विनोदविक्रम केसीको कविता : बलात्कृतको राष्ट्रिय गीत

- विनोदविक्रम केसी

अब म चौकी हान्छु

ब्यारेक हान्छु

अदालत हान्छु

संसद् हान्छु

सिंहदरबार हान्छु

मन्दिर हान्छु ।

 

पृथ्वीको शपथ खान्छु

र, भिड्छु सिंगो पृथ्वीसँग...

वीरहरु हो !

आ–आफ्ना अस्त्रसहित आओ मैदानमा

म (त्यो आहुति भन्ने कविले भनेझैँ)

इतिहासको सबैभन्दा लामो दु:खको हतियारले सज्जित

ललकारिरहेकी छु युद्धार्थ 

 

जसले भन्यो, मलाई नर्कको द्वार

त्यसको दैलोमा मिल्काइदिन्छु शास्त्रका बिष्टा

जसले तोक्यो, लाज मेरो गहना

त्यसको निर्लज्जताउपर चलाउँछु

आक्रोशको सिरुपाते खुकुरी

शृंगारका नाममा

आँखाका कोसमा लगाउँछु आगोको लप्का

मलाई चन्द्रमा र फूल देख्ने

तर मान्छे नदेख्ने

क्रूर पारखीका नजरमा बर्साउँछु कोर्रा

मेरा स्तन र पुट्ठामाथि गीत रचेर/गाएर कहिल्यै नअघाउने

रसिक मण्डलीको अखडामा बोल्छु धावा

भत्काइदिन्छु

मेरो केशराशिको बयानमा फजुल विम्बहरुले

खडा गरेका दासताको स्थापत्य

पाउजुको छमछम

र चुराको छनछनमा अलमल्याएर

खोसिए मेरा खुट्टा, हात र मनका ध्वनिहरु

अब बत्तिएर हिँड्छु जुलुसमा,

वेगले उठाउँछु मुठी

र, बोल्छु कडा–कडा नाराहरु

 

बाइबल, कुरान, चिथ्रा पुराण

जहाँ–जहाँ छु म अपमानित

(कहाँ–कहाँ छैन म अपमानित ?)

पाना–पाना, हरफ–हरफ, शब्द–शब्द, अक्षर–अक्षरसँग

जुझ्छु अब

कसैलाई बाँकी राख्दिनँ

बाँकी राख्दिनँ कसैलाई

 

दाइ जन्मेको दिन

ब्रह्माण्डले हर्ष बढाइँ गर्‍यो

म जन्मेको दिन बाउ उदास भएर बसिरहे

भाइको हातमा थमाइयो धर्तीको लालपुर्जा

मेरो भागमा परेन क्यै,

खोक्रो त्यो पनि आधा आकाशसिवाय

प्रेमीले मलाई हेपेर हिमाल र खोँच भन्यो

र, पतिको अँगालोमा म चकनाचूर भएँ

 

गल्छेडो, चौर, सडक, चोक, बजार

हिमाल, पहाड, मधेस

नदी, बगर

दिन, रात, साँझ, बिहान

मेरो शरीर हासिल गर्ने लालसाहरु

सतत सलबलाइरहन्छन्

 

सर्वत्र लहराइरहेको छ पुरुष ध्वजा

अब

मेरो खालको राष्ट्रिय गीत गाउँछु

युद्ध गीत गाउँछु एउटा

 

पुराना बाउ, दाइ, प्रेमी, पति र छोराहरु हो !

पहिलो हाँक तिमीहरुलाई दिन्छु म ।

 

प्रकाशित: आश्विन ३०, २०७५