सरिता तिवारीको कविता : एकछिनलाई

- सरिता तिवारी

एकछिनलाई सोच्छु

म छैन

र, दुनियाँमा खाली छ एक स्पेस

 

म छैन

र मेरा आकांक्षाहरु छैनन्

 

म छैन

मेरा सपनाहरु छैनन्

 

लक्ष्यजस्तो केही गरुँगो चीज बोकेर

डहर–डहर हिँड्ने अटेसमटेस झोला

चूपचाप यो भद्दा ज्यान घिसारेर

हिँडाइरहने

निरीह जुत्ता

 

दृश्यहरुबाट सयौँ सत्य लुकाएर

जसरी दगुर्छ पानीको सतहमा जादूगर

त्यसैगरी दुगुर्ने कपटी मेरा यी आँखा

र, यी आँखाभन्दा हजार गुणा छली

चस्मा

 

केही छैनन् !

 

दु:ख मेरो भागको

र, मसँगै बाँचेको मेरो भोगको घृणा

मेरो अंशको प्रेम भनूँ वा प्रेमको गहिरो भ्रम

तथाकथित ज्ञानको एक डंगुुर अहंकार

र, त्योभन्दा डरलाग्दो अज्ञानको ब्रह्माण्ड !

 

यो आक्रोश

यी प्रश्न

यी उत्तरका अन्तहीन सुरुङ

 

केही छैनन् !

 

एकछिनलाई सोच्छु

यी शब्दहरु

जो अलिबेरपछि बन्ने छन् कविता, छैनन् !

यी भावहरु

जो कसैले पढ्नेछ

र, गर्नेछ चर्को विरोध वा समर्थन, छैनन् !

 

जुलुसमा कुदिहिँड्ने

यी पाइतालाका चाप

नारामा मच्चिँदै हल्लने

एक जोर हातको भार

चोक, चौराह

जहीँकहीँ उचालिने एउटा आवाजको कम्प

कतै पस्छ

कुनै अँध्यारो शून्यमा

जहाँ रहन्न कुनै अनुमान,

कुनै कल्पनाको अस्तित्व !

 

म छैन

र, छैनन्

मुठी उज्याउँदै गर्नुपर्ने लडाइँ

नाथ्री फुट्ने गरी जुध्नुपर्ने कटक

म छैन

र, छ मात्र एउटा निरवता

छ एउटा अपरिचय

एउटा अज्ञात !

 

सोच्छु

कत्रो अर्थ छ कोही हुनुमा ?

कत्रो अर्थ छ कोही नहुनुमा ?

 

म छैन

न भोर छ, न साँझ

न प्राप्ति छ, न शोक

न पेच छ, न प्रतिशोध

न तिर्खा छ, न तृप्ति

न बाटो छ, न छ पुग्ने ठेगाना !

 

केही, केही छैनन् !

 

म छैन

र, छैनन् बलात् कसैले चिथोरेर छोडेका गुप्त चोट

छैनन् मेरो नाबालक जाँघभरि शिलालेखझैँ लेखिएका

रगत र वीर्यका अमिट लिपि

छैनन् मेरा कलिला स्तनमाथि झप्टी मार्ने

ती कामुक हातका याद

 

ओह !

म छैन

र, छैन सासभरि, आत्माभरि, नशाभित्र भित्र खाादिएको

यति धेरै गर्मी !

यति धेरै उत्ताप !

यति धेरै जलन !

यति धेरै छट्पटी !

 

म छु

र, मेरा लड्ने कारणहरु छन्

म छु

र, बााच्ने एजेन्डाहरु छन्

 

एकछिनलाई

जब सोच्छु, म छैन

कति धेरै कुरासाग ठोक्किएर फर्किन्छु

किनारमा !

एकाएक जीवनको यो किनार

बहुत प्यारो लाग्छ ।

प्रकाशित: आश्विन ३०, २०७५