[नोटबुक] मृत्युको साक्षी फेसबुक

- विभु लुइटेल

केही दिनअघि पूर्वसहकर्मी उपहारजंग शाहले आफ्नो विद्यार्थीले आत्महत्या गर्न मन लागेको भन्दै राखेको फेसबुक  स्टाटसको स्क्रिनसट पोस्ट गरे । राती १२ बजे फेसबुकमा लाइभ गएर आत्महत्या गर्छु भनी ती विद्यार्थीले लगातार केही स्टाटस लेखेका थिए । त्यस्तो नगर्न सुझाव दिँदै धेरैले कमेन्टमै गाली पनि गरेका थिए । तर, एकचोटि मन बनाइसकेका तिनले सुनेनन् । नभन्दै स्टाटसमा लेखे अनुरुप नै लाइभ आए ।

‘आत्महत्या कायरले मात्र गर्छन्’, ‘आफ्नो परिवारका बारेमा सोच’ जस्ता प्रतिक्रियाले उनको कमेन्ट बक्स भरिभराउ थियो । कतिले त त्यसलाई गम्भीरतापूर्वक लिएका पनि थिएनन् । नभन्दै केही बेरमा फेसबुक उनको मृत्युको साक्षी बन्यो । कसैको केही लागेन ।

सबैका आ–आफ्नै समस्या हुन्छन् । कसैको सहनशक्ति धेरै हुन्छ त कसैको थोरै । धैर्यपूर्वक तिनको सामना गर्न नसक्दा धेरैले रोज्ने अन्तिम विकल्प नै आत्महत्या हो । डिप्रेसन, बाइपोलार डिसअर्डर, एन्जाईटीजस्ता मानसिक अवस्थाको उत्कर्ष हुँदै जाँदा तीबाट सधैँलाई पार पाउन मानसिक परामर्श तथा औषधीको सहारा नलिएर प्राण नै त्याग्नु कत्तिको युक्तिसंगत हो ? यस्तो अवस्थामा हामी आफ्ना समस्याबाट मुक्ति पाउनेबारे मात्र सोच्छौँ । आफू एकचोटि मरेर आफ्नालाई हरेक दिन मार्नु ठीक हो ?

यी पनि लागूऔषध

काठमाडौँमा माग्न बसेका वा फोहोर उठाउँदै हिँडेका धेरैजसो बालबालिकाले दूधको प्याकेटमा डेन्ड्राइट राखी सुँघ्ने गरेको हामी सबैले देखेका छौँ । लगातार डेन्ड्राइट सुँघिरहँदा भोक र जाडो नलाग्ने रहेछ । त्यसमाथि थोरै मूल्यमा पाइने । डेन्ड्राइट मात्र नभएर हाइड्रोकार्बनयुक्त अरु पदार्थ पनि रहेछन्, जसको प्रयोग लागूऔषधका रुपमा गर्न सकिने रहेछ ।

कफ सिरप, डाइजिन, रुघा लागेका बेला सुँघ्ने इन्हेलरलाई पनि मानिसले ड्रग्सका रुपमा प्रयोग गर्ने रहेछन् भनी पहिलो पटक सुन्दा अचम्म लागेको थियो । जताततै सजिलै पाइने, डाक्टरको प्रेस्क्रिप्सन पनि नचाहिने अनि प्रयोग गर्दा कसैले केही प्रश्न पनि नगर्ने । सबैले गलत प्रयोजनकै लागि यी पदार्थ खरिद गर्छन् भन्न खोजेको होइन ।

हुँदाहुँदा नङ र जुत्तामा लगाउने पालिस, किताब तथा लुगामा कीरा नलागून् भनी बीचमा राखिने न्याफ्थालिन वा प्याराडाइक्लोरो बेन्जिनयुक्त सेतो पदार्थ, मट्टीतेल, पेट्रोल, ओडोनिल, फेभिकोल, मार्करको मसीसमेत लागूऔषधका रुपमा प्रयोग गरिएका घटना छन् । कसैले शंका पनि गर्न नसक्ने यस्ता पदार्थको चरम दुरुपयोग भइरहेको छ । समयमा नियमन नभए यस्तै पदार्थले धेरैको ज्यान लिने निश्चित छ ।

कपाल किस्सा

केही महिना भयो, ठुटो कपाल राख्न थालेको । न स्याहार्न झन्झट हुने, न त आफूलाई कस्तो स्टाइल सुहाउँछ भन्दै अनेक स्टाइल प्रयत्न गर्नुपर्ने । स्याम्पु र कन्डिसनर पनि जोगिएको छ । सुक्न पनि समय लाग्दैन । स्ट्रेट गर्ने समय जोगिएको छ । घन्टौँ ऐनाअगाडि बसी कोरिबाटी गर्ने झन्झटबाट पनि मुक्त भएकी छु । यति हुँदाहुँदै सबै पक्ष सुन्दर भने छैनन् । हजुरबा दिनहुँजसो फोन गरेर गाली गर्नुहुन्छ । धेरै पछि भेट भएका आफन्तले चिन्दैनन् । लोकल गाडीमा आवतजावत गर्दा सहचालकले ‘दाइ, यहाँ नबस्नुस्, यो महिला सिट हो’ नभनेको त दिनै हुँदैन ।

एक साताअघि काम सकेर घर फर्कंदा रातीको करिब ८ बजिसकेको थियो । त्रिभुवन विश्वविद्यालयपछाडि जंगलको बाटो हुँदै घर जाँदै थिएँ । मभन्दा केही मिटर मात्र अगाडि मेरै उमेरका जस्तो लाग्ने दुई युवती हिँडिरहेका थिए । पछाडि कोही आइरहेको थाहा पाएर एकपटक पुलुक्क मतिर हेरे अनि कानेखुसी गर्न थाले । एउटीले भनिन्, “केही गर्न खोज्यो भने दुई जना मिलेर कुट्न सकिन्छ यत्तिको लुरेलाई त ।” अर्कीले होमा हो थपिन् । एक त सुनसान बाटो हिँडिरहेका, त्यसमाथि अहिले यत्रतत्र नराम्रा घटनाका विवरण मात्र आइरहेका हँुदा सायद ती डराएका हुन् कि ? तर, विभ्रमित ती युवती आवेशमा आए भने के गर्ने भन्ने डरले मलाई समातिसकेको थियो । आमालाई फोन गरेँ, तिनीहरुले पनि सुने । अगाडिकी युवतीले फेरि कानेखुसी गरिन्, “हैट् ! केटी पो रै’छ ।” यो सब भइसकेपछि तिनले भन्दा बढी आनन्दको सास त मैले नै फेरेँ सायद ।

प्रकाशित: आश्विन २५, २०७५

ट्याग: नोटबुक