मुन्धुमी लय

- राजन मुकारुङ

म आफूलाई पहिचान राजनीतिको अभियन्ता ठान्छु । त्यसैले मेरा लेखन पनि यही अभियानकै अंग हुन् । मैले पुस्तक छान्दा, पढ्दा पनि यसै वरिपरिको कोणबाट हेर्ने गर्छु । नेपालको सांस्कृतिक विविधता झल्किएको लेखनले मलाई छोइहाल्छ ।

चम्किलो रातो तारा (ब्राइट रेड स्टार) मेरो प्रिय किताब हो । चिनियाँ लेखक ली सिन तियानको यो उपन्यास विद्यालय तहमै तीनपटक पढिसकेको थिएँ । फान च स भन्ने पात्रले मलाई ईखालु बन्न प्रेरित गर्‍यो । उमेर नपुगेको कारण उसले रातो तारा लगाउन पाउँदैन । तापनि, उसले लामो संघर्ष गरेर रातो तारा लगाइछाड्छ । दाइ श्रवण मुकारुङ त्यसबेला पनि चर्चित कवि थिए भोजपुरमा । कविता प्रतियोगितामा श्रवण दाइले अरु तीन–चार जनाका लागि कविता लेखिदिए । तर, मेरा लागि उनले लेखिदिएनन् । चम्किलो रातो ताराकै केटोको प्रेरणाले म श्रवण दाइप्रति ईखालु भएँ । र, प्रण गरेँ– आफैँ कविता लेखेर देखाउँछु । काठमाडौँ आएपछि त्यो किताब दोहोर्‍याएँ । चिङगिज आइतमातोभको उपन्यास प्रथम गुरु  खगेन्द्र संग्रौलाले अनुवाद गरेपछि मैले चम्किलो रातो तारा  फेरि पढेँ । यी दुई पुस्तकको तुलना गर्दा प्रथम गुरुको डुइसेन लेनिनजस्तो लाग्छ भने चम्किलो रातो ताराको फान च सचाहिँ माओजस्तो । ती पात्रहरुले हामीलाई सिकाउँछन्– परिवर्तनका लागि आफैँ अघि सर्नुपर्छ र वैचारिक अहंले सशक्त हुनुपर्छ । कहिलेकाहीँ आफूलाई कमजोर महसुस गर्दा यो सानो किताबबाट ठूलो ऊर्जा लिन्छु ।

किताबको विषयले नै मलाई पहिलो प्रभाव पार्छ । तर, पात्र र प्रस्तुति–शैलीले पनि उति नै छुनुपर्छ । मानवीय जीवनका समग्र सुख–दु:ख उतार्न सक्ने किताब पठनीय हुन्छ । विषयमा चाहिँ म समाजशास्त्र नै रोज्छु । समाज कस्तो छ, कता जाँदै छ र कता जान चाहन्छ भन्ने बुझिसक्दा त्यहाँ राजनीति, अर्थशास्त्र, इतिहास स्वत: जोडिएर आइहाल्छन् । समाजको पीँधमा पारिएका वर्ग र पात्र खोज्छु नै । जनजाति, मधेसी, दलितजस्ता उत्पीडित पात्र र समुदायलाई नजिकबाट चिन्न चाहने र उनीहरुकै पक्षमा बोल्ने व्यक्तिका नाताले ‘ब्ल्याक लिट्रेचर’ मा मेरो बढी झुकाउ रहन्छ ।

उपेन्द्र सुब्बाको लाटो पहाड  मलाई निकै आनन्द लागेको किताब हो । सुब्बा ठूलो विद्वता प्रदर्शन गर्न र दार्शनिक सूक्ति फलाक्न लेख्दैनन् । समाजका ससाना संवेदना, हँसिमजाक र दु:खलाई खिपेर प्रस्तुत गर्छन् उनी । लाटो पहाड  पढिसक्दा लिम्बू जाति, संस्कृति र सभ्यता नै प्रतिविम्बित हुन्छ । कथाहरु यति अर्थपूर्ण छन् कि एउटा नेताले दशकमा बुझाउन नसकेको लिम्बूवानको महत्त्व लाटो पहाडले प्रस्ट पारिदिन्छ । यस्ता कथा किन लेख्न सकिनँ भन्ने चिन्ताले कहिलेकाहीँ पिरोल्छ मलाई । मौलिक नेपाली साहित्यको स्वादिलो उदाहरण दिनुपर्दा लाटो पहाड  सम्झिहाल्छु ।

लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरेहरुको सुनामले छोएर गाउँमै छँदा साहित्यमा मेरो पनि नाम होस् भन्ठानेर किताबी दुनियाँमा प्रवेश गरेँ । प्राथमिक तहदेखि नै मैले खस नेपाली भाषामा आफ्नो दक्षता र नियन्त्रण बढाउन व्याकरणमा मिहिनेत गरेँ ।

वैरागी काइँलाका कविताहरु  पढिसक्दा मलाई अनुभूति भयो– मुन्धुमी लय पक्रेर हाम्रै कुराहरु पनि भन्न सकिँदो रहेछ । काइँलाको ‘साबातको बैला उत्सव’ ले लामो समयसम्म हिर्काइरह्यो मलाई । लाग्यो– हाम्रा सांस्कृतिक विम्ब र मिथकीय पात्रहरुलाई साहित्यको अभिव्यक्तिमा भित्र्याउनुपर्छ । यिनै कविताको प्रेरणाले सिर्जनशील अराजकताको जन्म गरायो । र, यही साहित्यिक आन्दोलनबाट हामीले आफ्ना वैचारिकी अघि सार्‍यौँ । लिम्बूहरुको लय धीमा र दीर्घ हुन्छ भने राईको लघु र द्रूत । काइँलाले लिम्बूको लय समाते, मैले राईको । काइँलाकै कविताको प्रभावले मलाई मिथकीय विम्ब आफ्नो रचनामा उतार्न सिकायो ।

कुनै लेखक पढेपछि अर्को लेखकसम्म पुग्ने ढोका उघ्रिन्छ । गोपीचन्द नारंग पढेपछि सुधीश पचौरी र अजय तिवारीसम्म पुगेँ । उत्तरआधुनिकतावाद बुझ्न मलाई यी लेखकले सघाए । नेपालमा पहिचानको आन्दोलनलाई भ्रष्टीकरण नगरी कसैले विश्वसनीय पुस्तक लेखिदिए न्याय हुन्थ्यो लाग्छ ।

प्रकाशनको संघारमा रहेको आफ्नो  उपन्यासमा अरु आख्यानको प्रभाव नपरोस् भनेर पठन विश्राममा छु ।

प्रस्तुति : गुरुङ सुशान्त 

प्रकाशित: कार्तिक १४, २०७५

ट्याग: किताब