[तीन किताब] सधैँभरि प्रिय

- बुद्धिसागर

कलेज जीवनताका आरएनसीअगाडि पाइने सेकेन्ड ह्यान्ड पुस्तक पसल चहार्थें । प्राय: सस्तो जासुसी उपन्यास नै लिन जान्थेँ । हिन्दी–नेपाली साहित्यिक पुस्तक त पढ्थेँ । तर, सानो छँदाको जासुसी उपन्यासको लत छुटेको थिएन । जासुसी उपन्यासकै चाङमा मैले पर्ल एस वकको गुड अर्थ  फेला पारेँ, नेपालीमा । एकेडेमीले छापेको उक्त किताब १५ रुपैयाँमा किनेको थिएँ ।

पढ्न सुरु गरेपछि सकाएर मात्रै उठेँ । मैले सबैभन्दा रफ्तारमा पढेको पुस्तक यही हो । पुस्तकको विषय र परिवेश त बेग्लै थियो । तर, गहिराइमा त्यसले दिने प्रेरणा भने विश्वव्यापी । वाङलुङको संघर्ष बेग्लै थियो, मेरो बेग्लै । तर, कहीँकतै कुनै गहिराइमा हामी जोडिएका थियौँ । त्यसैले यो मेरो प्रिय उपन्यास बन्यो । र, मैले पहिलोपल्ट पढेको विश्वसाहित्यको चर्चित पुस्तक पनि यही बनिदियो । गुड अर्थले नै हो, मलाई विश्वसाहित्यसित जोडिदिएको ।

भाषाको सहजताका कारण काठमाडौँमा पाइने प्राय: हिन्दी पुस्तक पढिसकेको थिएँ । मलाई लाग्यो, अब हिन्दी पुग्यो । म अन्य देशका किताब पनि पढ्न चाहन्थेँ । तर, सबै अंग्रेजीमा हुने । मेरो अंग्रेजी असाध्यै कमजोर थियो । म काठमाडौँका पसलमा अंग्रेजी पुस्तकहरु सुम्सुम्याउँदै सोच्थेँ– एक न एक दिन यिनलाई पढेरै छाड्छु । पढ्ने कोसिस पनि गरेँ । तर, सकिनँ ।

एक दिन पाउलो कोएलोको अल्केमिस्ट  देखेँ । झल्यास्स सम्झेँ– यो त मैले हिन्दीमा पढिसकेको छु, कमलेश्वरको अनुवादमा । एकपल्ट बुझिसकेको पुस्तक अंग्रेजीमा पढ्दा खासै गाह्रो हुँदैन जस्तो लाग्यो । र, अल्केमिस्ट  मैले पढेको पहिलो अंग्रेजी पुस्तक बन्यो । पाउलोको भाषा सजिलै थियो । त्यसपछि, लगालग मैले उनका सबै पुस्तक पढेँ । सोसल मिडिया सुरु भइसकेको थियो । पाउलोलाई फेसबुक र ब्लगमा पछ्याएँ । हरेक दिन उनका पोस्ट पढ्दा–पढ्दै सिफारिसमा आउने अन्य पोस्टहरु पनि पढ्थेँ । अन्य लेखकबारे पढ्थेँ ।

पछि हारुकी मुराकामी पढ्न थालेँ । यी दुवै लेखक मेरा लागि सधैँ प्रिय रहनेछन् । किनभने, यिनीहरु आफ्नो मातृभाषामा लेख्छन् । र, अनुवादबाट संसारभरि पढिन्छन् । यिनमा म मेरो सपनाका पखेटाहरु देख्छु । त्यसैले प्रेम गर्छु । केही समयअघि पाउलोले मलाई ट्वीटरमा पछ्याएका छन् । यो मेरा लागि सबैभन्दा ठूलो खुसीको क्षण रह्यो ।

पाउलो र मुराकामीको प्रेमले मलाई विश्वसाहित्यसित जोडिदियो । र, मैले ओह्रान पामुक, वेन ओकरी र भीएस नयपालजस्ता लेखकलाई पढ्न पाएँ । म फुर्सदमा इन्टरनेटमा पुस्तकबारे खोजी गर्छु । मलाई सिफारिसको खासै आवश्यकता पर्दैन अचेल । अरुले सिफारिस गरेका किताब प्राय: पढिसकेको हुँदो रहेछु ।

मेरो झोलामा कुनै न कुनै पुस्तक हुन्छ । औँठी, लकेट लगाउन मन पराउँदिनँ, पर्स नबोकेको वर्षौं भयो । मलाई पुस्तक गहना लाग्छ, आफ्नो । स्मार्टफोन प्रयोग गर्दिनँ । त्यसैले अलिकति फुर्सद भयो भने पढ्न थालिहाल्छु ।

मलाई कथाभन्दा डिटेलिङ मन पर्छ । आख्यानको सबैभन्दा शक्तिशाली अवयव पनि हो यो । किनभने, लेखक बन्ने र खुस्कने डिटेलिङमै हो । डिटेलिङबाटै थाहा हुन्छ– लेखकले समाएको विषय विश्वसनीय छ कि छैन । नयपालको अ हाउस फर मिस्टर विश्वासलाई डिटेलिङ साहित्य (आधुनिक) को गीता मान्छु । त्यसैले यो पुस्तक मेरो प्रिय छ ।

मलाई लेख्न आख्यान मन पर्छ । तर, पढ्न कविता र यात्रा निबन्ध । यात्रा साहित्य कमजोरै भए पनि पढ्छु । मलाई गैरआख्यान पढ्न मन लाग्छ । तर, मलाई आख्यानको शैलीमा लेखिएको मात्रै मन पर्छ । सुकेतु मेहताको म्याक्सिमम सिटीजस्तो ।

पसलमा पस्दा एउटा न एउटा पुस्तक नकिनी निस्किनै मन लाग्दैन । वेन ओकरीको फेमिस्ट रोड  किनेको ६ वर्षपछि पढेको हुँ । हरेक दसैँमा पुस्तक किन्छु । तर, ती पुस्तक माघेसंक्रान्तितिर पढ्न मन लाग्छ । त्यसैले दसैँमा कुन पुस्तक पढ्ने भनेर कसैले नसोधे हुन्थ्यो लाग्छ ।

प्रस्तुति : गुरुङ सुशान्त 

प्रकाशित: आश्विन ३०, २०७५

ट्याग: किताब