मेरो सेरोफेरो

- गोकर्ण गौतम

जति आधुनिक भनिए पनि महिला अझ ‘क्याक्टस’ बीचमा छन् । घरको चौघेराबाट उम्किन खोज्दा अनेक उल्झन आइलाग्छन् । जो अवरोध चिरेर बाहिर निस्कन्छन्, ती परिवार र समाज परिवर्तन गर्न सक्षम हुन्छन् । महिलाका यही नियतिलाई पेन्टिङमा उतार्न पोख्त मानिन्छिन्, प्रमिला वज्राचार्य । उनको एकल चित्रकला प्रदर्शनी ‘मेरो सेरोफेरो’ पछिल्लो प्रमाण हो । वज्राचार्य भन्छिन्, “आफू महिला भएर पनि होला, तिनका विभिन्न भोगाइ र भाव चित्रमार्फत पोख्ने गर्छु ।”

वज्राचार्यको यो ११औँ एकल प्रदर्शनी हो । जति प्रदर्शनी गरिन्, सबैमा महिलाकै सवाललाई मुखरित गरेकी छन् । ‘मेरो सेरोफेरो’ मा पछिल्लो पाँच वर्षयता उनले गरेका पेन्टिङ राखिएको छ । फाइन आर्टस्मा स्नातकोत्तर वज्राचार्य भन्छिन्, “नेवारी संस्कृतिलाई प्राथमिकता दिएकी छु । कुनै पेन्टिङका पात्रले हाकुपटासी लगाएका छन्, कुनैले नेवारी नृत्य गरिरहेका छन् ।” आफूले देखे/भोगेका कुरालाई चित्रमा उतार्दा जीवन्त हुने बताउँछिन् उनी ।

वज्राचार्यले चित्र कोर्न थालेको तीन दशक नाघ्यो । दुई दशकयता त उनी व्यावसायिक चित्रकलामै सरिक छिन् । ल्यान्डस्केप, अब्स्ट्रयाक्ट, सामयिक आदि चित्रमा रुचि राख्छिन् । चित्रकलाबाटै चित्तबुझ्दो कमाइ गरिरहेकी वज्राचार्य भन्छिन्, “पेन्टिङले सन्तुष्टि त दिइरहेको छ नै, कमाइको स्रोत पनि बनिरहेको छ । त्यसैले कुची र ब्रसमै रमाइरहेकी छु ।” उनले आगामी दिनमा पनि महिलाकै विषयमा केन्द्रित हुने बताइन् । किनभने, महिलाका गुम्सिएका अनेक कथा/व्यथा भन्नुछ उनलाई ।

‘मेरो सेरोफेरो’ प्रदर्शनी १४ कात्तिकसम्म चल्नेछ ।

प्रकाशित: कार्तिक १४, २०७५

ट्याग: रङ