अलिअलि चक्र बाँस्तोला

- बसन्त बस्नेत

बागी विद्रोही थिए चक्रप्रसाद बाँस्तोला । ०३० को विमान अपहरण काण्डसँगै चारचौरास उनीसमेतको चर्चा थियो । आत्मवृत्तान्त  पढ्दा थाहा हुन्छ, झापाबाट राजनीतिमा उदाएका उनीमाथि बीपी कोइरालाको लोभलाग्दो भरोसा थियो । ०४६ को जनआन्दोलनका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने क्रममा उनी कूटनीतिक वृत्तका प्रतिनिधि नेपाली दरिए । बहुदलकालमा सत्ताशक्तिका कोठाचोटा नियाले का यी नेताले केही वर्षपछि हिंसात्मक विद्रोहमा सक्रिय माओवादीसँग शान्तिवार्ताका लागि सुरुआती सूत्राधारको भूमिका खेले । गिरिजाप्रसाद कोइरालासँग उनको मनोमालिन्य जसै बढ्दै गयो, त्यति नेपथ्यमा धकेलिँदै गए । के–के नयाँ सोचिरहने, गरिरहने बानीले उनलाई कोइरालाहरुको मूलधारदेखि कालक्रममा भीमबहादुर तामाङको तेस्रो धारसम्म पुर्‍यायो । उनी सीमान्तवर्ती तामाङलाई नेता मान्न उत्सुक, सभापतिको मेचलाई ‘जय नेपाल’ गर्न अनिच्छुक ।

चक्र त्यसबेला आउँदै गरेको बीपीको जन्मशताब्दीका लागि बानेश्वरको कुनै गल्लीमा सम्पर्क कार्यालय खोल्ने तर्खरमा थिए । पहिलेको शैलीमा राजनीति गर्ने इच्छा र ऊर्जा उनीसित थिएन । परिवर्तनप्रति नेतृत्वको उदासीनताका कारण नयाँ पुस्ता कांग्रेसतिर आकर्षित नभएको उनको ठहर थियो । त्यसैले देशभरिका हजारौँ युवाहरुलाई प्रशिक्षित गर्ने अवसरका रुपमा उनी बीपी जन्मशताब्दी उपयोग गर्ने तयारीमा थिए । पत्नी कुसुमले सुनाएकी थिइन्, “शक्तिमा पुगौँ भनेर होइन, तर अब १० वर्ष सक्रिय हुन्छु भनेर मसँग भन्नुहुन्थ्यो ।”

कांग्रेस त्यसरी चल्दै थियो, जसरी देश । त्यसैले पछिल्लो देश र कांग्रेस दुवैप्रति चक्रको स्वाभाविक विरक्ति बुझ्न सकिन्थ्यो । लोकतान्त्रिक बाटोबाट परिवर्तनप्रतिको आशा भने अविच्छिन्न थियो । उसो त, आफ्ना कमजोरीबारे राम्रैगरी अवगत थिए उनी । त्यसैले पछिल्ला दिनमा उनको एकान्तवास र सिर्जनात्मक कामप्रति रुचि बढ्दै गएको थियो ।

पुस्तकप्रति चक्रको लत दुव्र्यसनकै तहसम्म थियो भन्नु अतिशयोक्ति हुँदैन । खुमलटार निवासको पुस्तकालय चक्रको पढन्ते स्वभावको निशानी हो । तिनताक म स्नातकोत्तर टुंग्याउने तर्खरमा थिएँ । मस्तिष्काघातको सिकार हुनुअघिका दिनहरुमा उनीसँग नियमित भेट भइरहन्थ्यो । कुरैकुरामा मैले ‘ग्लोबलाइजेसन’ बारे यसका एक सिद्धान्तकार अर्जुन अपादुरायका विचारहरु उनलाई सुनाएँ । मैले विश्वविद्यालयको पाठ्यक्रममा जुन पुस्तक अंश पढेको भरमा उनीसँग जान्ने पल्टिँदै थिएँ, त्यसबेलासम्म उनले त अपादुरायको सिंगै किताब छिचोलिसकेका रहेछन् । चक्रले त्यो दिन विना कुनै घमण्ड मेरो अहं तोडिदिए । नयाँ पुस्तकबारे उनी सधैँ अद्यावधिक थिए । अनि, हामीले त्यसबेलासम्म नामै नसुनेका अन्तर्राष्ट्रिय म्यागजिनहरुका सौखिन थिए ।

माओवादी युद्धबाट शान्तिमा आए पनि विद्रोहको धङधङी कायमै थियो । युद्धकालमा गिरिजाप्रसाद कोइराला र प्रचण्डलाई भेटाउने सुरुआती सूत्रधारमध्ये थिए चक्र । बाह्रबुँदे सहमतिमार्फत शान्तिप्रक्रियामा डोर्‍याउने संसदीय पार्टीहरुलाई भित्रभित्रै भय थियो, कतै मतपेटिकाकै बलमा सत्ताकब्जा पो गर्ने हुन् कि कमरेडहरुले ! यस्तो आशंका गर्नेमा अरुसँगै कांग्रेस नेताहरु पनि थिए । ०६९ जेठ पहिलो साता यो पंक्तिकारसँग चक्रले भनेका थिए, “पायो भने कुन पार्टीले सत्ता कब्जा गर्दैन ? कसरी गर्ने भन्ने मात्रै कुरा हो । राजनीतिको उद्देश्य नै सत्ता कब्जा हो ।” यस्ता विवादास्पद लाग्ने तर तर्कपूर्ण टिप्पणीका लागि उनी आकर्षणका पात्र थिए ।

०६९ पुसमा मस्तिष्काघातले नथलिएका हुँदा हुन् त बीचका यी वर्षहरुमा चक्रको राजनीतिक हैसियतमा धेरथोर बढोत्तरी पक्कै हुँदो हो । संगठनमा खासै नजमे पनि निष्ठामा नडग्ने उनी त्यसैलाई आफ्नो पुँजी ठान्थे । सैद्धान्तिक अध्ययनबाट पाएको अराजक आचारविचार छँदै थियो । उनी दु:खले आर्जेको आफ्नो व्यक्तिविम्बलाई कांग्रेसको नयाँ पुस्ताका लागि खर्च गर्ने धुनमा थिए । “मैले जीवनभरि कांग्रेसको नीति, दर्शन भनेर बाँचे । यतिका वर्ष आफ्ना निजी कुरा छाडिदिएँ, पार्टी कार्यालय धाएँ,” एउटा दैनिकका लागि मलाई अन्तर्वार्ता दिने क्रममा उनले पछिल्ला दिनहरुको स्वयंबोध सुनाएका थिए, “कांग्रेस भएर अझै कति बाँचूँ ! अब आफू भएर बाँच्छु ।”

चक्र बाँस्तोला अब छैनन् । देशले नेताहरुमा अलिअलि भए पनि चक्र बाँस्तोला खोजिरहेको छ ।

प्रकाशित: कार्तिक ११, २०७५

ट्याग: सम्झना