भोको मान्छे, किताब समाऊ

- उज्ज्वल प्रसाईं

पढन्तेहरु असल हुन्छन् । कसैले यस्तो ठोकुवा गरोस्, उसलाई गलत साबित गर्न खराब पढन्तेहरुको लामो सूची बनाउन बेर लाग्दैन । खराब र असल सापेक्षित अवधारणा हुन् । यहाँ त निर्दोष रंगसमेत खराब र असलमा विभाजित छन् । मोहनदास करमचन्द गान्धी पढन्ते थिए, सधैँ असल भएनन् । खास राजनीतिक संकथन निर्माणका लागि उनी महात्मा बनाइएका हुन् । एडोल्फ हिटलरले जे गरे, आर्जित ‘ज्ञान’ मा आधारित हिंस्रक दुस्साहस गरे । उनका असल पक्ष खोज्नेहरु अझै छन् । असल वा खराबको सर्वमान्य परिभाषा बनेको छैन ।

हिटलरबारे किताब पढेका वा होलोकस्टसम्बन्धी सिनेमा हेरेकाले उनलाई खराब देखेका हुन सक्छन् । मैले त्यस्ता धेरै पढालेखा पनि भेटेँ, जसले उँचो स्वरमा भने, ‘यहाँ हिटलरजस्तो शासक चाहिएको छ । नत्र यो समाज कहिल्यै बन्दैन ।’ आफूमाथि शासन गर्न सन् १९४५ मै आत्महत्या गरेको तानाशाहको पुनरागमन होस् भन्ने मान्छेको उपस्थिति भइन्जेल हिटलर खराब मानिसको सर्वमान्य मानक हुँदैन । त्यसो त, स्टालिनका खराब मात्रै देख्ने वा उनको आलोचना सहन नसक्ने दुवै थरी समूह छँदैछन् । हिटलरको आवश्यकता महसुस गर्ने ‘बौद्धिक’ नेता, सरकारी अधिकृत, सक्रिय पत्रकार साथै नाम चलेका लेखक ठाउँठाउँमा भेटेपछि इमान्सिपेसन (मुक्ति) र पठनबारे सोच्न जरुरी लाग्यो ।

पुस्तकप्रेमी तानाशाह

‘कोही मानिस जस्तो छ, त्यो त्यस्तो कसरी बन्यो भनेर बुझ्न उसले कस्ता पुस्तक पढ्यो भन्ने थाहा पाउनू ।’ जर्मन दार्शनिक वाल्टर बेन्जामिनले दिएको यो सूत्र पछ्याउँदै टिमोथी डब्लु राइब्याकले हिटलरको छनोटमा परेका किताब खोजी गरे । जर्मनीका विभिन्न ठाउँबाट संकलन गरेर वासिङ्गटनको लाइब्रेरी अफ कंग्रेस पुर्‍याइएका ती किताबबारे उनले शोध गरे । उक्त अनुसन्धानको परिणामलाई टिमोथीले हिटलर्स प्राइभेट लाइब्रेरी: द बुक्स द्याट सेप्ड हिज लाइफमार्फत सार्वजनिक गरे ।

हिटलरले आफ्नो ऊर्जावान समय पुस्तक पढ्नमा लगाए । उनी पहिलो विश्वयुद्धमा जर्मन सेनाका हल्कारा थिए । एउटा ट्रेन्चबाट अर्को ट्रेन्च, यताको शिविरबाट उताको शिविरमा खबर बोकेर दौडिने उनको काम थियो । त्यसबीच समय निकालेर उनी किताबमा घोत्लिन्थे । हाकिम बिहान ३ बजे उनको ओछ्यानमा पुग्दा पढिरहेका भेटिन्थे ।

हिटलरले सबैभन्दा मन पराएर पढेका कृतिमा विलियम शेक्सपियरका नाटक हुन् । विशेषत: ह्यामलेट, जुलियस सिजर, एज यु लाइक इट, टुवेल्थ नाइट, ट्रोलियस एन्ड क्रेसिडा । उनलाई यी नाटकका कतिपय पंक्ति मुखाग्र थिए, सन्दर्भअनुसार ती पंक्ति दोहोर्‍याइरहन्थे । बाबु मारिएलगत्तै आमाले आफ्नै काकासँग विवाह गरेपछि ह्यामलेटले भोगेको द्विविधाग्रस्त मनस्थितिमा बोलेको ‘टु बी अर नट टु बी: द्याट इज द क्वेस्सन’ भन्ने वाक्य उनलाई मन पथ्र्यो । बाँच्ने वा आत्महत्या गर्ने  ? काकाको हत्या गर्नु आफैँमा आत्महत्या होइन र ? आफ्नै अघिल्तिरको अन्याय बिर्सेर बााच्नु कति सार्थक छ ? यस्ता द्विविधामा फसेको ह्यामलेटको मनस्थितिले उनको समस्या सुल्झाउँथ्यो । जुलियस सिजरको कथा सम्झँदै उनले आफ्ना विरोधीलाई बारम्बार भनिरहे, ‘वी वील अगेन मीट एट फिलिप्पी ।’

पढ्ने र पढेका किताब बिर्सिने पाठक थिएनन् हिटलर । उनी लेखक एवं तिनका कृतिको मूल्यांकन गर्थे, कथाको व्याख्या गर्थे । महान् भनिएका लेखकका कृतिहरु एकअर्कासँग दााजेर कुन श्रेष्ठ भनेर छुट्याउँथे । जर्मन कवि गेटे एवं नाटककार फ्रेडरिक शिलरभन्दा शेक्सपियर धेरै मानेमा श्रेष्ठ लेखक भएको ठहर गरेका थिए । उनको ठम्याइ यस्तो थियो, ‘बेलायती साम्राज्यको उदाउँदो र चलायमान सामथ्र्य बुझ्न शेक्सपियरका कृति सहयोगी हुन्छन् भने गेटे र शिलरले अधबैँसे उमेरमा भोग्नुपर्ने दु:ख एवं दाजुभाइबीचका द्वन्द्व केलाउन आफ्नो ऊर्जा खर्चिए ।’

विश्व साहित्यमा नाम चलेका कृतिहरु अध्ययन गर्ने क्रममा उनले डेनियल डेफोकृत रबिन्सन क्रुसो, जोनाथन स्वीफ्टले रचना गरेको द गुलिभर्स ट्राभल्स एवं सर्भान्तेको डन किहोते (जसलाई डन क्वीक्सोट पनि भनिन्छ) रुचाएर पढे । गुस्ताभ दोरे नामक कलाकारले बनाएका चित्रसहितका यी उपन्यासहरुमा उनलाई सबैभन्दा मन पर्ने चित्र डन किहोतेको थियो । आफ्ना असम्भवप्राय: कल्पनाका संसारमा झुमिरहेको किहोतेको चित्रमा सम्भवत: उनले आफूलाई प्रतिविम्बित गरे ।

यी उत्कृष्ट साहित्यलाई आफ्नै ढंगले बुझेका हिटलरलाई प्रभावित पार्ने अर्को पुस्तक थियो, हेनरी फोर्डको द इन्टरनेसनल जु : द वल्र्डस् फोरमोस्ट प्रब्लम । नाजी पार्टीका मुख्य नेताले अमेरिकी लेखक फोर्डका यहुदीविरोधी रचना पढेर आफू एन्टी–सेमिटिक बनेको बताएका थिए ।

अध्ययनमा लत बसेको सुरुआती कालमा उनले म्याक्स अस्बोर्नलिखित बर्लिन पढे । आत्महत्या गर्नु केही दिन अघिसम्म उनी थोमस कार्लाइलले लेखेको फ्रेडरिक द ग्रेटको जीवनी पढिरहेका थिए । फ्रेडरिक दोस्रो प्रुसियाका शासक थिए । कार्लाइलको पुस्तकमा लेखिएको एक वाक्य यस्तो थियो– ‘पवित्र मानिसहरु भन्छन्, बिहानी आउनुअघिको समय नै सबैभन्दा अँध्यारो समय हो ।’ त्यो निष्पट्ट अँध्यारोमा हिटलरले आत्महत्या गरेपछि संसारमा उज्यालो भित्रिएको थियो ।

दुनियाँका सबै तानाशाह पुस्तक–लती थिएनन् होला । कुनै कलाकारले बनाएको नेपोलियन बोनापार्टको एक चित्रमा उनी आफ्नो अध्ययनकक्षमा बसिरहेका देखिन्छन् । त्यहाँ राखिएको घडीमा बिहानको ४ बजेको समय अंकित छ । उक्त चित्रअनुसार नेपोलियन पनि त्यस्ता शासक थिए, जो बिहान हुनुअघिको घना अन्धकारमा पुस्तक पढ्थे । आधुनिक दुनियाँमा बेलगाम बजारको शासन स्थापना गराउन मरिमेट्ने शासक मार्गरेट थ्याचरसमेत जम्मा एक वा दुई घन्टा मात्रै निदाउँथिन् भनिन्छ । कार्यालयबाहेकको उनको निजी समय सम्भवत: अध्ययनमै बित्थ्यो । त्यही समयमा नवउदारवादी चिन्तनले उनको मस्तिष्कमा जरा गाडेको हुन सक्छ ।

पुस्तकप्रेमी तानाशाहका यस्ता कथा पढेपछि केही प्रश्नले कोपर्न थाल्छन् । तिनले परिकल्पना गरेको दुनियाँ नै अन्तिम सत्य हो भन्ने ज्ञान तिनै पुस्तकबाट लिए, जसबाट अरुले जीवनका जटिलता उधिन्ने ऊर्जा पाएका थिए ? आफ्नोभन्दा फरक परिकल्पनालाई पूर्णतया खारेज गर्नुपर्छ र त्यसका लागि जति हिंसा मच्चाउन पनि जायज हुन्छ भन्ने मान्यता के पुस्तकबाट आर्जित भएको हो ? हिटलर, नेपोलियन वा थ्याचरका बुझाइ एवं उनीहरुका क्रियाकलाप पूर्णतया किताबी अध्ययनको उपज नहुन सक्छ । तर, तिनले पढेका पुस्तकको अध्ययनले तिनको शासक व्यक्तित्व निर्माणमा सहयोग पुर्‍याएको अनुमान गर्न सकिन्छ ।

शासकले गरेका शेक्सपियरहरुका व्याख्या मात्रै फलाक्ने हो भने तिनका विरुद्ध प्रतिरोध कसरी सम्भव हुन्छ ?

पठनको स्वतन्त्रता

पढ्नु भनेको पुस्तकसँग सक्रिय संवाद गर्नु हो । पुस्तकले भनिरहने र आफूले सुनिरहने क्रिया पुस्तकको पढाइ होइन, घोकाइ हो । पुस्तकले दिएका सूचना कुनै सम्झनु र कुनै विस्मृतिमा धकेल्नु, कुनै दृश्यलाई प्राथमिकता दिनु र कुनैलाई गौण बनाउनु, गरेका तर्कसँग सहमत वा असहमत हुनु, बनाएका ‘स्टेटमेन्ट’ का आफ्नै अर्थ लगाउनु नै पढाइ हो ।

सम्भवत: पुस्तकसँगको संवाद अक्सर पाठक अनुकूल हुन्छ । पाठकको वर्गीय, जातीय, लैंगिक, नश्लीय एवं क्षेत्रीय अवस्थिति एवं उसको हुर्काइअनुसार साहित्यको अर्थ फरक पर्न सक्छ । लेखन जसरी राजनीतिक कर्म हो, पठन पनि त्यसरी राजनीतिक संवाद हुन पुग्छ । नश्लको शुद्धताबारे पहिल्यैदेखि आग्रह पालेर बसेको हिटलरले बुझेको ह्यामलेटको द्विविधा र ल्याटिन अमेरिकालाई मुक्त गर्ने उद्देश्यमा कटिबद्ध उस्तै अध्ययनशील नेता चे ग्वेभाराले लगाएको अर्थमा पक्कै फरक पर्छ । भारतमा बीआर अम्बेडकरका लेखनीलाई आधार बनाएर बोल्नेहरु अम्बेडकरवादी मात्रै छैनन् । कम्युनिस्टले अम्बेडकरका जति तर्कको उपयोग गर्छन्, त्योभन्दा ज्यादा उदारवादी कांग्रेसले वामपन्थीको आलोचना गर्न उनलाई प्रयोग गर्छन् । दक्षिणपन्थी हिन्दुवादी भारतीय जनता पार्टीका बुद्धिजीवीसमेत अचेल अम्बेडकरका वाक्य उद्धृत गरेर अरु राजनीतिक विचारधाराको विरोध गर्छन् ।

रोलाँ बार्थले ‘हरेक कृतिमा लेखकको मृत्यु हुन्छ’ भन्दै गर्दा पाठकले लगाएको अर्थले लेखकको स्वत्व सिध्याउने आशय व्यक्त गरेका थिए । तर, सक्रिय पठनले लेखकको स्वत्वलाई सिध्याएको होइन, बरु राजनीतिक क्रियाको रुपमा बढ्ता चलायमान बनाइरहेको देखिन्छ । यसरी हेर्दा साहित्यिक वा प्राज्ञिक कृतिमा लेखक निर्जीव लास बनेर पल्टेको हुँदैन । ऊ पाठकको पूर्वधारणा, राजनीतिक बुझाइ एवं सांस्कृतिक लोकेसनअनुसार गरिने संवादका लागि तयार बसेको हुन्छ । कृतिमा त्यसरी तम्तयार बसेको लेखकले कहिलेकाहीँ पाठकका लोकेसनअनुसारका धारणा भत्काउन सफल हुन्छ भने कहिले उक्त धारणाअनुरुप नै कृतिको अर्थवत्ता कायम हुन पुग्छ । पठनले पुस्तकका ध्येय वा अर्थमा राजनीति गर्ने भएकैले एउटै कृतिमाथि अनेकौँ शोध गरिएको हो ।

पठनको स्वतन्त्रता नहुँदो हो त माक्र्स अझै सान्दर्भिक छन् भनेर पुष्टि गर्ने यत्न पूर्णतया फजुल हुन्थ्यो । एडम स्मिथको पुनर्पठन बेतुक बन्ने थियो । माक्र्सले लेखेका ज्ञानको अरुभन्दा फरक व्याख्या गर्दै ईपी थम्पसनले द मेकिङ अफ इंग्लिस वर्किङ क्लास लेखे । श्रमिकका एजेन्सीको सवाल उठाएर थम्पसनले ज्ञानको नयाँ गोरेटो कोरे । ग्राम्स्कीको नयाँ अध्ययनले माक्र्सवादका फरक आयाम उक्काउन उनीपछिका धेरै विद्वानलाई सहज भयो । थम्प्सन र ग्राम्स्कीजस्ता विद्वानका लेखनी सबाल्टर्न स्टडिज सुरु गर्ने एउटा ठूलो आड बन्यो ।

भारतीय लेखक चन्द्रहास चौधरीले एक वर्षसम्म  स्मिथको वेल्थ अफ नेसन अध्ययन गरेपछि लेखे– ‘स्मिथ त्यति मात्रै होइनन्, जति उनका बजारवादी प्रशंसकले भन्छन् । पढ्दै जाँदा लाग्यो, मैले आफूलाई जति चिनेको छु, त्योभन्दा ज्यादा स्मिथले मलाई चिनेका रहेछन् । ’पठनको स्वतन्त्रता उपयोग गरेर ज्ञानका अनेक ढोका खुल्दै गएका हुन् । पठनलाई कुनै खास साँचोमा कैद गर्नेहरुले प्रतिरोधी चेतनालाई वर्जित गर्न खोज्छन् ।

प्रतिरोधी पठन

पठनको स्वतन्त्रताले साहित्यको प्रतिरोधी मूल्य खोज्न सहज भएको छ । लेखनको प्रतिरोधी तेवर कायम राख्नुपर्ने आग्रहका लागि लेखनमा स्वतन्त्रताको खोजी हुन्छ । त्यसका लागि भएका ठूला संघर्ष दुनियााको गरिमामय इतिहासमध्येको हो । साहित्यमा प्रतिरोधी मूल्यको खोजी गर्न पठनको स्वतन्त्रता खोजिएको छ । त्यस्तो स्वतन्त्रता कृतिका ‘लेखकको मृत्यु’ घोषणा गरेर वा कृतिभित्र उसलाई निर्जीव सम्झेर सम्भव हुँदैन । बरु उसलाई जीवन्त मानेर गरिएको पठनले अर्थका नयाँ ढोका उघार्न सहज बनाउँछ ।

माक्र्सका ठेलीका पठन, पुनर्पठन एवं ती कृतिमाथि गरिएका सयौँ विमर्शबाट नै समाजविज्ञान उन्नत बनेको हो । ती कृतिमा माक्र्सलाई जीवित मानिएको छ । साहित्य–समालोचनाजस्तो विधामा नवीनताको खोजसमेत माक्र्सवादलगायतका आधारभूत दार्शनिक चिन्तनमा गरिएका नयाँ अध्ययनले सम्भव तुल्यायो । नत्र माक्र्सवादी वा उदारवादी मठाधीशले आफूलाई अर्थको प्राधिकार घोषणा गरेर अरु सबै प्रयत्नलाई खारेज गरिदिने थियो ।

पुँजीवादले किनारामा धकेलेको वर्ग, वर्णव्यवस्था एवं अन्यायी सामाजिक संरचनाले बहिष्करणमा पारेका समुदायले स्थापित साहित्यको पुनर्पठन गर्छन् । माक्र्स हुन् वा लक्ष्मीप्रसाद देवकोटा, शेक्सपियर हुन् वा गोर्की, बाल्जाक हुन् वा बीपी कोइराला, यी सबैलाई पढ्ने र अर्थका नयाँ पत्र उक्काउने अधिकार खोज्छन् । नेपालमा भानुभक्तको बधुशिक्षा एवं पृथ्वीनारायण शाहको दिव्योपदेशको पुनर्पठनलाई निस्तेज पार्न खोजिन्छ । त्यसैले प्रतिरोध जारी छ ।

आश्रयमा हुनेहरु हो, पढ

कैदखानामा हुनेहरु हो, पढ

भान्साकी गृहणी, पढ

साठी वर्षेहरु हो, पढ

तिमीहरु जो बेघर छौ, पाठशाला खोज

भोको मान्छे, किताब समाऊ

त्यो तिम्रो हतियार हो

–बर्तोल्त ब्रेख्त 

प्रकाशित: आश्विन ३०, २०७५