स्वप्निल स्मृतिको कविता : भगवान्

- स्वप्निल स्मृति

मेरो स्फूर्त, चञ्चल, हँसिलो छोरा

जब स्कुलबाट फर्किरहेको हुन्छ,

यति थकित, उदास र खत्र्याकखुत्रुक हुन्छ

पहाड हो कि स्कुलब्याग बिसाउँदै बिस्तारामा

‘पापा, खोइ हाम्रो भगवान् ?’ सोध्छ,

मानौँ, ऊ तेत्तीस करोड पराया भगवान् बोक्न अभिशप्त छ ।

 

जब ऊ दुई टुक्रा ब्रेडमा भगवानको पोज

भद्दा टीकाझैँ टँसाउँछ र टोक्न थाल्छ

कहिले फ्राई गरेर बासी भातसँग

लुइँचेका चल्ला कराएँझैँ च्याक्च्याक् चपाउँछ

कहिले बोइल गरेर

दुई हातमा खेलाउँछ, केलाउँछ र नांगो बनाउँछ

भोक न हो

भोक लागेपछि मान्छेले भगवान् पनि खान्छ

कि, उसले क्वाप्प खाएको मात्र के हुन्छ

तातो भगवानले

उसको सानो मुखबाट अन्तिम श्वास फेर्छ ।

 

जब अघाउँछ छोरा होमवर्क गर्न थाल्छ–

प्रश्न हिन्दु, क्रिस्चियन, मुस्लिम, बौद्ध

कुनै पनि धर्मधारी हुन सक्छ

कि ऊ आदिवासी जन्म प्रायश्चित गर्न

स्कुल होइन चर्च, मन्दिर, मस्जिद, गुम्बा गइरहेछ ।

हे, भगवान् !

भगवानको नाम बिर्संदा उसलाई

यसरी बलि चढाइन्छ क्लासमा

कुखुरा, भ्यागुता, बोका बनाइन्छ खासमा

ब्रह्मा, विष्णु, शिव,

काली, लक्ष्मी, सरस्वती

जिजस, अल्लाह, बुद्ध...

लेख्दालेख्दै सोधी पनि रहेछ—

‘पापा, किन प्रश्नचिह्न उल्टेजस्तो छ गणेशको नाक ?’

साईबाबा, स्वामी प्रपान्नाचार्य, आत्मानन्द, माओ

अन्तिममा थप्छ– क्रिस्चियानो रोनाल्डो

के सम्झेर मुसुक्क हाँस्छ

कि ऊ पनि भगवान् नै हो ‘सोसल म्याम’ को ।

 

‘पापा, हाम्रोचाहिँ भगवान् खोइ हो ?’

जब होमवर्क सकिन्छ, छोरा स्फूर्त, चञ्चल, हँसिलो हुन्छ

हाम्रो भगवान् छैन भन्छु,

दैत्यहरुको भिडियो गेममा आक्रमण गरिरहेको ऊ

रोकिन्छ अचानक, ‘उसो भा हामी राक्षस हो ?’

मानिस हो भन्छु,

जब दैत्यहरुमाथि विजयी हुन्छ, खुसीले उफ्रिन्छ–

‘याऽऽऽहुऽऽऽ म भगवान् हो !’

 

होइन, हाम्रो भगवान् अण्डा हो

अब म उसलाई अण्डा र टुहुरो बालकको लोककथा सुनाउँछु...।

प्रकाशित: आश्विन ३०, २०७५