कामचलाउ कमेडी [फिल्म समीक्षा : छक्का–पञ्जा ३]

फिल्म: छक्का–पञ्जा ३ | रेटिङ: २/५

- गोकर्ण गौतम

दीपकराज गिरी र दीपाश्री निरौलाले व्यावसायिक कीर्तिमान् राखे, छक्कापञ्जा  र छक्कापञ्जा बाट । नेपालभित्रै झन्डै १५–१५ करोड रुपैयाँको व्यापार गरेर यी फिल्मले बजारको आयतन फराकिलो बनाइदिए । तर, दामजसरी दीपक–दीपाले नाम भने कमाएनन् । महिलालाई होच्चाएको र भद्दा मजाक गरेर ‘विवेकशून्य’ फिल्म बनाएको आरोप लगायो, एउटा ठूलो तप्काले । यही कारण हुनुपर्छ, छक्कापञ्जा मा दीपक–दीपाले सर्जकका रुपमा केही संयम अपनाएको देखिन्छ । सरकारी स्कुलमा हुने बेथितिमाथि प्रहार गरेका छन्, हँसाउनकै खातिर जबर्जस्ती राखिने संवाद घटाएका छन् । तैपनि, छक्कापञ्जा हेरेपछि दिल खोलेर ताली बजाउन सकिन्न । कारण, विषयवस्तुको उठान र प्रस्तुति सतही मात्र छ । दीपक आफैँले लेखेको पटकथामा पात्र र घटनाहरु असरल्ल छरिएका छन् । केन्द्रीय द्वन्द्वमै अलमल छ । हाँस्य कलाकारको भीड त यसपटक पनि छँदैछ ।

झुले बस्तीको खानीडाँडा माध्यमिक विद्यालयका कोही शिक्षक तासमै मग्न छन्, कोही जग्गा दलाल । पाले दाइको पारा उस्तै । त्यही गाउँमा खानीडाँडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजी (नीर शाह) का भाइको निजी स्कुल छ । काजीलाई विद्यालयको बहानामा राजनीति गर्नुछ, उनको तगारो बनिदिन्छन्, क्रान्तिकारी स्वभावका बाङदेल (शिशिर बाङदेल) । उनका कारण राजनीति चौपट भएपछि काजीले छोरा राजा (दीपकराज गिरी) लाई बोलाउँछन् । त्यही बेला प्रधानाध्यापककी अंग्रेजी पढेकी छोरी उजेली (दीपिका प्रसाईं) गाउँ आएपछि अनेक रस्साकस्सी हुन्छ । खानीडाँडाको हविगत सुध्रिएला ? क्लाइमेक्समा अघिल्ला सिरिजमा झैँ ‘ट्वीस्ट’ खोजियो भने निराश हुनुपर्छ ।

गाउँका सरकारी स्कुलको हालत यस फिल्ममा देखाइएभन्दा खास फरक हुन्न । त्यसैले कथामा अपनत्व महसुस गर्न सकिन्छ । तर, पात्रको हूल र तिनलाई स्थापित गर्न नसक्दा फिक्का लाग्छ । सुरुआती झन्डै ४५ मिनेट त पात्रको ‘सेटअप’ मै खर्चिएको छ । फिल्मको कथा उठान, त्यसको विकासक्रम एक हदसम्म यथार्थपरक छ । तर, वर्षभरि कुनै महिना राम्रो पढाइ नभएको विद्यालयका विद्यार्थी एसईईमा शतप्रतिशत पास हुन्छन् । यसरी क्लाइमेक्सलाई नाटकीय बनाउँदा निशाना चुकेको छ । शिक्षकको रबैया, गाउँलेको मनोविज्ञान, विद्यार्थीको पीडालाई पटकथामा उनिएको छ । तर, समस्या उही,  गहिराइमा पुगिन्न । लन्ठ्याङमन्ठ्याङ गर्दै अगाडि बढाइन्छ । सरकारी विद्यालयको यस्तै लापरवाहीमाथि मह जोडीले शिक्षा  सिरियल बनाएका थिए ।

दीपक–दीपासामु चुनौती पक्कै छ, उनीहरुका आमदर्शक ‘कन्टेन्ट’ होइन, ‘ कमेडी’ खोज्छन् । अर्थात्, हाँस्न पाए पुग्यो । फिल्म चेतहीन हाँसोको भण्डार मात्र होइन । पाँचौँ फिल्ममा आइपुगेपछि दीपक–दीपाले यो तथ्यलाई बोध गरेका छन् । त्यसका लागि धन्यवादका पात्र हुन् । तर, खल्लो कतिखेर लाग्छ भने उनीहरुले जति संवेदनशील विषय रोजे, सोही अनुपातमा चोटिलो बनाउन सकेनन् । हँसाउने लोभमा सहायक पात्र र घटनाक्रमलाई स्थान दिँदा मूलकथा ओझेल पर्‍यो । अर्को समस्याचाहिँ पात्रप्रति निर्देशक र पटकथाकारको कमाण्ड नहुनु हो । बाङदेल कहिले ‘हिरो’ जस्तो लाग्छन्, कहिले ‘भिलेन’, विश्वसनीय कारणबिनै । स्कुल सुधारका लागि बिहे गरेकी केटी उतिखेरै हार मान्छिन् । माग्नेबूढाकी बहिनी गमलीबाट दर्शकको संवेदना जित्ने प्रशस्त सम्भावना थियो । तर, छिपछिपेमा सीमित छ । फिल्मको मूल भिलेनझैँ लाग्ने निजी विद्यालय सञ्चालकका छोरालाई अन्तिममा एउटा कोठामा थुनिदिने दृश्य आफैँमा हाँस्यास्पद लाग्छ ।

दीपक, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङको चरित्र अघिल्ला सिरिजकै निरन्तरता हो, नयाँपन छैन । यी पात्रको ‘कमिक टाइमिङ’ रोचक छ । बरु राजाले अघिल्ला सिरिजमा झैँ यावत ‘छक्का–पञ्जा’ गर्दैनन् । फिल्म हेरिरहँदा र हेरिसकेपछि लाग्छ, यही पटकथालाई प्रभावकारी ‘ट्रिटमेन्ट’ गरेको भए फिल्म अर्कै लेभलमा पुग्थ्यो । दृश्यभन्दा संवादलाई महत्त्व दिने शैली रोकिएको छैन । रेडियो नाटकको धङधङीबाट मुक्त नहुँदाको परिणाम हो यो । बरु प्राप्त पटकथामा दीपाको निर्देशन प्रशंसनीय छ । दृश्य भाषा निर्माणमा भने उनले विशेष ध्यान दिनु आवश्यक छ । दृश्यभन्दा पहिल्यै संजोग कोइराला र प्रियंका कार्की गीतमा झ्वाट्ट देखिँदा उदेक लाग्छ । दीपिका प्रसाईंको अभिनय र संवाद बोल्ने शैलीमा स्वाभाविकताको ह्रास छ । ‘पहिलो नम्बर...’ र ‘पछिल्लो उमेर ढल्कन्छ...’ गीत सुन्दा रमाइला छन् । तर, फिल्ममा उचित सन्दर्भबिना राखिएको छ, त्यसैले बिझाउँछ । पुरुषोत्तम प्रधानको खिचाइमा निर्देशकको पूर्ण नियन्त्रण नभएको आभास हुन्छ । दृश्य भव्य देखाउन कन्जुस्याइँ गरिएको छैन ।

छक्कापञ्जा  सिरिजप्रेमीलाई छक्कापञ्जा प्यारो लाग्छ । तर, कन्टेन्ट र कमेडीलाई सँगै लैजाने प्रयास प्रतिफलमूलक नभएकाले नयाँ दर्शक रिझाउन  सक्दैन । यद्यपि, दीपक–दीपाबाट आगामी दिनमा सार्थक सिनेमा अपेक्षा गर्न सकिने आधारचाहिँ छाडेका छन् ।

प्रकाशित: आश्विन २६, २०७५