[स्मरण] एक्लै लड्ने अठोट

- वैरागी काइँला

जीवनको आठौँ दशकको उकालीमा हिँडिरहादा म यात्रा गर्दै आएका बाटोहरुलाई सम्झिन पुग्छु । मैले ००७ को जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको अभ्युदय देखेँ । त्यसपछिको प्रजातन्त्र र ०१५ को पहिलो आमनिर्वाचनलाई पनि अनुभव गरेँ । ०१७ मा राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर पञ्चायती कालरात्रि निम्त्याएको पनि भोगेँ ।

०४६ को जनआन्दोलनपछि नेपाल प्रज्ञा–प्रतिष्ठानमा सदस्यको साढे आठ वर्षजतिको अनुभव लिएँ । ०६२–०६३ को जनआन्दोलनबाट गठित नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति (०६०–०७०) सम्मको अनुभव गर्ने अवसर पनि पाएँ ।

दोस्रो जनआन्दोलनमा हामी सबै विचारधाराका स्रष्टा र साधकहरु आन्दोलनलाई सफल बनाउन गोलबद्ध भयौँ । यो आफैँमा ऐतिहासिक घटना थियो । त्यस आन्दोलनताका स्रष्टाहरुको लोकतान्त्रिक संयुक्त मोर्चाको अध्यक्षमण्डलको पहिलो अध्यक्ष वा सदस्य भएर सहभागिता जनाउन पाएँ।

पछिल्लो समय स्रष्टाभन्दा बढी सामाजिक अभियन्ता र आन्दोलनकारी साहित्यकार भएछु म ।

यतिका वर्ष साहित्यमा लागेर कुद्दा घरव्यवहारतिर चाहिँ पटक्कै ध्यान दिइनछु । खेतीपाती पनि छाडेँ, कुनै व्यापार–व्यवसाय पनि गरिनँ । हो, मेरा कविताले एक मानो चामल किन्न सहयोग गर्न सकेन होला । तर, साहित्यले मलाई परिचय दियो, प्रतिष्ठा दियो । पाठक तथा शुभेच्छुकका रुपमा धेरै अन्तरंग इष्टमित्र दिलायो । मैले कमाएको पैसा त खर्च भइसक्थ्यो । साहित्य सिर्जनाले मलाई खर्च गरेर नसकिने धनका रुपमा इष्टमित्र र बन्धुत्व दियो । यसमा म खुसी र तृप्त छु ।

धेरै वर्ष भयो, मैले कविता नलेखेको । तर, मेरो परिचय नै कवि भयो । सबैले सद्भावका साथ पत्यार नहुने मिथकजस्ता कवि भनेका छन् । अभिभूत भएको छु, गजक्क भएको छु । यो कविको प्रतिष्ठा नेपाली पाठक र ती पाठकको प्रतिनिधित्व गर्ने समाजले दियो । त्यसैले आफ्नो साहित्य–यात्राबाट म असाध्यै खुसी छु ।

त्यसो त, साहित्यमा नलागी कुनै इलम गरेको भए या बाबुबाजेले धानेको खेतीकिसानी गर्दै पुख्र्यौली सम्पत्ति थामेको भए मात्र पनि म आफ्नो परिवारलाई सुख–सुविधापूर्वक खान–लाउन पुर्‍याएर सुखसयलमा राख्न सक्थेँ । एउटै छोरीलाई अत्यन्त राम्रो स्कुल–कलेजमा पढाउन सक्थेँ होला । तर, मलाई छोरी कुन विषयमा कतिमा पढ्दै छ भन्ने पनि थाहा भएन, उसबेला साहित्यमा लाग्दा । मैले आफ्नो परिवारप्रति आर्थिक–सामाजिक जिम्मेवारी वहन गर्न सकिनँ । सुखसुविधा दिन सकिनँ । यो कुरा सोच्दा मनमा दु:ख लागिरहन्छ । पिताजीले जोडेको सम्पत्ति अलिकति बाँकी छ । त्यसलाई मेरा दाजुभाइ, इष्टमित्रहरुले रेखदेख गरिदिएका छन् । कथम् कदाचित केही भइहाल्यो भने मेरो शेषपछि परिवारले उति दु:ख पाउँदैन भन्ने विश्वास छ ।

०६२–०६३ को दोस्रो जनआन्दोलनपछि सबैलाई अनुभव भइरहेको छ– लोकतान्त्रिक मूल्य–मान्यतामा आस्था र विश्वास राख्नेहरुको काम सकिएकै रहेनछ । मुलुकले साँच्चै काँचुली फेरेकै हो । तर, फेरिएको काँचुली मात्र रहेछ, अन्तरात्मा भूतजस्तो बाँकी बचेको । संविधानसभाले मुलुकलाई संविधान दियो । मुलुक गणतन्त्रात्मक दिशामा गयो भनियो मात्र ।

जनआन्दोलनले जनतामा सत्ता हस्तान्तरण गरेको ठानेका थियौँ । तर, राजदरबारबाट सिंहदरबारसम्म मात्र सत्ता स्थानान्तर भएछ । हामी स्रष्टा र साधकका त खबरदारी गर्ने काम त्यसै बाँकी रहेछन् । लोकतान्त्रिक गणतन्त्रको लडाइामा हामी सँगै थियौँ । निर्वाचित अधिनायकवादको विरोधमा अलगअलग हुन पनि सक्छौँ । निर्वाचनरुपी सम्राटको पोसाक लाएर अधिनायकवाद हाम्रा अघि उभिएको छ । हामीले जुनै रुपको होस्, अधिनायकवादविरुद्ध उभिनैपर्छ । लोकतान्त्रिक पक्षको लडाइामा निर्भय उभिनैपर्छ । यद्यपि, अब हुने लोकतान्त्रिक स्रष्टाहरुको आन्दोलनमा म एक्लै हुन पनि सक्छु । 

स्रष्टाले सधैँ एक्लै लड्नुपर्छ । किनभने, स्रष्टा भनेको सधैँ एक्लै हुने हो । एक्लै भएर पनि सबैलाई छुने गरी लेख्ने व्यक्ति स्रष्टा हो । लेख्दा मैले कुनै एक पार्टीको आदेशले लेखिनँ । बहुमतले उकासिएर लेखिनँ । न अल्पमतमा परेर नलेखेको हुँ, न त कुनै पार्टीको आदेश हुँदा नलेखेको हुँ । नलेखेरै नलेखेको हुँ । तर, म समाजको अभिन्न अंग हुँ । मेरा लागि कविता सामाजिक संवाद हो । त्यति मात्र नभएर मृत्युपछिको जीवनको निरन्तरता हो ।

प्रस्तुति : रमण घिमिरे

प्रकाशित: कार्तिक ९, २०७५

ट्याग: स्मरण