खेर गएका वर्ष

- जीवन क्षत्री

सानो छँदा सपनाहरू सरल थिए– ठूलो हुने, पैसा कमाउने । सके नाम पनि कमाउने । ती सपनाका हाँगाबिंगाहरु पनि थिए– परिवारमा लागेको ऋण तिरेर बुबाको बोझ उतारिदिने, आमालाई कुटोकोदालोको बन्धनबाट मुक्त गरेर ‘सुख’ दिलाउने, सधैँ दसैँमा ‘बूढो कोट’ को माग राख्ने वृद्ध छिमेकीलाई एउटा कोट किनिदिने आदि/इत्यादि । ती आधारभूत सपना पूरा भए भने अलि माथ्लो स्तरका सपना पूरा गर्ने लालसा थियो– ‘मिकासा’ नामको भियतनामतिर बन्ने जापानी भलिबल किन्ने, जाली किन्ने, कोर्ट खोज्ने र मन लागेका बेला मन लागेजति खेल्ने । 

खेल हाम्रो गाउँले जीवनको अभिन्न अंग थियो । खेलबाहेक मनोरन्जनको साधन भनेको रेडियो थियो । तिलक बम मल्लले रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र पोखराबाट साँझ पौने ६ बजे १५ मिनेटको कार्यक्रम चलाउँथे । अहो ! श्रोताको अनुरोधअनुसार पपगीत बजाइने त्यो कार्यक्रममा एक सासमा कत्तिको नाम लिन्थे तिनले । अनि, कति धेरै गीत बजाउन पनि भ्याउँथे । कार्यक्रममा एकाधबाहेक उनका मात्रै गीत बज्थे तैपनि ती सुरिला गीत सुनेर मन कहिल्यै अघाएन । यो कार्यक्रम अलि लामो, आधा घन्टाको मात्रै भइदिए कति राम्रो हुन्थ्यो भनेर हामी कल्पिन्थ्यौँ । तर, हाम्रो कल्पनाले कुनै फरक पार्दैनथ्यो । आनन्द उत्कर्षमा पुग्दै गरेका बेला कार्यक्रम बन्द गरेर मल्ल गायब हुन्थे । हामी थकथकी मान्दै अर्को कार्यक्रमको प्रतीक्षा गथ्र्यौं । 

त्यसबाहेक शनिबार साढे १ बजेतिर आउने आधा घन्टा लामो नाटक सुन्न हामी कहिल्यै छुटाउँदैनथ्यौँ, जुनमध्ये मदनदास श्रेष्ठले निर्देशन नगरेको कुनै नाटक सुनेको मलाई याद छैन । जादूमयी लाग्थे ती नाटकहरु । पाखामा गोरु चराउन जाँदा रेडियो लिएरै जान्थ्यौँ हामी नाटक नछुटोस् भनेर । शनिबार साँझ चौतारी नामको कार्यक्रम आउँथ्यो, जसमा देशभरबाट पुगेका उत्साही गायकहरुले एउटा गीत सुनाउने मौका पाउँथे । सानैमा सुनेको सोमबार साँझ आउने ‘प्रतिभा साँझ’ नामक त्यस्तै अर्को कार्यक्रमको चाहिँ सुरिलो सहनाइको धून मात्रै याद छ । हामी अलि ठूलो हुँदा त्यो कार्यक्रम आउन छाडिसकेको थियो ।

गीत–संगीतले दिने मनोरन्जन र खेलकुदले दिने मनोरन्जनमा फरक थियो । खेल हाम्रा लागि तपस्याजस्तै थियो– खेलुन्जेल हामी संसारै भुल्थ्यौँ । भोक र तिर्खा, गरिबी र घरको अशान्ति, खेलुन्जेल सबैको अस्तित्व मेटिन्थ्यो । स्कुलबाट फर्कंदा खेलेर भुलेका कारण घर गएर खप्की खानुपरे पनि, अँध्यारो भइसकेपछि डालेघाँस काटेर भैँसी दुहुनुपरे पनि, अनि दिनभर खेलेर काम नगरेकाले कहिलेकाहीँ राती भोकै सुत्नुपरे पनि । स्कुलमा बिताउनेबाहेक उज्यालोका सबैजसो प्रहर यो वा त्यो श्रममा बिताउनुपर्ने हामी केटाकेटीलाई खेलकुदले एकैछिन भए पनि फरक संसारमा पुर्‍याउँथ्यो । बाल्यकालभर हाम्रो मोक्षको द्वार त्यही नै थियो । 

स्वभावत: पहाडका कन्दरामा रहेको हाम्रो गाउँमा खेलकुद भन्नु नै भलिबल र भलिबल भन्नु नै खेलकुद थियो । 

१० कक्षा पास गरेर विज्ञान पढ्न चितवन झरेपछि एकाएक खेल गतिविधिमा ब्रेक लाग्यो । भविष्यबारेको अनिश्चय र चिन्ताले पनि ढपक्कै छोप्यो । किशोरकालको मानसिक आरोह–अवरोह, सहरी जीवनमा संक्रमण गर्दाको घर्षण, पढाइको कडा दबाब, १२ कक्षा पढेपछि के गर्ने भन्ने चिन्ता, यी सबले घेरे र खेलकुद दैनिक जीवनबाट बाहिरियो । भाग्यवश नै भनौँ, चितवनको टप मानिने अर्किड कलेजमा प्रवेश परीक्षामा ५२औँ स्थान ल्याउँदै भित्रिएको म १२ पास गर्दा अर्किडसँगै चितवन जिल्ला टप गरेको थिएँ । 

त्यसलगत्तै शिक्षा मन्त्रालयबाट नाम निकालेर म एमबीबीएसमा भर्ना भएँ । पढाइ कर्रो भए पनि अब चिन्ताका विषयहरु कम भएका थिए । ६ वर्ष भैरहवामा बसेपछि ज्यान पाल्ने जागिर पाइहालिएला भन्ने आत्मविश्वास पनि जाग्यो । भलै खाली बस्न र खान मलाई महिनाको पाँच हजार पठाउन पनि बुबाले खेत बेच्नुपरेको थियो । मजस्तै चिन्तामुक्त भएका धेरै साथीहरु धूमपान र मद्यपानतिर लागे भने मैले स्कुले जीवनको खेलकुदलाई फेरि आविष्कार गरेँ । धेरैजसो पहिले कहिल्यै भलिबल नखेलेका साथीहरु जम्मा पारेर हाम्रो ब्याचको भलिबल टिम बनाएँ । 

स्कुलमा छँदा जहिल्यै सट उठाउने ‘ब्याक’ भनिने कोर्टको दुर्गम स्थानमा मात्रै खेल्नुपरेको बदला मैले राम्रैसँग लिएँ । टोलीको कप्तान, स्ट्राइकर, कोच, व्यवस्थापक, जे भने पनि मै थिएँ । सिम्रिक र करुणा नामका दुई टुर्नामेन्ट वर्षमा नबिराई हुन्थे । तिनमा आफ्नै कप्तानीमा झन्डै ६ वर्ष नै खेलियो । मलाई कलेजभर भलिबल ‘क्रेजी’ भनेर सबैले चिन्थे । किनकि, खेल्न कोही साथी नपाएमा म एक्लै कोर्टमा गएर घन्टाभर बल उफारेर सट हान्ने अभ्यास गरिरहन्थेँ । 

भलिबल करिअरको उत्कर्ष भैरहवामै आयोजित नेपालभरका मेडिकल कलेजस्तरीय भलिबल टुर्नामेन्ट थियो, जसको फाइनलमा मुस्किलले पाँचौँ सेटमा पुगेर हामीले नेपालगन्ज मेडिकल कलेजको उम्दा टोलीलाई हराएका थियौँ । त्यसपछिको माहोल विश्वकप फुटबल जितेभन्दा कम थिएन । असोजको चर्को गर्मीमा (भैरहवामा असोज सबैभन्दा उखर्माउलो गर्मी हुने समय हो) मैदानमा ड्रम बजाएर धेरै बेर नाचेका थिए साथीहरु ।  त्यसको अर्को वर्ष धरानमा भएको उस्तै टुर्नामेन्टमा उत्तिकै सनसनीपूर्ण फाइनल खेलमा पाँचौँ सेटमै पुगेर आयोजकसँग हामी हारेका थियौँ । 

भैरहवा छाडेसँगै जीवनमा स्थिरता भन्ने कुरा हरायो । शिक्षा मन्त्रालयले छात्रवृत्ति दिएबापत दुई वर्ष गाउँ जानुपर्ने थियो । म एक वर्षलाई डडेल्धुरा गएँ र अर्को वर्ष भैरहवा नै फर्कें । अब जीवनमा धेरै कुरा उलटफेर भइसकेको थियो । दिनमा १८ घन्टासम्म ड्युटीमा जोतिनु र हप्तौँ राम्रोसँग निद्रा पुर्‍याएर नसुत्नु दिनचर्या बन्यो । आहार–विहारको सन्तुलन शून्यमा झरेका ती दिनमा भोक लागेर खाना खाएको र निद्रा पुगेर उठेको मलाई याद छैन । सायद त्यसैको परिणाम हुनुपर्छ, एक वर्ष हिउँदमा म गम्भीर बिरामी परेँ । होशै गुम्लाजस्तो गरी टाउको दुखेर धेरै दिन ज्वरो आएपछि कतै मेनिन्जाइटिसले छोपेर मस्तिष्कमा आघातै पार्ला कि जस्तो भयो । भैरहवाबाट एम्बुलेन्समा काठमाडौँ पुग्नुपर्‍यो उपचारका लागि । 

एमबीबीएसपछि जीविका चल्ने कमाइले जीवन सहज हुन्छ भन्ने पहिलेको धारणा अब मृगतृष्णा प्रमाणित भयो । यो क्षेत्रबाटै दिग्भ्रमित भएर अब स्नातकोत्तर पढ्ने लेठो गर्दिनँ भन्ने मन पनि भयो । तर, साथीहरु धमाधम देशविदेशका राम्रा ठाउँमा स्नातकोत्तरका लागि भर्ना हुन थालेपछि मन बदलियो । १८ घन्टा ड्युटी हुने अस्तव्यस्त जीवनबाट निस्कने एउटा मात्रै व्यावहारिक उपाय स्नातकोत्तर गर्नु थियो । फेरि टुप्पी कसेर पढ्ने दबाब पर्‍यो । एमबीबीएसमा भन्दा एमडीमा नाम निकाल्नु फलामै चपाउनुसरह थियो । यस्तो माहोलमा प्राथमिकताको सूची बनाएको भए खेलकुद १० नम्बरमा पनि पर्दैनथ्यो सायद । 

एमबीबीएसजस्तै एमडीका लागि पनि केही महिना पढेर दिएको पहिलो र एउटै प्रवेश परीक्षामा नाम निस्क्यो । अर्को चुनौती र अनिश्चयलाई पन्छाउँदै म त्रिवि शिक्षण अस्पताल पुगेँ । काठमाडौँ प्रवेशसँगै जीवनको एउटा अनपेक्षित पाटो खुल्यो– म डा केसीको अभियानमा जोडिएँ । मेरो लेखनको ठूलो हिस्सा पनि त्यसैमा समर्पित भयो । मान्छेले भरिएको काठमाडौँ, काम र चिन्ताले थिचिएका त्यहाँका मान्छेहरु, खेलकुद त्यो ठाउँमा रहँदा–बस्दा प्राथमिकतामा पर्ने कुरै भएन । 

म काठमाडौँ छाडेर विशेषज्ञ चिकित्सकका रुपमा कामका लागि चितवन फर्कने बेलासम्म नियमित खेलकुद छुटेको चार वर्ष भइसकेको थियो । चितवन फर्केको पहिलो वर्ष दैनिक जीवन अलिकति सम्हालिएको हुँदा कहिलेकाहीँ फुटबल खेलिन्थ्यो । तर, त्यसक्रममा घुँडामा सानो चोट लागेपछि चटक्कै छुट्यो । जसै ०७३ मा लोकमानविरुद्ध अभियान सुरु भयो, जीवन फेरि अस्तव्यस्त भयो । हप्तौँ काठमाडौँ बस्नु, चितवन फर्कनु, चितवनमा जागिर गर्ने अवस्था रहेन भनेर आफैँलाई पूर्णकालीन अभियन्ता घोषित गरेर काठमाडौँ जानु, लोकमान निलम्बित भएपछि फेरि काममा फर्कनु । यी काम चलिरहे र जीवन उथलपुथलमय भयो । यस्तोमा आहार–विहारको सन्तुलन खोज्नु निरर्थक थियो । 

त्यही समय मलाई केही गम्भीर स्वास्थ्य समस्याले गाँजे । स्क्रिनमा धेरै हेरेका कारण आँखा सुख्खा भएर दुख्ने समस्याको त समाधान थियो । तर, लगत्तै सुरु भएको ढाड दुख्ने समस्या बढेर गयो । कुनै समय यस्तो थियो, राती निद्रा आधा खुल्दा पनि त्यो दुखाइ महसुस भइरहेको हुन्थ्यो । धूवाँ, धूलो र चिसोमा अनिद्रा मिसिँदा श्वासप्रश्वासमा पनि ०७३ को जाडोको सुरुतिर समस्या देखियो । यति भएपछि बल्ल स्वास्थ्य र आहार–विहारबारे मेरो चेत खुल्यो । अब पनि शरीरबारे यसैगरी लापरवाह बन्ने हो भने यो धेरै टिक्दैन र जीवनबारे पालिएका आशा र महफ्वाकांक्षाको अर्थ रहँदैन भन्ने तफ्वबोध भयो । स्वस्थ हुन खेलकुदमा फर्कनुको विकल्प थिएन किनकि ती समस्याहरुको स्वास्थ्य विज्ञानले दिने समाधानका सीमा कस्ता छन् भन्ने मैले बुझिसकेको थिएँ । 

खेलकुदतिरको पहिलो कदम थियो, पदयात्रा । घरदेखि कार्यालयसम्म, भरतपुरदेखि मौलाकालिकाको डाँडासम्म, हुँदाहुँदा म कुस्मादेखि बाग्लुङ, गुल्मी र पाल्पा हुँदै रुपन्देहीको बुटवलसम्म एक्लै हिँडेर छिचोलेँ । दाइ र अर्का एक साथीसित मुक्तिनाथदेखि थोराङ छिचोलेर तिलिचो हुँदै मनाङसम्म पुग्यौँ । दुई भान्जालाई लिएर जुम्लाबजारदेखि डाँफेलेक हुँदै राराताल पुगेर चुच्चेमारा लेक हुँदै सिंजा उपत्यकासम्म झरियो । 

०७३ पुसदेखि सुरु भएको खोलाको पौडाइ एक वर्ष अनवरत चल्यो । त्यो खेलकुद र शरीर परिचालनतिरको दोस्रो कदम थियो ।

त्यसपछि ०७४ मा फेला पर्‍यो अर्को गजबको खेल– ब्याडमिन्टन । भलिबलको जस्तै कोर्ट र जाली प्रयोग हुने । वृद्ध उमेरसम्म खेल्न सकिने । एक हातले खेल्ने तर सिंगो शरीर थकाउन सक्ने । बिहान उठेर आधा घन्टा मात्रै खेल्यो भने दिनभरका लागि स्वास्थ्य र स्फूर्ति पाइने । दैनिक घन्टाभर कस्सिएर खेल्यो भने शरीरलाई मजबुत बनाउन सकिने । हो, त्यही ब्याडमिन्टन खेलको सहायता लिएर मैले पौडीले आधा ठीक पारेको ढाड दुख्ने व्यथालाई झन्डै पूरैजस्तो निको पारेँ । आहार–विहारको अन्य तालमेल र सावधानीले एलर्जीजन्य श्वासप्रश्वासको समस्या पनि नियन्त्रणमा आयो । अन्तत: म स्वस्थ भएँ ।

अहिले जतिजति ब्याडमिन्टन खेलमा म डुब्दै जान्छु, उति नै मलाई भैरहवा छाडेपछि खेलकुदबिना बितेका सात वर्षका लागि थकथकी लागेर आउँछ । ती सात वर्षमा मेरो मानसिक विकास भयो । संसारबारे मैले धेरै कुरा सिकेँ । देखेँ । लेखेँ । ठूला मान्छेहरुसित परिचय बढाएँ, थोरबहुत मानिससामु चिनिएँ पनि । तर, आफ्नो अस्तित्वको साधन शरीर नै रोगी वा शिथिल छ भने मानसिक विकासको पनि बाटो रोकिन्छ भन्ने मलाई त्यतिका वर्ष हेक्कै रहेन । खेलकुदबिनाको शरीर मोबिल नहाली हुइँक्याइएको मोटरसाइकलजस्तै रहेछ– पेट्रोल हालेर कान निमोठेसम्म हुइँकिरहने तर कुन दिन इन्जिन ‘सिज’ हुन्छ, थाहै नहुने ।

यिनै सात वर्षको सुरुतिर थालिएको मेरो वैवाहिक जीवन पनि अन्तत: असफलतामा टुंगियो । बाआमा भन्नुहुन्छ– त्यही कारणले मेरो यतिका वर्षको समय खेर गयो । तर, म भन्छु– खेलकुद छुटेकाले मेरा यी सात वर्ष खेर गए । आखिर मान्छेका लागि कुनै पनि मानवीय सम्बन्धभन्दा आफ्नो शरीर र स्वास्थ्य बढी प्राथमिकताका कुरा होइनन् र ? 

प्रकाशित: आश्विन ३०, २०७५