मेरो दसैँ–इच्छा

- दयाहाङ राई

दसैँमा म टीका लगाउँदिनँ  । तर, दसैँ मेरो इच्छाको चाड हो ।

शरद ऋतुको औँला समातेर दसैँले पाइला टेक्छ हाम्रो आँगनमा । घमाइलो मौसमको चाड दसैँ । टीका जमरा लगाउने, आशीष लिने–दिने, मीठो–मसिनो खाने पर्व । नेपाली पात्रोको लामो छुट्टी । गाउँघरतिर खेतीकिसानीको छुट्टी । वर्षायामको बिदाइ ।

दसैँलाई जसरी विभिन्न किंवदन्ती र मिथक, धार्मिक–सांस्कृतिक हिसाबले व्याख्या–विश्लेषण गरिन्छ, त्यसरी दसैँ मनाउने तरिकामा पनि विविधता छ । खानेपिउने शैली आ–आफ्नै छन् । कसैले रातो टीका लगाउँछन्, कसैले सेतो, कसैले चन्दन । उमेर र समय सँगसँगै सबैले भिन्नाभिन्नै रङ र स्वाद लिँदा हुन् । मेरा पनि अनेक भोगाइ, रङ र स्वाद मिसिएका छन् ।

                                                                                              ---

बुबाले दसैँ टीका बहिष्कार गर्नुभयो । तर, आजको दिनसम्म मैले रातो, सेतो अथवा चन्दन लगाएर दसैँ मनाएको छु । काठमाडौँ आएर नाटक खेल्न थालेपछि नाट्यकर्मीहरुमा सामूहिक दसैँ मनाउने चलन थियो । गुरुकुलमा कोजाग्रत पूर्णिमाको दिन सबै भेला भएर अग्रजबाट टीका थापिन्थ्यो र सामूहिक खाना पनि हुन्थ्यो । म त्यहाँ सामेल भए पनि टीका लगाउँदिनथेँ ।

मण्डला नाटक घर बनाउने योजना गर्‍यौँ । साथीहरुले भने– ‘गुरुकुल नरहे पनि दसैँ माहोल बनाऔँ ।’ हामीले पनि त्यसैलाई निरन्तरता दियौँ । मैले टीकाचाहिँ लगाएको थिइनँ । तर, सुनील पोखरेल दाइले ‘ लगा, म लगाइदिन्छु’ भनेर कर गरेको गर्‍यै गरेपछि मलाई पनि कसोकसो इच्छा जागेर आयो । मैले काठमाडौँ आएर दोस्रो पटक टीका लगाएँ ।

पहिलो पटक काठमाडौँ आएकै साल बोजुको हातबाट निधार रंगाएको थिएँ । काकाले भन्नुभो, ‘बोजुको हातबाट टीका थापेर आशीर्वाद माग ।’ सबै चाडपर्वले छुट्टै ऊर्जा दिन्छ भनेर नै पछिल्लो समय हामीले हरेक वर्ष छुट्टाछुट्टै चाडपर्व मनाउने र शुभकामना आदानप्रदान गर्न थाल्यौँ ।

पहिलोपल्ट ०५८ को दसैँताका आइपुगेको हुँ काठमाडौँ । काठमाडौँ हेर्दा–घुम्दा नै दसैँ आइहाल्यो । त्यतिबेला दसैँमा काठमाडौँ बस्नु भनेको नालायक हुनुजस्तो लाग्थ्यो । किनकि, लामो छुट्टीमा सबै घर फर्किन्थे । म भने फर्कन सकिनँ । मलाई काठमाडौँ चिन्न–बुझ्न पुगेकै थिएन । कहीँ जाने मन पनि खासै थिएन । म काठमाडौँ बस्दा परिवारविहीन पनि हुन्नथेँ । बोजु, काका–काकी, फुपूहरु, दाइहरु सबै हुनुहुन्थ्यो । तापनि, काठमाडौँ शून्य नै लाग्यो, त्यो साल । तर, १० वर्षपछि मैले बोजुको हातबाट टीका थापेँ । अर्को साल पनि म काठमाडौँ नै बसेँ । पाँच वर्षपछि मात्र भोजपुर फर्किएँ ।

ती पाँच वर्षमा काठमाडौँको दसैँ सुनसान लागेको थिएन । सहरभरि मान्छे नै मान्छे देखिन्थे । देशमा द्वन्द्व चुलिएको थियो । गाउँघरमा छाएको युद्धको त्रासले काठमाडौँ बाक्लिँदो थियो । सायद तिनै मान्छेहरुमा म पनि एक अंश भएँ हुँला । मलाई गाउँ गएपछि काठमाडौँ फर्किने बलियो बहाना थिएन । ‘के काम गरेछस् ?’ को उत्तर थिएन मसँग । बिनाउत्तर कसरी फर्केर आउने ? नढाँटी भन्नुपर्दा– गाउँ फर्कन खर्चको जोहो पनि गर्न सकेको थिइनँ ।

काठमाडौँमा आफैँलाई खोजी हिँड्दा दाजुहरु राजन मुकारुङ, उपेन्द्र सुब्बा, साथीहरु विराट किराँती, राजेश चाम्लिङ, खुक्सङ खम्बु, भोगेन्द्र लिङ्देनहरुलाई भेटेँ । उनीहरु पनि दसैँमा टीका लगाउँदैनथे । मैले साथी पाएँ, सजिलो भयो । 

दाइहरु कवि । सबैजसो साथीहरु कविता लेख्ने । म नाटक खेल्थेँ, सिक्थेँ । कविता पनि लेख्थेँ, तर देखाउन सक्दिनथेँ । आफ्नो कविता कमजोर लाग्थ्यो । सबैको कविता सुन्ने, पढ्ने, छलफल चलाउने गर्न थाल्यौँ । दसैँको लामो छुट्टीमा सबै जना राजन दाइको कोठामा भेला भएर छलफल गर्न थाल्यौँ । छलफलले जन्मायो– ‘किराँत लेखक संघ’ । हामीले आफैँलाई चिनाउन थाल्यौँ । माघे–संक्रान्ति (माघी), साकेलाजस्ता कार्यक्रममा छलफल गर्न थाल्यौँ ।

दोस्रो जनआन्दोलन सुरु भयो । हामी त्यसमा सक्रिय रह्यौँ । ०६३ मा ‘लोकतन्त्र’ आयो । त्यो सालको दसैँमा गाउँ फर्किएँ । त्यतिबेलासम्म मैले दर्जनजति नाटक, केही टेलिसिरियल र अनागरिक सिनेमा खेलिसकेको थिएँ । र, काठमाडौँमा आफ्नो पहिचानको रमरम स्वाद पनि भेट्टाउन थालेको थिएँ । घरबाट काठमाडौँ फर्कने बहाना पनि मिलेको थियो ।

संगीतकार दाजु पारस मुकारुङ, गायक दाजु भीषण मुकारुङ र भाउजू सुमित्रासँगै गाउँ लागियो । पाख्रिबासदेखि हिँडेर भोजपुर पुगियो । त्यतिबेला भोजपुरमा गाडी पुगेको थिएन । बाटो मात्र खनिँदै थियो ।

पाँच वर्षमा गाउँ पुग्दा धेरै परिवर्तन देखिए । साना भाइबहिनीहरु मैले नचिन्ने भइसकेछन् । दसैँमा टीका नलगाउने घर त हाम्रो मात्र रहेछ । बुबाहरुसँगै दसैँ बहिष्कार गरेकाहरुले यो सालदेखि टीका लगाउने भनेर जमरा राखेछन्, लोकतन्त्र आएको खुसीयालीमा । तर, मेरो बुबाले टीका नलगाउनुका थुप्रै नयाँ–पुराना तर्क दिइरहनुभयो । बुबालाई मैले भनेँ, ‘ठीकै छ, त्यो त उहाँहरुको इच्छा ।’

अहिले पनि गाउँमा हामीबाहेक धेरैले टीका लगाउँछन् । म दसैँमा घर पनि गएको छैन । बरु बुबा बित्नुभएपछि प्रत्येक वर्ष माङथाम्पुङ (शिर उभ्याउने पूजा) गर्न माघ या फागुनमा घर जाने गर्छु ।

हरेक चाड केटाकेटीमै रमाइलो लाग्ने रहेछ । हाम्रो उमेरकाहरुलाई बाल्यकालीन दसैँ सम्झेर बडो आनन्द लाग्दो हो । जस्तो, ०४५/०४६ तिरको दसैँ सम्झन्छु । ०४५ को भुइँचालोमा सबैभन्दा धेरै चिन्ता मलाई दिवा बाजे (बाजेको बाबा) को लागेको थियो, जसले टीका लगाएर चार आना/आठ आना र कुरौनी दिनुभएको थियो । सबै गाउँलेका लागि रमिता हुने गरी उहाँको आँगनमा मार हानिन्थ्यो । गाउँका बलियाहरुले सुँगुर छ्याप्पै छिनाउँथे । एउटा खुट्टा र हातमा रगत लगाएर आँगनदेखि एक खुट्टी उफ्रिँदै घरको मूलढोकाछेउ भित्तामा झ्याप्प–झ्याप्प निशानी लगाउँथे । यो मलाई रमाइलो लाग्थ्यो । त्यो मेरो पहिलो भुइँचालो थियो । केही नदेखे पनि आवाज मात्र सुनेँ । आमाजीले काखीमा च्याप्नुभएको थियो मलाई । हामी भाग्यौँ । हाम्रो घर केही भएको थिएन । तर, वरिपरिका घरहरु भत्किए रे । अनि, मलाई लाग्यो– ‘कान नसुन्ने दिवा बाजेले भुइँचालोको हल्ला सुन्नुभएन होला । उहाँलाई केही भयो कि !’ पछि थाहा पायौँ– परिवारका सबै सुरक्षित रहेछौँ ।

अर्को अनौठो घटना देखेँ ०४६ मा । एक दिन अबीर दलेका राता मान्छेहरुले रातै झन्डा बोकेर जिन्दावाद–मुर्दावाद भन्दै वारिपारि गाउँ थर्काउन थाले । आमाजीलाई सोधेँ– ‘के भएको हो ?’ उहाँले भन्नुभयो– ‘बहुदल आको ।’ भुइँचालो आउँदा पनि, बहुदल आउँदा पनि बुबा हामीसँग हुनुहुन्नथ्यो । भुइँचालो आएको साँझ आइपुग्नु भएको बुबा बहुदल आएको धेरै दिनसम्म देखा पर्नुभएन । मलाई भने डर लागिरह्यो । भुइँचालो बिहानै आएको थियो । मैले केही देखिनँ । बहुदल त दिनमै आएको थियो । त्यति धेरै मानिस कराएका थिए । म भित्रभित्रै डराएको थिएँ । भुइँचालो ठूलो कि बहुदल ?

राता अनुहारका मान्छेहरुले बहुदल खेदिरहेका होलान्, त्यही भएर अहिलेसम्म भुइँचालो जसरी हाम्रोसम्म नआइपुगेको होला अनि मेरो बुबाले पनि उतै खेद्नुभयो होला । सोचेँ, सानो छोरो डराउला भनेर बुबा घर आउनुभएको छैन । तर, पछि पो थाहा भो, बहुदल होइन, निर्दलचाहिँ खेदेका रहेछन् । आमाजीले भन्नुहुन्थ्यो– ‘तेरो बुबा पनि बहुदलमै छ ।’ मलाई ढुक्क लाग्यो । अर्को कुरामा पनि पीर थियो । भुइँचालोपछि धेरैले चाड मनाउन पाएनन् रे । बहुदलले पनि त्यस्तै आतंक ल्याउला । पछि थाहा भो– भुइँचालो भनेको प्राकृतिक उथलपुथल हो । बहुदल भनेको सामाजिक र राजनीतिक उथलपुथल हो । र, यो रोकेर पनि रोक्न सकिन्न ।

भुइँचालो आयो, बहुदल पनि आयो । हाम्रो दिवा बाजे पनि बित्नुभो । दिवा बाजे बित्नुभएको साल हामीले दसैँ मनाएनौँ, मार हानेनौँ । दिवा बाजेको घरमा हामी सर्‍यौँ । सानो घर छाडेर उहाँले बनाउनुभएको हाम्रो ठूलो मूल घरमा सर्‍यौँ, जहाँ म हुर्किएँ । अहिले पनि मेरो घर त्यही हो । अर्को साल मेरो बुबाले मार हान्नुभो । दसैँ मनाउनुभो । तर, सेतो टीका लगाउनुभो । र, भन्नुभो– ‘झन् अर्को सालदेखि हामी दसैँ मनाउँदैनौँ । यो हाम्रो चाड पनि होइन ।’ बाजे पनि बित्नुभो । अर्को सालदेखि छाड्यौँ । मलाई अलि खल्लो लाग्यो । गाउँघरमा सबैभन्दा रमाइलो भनेकै दसैँ हो । खान मीठो पाइने, लाउन राम्रो पाइने । तर, मैले केही भन्न सकिनँ ।

त्यही साल जेपी दाइ (भान्जे दाइ) हाम्रो घरमा आउनुभो । उहाँ सदरमुकाम भोजपुर बस्नुहुन्थ्यो । सदरमुकाम जाँदा हामी प्राय: उहाँकैमा बस्थ्यौँ । उहाँ कहिलेकाहीँ हाम्रोमा आएर बस्नुहुन्थ्यो, बुबाको मिल्ने साथी पनि हुनुहुन्थ्यो । चुरोटको पारखी दाइका दाँत पनि थोरै मात्र बाँकी थिए ।

बाँकी पनि काला थिए । अनुहारको रोगनमा उत्ति गोरो होइन । बुबासँग ठूलठूलो स्वरमा कुरा गरिरहनुभएको थियो । मलाई याद भएको यति हो । बुबाले भन्नुभो– ‘भान्जा, तपाईंले नै हो, म कम्युनिस्ट बन्छु भन्दा जबर्जस्ती कांग्रेसको रसिद काटेर पार्टी फेर भन्ने । यस्तो त भएन भान्जा ।’ जेपी दाइ भन्दै थिए– ‘लु, बन न त । कम्युनिस्ट बन्न कसले छेकेको छ ? तिमीले सम्पत्ति पनि बाँड्नुपर्छ । कम्युनिस्टले यसै भनेको छ ।’

अरु त केके बोले, मैले बुझिनँ । तर, सम्पत्ति बाँड्नुपर्छ भन्दा दिवा बाजेको खाट–बाकसको माया लागेर आयो । किनकि, मलाई खुब मन परेको त्यो बाकसभित्र सामान राखिन्थ्यो । त्यसमाथि मान्छे सुत्न पनि मिल्थ्यो । त्योचाहिँ कसैले नलगिदिए हुने भन्ने लागेको थियो ।

बुबाले रसिद काट्नुभो । राष्ट्रिय जनमुक्ति पार्टीको गाउँ–समाजमा राम्रै लहर चल्यो । त्यो पार्टीभित्र पनि चर्चा थियो, दसैँ मनाउनु हुन्न । त्यसपछि हाम्रो वरपर दसैँ मनाउन छाडियो । तर, हामी केटाकेटीले टीका मात्रै लगाउन छाड्यौँ । खानपिन, घुमघाम र रमाइलो भने उस्तै रह्यो ।

दसैँमा घरभित्र टीका लगाइँदैनथ्यो । केटाकेटी मनलाई पनि बिस्तारै टीका बानी परिसकेको थियो । गाउँघरमा अर्को किसिमको आलोचना हुन थाल्यो, ‘पैसा नभएपछि टीकारामले कसरी दसैँ मनाओस् त ! यो बहानाबाजी मात्र हो ।’ यो सुन्दा मेरो मन कुटुकुटु खान्थ्यो । मावली बाजेले बुबाको नाम ‘टीकाराम’ राखिदिनुभएको रे । चैतेदसैँको दिन जन्मिएकाले यो नाम राखिएको रे ।

गाउँ–छिमेकका अनेक कुराले बिझाएपछि मैले दसैँ नमनाउनुका तर्क खोज्न थालेँ । शास्त्र, किंवदन्ती र विभेदका कुरा सुनियो, पढियो, बुझियो । तर्कको मात्रा ममा पनि बढ्दै गयो । दसैँ मेरा लागि सामान्य बन्दै गयो । तर, एउटा सत्य कुराचाहिँ बिझ्दै गयो । मेरो बुबा पैसा नभएको टीकारामचाहिँ पक्कै हो । किनभने, हाम्रो परिवारमा कसैको पनि तलब र पेन्सनै थिएन ।

तन्नेरी दसैँ भलिबल र फुटबलमै बित्यो । टीकाविरुद्ध म कट्टरै भइसकेको थिएँ । मेरो कट्टरतालाई तागत थप्ने एउटा घटना भयो, ९ कक्षामा छँदा । घटना यस्तो थियो– बुबासँग गफिन आइपुगेका थिए, ‘खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा’ का गोपाल खम्बु । उहाँको कुरा लुकेर सुनेँ । थाहा छैन, के कुराले प्रभाव पर्‍यो ! उहाँले दिएका पर्चा स्कुलको कालोपाटीमा टाँसिदिएँ । स्कुलमा हंगामा भयो । तर, मलाई चिनेनन् । मैले पनि चिनाइनँ । मलाई स्वाद लाग्यो । मन क्रान्तिकारी भयो ।

कलेज पढ्दा म भन्थेँ– ‘टीका लगाउँदिनँ ।’ मलाई अप्ठेरो प्रश्न गर्थे– ‘तँ क्रिस्चियन होस् ?’ म ठाडो जवाफ दिन्थेँ– ‘म किराँत हुँ । किराँतहरुले दसैँ मनाउादैनन् । हाम्रो छुट्टै चाड हुन्छ ।’

धेरै तर्क गर्न मन लाग्दैनथ्यो । कतिले बुझ्थे, कतिले बुझ्नै चाहँदैनथे । बेकारको बहसमा फस्न चाहन्नथेँ । मलाई दसैँबारे धेरै प्रश्न तेस्र्याउँँथे । मसँग उत्तर सीमित थिए । आफ्नैबारे कुरा बुझाउन नसक्दा दिक्क पनि लाग्थ्यो । तर, त्यहीँबाट आफूलाई खोज्न थालेँ । त्यतिबेलैदेखि मलाई अलिअलि भए पनि पढ्ने आदत बसेको हो ।

दसैँ मनाउनु र टीका लगाउनुमा जति तर्क होलान्, नमनाउनु र नलगाउनुमा पनि त्यति नै तर्क होलान् ।

तर, मेरा लागि अब दसैँ तर्क–वितर्कभन्दा पनि इच्छा हो ।

प्रकाशित: आश्विन ३०, २०७५