[स्मरण ] एक्लै छु म

- वैरागी काइँला

कृति आफैँमा सम्पूर्ण होस् र हुन सकोस् भन्ने अवधारणाले बढेको लेखन थियो, आयामिक लेखन । हाम्रो बुझाइ थियो– साहित्यमा सम्पूर्णता लेख्नुपर्छ । आफूले देखेको त एक पाटो मात्र होला । आफ्नो दृष्टिकोणले लेखे रचनाको अस्मिता एकांगी हुन्छ होला । वस्तुवादी दृष्टि भन्छन् नि ठम्याइमा, हेराइमा, त्यसैको आग्रह थियो । यस्तो निरपेक्षतालाई हामीले अर्थनिरपेक्षता भन्यौँ । हामीले वकालत गरेको अर्थविहीनता नभएर अर्थनिरपेक्षता हो ।

साहित्यलाई स्रष्टाहरुले आ–आफ्ना धार्मिक, सामाजिक, आर्थिक तथा राजनीतिक मान्यता वहन गर्ने करिया बनाउनुहुन्न भन्ने हाम्रो मान्यता थियो । प्रस्ट भन्दा स्रष्टाहरुले साहित्यलाई सामाजिक र सांस्कृतिक मान्यता, संस्थागत वा दलगत मूल्यविशेषको संवाहक बनाएर पक्षधरता लिएमा सम्पूर्णताको लेखनबाट स्खलित भइन्छ भनेर त्यसो भनिएको हो । स्रष्टाको स्वविचार हुन्छ तर सिर्जनालाई उसको विचारको भरिया बनाउनुहुँदैन । यसरी कृतिको स्वतन्त्र सत्तालाई वस्तुता भन्यौँ र सम्प्रभु मान्यौँ ।

लेखिसकेको रचनाको आफ्नै स्वतन्त्र सत्ता हुन्छ । रचनाको सम्प्रभुतामाथि हस्तक्षेप गरिनुहुँदैन भन्ने सोच थियो उसबेला । पाठकले आफ्नै दृष्टिकोण हुलेर व्याख्या गरे वा बुझेमा रचनाको वस्तुता उस्तै रहँदैन । सापेक्ष दृष्टिले रचना वा वस्तुको सत्तालाई स्वतन्त्र हुन दिँदैन । दृष्टिको सापेक्षता हस्तक्षेप हो । ढुंगालाई ढुंगै रहन दिऊँ । सिन्दूर र गाजल दलिदिएर देउताविशेष बनाउँदा त्यो ढुंगा रहँदैन । यसैले लेखनमा अर्थनिरपक्षेताको मान्यता अगाडि सारिएको थियो जस्तो लाग्छ ।

अर्को कुरा, आयामिक लेखनले के थोक लेख्नेभन्दा पनि कसरी लेख्नेमा जोड दियो । त्यसैले वैचारिक पक्षधरता लिएर लेख्नुपर्छ भन्ने पक्षबाट चर्को आलोचना भयो । सामाजिक रुपान्तरणमा साहित्यको भूमिका अहं हुनाले त्यसका लागि साहित्यिक लेखनको सदुपयोग गरिनुपर्छ भन्ने विचार उहिले पनि थियो र आज पनि प्रबल छ । बुटपालिस, सडक कविता, राल्फाजस्ता परिवर्तनकामी साहित्यिक आन्दोलन नेपाली साहित्यमा भएकै हुन् । तर, राजनीतिक तथा सामाजिक असन्तुष्टिसँग गाँसिएको सामयिक सिर्जनात्मक आन्दोलन भने विशेष समयसम्म जीवन्त रहन्छ ।

उतिबेलै पनि मलाई कताकता लागेको रहेछ कि लेखन कार्य जति तटस्थ बन्न खोजे पनि आँखामा पट्टी बाँधेर हात्ती छाम्न खोजेको कामजस्तै रहेछ । हरेक लेखकका अभिव्यक्ति छामेर भेटिएका हात्ती मात्र हुँदा रहेछन्, आ–आफ्नै । अलगअलग भेटिएका हात्तीजस्तै रहेछन् यथार्थ वा सत्य, आ–आफ्नै हात्तीता भएका । यी यथार्थ सत्यको बहुलता हुन् कि यी बहुलता सबै अयथार्थ हुन् ? दृष्टिदोष मात्रै हुन् ?

यस बोधको अन्तर्य के हो भने लिखित रचना अथवा पाठलाई जस्तो छ उस्तै पाठकले ग्रहण गर्नुपर्छ भन्दा पाठकको स्वतन्त्रतामाथि हस्तक्षेप भएको थियो कि ? अहिले बारम्बार मलाई यस्ता प्रश्नले घेर्छन् । तर, अर्थ निरपेक्षताको वकालत गरेर एउटा कुरा भने राम्रो गरियोजस्तो लाग्छ । त्यो के हो भने अर्थ निरपेक्षताले सबै विचारधाराप्रति सहिष्णुता र सद्भाव बुझाउँछ । विचारको प्रजातन्त्रमा आस्था र विश्वास राख्ने मान्यता हो यो ।

साहित्य चिरन्तन विषय हो । राजनीतिक, सांस्कृतिक तथा सामाजिक असन्तुष्टिसँग मात्र नभएर तेस्रो आयामले उठाएको कुरा लेखन कार्य र प्रविधि, भाषा, शिल्प र शैलीसँग सम्बन्धित थियो र छ । कसरी डल्लो लेख्ने ? कसरी डल्लै लेख्ने ? अर्थात्, कसरी सम्पूर्णताले सम्पूर्णता लेख्ने ? यी प्रश्नका उत्तरको खोजीकार्यसँग जोडिएकाले आयामिक लेखनको चर्चा आजसम्म टिकेको छ ।

नदीमा धेरै पानी बगिसके । पटकपटक क्षयरोगले थलिएपछि पढाइ छाडेर विसं ०२१ मध्यतिर आफ्नो गाउँघर (पाँचथर) फर्किएँ । सुती खेतीमा लागियो । तर, आयामिक आग्रहमा आधारित ४/५ वटा कविता ०३० सम्म लेखेँ । ०३० देखि ०४६ सम्मको अवधि पूर्वी नेपालका लिम्बू जातिको मुन्धुम र भाषा–संस्कृतिको अध्ययन–अनुसन्धानमा बिताएँ । ०४७ पछि झन्डै ११ वटा मुन्धुमका पुस्तक र लिम्बू भाषा, व्याकरण र शब्दकोश ४/५ वटा प्रकाशित भएका छन् । अरु प्रकाशनका प्रतीक्षामा छन् ।

ईश्वरवल्लभ भने काठमाडौँमा बसेर तेस्रो आयाममाथि भएका आक्रमणको एक्लै प्रतिरक्षा गरिरहनुभयो । इन्द्रबहादुर राईले दार्जिलिङमा बसेर आयामिक लेखनको सैद्धान्तिक धरातल तयार गर्दै विवेचनात्मक पुस्तक कथास्था प्रकाशन गर्नुभयो । उहाँले ०३४ को रुपरेखामा एउटा लेखमार्फत आयामिक लेखनबाट एक फाल उता उफ्रेर लीलालेखन सुरु गर्नुभयो । आज ईश्वरवल्लभ हुनुहुन्न ।

इन्द्रबहादुर राई दिवंगत भएको वर्ष दिन हुन लाग्यो । एक्लै छु म ।

प्रस्तुति : रमण घिमिरे

प्रकाशित: आश्विन २५, २०७५

ट्याग: सस्मरण