राजु स्याङ्तानको कविता : घर रंग्याउने मान्छेको मनोवाद

- राजु स्याङ्तान

ए अग्लो न अग्लो घर !

तिमी अहिले ठ्याक्कै

मजस्तै देखिएका छौ

जीर्ण–जीर्ण

फोहोरी

र, रित्तो–रित्तो

 

तिम्रो निधारमा पनि मेरोजस्तै

दु:खका गहिरा धर्साहरु देख्छु

तिम्रो कुममा पनि मेरोजस्तै

अभावको गाढा निशानी देख्छु

 

ज्यामी बूढाले लगाउन बिर्सेछन्

तिम्रो निधारमा

एक मुठी सिमेन्टी

तिमी त अहिले मजस्तै

फोहोरी देखिएका छौ

 

कुल्ली दाइले बिर्सेछन्

एक ज्यावल मसला राख्न

तिम्रो छातीमा

तिमी त अहिले मजस्तै

ख्याउटे देखिएका छौ

ज्यामी दिदीले बिर्सिछिन्

खाक्सी लगाउन 

तिम्रो अनुहारमा

तिमी त अहिले मजस्तै

रुन्चे देखिएका छौ

 

त्यो सिसाको झ्यालनेर

शीतले भिजेर लत्रिरहेको अधकल्चो रोटी

तिम्रो मालिक टहल्ने कौसीमा

भुइँभरि पोखिएका

भुटेका मकै र गहुँका दाना

त्यो भित्ताभरि कोरिएका बेढंगे अक्षरहरु

सप्पै–सप्पैले तिमीलाई

फोहोरी देखाएका छन्

खण्डहर तुल्याएका छन्

ठ्याक्कै मजस्तै

 

दुई इँटाको बीचमा छाडिएको

बेनामे चिट्ठी

त्यो फलामको चिसो रडमा

झुन्डिरहेको मैलो कमिज

त्यही कमिजको खल्तीमा

धमिलो तस्बिर

तस्बिरमा– बाटिएका दुई चुल्ठी

पाँचौँ तलामाथि छाडिएको

एउटा म्याजिक चप्पल

रगत र सिमेन्टीको टाटा बोकेर

ग्राउन्ड फ्लोरमा पल्टिरहेको

अर्को म्याजिक चप्पल

त्यो खस्रो हत्केलाको निशानी

यी सप्पै–सप्पैले तिमीलाई

कुरुप बनाएका छन्

ठ्याक्कै मजस्तै

 

यो खोस्टाजस्तो एकबारको जुनी

अब तिम्रा लागि दाउमा राखेर

अग्लो बाँसको भर्‍याङ चढ्छु

इन्द्रेणी रङहरु घोलेर

मायाले सुम्सुम्याउँछु

अनि, बनाउँछु तिमीलाई

यो सहरकै सबभन्दा सुन्दर घर

 

जब तिमी चम्किँदै जानेछौ

म फिका हुँदै जानेछु

जब तिमी रंगीन हुँदै जानेछौ

म रंगहीन हुँदै जानेछु

जब तिमी पूरै चम्किनेछौ

त्यसपछि तिम्रो र मेरो

सदाका लागि विछोड हुनेछ

 

त्यसपछि म

आफूजस्तै खण्डहर घर खोज्दै

भौँतारिरहनेछु

तिम्रै सहरमा ।

प्रकाशित: आश्विन ३०, २०७५