वधशाला नै अव्यवस्थित

- विभु लुइटेल

चौपायाका जीउडाल हेरेर स्वस्थ भए–नभएको निक्र्योल गर्ने प्रवृत्तिले विभिन्न प्रकारका रोग निम्त्याउँदै छ । मासुको स्वादमा मात्र ध्यान दिने हामी त्यसको गुणस्तरबारे पनि सचेत छौँ त ?

दसैँका बेला अन्य समयभन्दा खसी, बोका, भेडा–च्यांग्रा आदि चौपायाको मासु ज्यादा खपत हुन्छ । दसैँको दोस्रो दिनदेखि फूलपातीसम्म करिब ६० हजार खसी, बोका, भेडा–च्यांग्रा काठमाडौँ भित्रिने गरेका छन्, त्यसमध्ये करिब ४० हजार कलंकीको बाटो हुँदै चौपाया खरिद बिक्री सेवा संघमा आबद्ध व्यवसायीले ल्याउँछन् । संघका अध्यक्ष भानुभक्त पराजुली भन्छन्, “बाँकी करिब २० हजार चौपाया कृषक तथा स्वतन्त्र व्यवसायीद्वारा संघमा दर्ता नगरी ल्याउने अनुमान छ ।”

ट्राफिक प्रहरीसँग समन्वय नै नगरी ती चौपायाको बिक्री बाटो छेउछाउ पनि गरिने भएकाले दसैँको समयमा दुर्घटनासमेत हुने गरेका छन् । संघका अनुसार काठमाडौँ आइपुग्ने करिब ६५ प्रतिशत खसी–बोका भारतबाट र करिब ८० प्रतिशत भेडा–च्यांग्रा चीनदेखि आयात हुन्छन् । समथर भूभागबाट पहाडसम्म आइपुग्दा धेरैजसो खसी–बोकामा लेक लाग्ने समस्या छ । त्यस्तै, हिमाली भेग हुँदै ल्याइने भेडा–च्यांग्रालाई यहाँसम्म ल्याई पुर्‍याउँदा औल लाग्ने गरेको पनि देखिएको छ । तंग्रिन नपाउँदै वध गरिहाल्ने हो भने त्यस्ता बिरामी पशुबाट निस्किएको मासु सेवन गरे स्वास्थ्यमा पनि समस्या देखिन थाल्ने पशु चिकित्सक राकेश चन्दको भनाइ छ ।

काठमाडौँ भित्रिने क्रममा कति पशु बीच बाटोमै मर्छन् भने कतिपय बिरामी हुन्छन् । थानकोटमा क्वारेन्टाइन जाँच गर्दा मरेका पशु फेला परे भित्रिन दिइँदैन । सम्भव भएसम्म जहाँबाट ल्याएको त्यहीँ फर्काउने, नभए नजिकै कतै उचित व्यवस्थापन गरिदिने सरकारी प्रावधान छ । तर, जाँच प्रभावकारी नभइदिँदा स्वस्थ मासुसँग तिनलाई मिसाएर केहीले बेच्ने गरेको पनि पाइएको छ ।

जिउँदै भित्रिएका सबै पशुको स्वास्थ्य परीक्षण सम्भव नभएको क्वारेन्टाइनमा खटाइएका एक पशु चिकित्सक स्वीकार्छन् । उसै त, पशु चिकित्सकको संख्या अन्यत्रभन्दा तुलनात्मक हिसाबमा कम छ, त्यसमाथि दसैँमा ठूलो संख्यामा भित्रिने पशुको स्वास्थ्य परीक्षण गर्नु लगभग असम्भवजस्तै हो । शंका लागेकालाई मात्र परीक्षणमा लग्दा साँच्चिकै बिरामी चौपायाचाहिँ छुट्ने गरेको उनीहरू बताउँछन् ।

बिरामी भेटिएका पशुलाई रातो र स्वस्थलाई हरियो रङ लगाइदिने प्रणाली बसेको धेरै वर्ष भइसक्यो । रातो लागेका पशु पछि पूर्ण रूपमा ठीक भए तिनको मासु खान मिल्ने वरिष्ठ पशुचिकित्सक मुकुल उपाध्यायको भनाइ छ । तर, त्यस्ता जनावरको उपचारका निम्ति नेपालमा कान्जी हाउस कमै मात्र छन्, भएका पनि प्रभावकारी छैनन् । हाइजेनिक लाइभस्टक फुड प्रडक्टस्का अध्यक्ष मनोज नेवा: खड्गी भन्छन्, “कान्जी हाउसको अभावले प्रत्यक्ष असर पशु स्वास्थ्यमा परिरहेको छ भने परोक्ष असर मानव स्वास्थ्यमा ।” हरेक वर्ष प्रभावकारी कान्जी हाउस निर्माण गरिदिन पहल गरे पनि सरकारले लत्याउँदै आएको आरोप उनी लगाउँछन् ।

नेपालमा हाल आठ आधुनिक पशु वधशाला छन् । सबै निजी लगानीमा खोलिएका हुन् । तर, ती प्रभावकारी रूपले सञ्चालनमा आउन सकेका छैनन् । खोला–किनारामा मासुको अत्यधिक प्रशोधन हुने गरेको छ । यसको सुधारका लागि निजी क्षेत्रबाट केही पहल भए पनि सरकार मूकदर्शक बनेर तमासा हेरिरहेको आरोप लगाउँछन्, पशु वधशाला व्यवसायी संघका अध्यक्ष कृष्णहरि भट्ट । भन्छन्, “यस्तै चल्दै जाने हो भने नेपालीले स्वस्थकर मासु खान सपनामा मात्र चिताए हुन्छ ।”

मासुको कच्चा पदार्थ काठमाडौँ भित्रिँदा फोहोर पनि सँगसँगै आइरहेको हुन्छ । आयातीत फोहोरमध्ये छाला र हड्डी जहाँबाट आएका हुन्, त्यहीँ फर्काइन्छ । दोहोरो ढुवानीका कारण मासुको अनावश्यक खर्च बढ्दै गएको छ । भन्सार र नगरपालिकाले लिने कर छुट्टै छन् । खसीको मूल्य अघिल्लो वर्षभन्दा यस वर्ष करिब सय रुपैयाँ बढेकाले सर्वसाधारण मारमा परेका छन् । तर, सम्बन्धित निकायको यसतर्फ ध्यान नगएको आरोप भट्ट लगाउँछन् ।

जनावरका छाला र हड्डीबाहेकका फोहोर व्यवस्थापन गर्ने अभिभारा केही संस्थाले लिए पनि खर्च बढी पर्न आउँदा धेरैजसोले खोला तथा नदीमा फालिदिने गरेको देखिन्छ । काठमाडौँ ल्याइने अधिकांश खसी–बोका कलंकी, टुकुचा, बालाजु र बिजुली बजारबाट साना व्यवसायी वा सीधै ग्राहकलाई बिक्री गरिन्छन् । यी ठाउँमा  पानीको स्रोत हँुदा उत्पादित अतिरिक्त फोहोर त्यहीँ खोलामा फालिन्छन् । यसले वातावरणमा समेत प्रतिकूल असर पारिरहेको छ । कम्पोस्ट मल बनाउने केही संस्थाले मासु व्यवसायीलाई वातावरणबारे सचेत गराउँदै आए पनि अधिकांश व्यवसायीले त्यसतर्फ ध्यान दिएका छैनन् ।

नेपालमा फ्रोजन मासुको अवधारणा खासै प्रचलित छैन । फ्रिज गरी राखिएको मासु आलो मासुभन्दा कैयौँ गुणा बढी स्वस्थकर हुने वैज्ञानिकहरूले बताउँदै आए पनि नेपाली स्वादे जिब्रोका कारण सफल हुन सकेको छैन । अझ, चौपायाको रगत पनि छुट्टै परिकारका रूपमा खाने प्रवृत्तिले धेरैको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको जानकार बताउँछन् । अन्य मुलुकका जस्ता रेफ्रिजिरेटर भ्यान प्रयोगमा ल्याउन सके ढुवानीका क्रममा मासु अस्वस्थ हुने समस्या पनि रोकिने र फ्रोजन मासुको प्रयोगमा जोड पुग्ने स्वास्थ्यविद्को भनाइ छ ।

मासु व्यवसायमा खड्गी समुदायको बाहुल्य रहे पनि अहिले अन्य समुदायका मानिसले समेत यो व्यवसाय अँगाल्नु सुखद पक्ष रहेको खड्गीको भनाइ छ । तर, उनी गुनासो गर्छन्, “यस व्यवसायमा भविष्य देख्नेको संख्या ठूलो छ । तर, समयानुकूल परिवर्तन नहुनुको मार भने आम मानिसलाई परिरहेको छ ।” विदेशबाट पढेर आएकाले यस क्षेत्रमा केही सुधार गर्न खोजे पनि परम्परागत शैलीमै अभ्यस्त भइसकेकाका लागि ती आँखाका कसिंगर भइरहेको दु:ख मनाउ उनी गर्छन् ।

नेपालमा पशुवध गर्दा ध्यान नपुर्‍याइने पाटो पशुको मानसिक अवस्था पनि हो । आँखाअगाडि अर्को जनावर काटिँदा कुखुरा र सुँगुरमा खासै डर देखिँदैन । तर, अन्य भने यस्तो अवस्थामा त्रसित हुने विभिन्न अध्ययन–अनुसन्धानले देखाएका छन् । पशु चिकित्सक चन्द भन्छन्, “शारीरिक रूपमा बिरामी परेका पशुको मासु जति अस्वस्थकर हुन्छ, मानसिक रूपमा बिरामी परेकाको पनि त्यति नै हुन्छ ।” डराएको जनावरको मासु सेवन गर्दा त्यसको असर मानव स्वास्थ्यमा पनि पर्ने उनी बताउँछन् ।

मासुको गुणस्तर खस्कनुको अर्को मुख्य कारण हो, अव्यवस्थित अनुगमन । नेपालमा, मुख्यगरी काठमाडौँमा, मासुको अनुगमन हुने भनेकै दसैँको मुखमा मात्र हो । वर्षको एकपटक मात्र मासु पसल र पशु वधशाला अनुगमन हुने हुँदा यस समयका लागि मात्र व्यवसायीले आफ्ना कार्यक्षेत्र केही हदसम्म सफा राख्ने अनि वर्षभरि स्वच्छतामा ध्यान नदिने गुनासा सुनिँदै आएका छन् । यस वर्ष अनुगमन टोलीमा सामेल काठमाडौँकी उपमेयर हरिप्रभा खड्गी सुनाउँछिन्, “पर्याप्त अनुगमन हुन नसक्नुमा हाम्रो पनि कमजोरी छ । वर्षका अन्य समयमा पनि अनुगमन गर्न सम्बन्धित निकायसम्म आवाज पुर्‍याइसकेका छौँ ।”

मासु पसलेले तौल बढाउन काटिसकेको जनावरलाई पानीमा ढड्याउने गरेका छन् । तौल बढाउने यो पुरानो प्रविधिलाई मात दिन अहिले थुप्रै नयाँ प्रविधि आइसके । यस्तो प्रविधिको प्रयोग केही न्यून संख्याका मासु पसलेले गर्छन् भने कतिपय किसानले । पशुलाई एन्टिबायोटिक खुवाउने कृषकको संख्या ठूलो छ । कतिपयले ग्रोथ हार्मोनसमेत दिने गरेका छन् । पसलेले मासुको रङ आकर्षक बनाउन नाइट्रेट र नाइट्राइटयुक्त पदार्थ प्रयोग गर्छन् । पराजुली भन्छन्, “कोही किसान र व्यवसायीले जानेरै पशुलाई यस्ता रसायन दिँदैनन् । भेटेरिनरी डाक्टरले औषधीका नाममा दिए मात्र हो ।”

काठमाडौँ उपत्यकाका केही पुराना बस्तीमा घरैपिच्छे मासु पसल छन् । जिजुबाजेको पालादेखि सञ्चालित यस्ता मासु पसल अहिले पनि परम्परागत ढंगमै चलिरहेका छन् । यिनमा समयानुकूल परिमार्जन भएको पाइँदैन । खड्गी भन्छन्, “परम्परागत अस्वस्थकर प्रविधिलाई विस्थापन गरौँ भनी हामी नै कति पटक पुराना मासु पसलेका दैलो चहारेका छौँ । तर, धेरैजसो मान्न तयार नै छैनन् ।” मासु पसललाई एकीकृत गरी मिट मार्ट तथा मासु औद्योगिक क्षेत्र सञ्चालन गर्ने अवधारणा व्यवहारमा भने उतार्न सकिएको छैन ।

मासु प्रोटिनको स्रोत हो । सन्तुलित आहारको एक अभिन्न हिस्सामा मासुलाई पनि राखिएको छ । एक मांसाहारीलाई वर्षको कम्तीमा पनि १४ किलोग्राम मासु आवश्यक पर्ने विभिन्न अध्ययन–अनुसन्धानले देखाएका छन् ।

पराजुलीका अनुसार काठमाडौँमा मात्र वार्षिक २ करोड ५१ लाख किलोग्राम मासु चाहिन्छ । तर, करिब ५० लाख किलोग्राम मात्र आपूर्ति हुन सकेको छ । दसैँको समयमा काठमाडौँमा मात्र करिब १८ लाख किलोग्राम मासु भित्रिने गरेको अनुमान छ ।

सामान्य मानिसलाई आफूले खाइरहेको मासु स्वस्थकर छ/छैन भनी ठम्याउन गाह्रो पर्छ । नेपालमा प्रशोधन गरी बिक्री गरिने मासु स्वास्थ्यका दृष्टिले लाभकारी नभएकाले यसबारे जनचेतना जगाउन आवश्यक रहेको पशु चिकित्सक चन्द बताउँछन् । भन्छन्, “मासु खानयोग्य छ/छैन भनी जाँच गराउन ग्राहक नै अग्रसर हुने हो भने यस्ता जालझेल तथा अनियमितता स्वत: कम हुँदै जान्छन् ।”

प्रकाशित: आश्विन २८, २०७५

ट्याग: समसामयिक