चुलियो बजार भाउ

- विजयराज खनाल

यसपटक दसैँमा पनि यातायात, तरकारी, खाद्यान्नमा जम्माखोर, नाफाखोर व्यवसायीले गरेको मूल्यवृद्धि नियन्त्रणमा सरकार सफल देखिएन । सरकारी आँकडामा गत वर्ष दसैँताकाको तुलनामा करिब ७ प्रतिशतले मूल्यवृद्धि भएको देखिए पनि बजारमा भने २३ प्रतिशतसम्म बढेको छ ।

सरकारले तोकेको वा व्यवसायीले पेस गरेको दरभन्दा बजारमा केही खाद्यान्नको मूल्य ३३ प्रतिशतसम्म बढेको छ । गत वर्षको तुलनामा चिनी, प्याजजस्ता वस्तुको भाउ घटेको छ । चिउरा, बोडी, केही मिठाईजस्ता सामग्रीको भाउ  स्थिर छ ।  यातायात क्षेत्रमा सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण देखाउँदै यसपटक १० प्रतिशत भाउ बढाएको छ । तर, सधैँ अनियन्त्रित देखिने यस क्षेत्रमा यात्रुसँग व्यवसायीले भने तोकिएभन्दा ३६ प्रतिशतसम्म बढी मूल्य असुलिरहेका छन् ।

संघीय संसद्को सार्वजनिक लेखा समितिले खुद्रा चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ तोक्न पटक–पटक निर्देशन दिए पनि सरकारले चिनीको भाउ प्रतिकेजी ७०/७२ मा रहने गरी लगाम लगाइरहेको छ । बढ्दो पेट्रोलियम र डलरको विनिमय दरमा भइरहेको वृद्धिले केही हदसम्म मूल्य बढेको हो । सरकारले कपडामा भन्सार दर बढाएका कारण मूल्यवृद्धि भएको व्यापारीको दाबी छ । गुणस्तर, ब्रान्डका नाममा तेल, दालदेखि लत्ताकपडामा भाउ अलगअलग राखेर सर्वसाधारणसँग मनलाग्दी असुलिँदै आएको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्, “अन्तर्राष्ट्रिय बजारको तुलनामा हामीले चिनी, तेललगायतमा बढी मूल्य तिर्नु परिरहेको छ ।”

 

प्रकाशित: आश्विन २८, २०७५