बिरामीहरू, प्रकृतितिर फर्कौं

- विभु लुइटेल

मानिसलगायत अन्य जीवजन्तुको सिर्जना माटोमा भएकाले तिनमा लाग्ने अधिकांश रोगको निवारण उपाय पनि माटोमै लुकेको हुन्छ भन्ने मान्यता आयुर्वेद विज्ञानले स्थापित गरिसकेको छ । स्कटल्यान्डमा डाक्टरले बिरामीलाई डाँडाकाँडातिर घुम्न जान, समुद्र–किनारमा सयर गर्न, नौका विहार गर्न र ‘बर्ड वाचिङ’ मा जान औपचारिक रूपमा प्रेस्क्रिप्सनमै लेखेर दिन थालेका छन् ।

मानसिक रोग, तनाव, मधुमेह, मुटुरोग आदिको उपचार औषधीमा नभई यस्तै ठाउँमा खोज्ने परामर्श त्यहाँका डाक्टरले दिन थालेसँगै संसारभर यसले तरंग नै पैदा गरेको छ । अन्य देशका चिकित्सक पनि यसलाई औपचारिक रूपमै लागू गर्नुपर्छ भन्ने मान्यता स्थापना गराउन लागिपरेका छन् ।

स्कटल्यान्डको सन्दर्भमा मात्र हेर्दा सेटल्यान्डका दस द्वीप र पक्षी सुरक्षा समाजसँग त्यहाँको मेडिकल बोर्डले सहकार्य गर्ने भएको छ । बिरामीका लागि विभिन्न प्याकेजसमेत यिनले ल्याएका छन् । हेमन्त र शिशिर ऋतुमा हिउँ खेल्ने प्याकेजका साथै हिउँदमा मात्र देखिने चरा हेर्न जाने प्याकेज समावेश गरिएको छ भने वसन्त ऋतुमा समुद्र तट भ्रमण गर्ने प्याकेज समाविष्ट छ । चलनचल्तीमा रहेको चिकित्सा प्रणालीलाई पूर्ण रूपले वहिष्कार गर्न नसकिने यिनको मान्यता छ । तर, त्यसैलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्राकृतिक चिकित्सा विधि अपनाउन आवश्यक रहेको पक्ष यिनले नकार्न सकेका छैनन् ।

यस्तो चिकित्सा पद्धति अपनाउन नेपाल धेरै सक्षम रहेको आयुर्वेद चिकित्सक तथा आरोग्यसाधक रोशन बास्कोटा बताउँछन् । विश्वमा अन्यत्र कतै नपाइने वनस्पति, पशुपक्षी, प्राकृतिक सौन्दर्य पाइने हुँदा प्राकृतिक चिकित्सामा नेपालको उपमा नै नरहेको उनको मान्यता छ । “अहिले चल्तीमा रहेको चिकित्सा पद्धति रोगको पूर्ण निवारण गर्न नभई कामचलाउ उपचारमा केन्द्रित छ,” उनी स्वीकार्छन् । त्यसैले प्रकृतिले नेपाललाई दिएको वरदानलाई नै रोग निवारण विधिका रूपमा प्रयोग गर्नुपर्ने सुझाव दिन्छन्, उनी । थप्छन्, “नेपालमा हरेक दस किलोमिटरमा भौगोलिक विविधता देख्न पाइन्छ । यसमा हामीले पर्यटकीय मात्र होइन, चिकित्सकीय सम्भावना पनि देख्न आवश्यक छ ।”

सम्पूर्ण शारीरिक अस्वस्थताको उपचार प्राकृतिक विधिबाटै सम्भव नभए पनि मानसिक अस्वस्थताको भने सम्भव छ । अहिलेको समयमा कुनै न कुनै प्रकारको मनोरोगको सामना अधिकांश व्यक्तिले गरिरहनु परेको विभिन्न अनुसन्धानले देखाएका छन् । फलस्वरूप धेरै मानिसलाई औषधीको बोझले थिचिरहेको बास्कोटा बताउँछन् । यसको तोड प्रकृतिमा खोज्दा अझ प्रभावकारी हुन्छ भनी विज्ञहरूले बारम्बार बताइरहँदासमेत समय अभावका कारण अत्यधिक मानिस औषधीमै आश्रित हुनुपरेको तीतो सत्य उनी पोख्छन् ।

विकसित मुलुकमा अत्याधुनिक चिकित्सा प्रविधि तथा पर्याप्त औषधी उपलब्ध छन् । उम्दा डाक्टरहरूको पनि कमी छैन । तर, उनीहरू आफैँ बिरामीलाई प्रकृतितर्फ फर्कने सन्देश दिन्छन् । नेपालमा यसको चेत पलाउन नसक्नु दु:खद पक्ष रहेको बास्कोटाको विचार छ । भन्छन्, “रिट्रिट पर्यटन फस्टाउने सम्भावना नेपालमा प्रशस्त छ । तर, आवश्यक जनशक्ति र सचेतता नै छैन ।” एउटै रोगको अनेकौँ निवारण विधि छन् । डाक्टरको एकोहोरो प्रयत्नभन्दा बिरामी स्वयं उपचार विधिमा सामेल हुनु झन् बढी प्रभावकारी हुने मत राख्छन्, उनी ।


अन्नपुर्ण आधार शिविरमा पदयात्री | तस्बिर : एजेन्सी


केही समयअघि मात्र काठमाडौँका श्रेय थापालाई डिप्रेसनको लक्षण देखियो । मानसिक अस्पताल गए । दिनहुँ दुई–तीन थरी औषधी खान डाक्टरले सुझाए । उनले डाक्टरले भनेअनुरूप  गर्दै गए । औषधी खान थालेको सात महिना बितिसक्दा उनको मानसिक स्वास्थ्यमा केही सुधार आउन थाले पनि शरीर कमजोर हुँदै गइसकेको थियो । दसैँको छुट्टीमा साथीभाइसँग शे–फोक्सुन्डो घुम्न जाँदाको समयलाई उनी ‘लाइफ चेन्जिङ’ भन्न रुचाउँछन् । “म पहिले नै किन गइनँ, किन औषधीको सहारा लिएँ भन्ने भयो,” उनले अफसोस प्रकट गरे । अस्पतालमा सँगै उपचार गर्न आउने अर्का व्यक्तिलाई पनि उनले कतै मनोरम स्थान घुम्न जाने सल्लाह दिएका छन् । भन्छन्, “उसले पनि मेरोजस्तै अनुभव गर्नेछ भन्नेमा विश्वस्त छु ।”

मानिसको शरीरमा रहेको एड्रिनाल ग्रन्थीले तनावका बेला कर्टिसोल नामक हर्मोन पैदा गर्छ । थोरै पैदा हुँदा त्यसलाई सामान्य मान्नुपर्छ भने अत्यधिक हुँदा तनाव निवारणबारे सोच्न सुरु गरिहाल्नुपर्छ । यसको उत्पादन कम गर्न औषधीमा निर्भर हुनुभन्दा प्रकृतिको निकट जाँदा लाभदायक हुने बास्कोटाको जिकिर छ ।

लागूऔषध विशेषज्ञ डन्केन स्टेवर्टले लागूऔषधको लत छुटाउन पुनस्र्थापना केन्द्र गएका केही व्यक्तिमाथि गरेको अनुसन्धानले एक अम्मली कम्तीमा पनि डेढ महिना पुनस्र्थापना केन्द्रमा बस्ने गरेको देखाउँछ । तर, सोही व्यक्ति सहरी क्षेत्रभन्दा पर घुम्न गए एकदेखि दुई सातामै उसमा सकारात्मक नतिजा देखापर्न थाल्ने स्टेवर्टको अनुसन्धानमा उल्लेख छ । उनले प्रस्तावनामै लेखेका छन्, ‘यस अनुसन्धानको उद्देश्य पुनस्र्थापना केन्द्रको अवधारणा हतोत्साहित गर्नु होइन, अन्य प्रभावकारी विकल्पमाथि प्रकाश पार्नु हो ।’


चराचर्या : जगदीशपुर,तौलिहवा  | तस्बिर : मनोज पौडेल


हिन्दुहरूले विष्णुको अर्को रूप ठानी पूजा गर्ने पीपलमा सबैभन्दा बढी अक्सिजन उत्पादन हुन्छ । बिहानको समयमा यस वरिपरि घुमे वा धागो बाँधे फलिफाप हुन्छ भन्ने धार्मिक मान्यता छ । बुद्ध पीपलकै रूखमुनि बसी तपस्या गरेको विश्वास गर्ने बौद्धमार्गी यसलाई पूजा गर्छन् । यसपछाडिको वैज्ञानिक कारण भने पर्याप्त अक्सिजन प्राप्त हुने उचित समय बिहान हो भन्ने रहेको छ । विष्णुसँगै सम्बन्धित भएकाले हरेक घरका आँगनमा उमारिने र पूजा गरिने तुलसी पनि त्यसै रोपिएको होइन । आयुर्विज्ञानले यसलाई ठूलो औषधीका रूपमा लिएको छ । धेरै रोगको उपचारमा तुलसी प्रयोगमा आउँछ । जापानमा एक प्रचलित मिथक नै छ, कुनै रूखवरपर घुमे मात्र पनि जस्तोसुकै रोग निवारण गर्न सहज हुन्छ । यस्ता थुप्रै मिथक अनेकौँ स्थानमा प्रचलित छन् । यी सबलाई धार्मिक मात्र नभई वैज्ञानिक हिसाबले पनि हेर्नुपर्ने वैज्ञानिकको मान्यता छ ।

प्रकाशित: कार्तिक ११, २०७५