आवरण कथा : फस्टाउँदो वन्यजन्तु पर्यटनका पाँच स्तम्भ बाघ, गैंडा, हात्ती, चरा दर्शन र सिकार

- गोकर्ण गौतम

बेलायती राजा जर्ज पाँचौँले चितवनमा क्याम्प बनाएर १० दिन सिकार गरे, डिसेम्बर १९११ मा । ३९ बाघ र १८ गैंडा मारे । बेलायती शासकलाई रिझाउन वन्यजन्तु ‘भेटी’ चढाउने लहर छायो, राणाकालमा । जमिनदार, ठालूहरूले त्यसकै सिको गरे । सिकारलाई शान, सौकत र प्रतिष्ठासँग जोडियो । बाघ मारेर मनोरञ्जन लिन थालियो । पञ्चायतकालमा यो प्रवृत्ति अझ मौलायो । राजाको सवारी हुँदा सिकार गर्ने चलन बस्यो । बिस्तारै चोरी सिकार र अंगको अवैध व्यापारले तीव्रता पायो ।

सन् साठीको दशकमै विदेशी विज्ञ टोलीले नेपालमा वन्यजन्तु सखाप हुने चेतावनी दियो । त्यसकै सेरोफेरोमा आयो, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ । त्यसपछि बल्ल नेपालमा वन्यजन्तु संरक्षणले औपचारिकता पायो । तर, त्यो संरक्षण अभियान फलदायी हुन सकेन । कारण ? एकोहोरो संरक्षण–संरक्षण भनियो, आर्थिक उपार्जनसँग जोडिएन । कतिपय ठाउँमा बाघ, हात्ती, गैंडाले विध्वंस मच्चाए । मान्छे र वन्यजन्तुबीच द्वन्द्व बढ्यो । आवाज उठ्यो– ‘जन्तु कि जनता ?’ संरक्षणमा स्थानीयको अपनत्वबोध नहुनुको परिणाम थियो त्यो । तर, जब संरक्षणलाई आम्दानीको माध्यम बनाउन थालियो, स्थानीय नै जागरुक हुन थाले, खासगरी निकुञ्ज तथा आरक्ष क्षेत्रवरपर । त्यसैबखत जन्मिएको हो, वन्यजन्तु पर्यटन (वाइल्डलाइफ टुरिजम) । संरक्षणकर्मी रोशन शेरचन भन्छन्, “वन्यजन्तु मारेर होइन, देखाएरै मनग्ये कमाइ हुन्छ, पर्यावरणलाई फाइदा पुग्छ भन्ने बोध भएपछि वन्यजन्तु पर्यटन फस्टाउन थाल्यो ।” त्यसलाई गौरवको विषयमा सीमित नराखी स्थानीयलाई जीविकोपार्जन र राज्यलाई राजस्वको स्रोतका रूपमा विकसित गर्दा वन्यजन्तु संरक्षण प्रतिफलमूलक र दिगो हुने तर्क छ, शेरचनको । खुसीको कुरा, नेपालले अहिले यही मोडल अवलम्बन गरिरहेको छ ।

हामीकहाँ हिजोआज समृद्धिको नारा खुब घन्किएको छ । समृद्धि सम्भव छ त केवल जलस्रोत र पर्यटनले । पर्यटनलाई प्राथमिकतामा राख्ने र विस्तार गर्ने हो भने वन्यजन्तु ‘मुटु’ बन्न सक्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनका अध्यक्ष सुमन घिमिरे भन्छन्, “हामीकहाँ हिमाल र लुम्बिनी मात्र होइन, संसारका सुन्दर र दुर्लभ वन्यजन्तु छन् । यही कुरा प्रचार गरियो भने नेपाल वन्यजन्तु पर्यटनको  केन्द्र हुनेमा शंकै छैन ।”

यकिन तथ्यांक नभए पनि नेपाल आउने करिब ५० प्रतिशत पर्यटक संरक्षित क्षेत्र पुग्ने अनुमान छ । आर्थिक वर्ष ०६३/६४ मा २ लाख ४५ हजार पर्यटकले वन्यजन्तु हेर्न संरक्षित क्षेत्र अवलोकन गरेका थिए भने ०७३/७४ मा यो संख्या बढेर ६ लाख पुगेको छ । वन्यजन्तु पर्यटन निकुञ्ज र संरक्षित क्षेत्रमा सीमित छैन । संसारमै नमुना बन्दैछ, नवलपरासीको अमलटारी होमस्टे । केही वर्षअघिसम्म यहाँ स्थानीय र वन्यजन्तुबीच द्वन्द्व थियो । स्थानीयले वन्यजन्तु भगाएर होइन, जोगाएर लाभ हुने बुझे, होमस्टे खोले । अहिले यहाँको जंगलमा बाघ, भालु, गैंडा देखिन थालेका छन् । डुंगामा चढेर तिनलाई हेर्न पाइन्छ । तरकारी खेती र माछापालन मौलाएको छ । होमस्टेमा बस्न एक साताअगाडि नै ‘बुकिङ’ गर्नुपर्छ । संरक्षण, विकास दुवै । वाह ! नवलपरासीकै सिसवार र चितवनको माडीको होमस्टे पनि वन्यजन्तुमै निर्भर छन् । “पाहुनालाई सांस्कृतिक आतिथ्य दिएर लोभ्याउनु त छँदैछ, वन्यजन्तु संरक्षण र सम्वद्र्धनमा लामो समय बिताएका राजु आचार्य भन्छन्, “हाम्रो वन्यजन्तु पर्यटन समृद्धिको आधार हुन सक्नेमा शंकै रहेन । अबको चुनौती भनेको संरक्षण, प्रचार र सुविधाको बन्दोबस्त मिलाउनु हो ।”

त्यसो हो भने नेपालको वन्यजन्तु पर्यटनका आधारस्तम्भ के–के हुन् ? विज्ञ र पर्यटन व्यवसायीहरू भन्छन्, हामीसँग संसारलाई देखाएर तान्ने ल्याकत भएका अनेक वन्यजन्तु छन्, त्यसमा पनि बाघ, गैंडा, हात्ती र चराचुरुंगी अझ विशेष हुन् । ढोरपाटनमा गरिने सिकार आकर्षणको अर्को केन्द्र हो । नेपालले वन्यजन्तु पर्यटनका यी पाँच मेरुदण्डका मौलिक विशेषता, गौरव, योगदान र चुनौतीलाई उधिन्ने प्रयास गरेको छ ।


एक झलक  बाघको


तीनकुने, बर्दिया नेशनल पार्कमा पाटे बाघ | तस्बिर : सागर गिरी


नेपाल आउने सबैभन्दा ख्याति कमाएका हलिउड स्टार हुन्, लियोनार्दो डिकाप्रियो । सन् २०१० मा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको मातहतमा उनी सुटुक्क बर्दिया पुगेका थिए । उद्देश्य थियो, आमालाई बाघ देखाउने । तर, लियोनार्दोको सपना पूरा भएन । तैपनि, नेपाललाई फाइदै भयो । किनभने, उनी बाघकै लागि आएकाले संसारभर नेपालको प्रचार मात्र भएन, बाघ संरक्षणका लागि ठूलो रकम सहयोग नै गरे । बाघविशेषज्ञ तथा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रमेश थापा सुनाउँछन्, “अहिले लियोनार्दो आए भनेचाहिँ पक्कै बाघ देख्नेछन् ।” बर्दिया पुग्ने ९५ प्रतिशत पर्यटकले बाघ देख्छन् अहिले ।

सुखद पक्षचाहिँ बाघकै कारण अहिले नेपाल संसारभरका सञ्चारमाध्यममा छाइरहेको छ । नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने प्रण गरेको थियो । तर, केही वर्षअगाडि नै लक्ष्य हासिल हुने देखिएको छ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या २ सय ३५ छ । डब्लुडब्लुएफ नेपालका नायब निर्देशक राजेन्द्र सुवाल भन्छन्, “बाघको संख्या दोब्बर गर्ने नेपाल संसारकै पहिलो देश हुने करिब निश्चित भएको छ । यसले संसारका वन्यजन्तुप्रेमीलाई नेपालमा आकर्षित गर्छ ।” बाघ दोब्बर हुँदा दुई सकारात्मक सन्देश जान्छ । एक, बाघ संरक्षणमा नेपाल साँच्चै संवेदनशील भएको । दुई, नेपाल गएपछि बाघ देखिने पक्का । पर्यटन व्यवसायी सुमन घिमिरे भन्छन्, “त्यसैले अब बाघलाई लक्षित गरी ‘स्किम’ ल्याउनुपर्छ । यसबाट समग्र पर्यटनमै उत्थान पुग्छ ।” संसारमा दुई प्रजातिका बाघ लोप भइसकेका छन् । अब ६ प्रजातिका छन् । त्यसमध्ये दुर्लभ मानिने एक प्रजाति पाटे बाघ नेपालमा पाइन्छ । त्यसैले पनि विदेशीले खुब चासो राख्छन् ।

यतिबेला बाघप्रेमीको पहिलो गन्तव्य बनेको छ, बर्दिया । बर्दियाभन्दा चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या धेरै छ । तथ्यांकअनुसार बर्दियामा ८७ र चितवनमा ९३ बाघ छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत नुरेन्द्र अर्याल भन्छन्, “भौगोलिक अवस्थितिले हुन सक्छ, तैपनि क्यामेरामा क्याप्चर रेटचाहिँ चितवनमा पनि बढिरहेको छ ।”

त्यसो त, विदेशी पर्यटकले बर्दियाभन्दा चितवन नै बढी रोज्छन् । कारण, काठमाडौँ आएका पर्यटक चितवन घुमेर पुन: काठमाडौँ फर्किसक्ने बेला बल्ल बर्दिया पुग्छन् । बाटो लामो छ । सवारीसाधन सहज छैनन् । बन्द र जाम झेलिरहनुपर्छ । अनि, नेपालीभन्दा विदेशी पर्यटकको हवाई भाडादर दोब्बर बढी हुन्छ । बर्दियामा लामो समय बिताएका थापा भन्छन्, “यस्ता प्राविधिक कारणले बर्दियाका बाघबाट जति फाइदा लिनुपर्ने हो, त्यति सकिएको छैन । तर, प्रगतिचाहिँ हुँदैछ ।” बर्दिया, बाँके र लाङटाङ राष्ट्रिय निकुञ्जलाई जोडेर ‘टाइगर ट्रयाक’ बनाउँदा पर्यटक तान्ने दरिलो अस्त्र हुने उनी औँल्याउँछन् । यद्यपि, बाघकै लागि बर्दिया पुग्ने आन्तरिक पर्यटकचाहिँ अहिले पनि उल्लेख्य छन् ।

नेपालगन्जलाई काठमाडौँबाट मात्र जोडिएको छ, पोखराबाट हवाई सेवा छैन । जबकि, नेपाल आउने अधिकांश पर्यटक पोखरा पुग्छन् । त्यसैले पोखरा–नेपालगन्ज हवाई सेवा सुरु गर्दा बाघ मात्र होइन, बर्दिया राष्ट्रिय निकुञ्जका लागि पनि प्रीतिकर हुने पर्यटन व्यवसायीको भनाइ छ । बर्दिया पुग्न मुस्किल भएकाले हुनुपर्छ, चितवनमा बाघ देखियो भने विदेशी पर्यटन फुरुंग पर्छन् । चितवनमा होटल सञ्चालन गरिरहेका घिमिरे भन्छन्, “पर्यटकले बाघ देखेका छन् भने बसाइ वा यातायातका समस्या वास्तै गर्दैनन् । किनभने, विदेशीको हकमा बाघ देख्नु भनेको जीवनभरका लागि अविस्मरणीय सम्झना हुने रहेछ ।” अझ चितवनमा गैंडा हेरेर दंग परेकालाई बाघका लागि बर्दिया पुर्‍याउन सकियो भने पर्यटकको नेपाल बसाइ नै लम्बिन्छ ।

पर्यटन अभिवृद्धि हाम्रो सन्दर्भमा लागि बुटी त हुँदै हो, पर्यावरणीय कोणबाट बाघको महत्त्व अधिक हुन्छ । जस्तो, बाघ भएपछि बँदेल, चित्तल, जरायो हुन्छन् । ती जनावर भएपछि पर्याप्त घाँसेमैदान हुन्छन् । घाँसेमैदानले जमिनमुनिको पानी ‘रिचार्ज’ गर्छ । संरक्षणकर्मी रोशन शेरचन भन्छन्, “त्यसैले बाघ हुनु भनेको पर्यावरण चक्र सन्तुलनमा छ भन्ने बुझिन्छ । तराई–मधेसको हकमा त बाघ ‘सूचक प्रजाति’ नै हो ।”

शेरचन पनि बाघलाई संरक्षणसँगै पर्यटनको दर्बिलो स्रोत बनाउनुपर्ने जिकिर गर्छन् । उनकै भनाइमा, अबका केही वर्ष नेपालमा बाघप्रेमीको आगमन अझ बढ्नेछ । कारण उही, बाघको संख्या दोब्बर नजिक पुग्नु । बाघका जानकार थापा भन्छन्, “हामीले बाघ पर्यटन वृद्धि गर्ने भनेको ‘वर्ड अफ माउथ’ बाट हो । त्यसका लागि नेपाल आएका पर्यटकलाई जसरी हुन्छ, बाघ देखाउने प्रबन्ध मिलाउनैपर्छ ।”

गैंडा गन्तव्य


सौराहामा एकसिंगे गैंडा | तस्बिर : सागर गिरी


सशस्त्र द्वन्द्व चर्किएसँगै नेपालमा पर्यटन आवागमनमा भारी गिरावट आयो । झन् ०५८ मा संकटकाल घोषणा भएपछि त पर्यटकको खडेरी नै लाग्यो । नेपालमा सुरक्षा खतरा छ भन्ने समाचार संसारभर फैलियो । मारमा पर्‍यो, वन्यजन्तु पर्यटन पनि । त्यतिबेला चरा हेर्ने पर्यटक भुटानतिर गए भने बाघ हेर्ने भारत । ०६२/६३ को जनआन्दोलनपछि द्वन्द्व रोकियो, तैपनि पर्यटकहरू आउन डराइरहे । ०६६–६७ बाट बिस्तारै विदेशीहरू नेपाल घुम्न आए । धेरैले भेउ नपाएको तर सत्य कुरा, यसरी नेपालको पर्यटन पुनर्जागृत गर्न गैंडाको प्रमुख भूमिका छ । किनभने, सन् २०१० पछि नेपालमा गैंडाको संख्या बढ्यो । त्यसयता पाँच वर्ष ‘शून्य सिकार वर्ष’ नै मनाइयो, जसले विश्वभर सकारात्मक सन्देश गयो । डब्लुडब्लुएफ नेपालका नायब निर्देशक राजेन्द्र सुवाल भन्छन्, “एकातिर नेपालीहरू गैंडाको संरक्षणमा संवेदनशील भएको देखायो, अर्कातिर पर्यटकमा गैंडाको त सुरक्षा हुन्छ भने हाम्रो पनि सुरक्षा हुन्छ भन्ने भाव पलायो र नेपाल आउन हौसला बढायो ।”

पछिल्लो आठ वर्षमा नेपालले गैंडा संरक्षणमा संसारमै उदाहरणीय काम गरेको छ । केही महिनाअघि नेपाल सरकारले चीनलाई दुइटा गैंडा उपहार दियो । यो ‘गैंडा कूटनीति’ प्रचारका लागि पनि उपयोगी मानियो । गैंडा चितवन राष्ट्रिय निकुञ्जको ‘युनिक सेलिङ प्वाइन्ट’ नै हो । क्षेत्रीय होटल संघ नेपाल, चितवनका अध्यक्ष तथा गैंडा संरक्षण अभियन्ता सुमन घिमिरे भन्छन्, “गैंडा छ, त्यही भएर चितवनको पर्यटन छ ।”

यतिबेला नेपालमा ६ सय ४५ गैंडा छन् । त्यसमध्ये चितवनमा मात्र ६ सय ५ । त्यसैले त, घिमिरे गैंडाका लागि चितवन निर्विकल्प रहेको दाबी गर्छन् । निकुञ्ज छिर्ने शतप्रतिशत पर्यटकले गैंडालाई नजिकबाट नियाल्न पाउँछन् । कहिलेकाहीँ त गैंडा सौराहा बजारमै देखापर्छन् । गैंडा हेर्न देशी/विदेशी पर्यटकको भीड लाग्छ । बीच बजारमा मस्त डुलिरहेको गैंडा हेर्न पाइने दुर्लभ अवसर । घिमिरे अनुभव सुनाउँछन्, “हात्ती सफारीमा ५–७ वटा गैंडा देख्दा पर्यटक बाघ देखेभन्दा बढी उफ्रिन्छन् । गैंडा अनिवार्य देखिनु चितवनको पर्यटनका लागि वरदानसरह हो ।” उनी चितवनलाई प्रचार गर्दा गैंडालाई केन्द्रमा राख्नु उचित हुने सल्लाह दिन्छन् ।

चितवनमा गैंडा संरक्षणले औपचारिकता पाएको हो, ०३० पछि । त्यसअघि पनि गैंडा गस्ती टोली नभएका होइनन् । तर, खास प्रभावकारी हुन सकेका थिएनन् । निकुञ्ज घोषणा भएसँगै गैंडा नै चिनारी बन्यो । यहाँका गैंडासम्बन्धी विदेशी विज्ञहरूले अध्ययन गरे, अनुसन्धानपत्र प्रकाशित गरे, जसले प्रत्यक्ष रूपमा चितवनलाई ‘गैंडा’ को केन्द्र बनाउन भूमिका खेल्यो । जबकि, बर्दियामा एक सय वर्षअगाडि नै गैंडा भएको र गैंडा मारिएको मुद्दा अदालतमा दायर भएको इतिहासमा भेटिन्छ ।

समय यस्तो पनि आयो, यो क्षेत्रमा गैंडाको संख्या शून्य भयो । सन् १९८६ मा चितवनबाट १३ गैंडा बर्दियामा स्थानान्तरण गरेर बर्दिया लगियो । द्वन्द्वकालमा बबई उपत्यकामा मात्र ७० गैंडा मारिए । चितवनबाट सारिएका गैंडासमेत जोगाउन सकिएन । तर, हाल बबई उपत्यकालाई गैंडाका लागि ‘भर्जिन ल्यान्ड’ का रूपमा स्थापना गर्ने प्रयास भइरहेको छ । चितवनपछि गैंडा गन्तव्य बर्दिया नै हो । बर्दियामा हाल २९ वटा गैंडा सहजै देख्न सकिन्छ । शुक्लाफाँटामै गैंडाको संख्या ८ पुगेको छ । तर, फेरि पनि गैंडाका लागि चितवन नै उत्तम थलो हो ।

चितवन निकुञ्ज क्षेत्र मात्र होइन, माडी, नवलपरासीको अमलटारी र सिसवारका होमस्टेमा आकर्षण बढ्नुको कारण पनि गैंडा नै हो । एक दशकअघिसम्म पनि यस क्षेत्रमा गैंडा सिकारले आतंक मच्चाएको थियो । जब गैंडाका कारण पर्यटन बढ्यो, स्थानीयले लाभ पाए, संरक्षण स्वत: प्रभावकारी हुँदै गयो । संरक्षणकर्मी राजु आचार्य भन्छन्, “गैंडाप्रतिको प्रेम बढाउन पनि सरकारले पर्यटनलाई प्राथमिकतामा राख्नुपर्छ ।”

कदाचित चितवनमा प्राकृतिक प्रकोपले गैंडा नष्ट भएमा ‘बिउ’ नमास्न र प्रजनन बढाउन चितवनबाट बर्दिया र शुक्लाफाँटामा गैंडा स्थानान्तरण गरियो । संसारकै नमुना मानिएको यो कदम गैंडा संरक्षणमा उपलब्धिमूलक भएको विज्ञहरू बताउँछन् । ती क्षेत्रमा पनि गैंडाको संख्या थपिँदो छ । पर्यटन व्यवसायी घिमिरे भन्छन्, “संख्या बढाएर गैंडा हेर्ने नयाँ गन्तव्य स्थापित गर्न सकियो भने पर्यटनमा मात्र होइन, संरक्षणमा पनि फाइदा पुग्छ ।” कारण, नेपालमा एकसिंगे गैंडा पाइन्छ, जुन भारतबाहेक अन्यत्र पाइन्न ।

हात्ती पर्यटनको साथी


सौराहामा हात्ती स्नान | तस्बिर : सागर गिरी


नेपालको वन्यजन्तु पर्यटनको केन्द्र हो, चितवन राष्ट्रिय निकुञ्ज । यस निकुञ्जको केन्द्रमा चाहिँ के होला ? चितवन पुग्ने जोकोहीलाई सोध्नुस्, उत्तर एउटै आउँछ, हात्ती । पर्यटन व्यवसायी सुमन घिमिरेको शब्दमा, हात्तीबिनाको चितवनको पर्यटन कल्पनै गर्न सकिन्न । हात्तीबाटै निकुञ्ज भ्रमण गर्न सकिन्छ, त्यो पनि सुरक्षित तबरले । हात्ती नहुँदो त वन्यजन्तु अवलोकन अपूरो हुन्छ । घिमिरे भन्छन्, “हात्तीमा चढ्ने र सफारी गर्ने विदेशी मात्र होइन, नेपालीको पनि सपना हुन्छ । चितवन आउनु भनेको हात्तीसँग कहीँ न कहीँ अभिरुचि हुनु हो ।”

पछिल्लो तथ्यांकअनुसार चितवनका ५८ घरपालुवा हात्ती सफारीमा प्रयोग हुन्छन् । करिब एक सय जंगली हात्ती बथान बनेर हिँडेको हेर्ने धेरैको रहर हुन्छ । हात्तीको बच्चा पनि छावा पर्यटकमाझ उत्तिकै लोकप्रिय छ । चितवन आउने ९० प्रतिशत पर्यटकले हात्तीमा सफारी गर्ने व्यवसायी बताउँछन् ।

०७२ को सुरुआती महिनामा भूकम्प आयो, लगत्तै भारतले नाकाबन्दी लगायो । पर्यटक ठप्पै । चरम अभाव सामना गर्नुपर्‍यो, चितवनले पनि । यसबाट मुक्ति पाउने उपाय के त ? स्थानीय, व्यवसायी र निकुञ्ज प्रशासनले हात्ती देखे/रोजे । र, आयोजना गरियो, हात्ती महोत्सव । चितवनलाई फेरि ब्युँताउन यो महोत्सव निकै फलदायी रह्यो ।

त्यसो त, हात्ती महोत्सव सदैव प्रतिफलमूलक र आकर्षणको मध्य भागमा हुन्छ । पछिल्लो वर्षको महोत्सवमा १ लाख आगन्तुक सहभागी भएको आयोजक कमिटीमा रहेका घिमिरेको भनाइ छ । तीमध्ये अधिकांश आन्तरिक पर्यटक थिए । डिसेम्बरमा महोत्सव गरिँदा क्रिसमस र नयाँ वर्षका लागि स्वदेश फर्किएकाले विदेशी पाहुना न्यून थिए ।

खासमा हात्ती महोत्सवलाई पर्यटन क्षेत्रमा विशेष चाडकै रूपमा मनाउन थालिएको छ । हात्तीको वनभोज, फास्टवाक, छावाहरूको फुटबल प्रतियोगिता, हात्ती पेन्टिङ, बर्थिङ (हात्ती प्रजनन) कार्यक्रमले स्वदेशी मात्र होइन, विदेशी पर्यटकलाई पनि तान्छ । त्यसबेला वनभोजमा सहभागी १ सय हात्तीले महोत्सवको गरिमा अझ बढाइदिए ।

हात्तीपोलो त संसारभर चर्चित भइसक्यो । जस जान्छ, टाइगर टप्सलाई । हात्ती सफारी पनि ३५ वर्षअगाडि टाइगर टप्सले नै सुरु गरेको थियो । निकुञ्जका सूचना अधिकृत नुरेन्द्र अर्याल भन्छन्, “हात्ती हेर्न, सफारी गर्न मात्र होइन, हात्तीमा बसेर अन्य वन्यजन्तुको अध्ययन–अनुसन्धान गर्ने पनि उत्तिकै हुन्छन् । त्यसैले हामीले हात्तीको संख्या बढाउन अथक प्रयास गरिरहेका छौँ । जंगली हात्तीको संख्या बढ्नु अझ उल्लेखनीय मानिन्छ ।”

६० देखि ७० वर्षसम्म बाँच्ने हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो स्तनधारी जनावर हो । संसारमा अहिले अफ्रिकी र एसियाली प्रजातिका हात्ती मात्र बाँकी छन् । नेपालमा पाइने हात्ती एसियाली प्रजाति हो । यो प्रजातिका हात्तीको संख्या अहिले ३५ देखि ४० हजारमा सीमित छ । नेपालमा चाहिँ करिब २ सय । यही गतिमा हात्तीको सिकार हुने र संरक्षणका उपाय नअपनाइए अबको १२ वर्षमा विश्वबाट हात्ती लोप हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले पर्यटक मात्र नभई वन्यजन्तुसँग सम्बन्धित हरेक अन्तर्राष्ट्रिय निकायको नेपालको हात्तीप्रति विशेष लगाव छ ।

चुनौती छ त, संरक्षण र पर्यटन विस्तारको । विडम्बना † पछिल्लो समय हामीकहाँ हात्ती र मान्छेको दूरी बढिरहेको छ । खासगरी हात्तीको जैविक मार्गमा अतिक्रमण बढेसँगै मानव–हात्तीको द्वन्द्व चुलिने गरेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले जंगल फडानी गर्दैछ । तर, यो क्षेत्र हात्तीको जैविक मार्ग हो । त्यसैले यहाँ भविष्यमा मानव–हात्तीको द्वन्द्व निम्तिने चेतावनी विज्ञहरूले दिइरहेका छन् । संरक्षणकर्मी रोशन शेरचन भन्छन्, “समस्या होइन, आम्दानीको स्रोत हो । उपाय जान्नुपर्‍यो ।”

शेरचन झापाको बाहुनडाँगीमा यस्तो सम्भावना देख्छन् । भारतको पश्चिम बंगालबाट मेची नदी–किनारमा आएका जंगली हात्तीले विध्वंश मच्चाएपछि करेन्ट तारबार लगाइएको छ, सुरक्षाका लागि । तत्कालका लागि यो आवश्यक पनि छ । तर, बाहुनडाँगीमा ‘वाच टावर’ बनाउने र राती पनि हेर्न मिल्ने संयन्त्र विकास गर्ने हो भने यहाँ आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने पक्का छ । शेरचन भन्छन्, “मेचीनगरमा एकैपटक सयभन्दा धेरै जंगली हात्तीको बथान आउँछ । संसारमा एकैपटक यति धेरै हात्ती अन्त कहीँ देखिन्नन् ।” अहिले पनि यहाँ मचान नभएका होइनन्, तर ती जर्जर छन् ।

अहिले बर्दिया बाघका लागि विशेष मानिन्छ । जबकि, बर्दियामा वन्यजन्तु पर्यटनको प्रारम्भ हात्तीबाट सुरु भएको हो । सन् ०९० को दशकमा यहाँ राजागज र कान्छागज भन्ने हात्ती देखिएका थिए । कान्छागज छिट्टै मर्‍यो । राजागजलाई एसियाली हात्तीमा सबैभन्दा ठूलो मानिन्छ । उचाइ नै ११ फिट तीन इन्च थियो । बेलायती जीवविज्ञानका प्राध्यापक र विद्यार्थीले चार वर्ष लगाएर राजागजको अध्ययन गरेका थिए । यसपछि नै हो, पर्यटनका हिसाबले बर्दियाले चर्चा पाएको । तर, अहिले यहाँको हात्ती पर्यटन चितवनभन्दा धेरै पछाडि छ । त्यसैले त पर्यटन व्यवसायीहरू भन्छन्, हात्ती पर्यटन चितवनमा मात्र सीमित नराखी अन्त पनि पहिचान र विस्तार गर्नुपर्छ ।

 पर्यापर्यटनको पाठशाला


जगदीशपुर ताल, कपिलवस्तु | तस्बिर : मनोज पौडेल


‘बर्ड वाचिङ’ र इको टुरिजम (पर्यापर्यटन) मा संसारकै सबैभन्दा माथि छ, कोस्टारिका । प्रधानमन्त्री केपी ओलीले असोज दोस्रो साता यही देशको भ्रमण गरे । नेपाल पनि चराप्रेमीका लागि प्रिय थलो हो । त्यसैले कोस्टारिकाबाट सिक्ने र साट्ने कुरा धेरै थिए, पर्यापर्यटनका लागि पाठशाला नै हुन सक्थ्यो । तर, प्रधानमन्त्री ओलीले यो पाटोलाई मतलबै गरेनन् । विज्ञहरू भन्छन्, हाम्रो चराको पर्यटन अझ उकास्न यो भ्रमण फलदायी हुन सक्थ्यो, तर भएन । सरोकारवाला निकायबाट यस्ता बेवास्ता त बारम्बार भइरहन्छन् । तैपनि, ‘बर्ड वाचिङ’ का लागि बिस्तारै नेपाल आकर्षक थलो बनिरहेको छ । चरा संरक्षण नेपाल (बीसीएन) का अध्यक्ष राजेन्द्र गुरुङ भन्छन्, “नेपालको क्षेत्रफलको तुलनामा चराको संख्या अधिक छ । तराई, पहाड र हिमालमा पर्यावरण अनुकूलका फरक चरा पाइन्छन् । त्यसैले ‘बर्ड वाचर’ नेपाल रोज्छन् ।”

पछिल्लो तथ्यांकअनुसार नेपालमा ८ सय ८६ प्रजातिका चरा छन् । तीमध्ये ५ सय ५५ पुतली प्रजातिका । ४२ प्रजातिका चरा संसारमै अतिसंकटमा छन् । नेपाललाई प्रकृतिले चराको धनी बनाएको छ नै, सँगै चरा जोगाउन र बढाउन पनि उदाहरणीय काम भएको छ । गिद्धको कुरा गरौँ : प्रकृतिको कुचीकार मानिने गिद्ध संसारमै संकटोन्मुख छ । चितवनमा भने गिद्धको रेस्टुराँ खोलिएको छ । औषधी खाएर मरेका गाईवस्तुको सिनो खाँदा गिद्ध पनि मर्छ । त्यसैले बूढो भएका गाईगोरु यहाँ ल्याइन्छ, मरेपछि छाला फालेर गिद्धलाई खुवाइन्छ । यस्तो मासु गिद्धलाई स्वास्थ्यवद्र्धक हुन्छ । चितवनमै ‘ब्रिडिङ कोलनी’ बाट केही महिनाअगाडि लोपोन्मुख डंगुर गिद्धको आठ बच्चा रिलिज गरियो । संरक्षणकर्मी राजु आचार्य भन्छन्, “यस्ता नौला कार्यक्रमले पर्यटकलाई तान्छ । गिद्ध हेर्न चाहने पर्यटक सौराहा पुगेकै हुन्छन् ।”

आचार्यको अनुमानमा, नेपालमा आएकामध्ये ७ प्रतिशत पर्यटक चरा मात्र हेर्न आउँछन् । प्राय: दुई थरीका हुन्छन् । पहिलो, पैसावाल । नेपालको फलानो ठाउँ गएर फलानो चरा हेर्ने भनेर सूची लिएर आएका हुन्छ । नदेखुन्जेल बस्छन् । दोस्रो, नेपाल आएर सकेसम्म धेरै चरा हेर्ने र आफैँ सूची बनाउने । पहिलो थरीका पर्यटकले विज्ञ, भरिया र गाइड सँगै लगेका हुन्छन् । आचार्य भन्छन्, “चरा देखाएरै दिनको १५ हजार कमाउने धेरै भेटेको छु मैले ।” चराप्रेमी चराको आवाज मात्र सुन्न चाहन्छन् । त्यसैले उनीहरूलाई लक्षित गरी निकुञ्जभित्र पर्यावरण अनुकूल संरचना बनाउनु आवश्यक मानिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रमेश थापा भन्छन्, “प्राकृतिक सम्पदा काट्ने र मास्ने गर्नुहुन्न । वातावरण सुहाउँदा होटल बनाउँदा केही बिग्रन्न । बरु वन्यजन्तु पर्यटनले छलाङ मार्नेछ ।”

चितवनमा माघ–फागुनमा एकै दिन १ सय ५० थरीका चरा देखिन्छन् । खर मयूर नेपाल, भारत र कम्बोडियामा मात्र पाइन्छ । नेपाल आउने पर्यटक तिलहरी चरा हेर्न हुरुक्कै हुन्छन् । यो पक्षी खोलाको बगरमा बस्छ । नेपालमा मात्र पाइने काँडेभ्याकुर पोखरामा देखिन्छ । हिमाली चरा कुटिया उत्तिकै सुन्दर र लोकप्रिय छ । संकटमा रहेको सारस लुम्बिनीमा प्रशस्त छन् । हिउँदे बसाइँसराइका लागि जगदीशपुर ताल उम्दा गन्तव्य हो । ‘समर ब्रिडिङ’ गर्ने चरा पनि यहाँ आउँछन् । धाएरै जाने हो भने लाङटाङमा मुनाल, तिलहरी र डाँफे देख्न पाइन्छ । जोमसोममा कर्‍याङकुरुङ हेर्दा नलोभिने को होला र † नेपालमा आठ थरी कालिज छन् । चिर कालिज सबैभन्दा दुर्लभ छ ।

पछिल्लो समय लाटोकोसेरोमा मान्छेको रुचि बढिरहेको छ । “चरा हेर्न आउने पर्यटकमा हाम्रो जैविक विविधताको प्रवद्र्धन हुन्छ । नेपालमा नयाँ प्रजातिका चरा पत्ता लगाउने पनि विदेशी पर्यटकले नै हो,” दुई दशकदेखि ‘बर्ड वाचिङ टुरिजम’ मा आबद्ध गुुरुङ भन्छन्, “नेपालभित्रै पनि नयाँ–नयाँ गन्तव्य पहिचान गर्छन् । सिमसार क्षेत्र र खोल्सा खोज्दै हिँड्छन् ।” काठमाडौँ नजिकैचाहिँ शिवपुरी, गोदावरी र फूलचोकी चराप्रेमीका लागि उपयुक्त मानिन्छ ।

‘फिसिङ’ अमेरिका र युरोपमा पहिलो नम्बरमा रहेको ‘हबी’ हो । दोस्रो नम्बरमा, चरा हेर्ने । उनीहरूमध्ये केही प्रतिशत मात्र नेपाल आए भने पनि छेलोखेलो हुन्छ । डब्लुडब्लुएफ नेपालका नायब निर्देशक राजेन्द्र सुवाल भन्छन्, “चराप्रेमीले फरक भूगोलमा दुर्लभ र सुन्दर त देख्न पाउँछन् नै, सँगै हिमाल, लुम्बिनी र अन्य वन्यजन्तु उनीहरूका लागि ‘बोनस’ हुन्छ ।” खाँचो छ त केवल, ती पर्यटक लक्षित प्रचारात्मक कार्यक्रम र चराको संरक्षण ।

सिकार सोख


ढोरपाटनमा सिकारी पर्यटक | तस्बिर : आरके अदीप्त गिरी


हन्टिङको दुनियाँमा ग्रान्ड स्लाम प्रतिस्पर्धाको प्रतिष्ठा उँचो छ । सिकारीहरू यो प्रतियोगिता जित्न मरिहत्ते गर्छन् । यहाँ नेपालको ढोरपाटनबाट लगेको ट्रफी धेरै पटक विजयी भएको छ । नाउरको खप्परसहितको सिङलाई ‘ट्रफी’ मानिन्छ । सफारी क्लब इन्टरनेसनलको प्रतियोगितामा पनि यो ट्रफीको महत्त्व बेग्लै हुन्छ । यही कारण हुनुपर्छ, ढोरपाटन सिकार ‘ग्लोबल हब’ बन्दैछ ।

त्यसो त, नेपालको एक मात्र यस सिकार आरक्षमा विदेशीले नाउरसँगै झारल पनि सिकार गर्न पाउँछन् । नेपाल वाइल्डलाइफ सफारीका अमृत थापा भन्छन्, “हन्टिङका लागि आउने पर्यटक थोरै हुन्छन् । तर, गुणात्मक रूपमा धेरै फाइदा हुन्छ । त्यसैले ढोरपाटन पर्यटनको बलियो अस्त्र हो ।”

रुकुम, म्याग्दी र बागलुङमा फैलिएको ढोरपाटनमा उच्च पहाडी र हिमाली भेगका वन्यजन्तु पाइन्छन् । पछिल्लो गणनाअनुसार यहाँ नाउर २ हजार २ सय २ र झारल ३ सय ८८ छन् । सन् १९७६ मा नर्वेजियाली प्रोफेसर पेरुगीले अध्ययन गरेपछि ०८० को दशकबाट यहाँ पर्यटक आगमन सुरु भएको हो । सिकारको कोटामा बर्सेनि २० नाउर र ११ झारल हुन्छन् । दुई सिजन (असोज–कात्तिक, चैत–वैशाख) मा सिकार हुन्छ ।

यस सिजनमा १० नाउर र ६ झारलको कोटा रहेको ढोरपाटनका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अणनाथ बराल बताउँछन् । भन्छन्, “सिकारको सिजन सुरु भएपछि यहाँको माहोल नै बेग्लै हुन्छ ।” विदेशी पर्यटकलाई रतुवा, बँदेल, घोरलचाहिँ सिकारका लागि ‘कम्प्लिमेन्ट्री’ दिइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सिकारका लागि सूचना निकाल्छ, पर्यटकले अनुमति लिएका हन्टिङ कम्पनीमार्फत आवेदन हाल्छन् । सिकारका लागि सम्झौता हुनैपर्छ ।

संसारमा नाउर नेपाल, पाकिस्तान र तिब्बत मात्र पाइन्छ । सिकार गर्नचाहिँ नेपालबाहेक पाकिस्तानमा मात्रै । त्यसैले विदेशी पर्यटकको आकर्षण बन्दै आएको हो । झारलको हकमा नेपालबाटै बेलायतीले सिकार सुरु गरेको मानिन्छ । झारल न्युजिल्यान्डमा पनि पाइन्छ । दुई दशकदेखि हन्टिङ व्यवसायमा आबद्ध थापा भन्छन्, “सिकारले संख्या घट्दैन, बरु बढ्छ । चोरी पनि रोकिन्छ ।”

यसको कारण छ । जस्तो, चोरले मार्दा जुनसुकै उमेर समूहका नाउर र झारललाई मारिदिन्छन् । तर, अनुमतिप्राप्त सिकारीले बूढोलाई मात्र मार्छन् । तन्नेरीलाई छाडिदिन्छन् । थापा भन्छन्, “हामी बाइनाकुलरबाट हेरेर उमेर थाहा पाउँछौँ । बूढो भए मात्र सिकार गर्छौं ।” अर्थात्, प्राकृतिक रूपमै मरेर जाने बेला भएका झारल, नाउर भरपर्दो आम्दानीको स्रोत बनिरहेको छ । पर्यटकले अक्सर पाँच सय मिटरको दूरीबाट सिकार गर्छन् ।

सिकारी पर्यटक सीमित हुन्छन् । तर, कुक, शेर्पा, भरिया, गाइड गरेर २५ जनाको जम्बो टोली हुन्छ । उनीहरू १५ दिन निकुञ्जको उच्च भेगमा क्याम्पिङ गरेर बस्छन् । आउजाउ गर्दा अर्को १५ दिन जान्छ । कति सदस्य पहिल्यै गएर बन्दोबस्त मिलाइरहेका हुन्छन् । पर्यटकचाहिँ हेलिकप्टर चार्टर गरेरै जान्छन् । वार्डेन बरालको अनुभवमा अमेरिका, रसिया र युरोपका धनाढ्य पर्यटक मात्र ढोरपाटन पुग्छन् । कतिपय ‘हाइप्रोफाइल’ हुन्छन् ।

सन् २००९ रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका स्वकीय सचिव सेर्गी र सन् २०१४ मा अर्थसचिव सिकारका लागि आएका थिए । नाउर सिकारका लागि दुई लाखदेखि १४ लाख रुपैयाँसम्म र झारलका लागि १ लाखदेखि ९ लाखसम्म तिर्नुपर्छ । बराल भन्छन्, “महँगो भएकाले नाउर र झारल विदेशीले मात्र सिकार गर्छन् । नेपालीका लागि कम मूल्यमा बँदेल र रतुवा उपलब्ध गराउन सकिन्छ । माग पनि आइरहेको छ ।” यससँगै आरक्षभित्र स्तरीय होटल लज खोल्न आवश्यक देख्छन् उनी ।

अहिले बागलुङको बुर्तिबाङ र बेनी ताकमको धारापानी हुँदै ढोरपाटन पुगिन्छ । न बाटो सहज छ, न त बाटोमा क्याम्पिङ गर्ने ठाउँ । ‘बफर जोन’ घोषणा नभएकाले प्राथमिकतामा पर्दैन । यहाँ पर्यटन संस्कृतिको विकास नभएको दु:खेसो पोख्छन्, बराल । खासगरी स्थानीयलाई अभिमुखीकरण तालिम आवश्यक छ । आरक्षवरपरको निजी जग्गा अचाक्ली महँगो छ, बाहिरी मान्छेले किनेर होटल खोल्ने आँट गर्दैनन् । आरक्षभित्रको जग्गा भाडामा लिन मन्त्रिपरिषद्बाट पास हुनुपर्छ, प्रक्रिया झन्झटिलो छ । होटल खुल्न मुस्किलै छ । बराल भन्छन्, “त्यसैले स्थानीयलाई जागरुक बनाएर होमस्टे सुरु गर्नुपर्छ ।”

आरक्षभित्र ५३ बस्ती छन् । होमस्टेले पर्यटक तान्ने र सिकार मात्र होइन, उच्च भेगमा पाइने हिउँ चितुवा, रेड पान्डा, कस्तुरी, मृग, ध्वाँसे चितुवाको अवलोकन गराउन सकिने सम्भावना छ । अहिले पनि यो ठाउँलाई शे–फोक्सुन्डो जाने पदमार्गका रूपमा प्रयोग गरिन्छ ।

यस्ता प्राविधिक पक्षमा सुधार गर्नु त छँदैछ, ढोरपाटनको मुटुचाहिँ सिकार नै हो । त्यसैले सिकारका लागि नाउर र झारलको संख्या बढाउनु उत्तिकै आवश्यक छ । सिकार र संरक्षणको अनुपात मिलाउनु छँदैछ । ढोरपाटनबाहेक सिकारको सम्भावना अन्यत्र पनि छ ? “संरक्षित  वन्यजन्तुबाहेकको हकमा वन र पर्यावरणले भार वहन गर्न सक्नेभन्दा बढी छ भने सिकारका लागि अनुमति दिँदा वन्यजन्तुको संरक्षणमा टेवा पुग्छ, पर्यटन बढ्छ,” संरक्षणकर्मी रोशन शेरचन भन्छन्, “तर यसको लाभको बाँडफाँडमा स्थानीयलाई सहभागी गराउनु अनिवार्य हुन्छ ।”


 

प्रकाशित: आश्विन २९, २०७५

ट्याग: आवरण