पात्रभन्दा धेरै गहिरो गरी उद्वेलित बनाइन् । त्यसपछि उत्पलको मनलाई साहित्यले पनि स्थिर बनाउन सघाएन । उत्पल लामो समयसम्म मेरो साहित्य विमर्शको नीलकमल रहेनन् । उनी त ती स्त्रीको सामीप्य खोज्न भारत जाने योजना बुन्न थाले । म भने शंकर लामिछानेले भनेको उल्झन बोकेर ०५० चैतमा काठमाडौँ आएँ ।  

प्रकाशित: कार्तिक १४, २०७५

ट्याग: साहित्य