जय नेपाल दाजु

- नेपाल संवाददाता

‘जय नेपाल दाजु !’

भन्नै पर्दैन, यो कुन राजनीतिक दलको अभिवादन शैली हो ? एउटा कालखण्डमा सिंगो राजनीतिक दर्शन लुकेको थियो यसमा । देशप्रेम र समानताको दर्शनको सहजै अनुभूति गर्न सकिन्थ्यो । ‘जय नेपाल दाजु’ ले युवाहरूलाई उन्मादित गराएको पनि थियो । सामाजिक सम्बन्धमा पनि यसको व्यापक प्रभाव परेको थियो । कतिसम्म भने यस्ता युवायुवतीले जय नेपालइतर बिहेवारीसमेत नगर्ने चलन चलाएका थिए । कदाचित इतरसँग बिहे भइहाले पनि जय नेपालको कोरस यिनीहरू गाउँथे– बरियातीमा । दाजु शब्दले पनि अत्यधिक मान्यता पायो बिस्तारै । मैथिली, भोजपुरी, अवधी आदि भाषाभाषीको घरमा पनि ‘दाजु’ शब्द भित्रियो ।

‘जय नेपाल’ शब्दको सम्बोधनबाट गौरवान्वित हुने ती युवा जमात कता हराए ? सहरबजारमा छ्यापछ्याप्ती देखिने युवाको हूल आज देखिन्न । जे जति देखिन्छन्, उनीहरूको ‘जय नेपाल’ को सम्बोधन मधुरो भएको छ । लुप्त हुँदै गएको छ । किन हराएको होला, त्यो ओज ! के त्यो दलले सार्थक समीक्षा गर्नुपर्दैन ?

निश्चित रूपमा ००७ को परिवर्तनमा नेपाली कांग्रेसको ठूलो भूमिका थियो । यो दलले बीपी कोइरालाजस्ता महान् व्यक्तित्वको नेतृत्व पनि पायो । यी दुइटा ऐतिहासिक सत्यलाई कसैले नकार्न सक्दैन । नकारेको पनि छैन । कांग्रेसका लागि यो ठूलो पुँजी हो । त्यसैले होला, मञ्चैपिच्छे कांग्रेस नेता आफ्नो भाषणको प्रारम्भ ००७ बाट गर्छन् र ‘बीपी यसो भन्नुहुन्थ्यो’ बाट अन्त्य गर्छन् । प्रश्न उठ्छ, कहिलेसम्म इतिहासको पुँजी भजाइराख्ने ? देशमा कति नयाँ पुस्ता आइसक्यो । र, नेताहरूचाहिँ पुरानै गीत गाइराख्ने ? राजनीतिको दशा बदलियो, दिशा बदलियो, चिन्ता बदलियो र चासो बदलियो । परिवेश फेरिए, चुनौती थपिए । तर, राग दरबारी उही पुरानो ।

कांग्रेसको विधान संशोधनको विषय अहिले चर्चामा छ । राम्रै कुरा छ, विधानमा समयसापेक्ष परिवर्तन हुनैपर्छ । तर, देशको संविधान या कुनै पार्टीको विधानलाई लागू कसले गर्ने ? नीतिभन्दा नेताप्रधान रहेको दलका लागि यो अहं सवाल हो । बीपी, जीपीदेखि लिएर देउवासम्म आइपुग्दा यसले नेताप्रधान पार्टीका रूपमा नै आफ्नो पहिचान स्थापित गरेको छ । कांग्रेसका विद्वान् व्यक्तित्व प्रदीप गिरिले एउटा रोचक तर गम्भीर संस्मरण राखेका छन् सार्वजनिक रूपमै– ‘समावेशीको प्रश्न उठाउँदा देउवाजीले भन्नुभो– यदि यी कुरा लेखेर म सभापति हुन्छु भने लेख, मलाई आपत्ति छैन ।’ यो हो नेताको मनोविज्ञान । यस्तो परिस्थितिमा पार्टी विधानबाट चल्ने हो कि नेताको मनोविज्ञानबाट ? यो प्रश्न सबै पार्टी र सबै नेताको सन्दर्भमा उत्तिकै सान्दर्भिक छ । कांग्रेसको हविगतमा अन्य पार्टीहरू पुग्ने छैनन् भन्ने ठोकुवा कसले गर्न सक्छ ? तसर्थ, अन्य दलले पनि कांग्रेसबाट शिक्षा लिनैपर्छ । र, कांग्रेसले पुनर्जीवनका लागि समयमै सशक्त प्रयास गर्नैपर्छ ।

कांग्रेसका नेताहरूको सामन्ती शैली सुरुदेखि नै आलोचित छ । यसबाट अन्य दलका नेताहरू पनि संक्रमित हुँदै गएका छन् । अब यो शैली र मनोवृत्तिमा परिवर्तन ल्याउने जिम्मेवारी नेताहरूकै हो । प्रदेश, पालिका र वडास्तरसम्म संगठन विस्तार गर्नु आवश्यक छ । कार्यकर्तालाई कार्यविहीन छाड्नु हुँदैन भन्ने मुख्य सिद्धान्त हो । तर, के पार्टीले यस्तो कार्यक्रम ल्याउन सकेको छ ? कांग्रेस सत्तामा हुँदा कार्यकर्ताको मूल्यांकन नभएको व्यापक गुनासो सुनिन्छ । सत्तामा नभएका बेला यसबारे चिन्तन गर्नुपर्ने र सोही अनुरूप संयन्त्र निर्माण गर्नुपर्ने अवस्था छ ।

मधेस सुरुदेखि नै कांग्रेसको ठूलो भोट–बैंक रहिआएको छ । भारतको स्वतन्त्रता संग्राम, गान्धी, लोहिया, जयप्रकाश नारायण आदिबाट मधेसका वासिन्दा एकाकार भए । कांग्रेसका पुराना नेताहरूले त्यहाँको आन्दोलनमा सहभागिता मात्रै जनाएनन्, गान्धीका आदर्श पनि बोके र कतिपयसँग मित्रता गाँसे । तर, कालक्रममा मधेसी नेताहरू कांग्रेसभित्रै उपेक्षित अनुभव गर्दै त्यो पार्टीबाट बहिर्गमनको बाटो समात्दै मधेस आन्दोलनमा होमिए । यो कांग्रेसका लागि गम्भीर विषय हो । र, आफूलाई सच्याउनुपर्ने पाटो पनि हो ।

आफूलाई लोकतन्त्रको सच्चा सिपाही प्रमाणित गर्न सर्वप्रथम पार्टीभित्र लोकतन्त्रीकरण आवश्यक छ । समावेशी सिद्धान्तलाई पुष्ट्याइँ गर्न सर्वप्रथम दलभित्र इमानदारी अपनाउनुपर्ने देखिन्छ । पारदर्शिता र जवाफदेहीको कुरो उठाउन सर्वप्रथम पार्टीभित्र यो विषय प्रवेश गराउनुपर्ने देखिन्छ । कांग्रेस नेपालको सबैभन्दा पुरानो जीवित पार्टी हो । यसले आफूलाई समयसापेक्ष बनाउनुपर्छ । अनि, मात्रै पार्टीभित्रको युवा वर्गले पुन: सगौरव भन्न सक्ला– ‘जय नेपाल दाजु ।’

प्रकाशित: आश्विन २५, २०७५

ट्याग: विचार