त्यो सपना, यो यथार्थ

- उज्ज्वल प्रसाईं

सपना समताको थियो । आश्वासन गणतान्त्रिक मूल्य स्थापनाको थियो । बदलिएको राज्य संरचनामा कोही कसैको मालिक हुँदैन भनियो । नेपाल अब पुरानो रहँदैन भनियो । नयाँ नेपालका महागाथा रचियो । संविधान जारी गर्दा दाबी थियो, यो जनताले लेखेको संविधान हो । संविधानको कार्यान्वयन गर्दाको जिरह थियो, नयाँ नेपाल हिँड्ने लोकतान्त्रिक गोरेटो यही हो । सपना र यथार्थको फरक भयानक देखियो ।

शासक र शासितको बलियो श्रेणी रचियो । शासक उँचो स्थानमा बसेको छ, शासित घुँडा टेकेर याचक मुद्रामा छ । सत्तासीन विजित छ, शासित लाचार देखिन्छ । संविधानत: संघीय गणतन्त्र नेपाल भनिएको मुलुकमा गणतान्त्रिक मूल्यको निर्मम स्खलन प्रदर्शित गरियो । स्खलनको यो रूप खुलस्त देखाउने अवसर दसैँ रोजियो ।

असत्यमाथि सत्यको विजय भनेर दसैँको महिमामण्डन गरिन्छ । सत्ताले मञ्चन गरेको दसैँ–तमासालाई सत्यको विजय मान्ने हो भने पञ्चायती मूल्य सत्य ठहरिन्छ । एक भेष, एक भूषा, एक भाषा एवं एक संस्कृतिको राइँदाइँ चल्ने शासन पञ्चायती व्यवस्था हो । सत्ताको पटांगिनीमा दसैँभरि उही एक भेष, एक भाषा, एक संस्कृतिको भड्किलो रवाफ प्रदर्शित गरियो । अर्थात्, सोही एकलाई विजित सत्य ठहर गरियो ।

यो समयको त्रासदी यति हो– आधारभूत तहका जनताका प्रतिनिधि दाबी गर्ने कम्युनिस्ट स्कुलमा हुर्किएका गणतन्त्र नेपालका राष्ट्रपति एवं प्रधानमन्त्री दुवैले पञ्चायती मूल्यलाई औपचारिक घोषणा एवं व्यवहारबाट सदर गरे ।

प्रधानमन्त्री केपी ओली पञ्चायतविरुद्ध लडेका नेता हुन् । सामन्तवादको जरो फ्याँक्न उनी सशस्त्र क्रान्तिको रोमाञ्चकतामा लहरिएका लडाकू हुन् । समतामूलक समाज निर्माण लक्ष्य बनाएको दाबी गर्ने अभियन्ता हुन् । उन्नत आदर्शलाई शिरोपर गर्ने र सोहीअनुकूल व्यवहार गर्ने शपथ खाएका मान्छे हुन् । यी सबै उहिलेका प्रगतिशीलता हुन् । उनको वर्तमानले उनकै विगतलाई ढोँग सावित गरेको छ ।

राष्ट्रपति विद्या भण्डारी प्रगतिशील राजनीतिको हाँगो समाएर मुलुकको गरिमामय आसनमा विराजमान भएकी हुन् । मुक्तिका लागि लडेका हजारौँ सर्वसाधारणको बलिदानबाट प्राप्त उक्त आसनको गरिमा राख्नु, त्यस आसनसँग जोडिएको मूल्यको सम्वद्र्धन गर्नु उनको कर्तव्य हो । कसैले उनीबाट त्यस्तो अपेक्षा गरेको थियो भने त्यो गलत थिएन । कारण, उनले हिँडेर आएको राजनीतिक गोरेटो समाजवादको थियो । साथै, महिलामुक्तिको जपना उनको दैनिकी थियो । जनताको बहुदलीय जनवाद उनको प्रकट प्रतिबद्धता थियो ।

त्यस्तो बाटो हिँडेकाले एवं पितृसत्तावादी समाजका लागि स्वयं हाँक हुन सक्ने सम्भावनाका कारण उनलाई उक्त गरिमामय पदका लागि शोभनीय ठानिएको हो । उनलाई गणतान्त्रिक नेपालको राष्ट्रपति बनाइएको हो, रैतीलाई घुँडा टेकाएर झूठो रवाफ देखाउने ढोँगी सहनशा ठहर गरेको होइन ।

कष्टसाध्य प्रयत्नबाट कायम गरेको गणतान्त्रिक व्यवस्थालाई पञ्चायतको उल्टो बाटो हिँडाउने प्रयत्न अशोभनीय हुँदै हो, उतिकै अक्षम्य पनि हो । उक्त पश्चगामी यात्राको अगुवाइ स्वयं राष्ट्रपतिले गर्नु आफैँमा लज्जाको विषय हो । उनको अहिलेको व्यवहारले न पदको गरिमा धान्यो, न त उनीबाट गरिएका अपेक्षालाई न्याय गर्न सक्यो ।

नेपाली कम्युनिस्ट आन्दोलनका यी दुई पात्रको स्खलन आज सुरु भएको भने होइन । मान्छेले ओढेका प्रगतिशीलताका आवरण सत्तारोहणले कति चाँडै र सजिलै धुजाधुजा बनाइदिन्छ भन्ने पछिल्ला घटना उदाहरण मात्रै भएका हुन् । जतिसुकै तर्क गरेर दसैँ–तमासाको बचाउ गर्न खोजे पनि उनीहरूको असलियत अब छोप्न सकिँदैन ।

संकट एउटै हो– आइन्दा कसैले सडकमा प्रगतिशीलताको कुरा गर्दा त्यो सत्तामा नपुगुन्जेलको नाटक मात्रै हो भन्ने सन्देह बलियो हुनेछ । कसैमाथि विश्वास गर्न नसकिने अवस्था पैदा हुनु समाजका लागि हितकर हुँदैन ।

दसैँ–तमासा नेपालको प्रगतिशील राजनीतिमा देखिएको स्खलनको पछिल्लो कडी हो । तर, यो अन्तिम होइन । साथै, यो आफैँमा उत्कर्ष पनि नहुन सक्छ । यस्ता तमासाहरू थप रचिँदै जान सक्छन् । राजतन्त्रीय ढोँगका अनेक रूप सतहमा देखिने सम्भावनाको अन्दाज गर्नु गलत हुँदैन ।

अनुशासनका नाममा बाहुनवादी संस्कारलाई शिरोपर गरेका कम्युनिस्ट नेतृत्वले पार्टीलाई सांस्कृतिक पाखण्डमा लेस गराएका थिए । स्त्री–पुरुषका प्रेम सम्बन्धलाई लगभग वर्जित गर्न खोजेका अनेक प्रयत्नबारे चर्चा सुनिएकै हो । अन्तर्जातीय प्रेममा व्यवधान खडा गर्ने नेता–कार्यकर्ताहरू अझै बलिया छन् । साथै, यौन मामलामा बाहिर अत्यन्त कठोर देखिने तर भित्रभित्रै अनेक हर्कत गर्ने पाखण्ड मौलाएको उत्तिकै सत्य हो । त्यसैले दसैँमा रचिएको पाखण्डी तमासा पूर्णतया अनपेक्षित होइन ।

दशक लामो जनयुद्धको नेतृत्व गरेका प्रचण्डले सत्तारोहण अघिसम्म नयाँ संस्कार स्थापना गर्ने कसम खाएका थिए । सत्ता राजनीतिको रसास्वादनसँगै उनलाई दसैँको उही सामन्ती रौनक प्यारो लाग्न थाल्यो । हिन्दु राज्य स्थापनार्थ सार्वजनिक रूपमा धर्मयुद्धको घोषणा गर्ने मठाधीश कमल नयनाचार्यको आशीर्वाद ग्रहण गर्ने पंक्तिका भक्तालु हुन पुग्ने पनि उनै प्रचण्ड हुन् ।

कहिले लोकरिझ्याइँका लागि, कहिले क्षणिक राजनीतिक स्वार्थका लागि मार्गदर्शक भनिएको सिद्धान्तलाई सहजै लत्याउन प्रचण्ड वा ओलीहरूले एक निमेष पर्खिंदैनन् । सिद्धान्तहीन भएका कारण लजाउनुपर्ने कुनै कारण देख्दैनन् । निष्ठाका अति सामान्य सर्तसमेत मान्नु नपर्ने राजनीतिक संस्कारका सबभन्दा झुर उदाहरण स्वयं कम्युनिस्ट पार्टीका सबभन्दा ठूला नेता छन् । वामपन्थी राजनीतिमा मूल्यको यति भयानक विघटन भइरहँदा दसैँ–तमासा रचिनु खासमा नौलो होइन ।

अझैसम्म ओली, प्रचण्ड र भण्डारीहरूलाई वामपन्थी मूल्यका संरक्षक मान्ने भ्रम कसैमा थियो भने अब टुटेको हुनुपर्छ । ठूला भ्रम टुट्नु नराम्रो होइन । निराशा छाउने डर भए पनि अहिलेलाई आवरण च्यातिएकामा खुसी मनाउनु वेश ।

यो पनि पढ्नुहोस् :

आवरण कथा : गणतन्त्रको हुर्मत

 

 

प्रकाशित: कार्तिक १३, २०७५

ट्याग: टिप्पणी