आवरण कथा : गणतन्त्रको हुर्मत

- बाबुराम विश्वकर्मा

सिंगो देश पारिवारिक मिलन र सद्भावको पर्व दसैँमा झुमिरहँदा गणतन्त्रको सर्वोच्च प्रतीक राष्ट्रपति कार्यालयले भने आम नागरिक र खास नागरिकबीच धर्को कोरिदियो । सम्मानित न्यायालयमा काण्डैकाण्ड र विवादका अनेक शृंखला रच्दै शर्मनाक ढंगले बहिर्गमित पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्या भण्डारीलाई साष्टांग दण्डवत गरे । कुनै आत्मसम्मानबिना आफ्नो अघिल्तिर घुँडा टेक्दा पनि मग्न भावमा टीका लगाइरहेकी राष्ट्रपति भण्डारीको तस्बिरले सर्वसाधारणलाई एकाएक आक्रोशित तुल्यायो । रुसी कविता भावानुवाद गर्दै लेखक जुगल भूर्तेलले ट्वीट गरे :

हामीले ढाल्यौँ राजालाई

स्वर्ग बनाउन आजलाई

देश अब स्वर्ग भो

मात्रै बाँकी मर्न भो

यो ट्वीट आम आक्रोशको एउटा दृष्टान्त मात्रै हो, जसले राजा हटाएर गणतन्त्र ल्याए पनि शासकीय प्रवृत्ति ज्यूँकात्यूँ रहेको कटाक्ष गर्छ । २ कात्तिक ०७५ मा शीतलनिवासको विवादित टीका प्रकरणले शक्तिसीनसामु गोपाल पराजुलीको नांगो चाकडी त उजागर गर्‍यो नै, त्यसले राष्ट्रपति पदको गरिमासमेत स्वाट्टै घटाइदियो ।

टीका प्रकरण एकाएक प्रकट भएको भने होइन । यो तामझामका लागि राष्ट्रपति कार्यालयले पूर्वतयारी नै गरेको थियो । राष्ट्राध्यक्षका रूपमा रहेकी राष्ट्रपति आम नागरिक होस् वा सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारी, सबैका लागि समान हुन् । संविधानको संरक्षकसमेत भएको नाताले राष्ट्रपतिबाट सबै नेपालीप्रति समान व्यवहारको अपेक्षा गरिएको हुन्छ । तर, राष्ट्रपति भण्डारीले दसैँ अवसरमा औपचारिक रूपमै आम नागरिक, परिवारका सदस्य र ‘विशिष्ट’ बीच विभेद गरिन्– कसैलाई कुर्सीमा राखेर, कसैलाई घुँडा टेकाएर अनि झुकाएर । प्रधानन्यायाधीशसमेत भएको व्यक्तिले राष्ट्राध्यक्षसँग घुँडा टेकेर टीका लगाएको प्रकरणले न्यायालयको गरिमा पनि कमजोर भएको छ । प्रधानन्यायाधीशका रूपमा पराजुलीले गरेका कामले न्याय प्रणालीकै हुर्मत लिएको थियो । तर, पदमुक्त भएपछि पनि उनले आफ्नो मर्यादा जोगाउन सकेनन् ।

शीतलनिवासको टीका प्रकरणमा पराजुली जति दोषी छन्, त्योभन्दा बढ्ता दोषी राष्ट्रपति भण्डारी छन् । किनभने, उनले दसैँलाई राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम नै बनाइन् र विगतका राजाकै झल्को दिने गरी टीकाटालो गरिन् ।

विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति हुन् । यसअघि पहिलो राष्ट्रपतिका रूपमा डा रामवरण यादवले सात वर्ष शीतलनिवासमा बिताए । तर, सात वर्षमा यादवले दसँैको टीकालाई औपचारिक रूप दिएनन् । बरु व्यक्तिगत रूपमा सानो संख्यामा सर्वसाधारणलाई टीका लगाइदिए, त्यो पनि अनौपचारिक पोसाकमै उभिएर । कुर्ता–पाइजामा अनि गम्छा काँधमा हालेर साधारण तरिकाले उनले इच्छुकलाई टीका लगाएका थिए ।

सात वर्षे कार्यकालमा कुनै पनि प्रधानमन्त्रीले राष्ट्रपति यादवबाट टीका लगाएनन्, न त उनका सल्लाहकारहरूले टीका थापे । राष्ट्रपति यादवका तत्कालीन प्रेस सल्लाहकार राजेन्द्र दाहाल सम्झिन्छन्, “राजा र राष्ट्रपति उही र एउटै नभएकाले राजाले गरेका काम बन्दै गर्नुपर्छ भन्ठानेर टीकालाई अनौपचारिक रूपमा राष्ट्रपतिको व्यक्तिगत इच्छामा सीमित गरिएको थियो । केही मन्त्री र सीमित मान्छेले मात्र टीका लगाउँथे ।”

प्रथम राष्ट्रपतिका पालामा स्थापित नजिरलाई भण्डारीका पालामा धज्जी नै उडाइएको छ । राष्ट्रपति कार्यालयबाट आह्वानै गरेर दसैँ महोत्सव गरियो । २९ असोज ०७५ मा राष्ट्रपति कार्यालयले दसँैलाई औपचारिक रूप दिने गरी अनौठो तर विभेदकारी विज्ञप्ति जारी गर्‍यो । त्यसमा राष्ट्रपति भण्डारीले दसँैको टीका लगाउने समयतालिका सार्वजनिक गरिएको थियो । त्यसमा ‘सम्माननीय’ र ‘विशिष्ट’ हरूका लागि एउटा समय अनि आम नागरिकका लागि अर्को समय तोकिएको थियो ।

त्यसो त, टीकामा विभेद मात्र होइन, धर्म निरपेक्ष देशको राष्ट्रपति भवनमा विगतको राजदरबारमा झैँ दसैँ परम्परालाई निरन्तरता दिइयो । टीकाको दिन राष्ट्रपति कार्यालयले पशुपतिको वेद विद्याश्रमबाट पाँच वटुक झिकाएर स्वस्तिवाचन गरायो । वटुकलाई राष्ट्रपतिबाट दक्षिणा प्रदान गरियो । घटस्थापनादेखि नवमीसम्म नवदुर्गा पाठ, पूजाअर्चना गरिए भने अष्टमीमा राष्ट्रपति भण्डारी काठमाडौँका विभिन्न शक्तिपीठ धाएर पूजाअर्चनामा व्यस्त रहिन् ।

३१ असोज महाअष्टमीको बिहान भण्डारी काभ्रेको पलाञ्चोक भगवतीको दर्शनमा पुगिन् भने बेलुका ४ देखि ६ बजेको अवधिमा उनले गुहेश्वरी, मैतीदेवी, नक्साल भगवती, संकटा, नरदेवी, महाँकाल, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको दर्शन गरिन् । राष्ट्रपतिको दसैँ पूजा ७ कात्तिकको कोजाग्रत पूर्णिमामा भक्तपुरको नवदुर्गा मन्दिर पुगेर स्थगित भयो ।

कर्मकाण्डमा भण्डारी कति आसक्त छन् भने उनले राजाकै पालाको सिको गर्दै शीतलनिवासमा धर्मगुरु नियुक्त गरेकी छन् । पहिलो कार्यकालमा नियुक्त गरिएका खेमचन्द्र ढकाल राष्ट्रपतिका धार्मिक सल्लाहकार हुन् । उनलाई धर्मसंस्कृति विज्ञका रूपमा सहसचिवसरहको सुविधा दिएर नियुक्त गरिएको छ । राष्ट्रपतिका सबै कर्मकाण्ड ढकालकै योजना र सल्लाहमा हुने गरेका छन् । उच्च स्रोतका अनुसार दसैँ अवधिमा शीतलनिवासमा दुर्गापूजा, हवन, बलि, हतियार पूजा भव्य रूपमा गरियो, जसमा राष्ट्रपतिको प्रत्यक्ष संलग्नता थियो ।

विभेदकारी टीका


शक्तिको भक्ति : राष्ट्रपतिबाट दसैंको टीका थाप्दै गोपाल पराजुली | तस्बिर स्रोत : ट्वीटर


दसैँ विशुद्ध पारिवारिक र सामाजिक पर्व हो, नेपालीको । टीकाका दिन आफ्ना अभिभावकको आशीर्वाद लिने, पारिवारिक र सामाजिक भेटघाट गर्ने प्रचलन नै दसैँको मौलिक पक्ष हो । तर, शासक र शक्तिका पुजारीले दसैँलाई दासत्व र चाकरीको माध्यम बनाएका छन् । पूर्वराजाले आम नागरिकलाई टीका लगाइदिनु त्यसैको एउटा कसी थियो । अहिले पनि नागरिक भइसकेका राजाले सर्वसाधारणलाई निर्मलनिवासमा टीका लगाउने गरेका छन् । तर, गणतन्त्रमा राष्ट्रपति र प्रधानमन्त्रीबाट सार्वजनिक आह्वान गरेर टीका लगाउन जरुरी थिएन । विश्लेषक श्याम श्रेष्ठ भन्छन्, “उर्दीको शैलीमा मेरोमा टीका लगाउन आइज भन्नु नयाँ राजा बन्ने रहर हो । अझ घुँडा नै टेकाएर टीका लगाउनु गणतन्त्रको लज्जाबाहेक अर्थोक केही हुन सक्दैन ।”

टीकालाई राष्ट्रपतिले पारिवारिक दायरामा सीमित गर्न उचित हुन्थ्यो । तर, त्यो अवसर दुरुपयोग गरेकै कारण अहिले राष्ट्रपति सर्वत्र आलोचनाको पात्र भएकी छन् । टीकाको दिन सबैभन्दा पहिला शीतलनिवासका ‘गुरुज्यू’ खेमचन्द्र ढकालले राष्ट्रपति भण्डारीलाई तिलक लगाइदिए । उनी राष्ट्रपति कार्यालयमा नियुक्त हुनुअघि नयाँ दिल्लीस्थित हिन्दु मन्दिरका पुजारी थिए । शीतलनिवासभित्र उनलाई ‘गुरुज्यू’ सम्बोधन गर्ने गरिएको छ । ढकालसहित भण्डारीले दोस्रो कार्यकालका लागि राजनीतिक विज्ञमा सुशील प्याकुरेल, शिक्षा र निर्माण विज्ञमा माधव शर्मालाई नियुक्त गरेकी छन् भने सुरक्षा विज्ञमा राप्रपा अध्यक्ष कमल थापाका दाजु पूर्वसैनिक अधिकारी नेत्र थापालाई नियुक्त गरेकी छन् ।

ढकालले तिलक लगाइदिएपछि भण्डारीले आमा मिथिला पाण्डे र ठूलो बुबा खगेन्द्र पाण्डेबाट टीका थापिन् । त्यसपछि छोरीज्वाइँलाई टीका लगाइदिइन् । परिवारका सदस्य तथा विशिष्ट पाहुनालाई कुर्सीमै राखेर टीका लगाइएको थियो । परिवारका सदस्यलाई टीका लगाइसकेपछि भण्डारीले प्रधानमन्त्री केपी ओली र पत्नी राधिका शाक्यलाई पनि कुर्सीमै राखेर टीका लगाइन् । कुर्सीमा बसेर भण्डारीबाट टीका थाप्ने ‘भाग्यमानी’ मा उपराष्ट्रपति नन्दकिशोर पुन, रक्षामन्त्री ईश्वर पोखरेल दम्पती, सभामुख कृष्णबहादुर महरा दम्पतीलगायत थिए ।

जब राष्ट्रपति भण्डारीको हातबाट टीका लगाउन प्रधानसेनापति पूर्णचन्द्र थापा शीतलनिवास पुगे, टीका लगाउनेहरूका लागि राखिएको कुर्सी एकाएक हटाइयो । सेनापति थापा, प्रहरी प्रमुख सर्वेन्द्र खनाल, पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री, नेकपाका नेता वामदेव गौतम र पत्नी तुलसा थापालगायतले बस्ने व्यवस्था नहुँदा बाध्य भएर झुकेर टीका लगाए ।

त्यतिबेलै शीतलनिवास पुगेका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले भने घुँडा टेकेर टीका थापे । स्मरण रहोस्, पराजुली प्रधानन्यायाधीश हुँदा उनैले राष्ट्रपति भण्डारीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ खुवाएका थिए ।

शीतलनिवासमा टीका लगाउन जानेहरूले उभिएर, झुकेर र घुँडा टेकेर पनि टीका लगाए । तर, राष्ट्रपतिले कुर्सीको व्यवस्था गर्न कर्मचारी, सहयोगी र सैनिक अधिकारीलाई निर्देशन भने दिइनन् । एकैछिन टीका रोकेर भए पनि आगन्तुकलाई कुर्सीको व्यवस्था गर्न उनलाई कसैले रोक्ने थिएन । तर, राष्ट्रपति कार्यालयले भने टीकाको दिन शीतलनिवासमा भएको त्रुटिमा राष्ट्रपतिको नभई सेनाको गल्ती भएको प्रस्टीकरण दिएको छ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेल भन्छन्, “सेनाले आफ्नो परम्पराअनुसार परमाधिपतिबाट उभिएर टीका लगाउँछ । त्यसैले सेनाले त्यहाँ राखिएको कुर्सी हटायो, त्यसपछि अरू पनि टीका थाप्न गए, नहुनु पर्ने घटना भयो ।”

राष्ट्रपति निकट एक थरी समूहचाहिँ टीका थाप्न आउनेहरूका लागि राखिएको कुर्सी सुरक्षाविज्ञ नेत्र थापाको योजनामा हटाएर राष्ट्रपतिलाई विवादमा तानिएको निचोडमा पुगेको छ । तर, टीकाको दिनको त्रुटि र विवादमा सेनालाई दोष दिएर राष्ट्रपति र उनको कार्यालय मुक्त हुन मिल्दैन । किनभने, सेनाको परामाधिपति राष्ट्रपति नै भएकाले सेना राष्ट्रपतिभन्दा अलग होइन । दाहाल भन्छन्, “राष्ट्रपति र उनका सहयोगीले शीतलनिवासको गल्तीमा सेनालाई दोष दिएर उन्मुक्ति पाउँदैनन् । परामाधिपति भएकाले राष्ट्रपतिले कुर्सी नहटाउन वा हटाए पनि फेरि राख्न तुरुन्त आदेश दिन सक्थिन् ।”

राष्ट्रपति अर्थात्, राष्ट्राध्यक्ष संविधानको पालक र संरक्षक दुवै हो । सबैलाई समान व्यवहार र सम्मान राष्ट्राध्यक्षबाट अपेक्षा गरिएको हुन्छ । ०५२ देखि तत्कालीन नेकपा माओवादीले सुरु गरेको हिंसात्मक विद्रोह र ०६२–०६३ को जनआन्दोलनले संवैधानिक राजतन्त्र समाप्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको हो । गणतन्त्रको प्रतीकका रूपमा ७ साउन ०६५ देखि राष्ट्रपतिको व्यवस्था गरिएको हो । तर, राष्ट्रपतिको मर्यादा बिर्साउने पछिल्ला कदमले गणतन्त्रको सर्वोच्च प्रतीकमाथि आशंका र आक्रोश पैदा हुन थालेका छन् । नेपाल म्यागजिनले ‘गणतन्त्रको एक दशक’ सन्दर्भमा गरेको सर्वेक्षणमा ५४ प्रतिशत सहभागीले गणतन्त्रलाई कामचलाउ भनेका थिए भने यसलाई राम्रो मान्ने ३८ प्रतिशत थिए । उत्कृष्ट भन्नेहरू भने जम्मा २ प्रतिशत र निराशाजनक ठान्नेहरू ६ प्रतिशत थिए ।

सर्वेक्षणमा सोधिएको राष्ट्रपतिको भूमिका कस्तो भयो भन्ने जिज्ञासामा ३६ प्रतिशतले सुधारको खाँचो औँल्याएका थिए । राष्ट्रपतिको भूमिकालाई सन्तोषजनक ठान्नेको संख्या ४४ प्रतिशत थियो भने राष्ट्रपतिलाई राजाजस्तै देख्ने १४ प्रतिशत थिए । त्यस्तै, राष्ट्रपतिको भूमिका नितान्त नौलो मान्नेको संख्या ६ प्रतिशत थियो । (हेर्नुस्, नेपाल २० जेठ ०७५)

राष्ट्रपतिले गरेका त्रुटिमा शीतलनिवास प्राय: मौन रहने गरेको छ । राष्ट्रपति र उनको कार्यालयका त्रुटिमा गरिएका सार्वजनिक आलोचना बेवास्ता गरेर अगाडि बढ्ने प्रवृत्ति राष्ट्रपति भण्डारीमा सुरुदेखि नै देखिएको छ । उनले नियुक्त गरेका सल्लाहकार र सहयोगी तथा राष्ट्रपति कार्यालयसमेत आफ्ना त्रुटिप्रति चुप रहने गरेका छन् । यसपालिको टीका प्रकरण होस्, ३ फागुनमा गरिएको सरकार गठनको असंवैधानिक कदम होस् वा विगतमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पेस गरेको अध्यादेश दुई महिनासम्म शीतलनिवासमा थन्क्याएर राखिएको प्रकरण । यी सबैमा संवैधानिक राष्ट्रपति चुकेकी छन् । यस्ता त्रुटिमा राष्ट्रपतिको प्रस्टीकरण सार्वजनिक भएको छैन ।

०६३ को अन्तरिम संविधान र ०७२ मा संविधानसभाले जारी गरेको संविधानले धर्म निरपेक्षताको मात्र व्यवस्था गरेको छैन, देशलाई समाजवादको दिशातिर लैजाने गन्तव्य पनि तय गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्र उस्तै होइनन् । राजतन्त्रको दर्शन, अभ्यास र मूल्यमान्यता नै फरक हो भने संघीय गणतन्त्र नितान्त भिन्न । राजतन्त्रकालीन संस्कार र शैली अपनाएर गणतन्त्रलाई आत्मसात् गर्न सम्भव हुँदैन । राजनीतिक विश्लेषक श्रेष्ठ भन्छन्, “राजनीति फेरियो, क्रान्ति भयो र सामन्ती संस्कृति उस्तै रह्यो । त्यसैले गणतन्त्रको खतरा नवसामन्तवाद हो ।”

जनबलबाट स्थापित गणतन्त्रलाई हुर्काउने/बढाउने गरी नयाँ संस्कार स्थापित गर्नेभन्दा राजतन्त्रको थोत्रो बाटोमा हिँड्न राष्ट्रपति अग्रसर हुनु विडम्बना हो । राजनीतिक विश्लेषक हरि रोका भन्छन्, “शक्तिमा बसेकाहरूले अरूलाई अधीनस्थ गर्ने गरी दसैँको टीका लगाउनु भनेको पर्वलाई नै विकृत गर्नु हो । अझ राष्ट्रपतिले राजाले झैँ प्रधानमन्त्री, मन्त्री, सेनापतिलाई टीका–जमरा लगाउने रीत राम्रो होइन ।”

हुन त, यसपालिदेखि राष्ट्रपति भण्डारीले मात्र होइन, प्रधानमन्त्री केपी ओलीले समेत मन्त्री, सांसद र सर्वसाधारणलाई २ कात्तिकदेखि ७ कात्तिकसम्मै टीका लगाइदिए ।

पहिलो राष्ट्रपति यादवका पालामा सल्लाहकारले राष्ट्रपतिलाई राजाले गरेका कामबाट मुक्त गर्न खोजेका थिए । पहिलो संविधानसभाको चुनावपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा तत्कालीन माओवादी नेतृत्वको सरकार बनेपछि इन्द्रजात्राका लागि सरकारले दिने गरेको बजेट कटौती गर्‍यो भने पशुपति मन्दिरका मूल भट्ट हटायो । यो घटनाले धार्मिक त्रास बढेसँगै बृहत् छलफलपछि राष्ट्रपति यादव इन्द्रजात्रा र पशुपति जान थालेका थिए ।


प्रथम राष्ट्रपति यादवले पनि दसैंमा नागरिकलाई टीका लगाउँथे, तर औपचारिकता दिएनन् | तस्बिर स्रोत : ट्वीटर


इन्द्रजात्रामा राजा दुई पटक जान्थे । राष्ट्रपति एक पटक जाने व्यवस्था गरियो भने राजाले जस्तो तरबार साट्ने आदि काम भने भएनन् । राष्ट्रपति सबै धर्मका संरक्षक हुन् भनेर आश्वस्त पार्न वर्षको एक दिन इसाईको चर्च, मुस्लिमको मस्जिद अनि बौद्धमार्गीको गुम्बामा राष्ट्रपति यादव जाने व्यवस्था गरिएको थियो । तथापि, यी राष्ट्रपतिका संवैधानिक दायित्व होइनन् । दाहाल थप्छन्, “शक्तिपीठ धाउने, टीका लगाउने आदि राष्ट्राध्यक्षको काममा पर्दैनन् । यी कामलाई सकेसम्म व्यक्तिको तहमा सीमित गरिएको हो ।”

तर, अघिल्लो राष्ट्रपतिको पालामा कायम भएका अभ्यास अहिले उल्टाइएको छ । स्थापनाको एक दशक भइसक्दा पनि गणतन्त्रको प्रतीक बन्नुपर्ने राष्ट्रपति राजतन्त्रको छाया बन्ने बाटोमै अग्रसर भएकी छन् । त्यसैको परिणाम हो– दसैँमा शीतलनिवासमा गरिएको तामझाम र विभेदमय टीका कार्यक्रम । राजनीतिक विश्लेषक श्रेष्ठ भन्छन्, “देशमा गणतन्त्र आयो, नेताहरूमा भने अझै आएको छैन । हिजो राजा–महाराजा र पञ्चहरूले बसालेका थितिलाई निरन्तरता दिनु नै तिनले शासकीय धर्म ठाने । यो ठूलो विडम्बना हो ।”


इन्द्रजात्रामा राष्ट्रपति | तस्बिर : हेमन्त श्रेष्ठ


वाम आदर्शको धज्जी

राष्ट्रपति भण्डारी नेकपा एमालेकी तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी मात्र होइनन्, आफैँ कम्युनिस्ट राजनीति गरेकी हुन् । पतिले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद एमालेका लागि गीता नै हो भने अहिलेको नेकपाले पनि त्यसलाई त्यागेको छैन । त्यसैले भण्डारीले राजतन्त्रका बेला कायम गरिएका कर्मकाण्डलाई निरन्तरता दिनेभन्दा नयाँ संस्कार र परिपाटी बसाल्न सक्थिन् । तर, उल्टो उनले राजाले गर्नेभन्दा चर्को र परम्परागत पार्टी नेपाली कांग्रेसबाट राष्ट्रपति बनेका यादवले सुरु गरेको परम्पराभन्दा प्रतिगामी र विवादास्पद कर्मकाण्डलाई अगाडि बढाएकी छन् । राष्ट्रपति भएपछि भण्डारीले सुरु गरेको शक्तिपीठको पूजाअर्चना, शीतलनिवासभित्र कर्मकाण्ड, धर्मगुरुको नियुक्ति आदिले राजाका कर्महरूलाई नै माथ गरेको छ ।

राष्ट्रपति भएपछि आफू अरूभन्दा भिन्न हुँ भन्ने परिचय भण्डारीले संघीय संसद्को संयुक्त अधिवेशनमा समेत दिइन् । उनले संसद्मा सभामुखलाई गरेको सम्बोधन सर्वत्र आलोचनाको विषय बन्यो । विगतमा राजाहरूले प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पदाधिकारीलाई तिमी भन्ने, होच्याउने गर्थे । राष्ट्रपति भण्डारीले संसद्मै सभामुखलाई न सभामुखज्यू, न त सम्माननीय सभामुख नै सम्बोधन गरिन् । सम्बोधनमा ‘प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र संघीय संसद्का सदस्यहरू’ मात्र भनिन् । उनको यो सम्बोधनलाई संसद् सदस्यहरूले नै आलोचना गरे ।

भण्डारीले राजाले विगतमा गर्ने गरेका कामलाई मात्र निरन्तरता दिएकी छैनन्, पूर्वराजा ज्ञानेन्द्रसँग पारिवारिक उठबस गरेरै सबैलाई चकित पारिन् । उनले कान्छी छोरी निशाकुशुमको विवाहमा शाहलाई औपचारिक रूपमै सहभागी गराइन् । त्यो विवाहको तडकभडक र तामझाम भण्डारीको राजनीतिक पृष्ठभूमिभन्दा ठीक उल्टो थियो । शाहका नातिको व्रतबन्धमा आफू सहभागी भएर पैँचो तिरिन् । पूर्वराजासँगको भण्डारीको यो हातेमालो किन र के उद्देश्यले थियो, खुलेको छैन । प्रथम राष्ट्रपति यादवले सात वर्षे कार्यकालमा शाहसँग भेटवार्ता गरेको सार्वजनिक भएको छैन । राष्ट्रपतिमा देखिएको राजतन्त्रको छायालाई राजनीतिक विश्लेषक विष्णु सापकोटाले यसरी प्रस्तुत गरेका छन्, सामाजिक सञ्जालमा : ‘नेपालको वामपन्थी सपनाको वियोगान्तका दृश्य जारी छन् । दसैँको टीका बक्स हुँदा त्यो वियोगान्त घुँडा टेकेर प्रस्तुत भएको मात्र हो ।’ 

यो पनि पढ्नुहोस् :

आवरण टिप्पणी►त्यो सपना, यो यथार्थ

प्रकाशित: कार्तिक १३, २०७५

ट्याग: आवरण