अब विवाह

- नेपाल संवाददाता

बलिउडमा #मीटू अभियानले हलचल पैदा गरेको छ । तनुश्री दत्तले झोसेको यो आगोमा बलिउड हस्तीहरु मुछिइरहेका छन् । सेलाउने छाँटकाँट देखिन्न । मीटूपछि बलिउडमा कसैले चर्चा पाएको छ भने त्यो रणवीर सिंह र दीपिका पादुकोणको विवाहले नै हो । यसले मीटू बहसलाई अलि छायामा पारेको छ । बलिउडमा यस्तै विश्लेषण गर्न थालिएको छ । रणवीर–दीपिका दुवै सफलताको शिखरमा छन् । करोडौँ फ्यान कमाएका छन् । यो जोडी नै एक हुने भएपछि मिडिया, फिल्मवृत्तदेखि प्रशंसकसम्मको ध्यान तानिनु स्वाभाविक भइहाल्यो । 

रणवीर र दीपिका पहिलो पटक रामलीलामा एकसाथ देखिएका थिए । त्यही बेलाबाट उनीहरुको प्रेमसम्बन्धको चर्चाले व्यापकता पायो । त्यसपछि बाजीराव मस्तानी र पद्यावतमा सँगै देखिए । तीनै फिल्म ब्लकबस्टर भए, जसले गर्दा यो जोडी ‘हटकेक’ बनिहाल्यो । भलै यसबीच पटक–पटक ‘ब्रेकअप’ का खबर नआएका होइनन् । प्रेममा पर्नु र छुट्टिनु बलिउडमा सामान्य मानिन्छ । त्यसैले रणवीर र दीपिकाको सम्बन्ध विवाहमा परिणत हुनेमा अनेक सशंय थिए । तर, ५ कात्तिकमा जारी उनीहरुको संयुक्त विज्ञप्तिले गलत साबित गरेको छ । जहाँ विवाहको मिति तोकिएको छ, १४ र १५ नोभेम्बर । तर, विवाह हुने स्थान उल्लेख गरिएको छैन । 

भारतीय सञ्चारमाध्यमका अनुसार रणवीर र दीपिकाले इटालीमा बिहे गर्दैछन् । दीपिका दक्षिण भारतीय हुन् भने रणवीर सिन्धी–पञ्जाबी मूलका । सोही कारण विवाहमा दुवै संस्कृतिलाई अनुसरण गर्न दुवै परिवारबीच सहमति भएको छ । अघिल्लो दिन दक्षिण भारतीय र भोलिपल्ट सिन्धी संस्कार पछ्याइनेछ । अघिल्लो दिनको समारोहमा सञ्जयलीला भन्साली, करण जोहर, अर्जुन कपुर, आदित्य चोपडालगायतका सीमित फिल्मकर्मी सहभागी हुने बताइएको छ । विवाह समारोहमा मोबाइल फोन निषेध गरिनेछ । विवाह इटालीमै सकिने छैन । केही दिनपछि यो जोडीले मुम्बईमा भव्य पार्टी दिनेछ, जहाँ बलिउड फिल्मकर्मीको घुइँचो लाग्नेछ । दीपिकाका पूर्वप्रेमी रणवीर कपुर पनि पार्टीमा सहभागी हुने अनुमान गरिएको छ । 

यो विवाहलाई बलिउडको यस वर्षको सबैभन्दा ठूलो ‘इभेन्ट’ मानिएको छ । तर, रणवीरलाई विवाहको चटारो मात्र छैन । नयाँ फिल्म सिम्बाको प्रचारप्रसारमा पनि खट्नु छ । 

 

प्रकाशित: कार्तिक १४, २०७५