मनको मैलो धुने पाठशाला

- खगेन्द्र संग्रौला

समय खराब छ । प्वाक्क भन्न डर लाग्छ, सनातनी शासक महलमा अखण्ड भन्दै नित्य जपिने हाम्रो नेपाल दुई फ्याकमा चिरा परेको छ । यी चिरा रक्ताम्मे छन् । यी चिराको छिद्रबाट हर्दम दारुण चीत्कार प्रकट भइरहन्छ । यो चीत्कारको स्रष्टा र पीडक को हो ? र, को हो यो चीत्कारको सिकार र भोक्ता ? लेख्नलाई निकै नै जोखिमपूर्ण विषय हो यो । इतिहासको यस विद्रुप घडीमा जीवनका नाकानाकामा सत्ताको सुस्वादु चारो ज्युनार गरेका भिजिलान्तेहरु तैथान छन् । थाहा छ, जब सिंहदरबारको शासक रिसाउँछ, वागी कलमतिर उसको तरबार सोझिन्छ । त्यसैले त सच्चा लेखनधर्म सजिलो छैन । तर, साहसले होस् वा कायरताले, लेखकले यो वा त्यो रोज्नैपर्छ । रोज्नलाई विकल्प तीनवटा छन् । कि शासक महलको विलासी बुर्जामा बसेर ‘अखण्ड भजन’ लेख । कि शासित छाप्रोको बलेसीमुनि उभिएर उष्ण विरोध लेख । कि त लेखनीबाटै फुस्स मर । आफ्ना लागि र अरुका लागि जीवनको न्यूनाधिक उपयोगिता रहुन्जेल जसले मृत्यु रोज्छ, म त भन्छु– त्यो आफ्नै जीवनको हत्यारो हो । एकबारको जुनीमा लोकबोलीमा आफ्नै हत्यारो नभनिन र लोकदृष्टिमा काँतरको महलमा नदरिन म यहाँ यो ‘अखण्ड भजन’ को क्रूर कन्तरकथा लेख्ने दुस्साहस गर्छु ।

यो राष्ट्रवादको कथा हो, उही रक्तरञ्जित राष्ट्रवादको । असहमतिको किञ्चित मुलायम भाषामा भनूँ भने मौसमी राष्ट्रवादको कथा । विरोधको किञ्चित चर्को भाषामा भनूँ भने नश्लीय राष्ट्रवादको कथा । विडम्बनावश, यो मेरो पनि अंशियारी भएको कथा हो । मानवद्वेषी परम्पराले बाल्यकालमा पत्तै नपाई मेरो अबोध मस्तिष्कमा थोपरेको कथा । कुमलकोटीले कीरालाई जस्तै गाँजेर रुढ र क्रूर संस्कारमा ढालिएको कथा । र, जीवन–संग्राममा शनै:शनै भण्डाफोरित भएर शून्यमा शून्यसरी विलीन हुँदै गएको मेरो अन्यद्वेषी राष्ट्रवादको कथा । त्यस्तो कथा, जो अलिकता पीडा र अलिकता आनन्दमिश्रित छ ।

यो कथा म संस्मरणको आफ्नै लयमा भन्छु ।

म खासै प्रतिभाशाली मनुवा होइन । न त मैले केवल आफ्नै पौरखले आफ्नो भाग्यको गोरेटो कोरेको हुँ । त्यसो त, म लद्दु नै मनुवा पनि होइन । लाग्छ, म औसत मनुवाभन्दा एक सुतामाथिको हुँ । तथापि, जीवनको जाली नाटकमा म प्रतिभाशाली ठहरिएँ । र, रैथाने दामलेहरुभन्दा पृथक र विशिष्ट । अनि, आफ्नो भाग्यको गोरेटो आफैँ कोर्ने कत्ति न पौरखी पनि । तर, जीवनको अकथित र दमित यथार्थ अर्कै छ । मलाई जन्मजात दुई चीज हात लागे । सत्ताको वरदान र भाषाको अस्त्र । मेरो भेगमा मेरै जात र वंशका जन्मजात भाग्यमानीहरुको एकछत्र राज थियो । र, त्यो राजको कहर काट्ने अभागीहरु थिए– थुप्रा राई–लिम्बू, थोरै तामाङ, गुरुङ, मगर र फाटफुट कामी, दमाई, सार्की । अनि थिए, तल तमोर नदीको उत्ताल भेलमा समेत नाउ खियाउने एकाध माझीहरु ।

सुखद संयोगवश भनूँ, मैले इस्कुल जाने उमेर टेक्दा गाउँमा विद्यालय खुल्यो । आधुनिक भनिने र घोटीघोटी अंग्रेजी गोटा माने पिलाइने इस्कुल । त्यो नवजात इस्कुलमा शासक खलकको म त यसै पनि हुने नै भएँ, शासितहरु पनि केही थिए । केही मतवाली जनजाति थिए, दलित केवल एकजना थियो । कक्षामा म सधैँ पहिलो हुन्थेँ । र, मित्र बाबुराम भट्टराईलाई झैँ फुक्र्याएर र फुर्किएर मेरा भुइँमा खुट्टा हुँदैनथे । त्यसैले म उपद्रयाहा थिएँ । कतिलाई म अनाहकमा गिज्याउँथे, कतिलाई म बित्थामा कुट्थेँ । तर, सधैँ पहिलो हुनाको बकसस्वरुप म पञ्चखत माफी पाउँथेँ । फेरि भनूँ, पहिलो हुनुको अर्थ म साँच्चि नै मेधावी थिएँ भन्नेचाहिँ किमार्थ होइन । हो, म मिहिनेती अवश्य थिएँ । तर, मजस्तै मिहिनेती अरु पनि त हुँदा हुन् । गाँठ्ठी कुरो– भाषा नै मेरो त्यो अस्त्र हो, जसले मलाई जुरुक्क उचालेर पहिलो बनाउँथ्यो । अंग्रेजीबाहेक पाठ्यपुस्तक सबै नेपालीमा थिए ।

तोतामैनागुलबकावलीका कथा नेपालीमा थिए । हनुमान चालिसा पनि सांकेतिक नेपालीमै थियो । अनि, सत्यनारायणको पूजाको कथा पनि नेपालीमै । रामायणमहाभारत पनि । हुनेखानेले नहुनेलाई ठग्ने जाली तमसुकहरु पनि नेपालीमै लेखिन्थे । मेरा बाको आनासुकी जोड्ने जोतिष विद्या पनि नेपालीमै थियो । अनि, मेरो मातृभाषा पनि नेपाली नै । बस्, ख्याख्या जरुरी छैन । म सहजै मातृभाषाको भर्‍याङ चढेर पहिलो हुन्थेँ । इतरभाषी जनजातिहरु भाषा नबुझेर फेल हुन्थे । दलितहरु दरिद्रताको कारण फेल हुन्थे ।

म नेपालीभाषी शासक गाउँको पढाइ छिचोलेर तमोर नदीपारि पढ्न गएँ । शासित इतरभाषी र गरिबहरु जम्मै वारि नै छुटे । म उच्च शिक्षा हासिल गर्न राजाको गाउँ काठमाडौँ आएँ । मेरा इतरभाषी र गरिब सहपाठीहरु मुखियाका चौपाया गोरु जोतिदिने दोपाया गोरु बन्न अभिशप्त भए । आखिर मेरो पुस्तामा पनि त त्यो भूगोलमा कवि आहुति र आख्यानकार उपेन्द्र सुब्बाहरु हुँदा हुन् । कहाँ हराए ती ? यथार्थ अत्यन्तै तिक्त छ । ती सब जीवनको जीवन्त प्रकाश देख्नै नपाई अन्याय र अभावको अन्धकारमा विलीन भए ।

विद्यालयमा कलिलै उमेरमा मेरा अबोध कानमा भ्रान्तिकारी घन्ट बजाइयो । त्यो घन्टको ध्वनिले भन्यो– यो हाम्रा पौरखी पुर्खाले कत्रा दु:खले आज्र्याको मुलुक हो । मलाई धेरै पछि थाहा भयो, यी पौरखीहरु निरंकुुश राजाका पुर्खा रहेछन् । जात, भाषा, वर्ण, वस्त्र र धर्मले ती स्वत: मेरा पनि पुर्खा ठहरिए । बालवयमा कपटकारी कोर्राले ठोकीकोठी मलाई भन्न लगाइयो– यो हाम्रा पौरखी पुर्खाले कत्रा दु:खले...। जसले निहुरीमुन्टी ‘न’ भएर भक्तिभावले यो तोत्र जप्यो, कठिन जीवनपथमा ऊ उँभो लाग्यो । जसले जप्न इन्कार गर्‍यो, उँभो लाग्नेहरुद्वारा कुल्चिइन ऊ श्रापित भयो । मैले जपेँ र उँभो लागेँ । मेरो जीवनको सफलताको रहस्य मुख्यत: यसै जपनामा निहित छ । जो असफल भए, ती यी पौरखी पुर्खाका सन्तति परेनन् । ती अन्य परे । ती नगण्य परे । ती परचक्री परे । ती आयातीत परे । ती भतुवा परे । तसर्थ, ती निम्नकोटिका परे । र, नै ती पिराहा सत्ताका दास बनाइन योग्य ठहरिए ।

                                                                                  ---

अनिश्चित जीवन–यात्रामा चल्दै र खेल्दै मैले २०२३ साल टेकेँ । तिनताक म आईए पढ्दै थिएँ, तेह्रथुमको आठराई चुहानडाँडामा । बिहारवासी सत्यदेवनारायण वर्मा हामीलाई अंग्रेजी पढाउँथे । सुटधारी ढ्याके ज्यान, चिल्लो कालो वर्ण, बाल कोराइ चिटिक्क, मान्छे काइदाका थिए ती, बडो प्रेमिल । तिनको मास्टरी कौशल पनि त्यति नै असल थियो । एकाध वर्ष पढाएर ती बिहारको बाटो लागे । अर्का सर थिए, राजविराजको तिलाठीका उमाकान्त झा । ती परे, निरस अर्थशास्त्रका मास्टर । तिनको निर्देशन र खटनमा अंग्रेजी मास्टर खोज्न म उनकै गाउँ तिलाठी गएँ । ज्यानले मधेसको धरती टेकेको र पर्यटकीय चक्षुले मधेसी जनजीवन नजिकबाट देखेको त्यो पहिलोचोटि थियो । म झासरकै घरमा ससम्मान पाहुनो भएँ । हप्ता दिन खोजी गर्दा एक जना अंग्रेजी एमए फेला परे । तिनको नाम के थियो, अहिले बिर्सें । ठूलै बाजी मारेझैँ गरी फुर्किंदै तिनलाई अघि लगाएर म कलेजतिर लागेँ । धरान पुग्नु के थियो, तिलाठीबासी सरलाई हनहनी ज्वरो आयो । ती नेपाली नबोल्ने, म मैथिली नजान्ने । हामीलाई अत्यावश्यक बात मार्न पनि समस्या पर्‍यो । कन्दै हैँ–हुइँको भाकामा हिन्दी बोलेर मैले भाव–सम्प्रेषणको गर्जो जेनतेन टारेँ । धरानबाट हामी तमोर नदीको किनारै–किनार हिँड्यौँ । साथमा भरिया छ । ऊ मेरो बात मार्ने साथी भएको छ । तमोरको उत्ताल वेगझैँ सरको ज्वरो झन् उर्लंदो छ । म त्यसैत्यसै अताल्लिएको छु । बिरानो भूमिका यी बिराना मनुवा बीच बाटामै थला परे भने ! तर भाग्यवश परेनन् । चुहानडाँडा पुगेपछि उमाकान्त झा र नयाँ सरले आफ्नो मातृभाषामा बात मारे । ज्वरोग्रस्त नयाँ सरले रुँलारुँलाझैँ गर्दै बडो कारुणिक ध्वनिमा भने– ‘कि कहु ?’ अब हाम्रो कलेजमा तिनको नाम ‘कि कहु’ भयो । तिनलाई गिज्याउने नाम ‘कि कहु’, तिनलाई होच्याउने नाम ‘कि कहु’, तिनलाई सताउने नाम ‘कि कहु’ ।

सरको वर्ण ठीकैको कालो थियो । वस्त्र धोती–कुर्ता थियो, भाषा ‘कि कहु’ । अब तिनको दोस्रो नाम धोती भयो । र, तेस्रो नाम भयो मस्र्या । मान्छे बडो मिहिनेती थिए । अक्षर सुन्दर थिए, दिनदिनै पाठको नोट बनाउँथे र हामीलाई लेखाउँथे । सरल अंग्रेजीमा बुझिने गरी बिस्तारै पढाउँथे । तिनको मास्टरी गुणमा कमी केहीको थिएन । तर, विद्यार्थीहरुमाझ ती भयानक छि:छि:–दूरदूरको सिकार बने । किन ? किनभने, तिनको वर्ण, वस्त्र र भाषा हाम्रोजस्तो थिएन । पृथक हुनु नै तिनको कसुर थियो । भिन्न र अन्य मानवलाई घृणाको दृष्टिले हेर्ने हाम्रो त्यो दृष्टि, त्यो संकीर्णता, त्यो तुच्छता र त्यो अहंकारको मुहान के हुँदो हो ? उबेला मलाई थाहा थिएन । हामी सबका सबमा त्यो देशबन्धुद्वेषी मनोरोग कताबाट कसरी सल्क्यो होला ? उबेला मलाई यो पनि थाहा थिएन । त्यस्तो कतै पढिएको थिएन, न त कसैले सुनाएको नै थियो । त्यो रोग सायद वंशजन्य संस्कारको लहरोबाट सल्कियो होला । झा सर शानले सुट लगाउँथे र बिरानो लबजमै सही, नेपाली फटाफट बोल्थे । त्यसैले मास्टरमा उनी स्वीकृत भए र टिके ।

‘कि कहु’ सर अस्वीकृत भए र अपमानपूर्वक लखेटिए । ‘त्यो रुँदै गयो,’ पछि झा सरले खिन्न मुद्रामा भने, ‘त्यो असल मानिस हो र असल मास्टर । हेर, पछि तिमीहरुलाई पछुतो लाग्नेछ ।’ नभन्दै ‘कि कहु’ सरलाई सम्झिँदा अहिले पछुतोको करौँतीले मेरो हृदय र्‍याइँर्‍याइँ रेटिन्छ र मलाई आफैँप्रति भारी खेद लाग्छ । ती व्यर्थै अपमानित भए, र जीवनको विवेकहीन नाटकमा बिनाकसुर ती दण्डित भए ।

                                                                                  ---

मेरो जीवनको अर्को अध्याय सुरु भयो । जीवनका जीवन्त अनुभूति र अनुभवहरुबाटै जीवनको मानवीय पाठ सिक्ने अध्याय । त्यसपछि जीवन–यात्राका अनेक कुइनेटामा चिनजान र संगत भएको हरेक मधेसी मेरो जीवनको एउटा पाठशाला बन्यो । मेरो राष्ट्रवादी रोगको सविनय र सप्रेम उपचार गरिदिने एक प्रबोधनकारी पाठशाला । कुरा २०३७ सालको हो । वीरगन्ज जेलमा रैथाने विजयलाल कर्ण भेटिए । र, विजय बने मेरो जीवनका प्रथम मधेसी मित्र । म शिक्षक आन्दोलनमा लाग्दा थुनिएको थिएँ, विजय वाम विद्यार्थीको कामले थुनिएका थिए । औसत मधेसीझैँ उनी कृष्णवर्णी थिएनन् । तैपनि, उद्भव र भाषाले उनी थिए– झर्राे मधेसी । उमेर त्यस्तै सत्र–अठार वर्ष, कद होचो । झट्ट हेर्दा दुब्ला–पातला र साँच्चि नै फुकीढल प्रतीत हुने । पुलिसको एकै झापटले धुलिसात होलान्जस्ता । तैपनि, जीवनको उदात्त र जोखिमयुक्त बाटो समातेर कलिलैमा जेल परेका मधेसी वीर । वीर विजय आतंकित थिए । तिनको प्रीतिकर अनुभव सुन्दा पछि थाहा भयो, जेलमा म उनका लागि साहस र ढाडसको सहारा बनेछु । जेलमा म कि पढिरहन्थेँ कि लेखिरहन्थेँ । मेरा कोठे पार्टनर थिए, मिस्टर बद्रीप्रसाद खतिवडा । लेखपढमा उत्रो चाख नभएका ब्राह्मण, माछा मार्ने जाल बुन्न भने खुबै जाँगरिला । सुकसुकाउँदा विजय मेरो छेउमा आएर टुसुक्क बस्थे र हाम्रा कुरा चुपचाप सुनिरहन्थे । तिनको डर भगाउन मै ले सक्दो यत्न गरेँ । भनेँ– ‘पीर नगर् केटा । मारिहाल्दैन । दुई–चार दिनमा छाडिहाल्छ । हेर् बाबु, जीवनको असल बाटो यही हो ।’ एक दिन तिनकी आमा छोरालाई भेट्न जेलमा आइन् । डरको गोमन सर्पले डसेर ती त्यसत्यसै ओइलाएकी थिइन् । कान्तिविहीन अनुहार, गहभरि आँसु, ओठमा कम्पन । आमाको दशा हदै दयनीय थियो । मैले तिनलाई भनेँ– ‘आमा, कत्ति पीर नगर्नुस् । छोरो चोरेर जेल परेको होइन । देश–दुनियाँलाई फेर्न खोज्दा जेल परेको हो यो । यो केटो असल मानिस हिँड्ने असल बाटोमा छ । योसँग हामी छौँ ।’ ती दिन सम्झेर अहिले विजय भन्छन्– ‘म थुनामा परेको दिनदेखि आमालाई न दिनमा भोक थियो, न त रातमा निद । त्यस दिन आमाले ढुक्क भएर भात खाइन् र मस्तसँग निदाइन् ।’

थाहा छैन, कतै कालो वर्णका नभएर पो हो कि । जेलमा गहुँगोरा विजय मेरा लागि मस्र्या र धोती थिएनन् । ती केवल मानिस थिए । ती नेपाली थिए । मेरो भाइजस्तै, मेरो भतिजोजस्तै, मेरो भानिजजस्तै । त्यहाँ हाम्रा उद्भव र भूगोल, भाषा र वस्त्र तिनलाई र मलाई वारि र पारि पार्ने द्वेषका पर्खालका प्रतीक बनेनन् । उमेरले हामी झन्डै बाबुछोराजस्ता थियौँ । तर, पहिचान, संगत र आत्मीयताले हामी हित्तचित्त मिलेका मित्र भयौँ । पवित्र बागमतीको पत्रु पुलमुनि कतिकति गन्दे लेदो बगेर गइसक्यो । तैपनि, हाम्रो मित्रता पूर्ववत् छ ।  

प्रकाशित: आश्विन ३०, २०७५