एकोहोरो हँसाउने धङधङी [फिल्म समीक्षा : जय भोले]

फिल्म: जय भोले | रेटिङ: १.५/५

- गोकर्ण गौतम

कमेडी आफैँमा फिल्मको सशक्त विधा हो । हसाउँदा–हसाउँदै बुलन्द कथा पस्कँदा फिल्मको वजन ह्वात्तै बढ्छ । तर, हामीकहाँ कमेडी फिल्मप्रतिको आधारभूत सोचाइमै समस्या छ । फिल्मकर्मी जसरी हुन्छ, हँसाउने चक्करमा लाग्छन् । कथामा कमेडी हुन्न, कमेडी गर्ने बहानामा कथालाई गिजोलिन्छ । ‘जोक्स–भण्डार’ मार्काका फिल्मको बोलवाला छ । जय भोले  ज्वलन्त उदाहरण हो यसको । कथाभन्दा कमेडीलाई प्राथमिकता दिँदा फिल्मको आत्मा मृततुल्य भएको छ । त्यसैले निर्देशक अशोक शर्माको ‘कमब्याक’ फितलो भएको छ । जय भोलेका लेखक खगेन्द्र लामिछाने हुन्, जसले पशुपतिप्रसादमा मौलिक कथा र पात्र सिर्जेर वाहवाही बटुलेका थिए । तर, यसपटक पूरापूर बजारु लेखकका रुपमा पेस भएका छन् । एकोहोरो हँसाउने लहड नै जय भोलेको पराजयको कारण बनेको छ । यो फिल्म खगेन्द्रकै नाटक दाँतको डोबसँग नजिक छ ।

इँटाभट्टाका मालिक जय गुरागाईं (खगेन्द्र लामिछाने) लाई धनको खुब घमन्ड छ । ऊ कसैलाई टेर्दैन । जयलाई जसरी हुन्छ, निशा (स्वस्तिमा खड्का) लाई विवाह गर्नुछ । तर, निशा उनलाई ‘दाजु’ भनिदिन्छिन् । कारण, निशाका दाजु भोले (सौगात मल्ल) जयका बालसखा हुन् । जय र भोले जति मिल्छन्, त्योभन्दा ज्यादा झगडा गर्छन् । जयको रवाफले निशाको प्रेम जित्न सफल होला ? यसबाहेक भोलेसँगको सम्बन्धको उतारचढावमा केन्द्रित छ फिल्म । ट्वीस्ट नभएको होइन तर रोचक लाग्दैन ।

जय भोलेको केन्द्रमा खगेन्द्र छन् । एकातिर उनको प्रेम छ, अर्कातिर मित्रता । सरसर्ती हेर्दा लाग्छ, लेखकका रुपमा खगेन्द्रले प्रेम र मित्रताकै कथा भन्न खोजेका हुन् । तर, यसको प्रस्तुति यति बासी र बिकाउ छ, मुख्य कथा नै अलमलको सिकार भएको छ । हँसाउने चक्करमा हुलिएका पात्र र घटनाक्रमले मूल विषयलाई ओझेल पारेको छ । मितेरी साइनो, लोप हुँदै गएको लोकसंस्कृति, वर्ग र जाति विभेद, गाउँमा विद्यमान रीतिथितिलाई समेट्न खोजिएको छ, जसले फिल्मप्रति अपनत्वबोध गराउँछ । तर, समस्या उही छ– यी महफ्वपूर्ण पक्षको उठान नै देखावटी छ । प्रभावकारी बैठानबिनै लेखक र निर्देशक हँसाउनतिर लागिहाल्छन् । जयका बाबु बनेका राजाराम पौड्याल, ब्रुस्ली (बुद्धि तामाङ) र उनको बाबुको भूमिकामा रहेका जयनन्द लामाको चरित्र त्यति प्रभावकारी छैन । जयकै सन्काहा हर्कतसमेत विश्वसनीय लाग्दैन ।

फिल्मको सुरुआततिरै जय र भोले अनि त्यसलगत्तै जयको ग्याङ र शमशेर (सलोन बस्नेत) परिवारको द्वन्द्वको दृश्यलाई जबर्जस्ती तन्काइएकाले झिँझोलाग्दो छ । तर, त्यत्रो बबन्डर गर्ने शमशेर एकाएक कथाबाट हराउँछन् । सौगातको चरित्रको हविगत उस्तै छ । यस्तै, कमसल चरित्रमा रमाएरै हो, सौगातको साख दिनप्रतिदिन गिर्दो छ । लेखक खगेन्द्रले आफ्नो चरित्रलाई ‘हिरोइज्म’ दिलाउँदा सौगात र सलोनको चरित्रमाथि अन्याय भएको छ । अझ अन्तिमतिर फिल्ममा अशोक शर्मा झुल्किन्छन् । लाग्छ, ‘हिरो’ हुने लोभले खगेन्द्रसँगै निर्देशकलाई पनि गाँजेको छ । रंगमञ्च र रेडियो नाटकको पृष्ठभूमिका कारण हुनुपर्छ, संवादलाई सबथोक मान्ने खगेन्द्रको शैलीले जय भोलेमा पनि निरन्तरता पाएको छ । पात्रहरु बोलेको बोल्यै गर्छन्, दृश्यमा कलात्मकता ह्रास छ । जबकि, फिल्म दृश्यभाषा हो । तर, द्विअर्थी संवाद र मुख बंग्याएर हँसाउन खोज्ने रवैयालाई भने निषेध गरिएको छ । जयको लवजले झापा र इलामको स्थानीयताको आभास गराउँछ । वैदेशिक रोजगारीको लहरले लोकसंस्कृतिमा पारेको असर, गाउँमा तन्नेरीबीच एकता नहुँदा आइपर्ने उल्झन, दलितमाथि उपल्लो जातिको हेपाहा प्रवृत्ति र नयाँ पुस्ताका दलितमा बढेको चेतनास्तरजस्ता पक्षलाई लेखकले यथार्थपरक ढंगबाटै उधिन्ने प्रयास गरेका छन् । दृश्यविधानलाई मनमोहक ढंगबाट देखाउन पुरुषोत्तम प्रधानको खिचाइ सफल छ । पशुपतिप्रसादबाट धनपति, डमरुको डन्डीबियो  हुँदै जय भोलेसम्म आइपुग्दा खगेन्द्रको सिर्जनात्मक लेखनमा खिया लाग्दै गएको प्रतीत हुन्छ । आत्मरति र अति आत्मविश्वास हरेक सर्जकलाई प्रत्युत्पादक हुन्छ । खगेन्द्रको हकमा त्यस्तै भएको त होइन ? उनको अभिनय पनि सतही लाग्छ । सौगात, स्वस्तिमा, बुद्धि, सलोनको अभिनयले जेतनेत साख जोगिएको छ ।

१२ वर्षपछि अशोक शर्मा फर्किंदा रोचक कथा भन्लान् भन्ने अपेक्षा थियो । तर, जय भोले हेरेपछि कमेडी फिल्मको बजारको ब्याज खाने लालसा मात्र त होइन भन्ने प्रश्न उब्जिन्छ ।

अर्थहीन र बेप्रसंगका कमेडीमा रमाउनेलाई जय भोलेले निराश पार्दैन । नवीन कथा र कलात्मक प्रस्तुति खोज्नेको चाहिँ कन्पारो तात्छ । खगेन्द्र, सौगात र अशोक शर्मा सम्झेर जो फिल्म हेर्न जान्छन्, मन खल्लो बनाएर फर्किन्छन् ।

प्रकाशित: कार्तिक ९, २०७५