[नोटबुक] खुसीमा फर्सी !

- राजकुमार बानियाँ

जखमले खसी खाने महँगो–शुभकामना दिने चलन छ दसैँमा । बुझेर हो कि नबुझेर, फर्सी खाने शुभकामनाचाहिँ कसैले दिँदैन । सबैभन्दा खेद यसमै रहेछ । किनभने, खसीभन्दा फर्सीको चोक्टामै ज्यादा ताकत छ । खसीभन्दा फर्सीको झोल नै पोसिलो छ । थोत्रो धारणा मात्रै रहेछ, ‘छोरा पाए खसी, छोरी पाए फर्सी ।’

खाद्य वैज्ञानिक नारायण घिमिरेका शब्दमा, प्रकृतिको वरदान हो, फर्सी । छोराछोरीको विभेदबीच पनि त्यतिखेरका चेलीबेटी भाग्यमानी रहेछन् । तिनले हेलादृष्टिले हेरिएको तर उत्कृष्ट खुराक पाएकाले आजका सन्तति तन्दुरुस्त हुन पाएका छन् । अब त त्यही तागतिलो झोल खान पनि विशेष अवसर कुर्नुपर्ने अवस्था आइसक्यो ।

लहरोमा फल्ने गजबको तरकारी हो फर्सी । यसका मुन्टा, पात, फूल, फल र बियाँ सबै उपयोगी छन् । तिनले मानव शरीरलाई स्वस्थ राख्न सघाउँछन् । खनिज र भिटामिन (ए, सी, ई, बी कम्लेक्स) टनाटन हुन्छन् । एक सय ग्राम फर्सीमा २६ क्यालोरी हुन्छ । क्यालोरी थोरै भए पनि डाइटेरी फाइबर अत्यधिक हुनु यसको विशेषता हो । क्यान्सर, मोटोपना, मुटु रोग, मधुमेह आदि दीर्घरोग लाग्न नदिन साधारणतया दैनिक २५–३० ग्राम फाइबर चाहिन्छ । फर्सी खाएको लामो समयसम्म भोक लाग्दैन र तौल नियन्त्रण हुन्छ ।

आइन्दा फाइदाकारी फर्सीलाई नहेपौँ । ‘देखाउने खसी, खुवाउने फर्सी,’ ‘भ्याए खसी, नभ्याए फर्सी’, ‘खसी दिएर फर्सी साट्ने,’ ‘खसी देखाए, फर्सी खुवाए’ जस्ता अफवाह नफैलाऔँ । खुसीमा खसी छाडेर फर्सी खाए पनि केही फरक पर्दैन ।

शुभकामना संग्रह

सिजन शुभकामनाको छ । दसैँ, तिहार, छठको एकमुष्ट र अग्रिम शुभकामना आएका आयै छन्, सामाजिक सञ्जालमा । यही मेसोमा निर्मला पन्तको थातथलो कञ्चनपुरको भीमदत्त नगरपालिकाका लेखक ऐनबहादुर सिंहको पनि शुभकामना आइपुग्यो, हुलाकको बाटो भएर । शुभकामनास्वरुप किताबै पठाएछन् उनले । त्यो शुभकामना सँगालोको विशेषता के भने चाडपर्वका शुभकामना कविता मात्रै छन् । हरेक वर्ष क्यालेन्डर पछ्याएर दसैँ, तिहार, नयाँ वर्ष आदि/इत्यादिमा चाडैपिच्छे कविता लेख्ने कस्तो जाँगर चलेको ? त्यसलाई शुभकामना–प्रेम भन्ने कि शुभकामना–भ्रम !

किताबी शुभकामनाले मख्ख परेको त उनले चार पृष्ठ लामो खेद प्रस्ताव पनि पठाएका रहेछन् । आफ्ना साथी उत्तमबहादुर सिंहको पुस्तक जयपृथ्वी मानवतावाद दर्शन पठाउँदा पनि चार हरफ पनि स्थान नदिएकामा । “नेपाल म्यागेजिनमा सामान्य स्तरका पुस्तक समीक्षा भेटिए । आखिर तपाईंजस्तो सिद्धहस्त पत्रकारले समेत जयपृथ्वीलाई चिन्न नसक्दा भारी दु:ख लाग्यो । त्यस्तो पुस्तकले त ठाउँ नपाउँदा मैले त के आश गर्नु ?’

सिंहसाहेबको गुनासो मनासिव छ । म कुनै चल्तापुर्जा समीक्षक होइन । कहिलेकाहीँ फर्माइस टार्न नसकेर लेखी टोपल्छु, त्यत्ति हो । सम्पर्क–पहुँच नहुने, फोनफान गर्न संकोच मान्ने, भोजभतेर या भट्टीमा नबोलाउने लो–प्रोफाइल, इतर सेलिब्रिटीको किताबले उस्तो भाउ पाउँदैनन् भन्ने गुनासा अरुका पनि सुनिन्छन् । यसमा म आत्मालोचना पनि गर्छु । यति हुँदाहुँदै पनि शुभकामना संग्रह नै पठाउने कविलाई शुभकामना कसो नदिऊँ ?

दसैँ–लेखकसित

भदौ लाग्दा नलाग्दै भूतपूर्व लेखकको फोन आयो, “मित्र, एउटा कथा पठाएको छु ।” जवाफ फर्काउन नभ्याउँदै उनले थपिहाले, “दसैँ अंकका लागि हो है ।”

नेपाल  म्यागेजिनमा साहित्यलाई नियमित स्थान छ । हरेक अंकमा केही न केही साहित्यिक सामग्री छापिएकै हुन्छन् । छोटा अंकमा वास्तै नगर्ने, बडा अंक मात्र ताक्ने कवि–लेखकहरुको धारणा के छ भने दसैँका बेला छापेपछि अरु बेला लेख्ने–छाप्ने गरिरहनु पर्दैन । दसैँ अंकमा छापिएपछि नै हो लेखकमा दरिने । त्यसैले उनीहरु एक खालको लोलोपोतो घसिरहन्छन्, अनौपचारिक दबाब दिइरहन्छन्, फोनमा, म्यासेजमा, म्यासेन्जरमा दिनहुँजसो । मन चोर्न यसो ‘अरु अंकमा छापे हुन्न’ भने उनीहरु स्पष्टीकरण तेस्र्याइहाल्छन्, “होइन, दसैँका लागि लेखेको । वर्षको एउटा लेख्ने हो, दसैँ–अंकमा नछापे त बिर्सिहाल्छन् नि ।”

वसन्त थापा यस्तालाई व्यंग्यस्वरुप ‘दसैँ–लेखक’ भन्छन् । दसैँ–लेखकको अर्थ हो, दसैँमा मात्र लेख्ने । यस्ता दर्जनौँ दसैँ–लेखक छन् नेपालमा । अरु बेला साहित्य लेख्ने झिँजो पनि नगर्ने, पठाउने लेठो पनि नगर्ने । दसैँ नजिकिनासाथ शीतनिद्राबाट एकाएक सलबलाउँछन् । सरोकारवालाको फोन नम्बर खोजेर, फेसबुकमा जोडिन थाल्छन् । दसैँ अंकको चासो राख्न थाल्छन् । यस्तो दबाब दसैँ साहित्यिक विशेषांक छाप्ने हरेक पत्रिकामा दिन्छन् भन्ने तिनको अनुहारले नै प्रस्ट पार्छ । दसैँ–लेखकहरुलाई पनि शुभकामना !

प्रकाशित: आश्विन ३०, २०७५