तमसोमा ज्योतिर्गमय

- नारायण ढकाल

ऊ बदलिएन । ज्ञानीहरु भन्छन्– ‘बदलिनु प्रकृतिको नियम हो ।’ तर, ऊ बदलिएन । उसले ज्ञानीका अमृतवचनलाई पछ्याएन । ऊ पहिले जस्तो थियो, त्यसभन्दा एक इन्च पनि यताउता गएन । पहिले ऊ भोकको सहयात्री थियो र अहिले पनि भोकले उसलाई प्रेम गरिरहेको छ । पहिले ऊ जसरी राज्यका जासुस र पुलिस देखेर डराउँथ्यो, ऊ अहिले पनि त्यसरी नै डराउँछ ।

ठट्टैठट्टामा एक दिन मैले उसलाई भनेँ, “समय बदलिएको छ । अवस्था फेरिएको छ । हिजोजस्तो अब छैन । कसैले पनि अब हिजोलाई दोहोर्‍याउन सक्दैन ।”

“यो तिम्रो भ्रम हो ।”

“क्रान्तिका अगुवाहरु पनि त भन्थे– इतिहास स्थिर पोखरी होइन, जो सधैँ एकै ठाउँमा रहिरहोस् । इतिहास त गतिशील नदी हो ।”

मेरो कुरा सुनेर ऊ पागल कविझैँ फिस्स हाँस्यो । त्यसपछि मेरा आँखामा आँखा खोपेर घुर्‍यो । अनि, अगाडिको नालीमा पिच्च थुक्यो र भन्यो, “अब मलाई पक्का विश्वास भो, ता पनि सत्ताको नयाँ दलाल भइछस् । लोभले तेरो आत्मा पनि भ्रष्ट भएछ ।”

उसको रिस देखेर म मरीमरी हाँसेँ ।

उसको नाम विजय हो । तर, उसले जीवनमा कहिल्यै जितेको छैन । सधैँ कुनै न कुनै किसिमले हारेको छ । उसको बिहान हारबाट सुरु हुन्छ र रात हारबाटै समापन हुन्छ । चिन्ने मानिसहरु उसलाई राम्रो आँखाले हेर्दैनन् । सबैले उसलाई अपराधीको हारमा राखेर व्यवहार गर्न खोज्छन् । हुन त म पनि असल कहाँ हुँ र ? तर, उसको परिचयमा निहित असामाजिकता मेरोभन्दा धेरै छ । ऊ तथाकथित समाजमा बस्छ, तर विस्थापित छ । म पनि विस्थापित हुँ । मेरो विस्थापनको त्यति महत्त्व छैन, जति उसको छ । सहरका धेरै भट्टीवालाहरु उसलाई मन पराउँदैनन् । किनकि, ऊ उधारो खान्छ र तिर्दैन । सहरका गोनोरियाग्रस्त नगरबधुहरु पनि उसलाई घृणा गर्छन् । किनकि, ऊ उनीहरुको शरीर भोगेको उधारो पनि फर्काउँदैन । धेरै पटक उसले भट्टीवाल र नगरबधुहरुको गोदाइ खाइसकेको छ । उनीहरुसँग पनि ऊ सधैँ हारेको छ ।

“बुझिस् यार, बाआमाले मेरो नाम किन विजय राखे, म ताज्जुबमा परेको छु । मेरो नाम सायद पराजय हुुनुपथ्र्यो ।” हरेक पल्ट कुटाइ खाएर आएको दिन ऊ मलाई भन्थ्यो ।

                                                                    ---

पहिलो चोटी उसलाई मैले सहरको मध्यभागको फुटपाथमा भेटेको थिएँ । म अघिल्लो रातको ठर्राको मातले बनाएको बेहोसीबाट बौरिँदा ऊ मेरै छेउमा थियो । ऊ पनि मजस्तै हालतमा थियो ।

“तँ याँ काँबाट आइस् ?” उसले सोधेको थियो ।

“तँ भन्न भन् न, काँबाट आइस् ?” मैले पनि निहुँ खोजेको थिएा ।

“ल भैगो, बकबक् छोड् ।

एउटा खातेले अर्को खातेको ठेगाना किन सोध्नु ?” उसले पराजय स्वीकारेको थियो । अनि, उसको यो पराजयबाट नै हाम्रो मित्रताको गाँठो कसिएको थियो ।

भदौ अन्त्यतिरको त्यो बिहानपछि ऊ र म आत्मीय साथी बनेका थियौँ । लगभग पाँच महिनाको अन्तरंग मित्रताको यात्रा चल्दै थियो– देशमा क्रान्ति सुरु भयो ।

हुन त, यो देशको क्रान्ति र आन्दोलनको इतिहासमा हामी कतै छैनौँ । इतिहास लेख्ने सामथ्र्य हामीसित थिएन । जोसित सामथ्र्य थियो, उनीहरुले हामीलाई लेखेनन् । उनीहरुले आफूलाई मात्र लेखे । यस विषयमा विजयको कुनै गुनासो थिएन । ऊ भन्थ्यो, “इतिहास भनेको शोषकले अनपढ गरिबलाई ठग्न लेखेको जाली तमसुक हो, जसमा पाँच सयमा शून्य थपेर पाँच हजार बनाइएको हुन्छ ।” तापनि, क्रान्तिमा हामी थियौँ । लगभग दुई महिना चलेको त्यो क्रान्ति हाम्रो जीवनको महत्त्वपूर्ण विश्वविद्यालय थियो । एकाएक हाम्रो महत्त्व बढेको थियो । जुलुसमा भाग लिएर पुलिसलाई ढुंगा हान्दा, आमसभामा ताली बजाउँदा र क्रान्तिमा लागेका विद्यार्थीहरुलाई जिन्दावाद–मुर्दावादका पोस्टर टाँस्न सघाउँदा हाम्रो नागरिक हैसियत चुलिएको थियो । त्यस क्रममा हामी दुवैलाई पुलिसले पक्डेर जेल हाल्यो । जेल गजबको अर्को संसार थियो । अपराध कम पार्न बनाइएको त्यो संस्था र हामी बाहिर बाँचेको समाजमा कुनै भिन्नता थिएन ।

जेलमा विद्रोही नेताहरुसित हाम्रो भेट भयो । उनीहरुले हामीलाई अनेक उपदेश दिए । यही प्रपञ्चमा पञ्चायतका जासुसहरुले पनि हामीलाई राम्रोसँग चिने । पत्रपत्रिका पढेर र पक्षविपक्षका विचार सुनेर हामी पनि अलिअलि राजनीति बुझ्न सक्ने भयौँ । फेरि यहाँको राजनीति बुझ्न के महाभारत हुन्छ र ?

आन्दोलन सफलतामा सकियो । पुरानो व्यवस्था ढल्यो र हामीले ढुंगा हानेर ल्याएको नयाँ व्यवस्थाको नयाँ सरकार बन्यो । तर, विडम्बना ! त्यसपछि कुनै पनि क्रान्तिकारीले हामीलाई खोज्न आएन । हामीसँगै पोस्टर टाँस्न हिँडेकाहरुले हामीलाई चिन्न छाडे । बरु अघिल्लो व्यवस्थामा हाम्रो शत्रु पक्षमा रहेका पुलिस र जासुसहरुचाहिँ अहिले पनि हाम्रा शत्रु नै रहिरहे । एक दिन विजयले भन्यो, “त्यो घटनालाई बिर्सी यार । सम्झी, त्यो हाम्रो जीवनमा दुर्घटना बन्न आइपुगेको कुनै खराब सपना थियो ।”

                                                                                             ---

आन्दोलन सकिएको केही महिनापछि विजय र म सहरको बदनाम बस्तीतिर गइरहेका थियौँ । यो बस्तीको हुलिया देशलाई थाहा थियो । स्थानीय अखबारमा यहाँको अवस्थाको शब्दचित्र धेरै पटक छापिइसकेको छ । नैतिकता र आदर्शले थिचिएका सरकारी पुस्तक र साहित्यमा पनि यस बस्तीको चित्र अंकित छ । बस्तीको भत्र्सनामा धेरै शब्दहरु खर्च भएका छन् । देशका भलादमीहरु दिनको उज्यालोमा यता आउँदैनन् । यता रातको अँध्यारोमा मात्र उनीहरुको सवारी चल्छ ।

हामी त्यहाँ पुग्दा एकदमै अँध्यारो भइसकेको थियो । त्यस दिन त्यस्तै भयो, समयको पुच्छर समातेर नहिँडेका कारण समयले हामीलाई पर्खेन । समयले त शक्तिसम्पन्नहरुलाई मात्र टेर्छ, पैसावालहरुलाई मात्र गन्छ ।

त्यो बदनाम बस्तीबाहेक सहरको अरु भागमा उज्यालो थियो । अँध्यारो र उज्यालोको यो द्वन्द्वलाई उचित र प्राकृतिक बनाउन नगरपालिकासमेत सचेत थियो । आदर्श राज्य सञ्चालन गर्न कतैकतै अँध्यारो पनि राख्नुपर्छ भन्ने दार्शनिक मान्यताले काम गरेको थियो सायद । किनकि, समाजमा इज्जत कमाएकाहरुको धर्म र चरित्रको रक्षा गर्नु नगरपालिका वा राज्यको कर्तव्य थियो । अँध्यारो बस्ती नभएको देशमा चरित्रवान महापुरुषहरु कसरी पैदा हुन सक्छन् ? अँध्यारो महाजनहरुको चारित्रिक प्रमाणपत्रको सुरक्षाकवच होइन र ?

“ए टर्च निभा !” निकै समयसम्म चुपचाप हिँडिरहेको विजयले मलाई धकेल्दै भन्यो ।

“किन ?”

“किन भन्छस् ? तेरो बाउ टाटे त्याँ छ ।”

“को टाटे ? को तेरो बाउ ?”

“टाटे सीआईडी क्या तेरो बाउ । टर्च निभा ।”

“खोइ त त्यो कहाँ छ ?”

“रामकली रन्डीकोमा । त्यो त्यहाँ हर रात आउँछ ।”

“यसले हामीलाई के फरक पार्छ ? ऊ आफ्नो कर्म गर्छ । हामी आफ्नै गर्छौं ।”

मेरो तर्कले ऊ सन्तुष्ट भएन । उसले बलिरहेको टर्च खोस्यो मेरो हातबाट र निभायो । टर्च निभेपछि अगाडिको गन्तव्य केही देखिएन ।

“टाटे यो देशको ज्यादै खतरनाक सीआईडी हो । देख्या छैनस् उसको अनुहारको कालो टाटो, कति कुरुप देखिन्छ ?

एक त सीआईडी, त्यसमाथि कुरुप । अब के चाहियो ? त्यसले जीवनमा यति धेरै मानिसलाई पक्डेर पुलिस र अदालतलाई बुझाएको छ, त्यसको गन्ती नै छैन ।”

अँध्यारोमा हिँड्दाहिँड्दै उसले टाटे सीआईडीको पूरा चरित्रचित्रण गरिभ्यायो ।

“यो त पहिलेको कुरा होला । आन्दोलन अगाडिको । अब त समय बदलिइसकेको छ ।” मैले उसलाई जिस्काउन आफ्नो पुरानो रागलाई दोहोर्‍याएँ ।

“समय बदलिएको छ भन्ने कुरामा मलाई पटक्कै विश्वास छैन ।” उसले पनि आफ्नो पुरानो मान्यतालाई हुबहु दोहोर्‍यायो । त्यसपछि ऊ फेरि टाटे सीआईडीको गीत गाउन थाल्यो ।

“त्यो निकै खतरनाक छ । पहिलेपहिले असम्भवभन्दा असम्भव काम गराउन परे उसलाई मात्र खटाइन्थ्यो । उसको त्यो सीप र सामथ्र्य आज पनि उत्तिकै उपयोगी छ । ऊ मेरो जानीदुश्मन हो । आन्दोलनको बेला मैले इँटाले हानेर त्यसको खप्पर फोर्देको कुरा तैले बिर्सिस् ? झन्डै मरेको नि !”

अँध्यारोमा हिँड्दा अचानक मेरो देब्रे खुट्टा सडकको नालीमा गाडियो । खुट्टा झिक्दा थोत्रो जुत्तालाई हिलोले कब्जा गर्‍यो । हिलोको दुर्गन्ध मेरो नाकभित्र छिर्‍यो ।

“ए स्साले बत्ती बाल् ।” म उत्तेजनामा कराएँ ।

“एकछिन पख । अब एउटा मोड कटेपछि रामकली रन्डीको कोठी ओझेल पर्छ ।” उसले भन्यो ।

“यहाँ मेरो जुत्ता गायब भयो, तँलाई कुनै फिक्री छैन ।”

“जुत्ता हरायो त के भयो ? जीवन त हराएको छैन नि ?”

“हे गधा, बढ्ता नकरा । बत्ती बाल् ।”

“आखिर देश पनि त एउटा जुत्ता लगाएर हिँडिरहेछ । ता पनि त्यसरी नै हिँड् !” उसले भन्यो ।

“मेरो जुत्ता र देशको के सम्बन्ध ?”

“आन्दोलन हामीले पनि गरेम् तर देशले हाम्लाई मात्र छोडेर अगाडि गएन ?”

ऊ दार्शनिकझैँ फतफताउन लागेपछि मैले उसको हातबाट टर्च खोसेँ र हिलोमा गाडिएको जुत्ता निकालेँ । टर्च फेरि उसलाई दिएँ ।

                                                                                       ---

अँध्यारोमा डुबेको त्यो बस्तीबाट अगाडि बढ्दा बाटो भुलिएछ । एक्कासि आँखा फुटाउलाजस्तो उज्यालो खनियो । यो उज्यालो हाम्रोविरुद्ध थियो ।

–हल्ट ! खबरदार ! एक इन्च पनि अगाडि नबढ् ।

उज्यालोपट्टिबाट क्रूर आवाज ओइरियो । आवाजको तर्ज र ध्वनि यति ओजस्वी थियो मानौँ, त्यो महायुद्धको मैदानबाट आइरहेको छ ।

“ओहो साथी, हामी अर्कै ठाउँमा पो आइपुगेछौँ । हाम्री मखमली रन्डीको कोठी त धेरै पछाडि पो छुटेछ ।”

“तेरै छेरुवा चालाले त यो गत भयो नि । बत्ती बालेर हिँडेको भए यस्तो हुन्थ्यो ?” मैले भनेँ ।

“तर, त्यता उही खतरनाक सीआईडी थ्यो नि त ।”

“त्यता खतरनाक सीआइडी थ्यो । अब यता तेरो ससुरोबाउ छ ।”

उज्यालो बोकेको सिपाही हाम्रोअगाडि आइपुग्यो । उसले थ्री नट थ्रीको माला लगाएको थियो । उसले दुवै हातले हाम्रो एकएक कठालो अठ्यायो ।

“स्वाँठहरु ! गधाहरु ! कुकुरहरु ! यो सेनाको क्याम्प हो भन्ने था थेन ?”

“उज्यालोमा था थ्यो । तर, अहिले अँध्यारो छ नि त सर !”

विजयको ‘सर’ ले काम गर्‍यो । त्यसपछि उसले हाम्रो कठालो छाडिदियो । उसले हामीलाई अघिअघि हिँड्न भन्यो र एउटा कोठामा पुर्‍यायो, जहाँ ब्यारेकको इन्चार्ज थियो । उसको अगाडि सिवाज रिगल ह्विस्कीको बोत्तल, आइस केस, प्लेटमा मृगको सुकुटी मासु र ग्लासमा आधाउधी रातो–खैरो मादक झोल देखिन्थ्यो ।

“साप् ! यिनीहरु सरासर निषेधित क्षेत्रतिर आइरहेका थिए । मैले पक्डेर ल्याको ।” इस्पातझैँ तन्केर सलाम ठोक्दै सिपाहीले भन्यो ।

इन्चार्जले चुरोट सल्कायो । स्वादले धूवाँ फुक्यो र भन्यो, “के रे ? के रे ? फेरि भन् !”

“यिनीहरु निषेधित क्षेत्रमा आइरहेका थिए साप् ।” उसले दोहार्‍यायो ।

सुकुटीको एउटा टुक्रा मुखमा छिराएपछि सिपाहीको हाकिम हामीतिर फर्कियो र चपाउँदै सोध्यो, “को हौ तिमेरु ?”

”सामान्य मान्छे ।”

”घर काँ ?” – ”घर छैन ।”

”घर छैन ?” – ”छैन ।”

”घर नभए कहाँ बस्छौ त ?” – “आकाशगन्जमा ।”

“रन्डी टोलमा ?” – “हो ।”

“के काम गर्छौ ?” – “दलाली ।”

“केको दलाली ?” – “मखमली रन्डीको ।”

“दिउँसो के गर्छौ ?”

“दिउँसो सडक नाप्छौँ ।”

“किन यता आको ?”

“अँध्यारोमा बाटो भुलेर ।”

“तिमीहरु मसालससाल त हैनौ ?”

“खै, यस्तो कुरा हामी बुज्दैनम् सर ।”

“राजनीति–साजनीति पनि गर्छौ कि भन्या ?” – “गर्दैनम् ।”

“ठूलाबडा ककसलाई चिन्छौ ?”

“मखमलीको कोठीमा आउने धेरैलाई चिन्छम् हामी ।”

“प्रधानमन्त्रीको नाम था छ ?”

“हामी उहाँलाई चिन्छम् । तर, उहाँ हाम्लाई चिन्नुहुन्न ।”

“दाह्री किन नकाटेको ?”

“मखमली पनि यै कुरा सोधिरहन्छे सर ।” – “को मखमली ?”

“उही रन्डी मखमली, जसका दलाल हौँ हामी । ऊ भन्छे– रन्डी मात्र हैन, दलाल पनि सफा र चिटिक्क हुनुपर्छ । तर, हामीलाई चिटिक्क हुन मनै लाग्दैन सर ।”

हाकिमका सबै प्रश्नको जवाफ विजयले दिइरहेको थियो । म उसको जवाफमा टाउको मात्र हल्लाइरहेको थिएँ ।

“ए सिपाई ! छोड्दे यिनलाई ! कस्ता–कस्ता पागललाई समातेर ल्याउँछ !”

त्यसपछि हामीलाई निषेधित क्षेत्र कटाएर सिपाही फर्कियो ।

                                                          ---

हामी फेरि मखमलीको कोठी ताकेर हिँड्न थाल्यौँ ।

“हे भगवान् ! संसार बदलियो । तर, तँ जहीँको तहीँ छस् ।” उसको हातबाट टर्च खोसेर मैले भनेँ ।

“कसरी बदलिने ? नबदलिनुपर्ने विषयहरु बदलिएका छन् । एक वर्षअघि डेढ रुपैयाँ गिलासमा पाइने ठर्रा अहिले पाँच रुपैयाँ पुगेको छ । एकपल्ट घोडा चढाएको दस रुपैयाँ लिने मखमली वा रामकलीले अहिले पचास रुपैयाँ लिन्छन् । परिवर्तन त पक्कै भएको छ । तर, यो परिवर्तन मेरो भलाइमा छैन । अब त बुझिस् मुर्दार ?”

उसको आक्रोशपछि म बोलिनँ । त्यत्तिकैमा हामी रामकलीको कोठीनेरको मोडमा पुग्यौँ । त्यहाँ पुग्नासाथ विजय फेरि हतास र भयले काम्दै करायो, “ए स्साले, टर्च निभा । मुलुकको सबभन्दा खतरनाक टाटे सीआईडी अझैसम्म त्यहीँ छ ।”

यसपटक भने मैले विजयको मुखबाट आदेश झर्नासाथ टर्च निभाएँ । अब हामी औँसीको निष्पट्ट अँध्यारोमा घस्रिन थाल्यौँ ।  

प्रकाशित: आश्विन ३०, २०७५