गणेश रसिक भन्छन्– ‘देशमा नअडिने शिक्षा के काम ?’

- मनबहादुर बस्नेत

अहिले गुमनाम तर पञ्चायकालको सुनाम सांगीतिक समूह हो, लेकालीलेकालीका एक सदस्य गणेश रसिक, ७२, गीत/संगीतमार्फत शिक्षामा टेवा पुर्‍याउन लागिपरेका छन् । गर (गणेश रसिक) फाउन्डेसन खोलेर रसिकले २४ असोजमा काठमाडौँको राष्ट्रिय नाचघरमा नयाँ गायक साजन राईको एकल साँझ प्रस्तुत गर्दैछन् । फाउन्डेसनको पहिलो प्रस्तुतिबाट आर्जित रकम एउटा सामुदायिक विद्यालयलाई दिने उनको योजना छ । यही सेरोफेरोमा रसिकसँग कुराकानी : 

फाउन्डेसन किन चाहिएको हो ?

मुख्य उद्देश्य शिक्षामा सहयोग पुर्‍याउनु हो । त्यसका लागि भोजपुरको एउटा प्राथमिक विद्यालय छानिएको छ । त्यसपछि बिस्तारै कला, साहित्य, संगीत, संस्कृति, भाषामा काम गर्ने योजना छ । यो सांगीतिक कार्यक्रमबाट उठेको रकम शैक्षिक उन्नतिमा खर्चिनेछौँ ।

शिक्षालाई प्राथमिकता दिनुको कारण ?

मैले जन्मथलो भोजपुरको छिनामखुमा ७ रोपनी जग्गा दिएर २५ वर्षअघि एउटा विद्यालय खोलेँ । अहिले त्यो सरकारी विद्यालय छ । मेरा बाउबाजेको शिक्षामा ठूलो चाख थियो । त्यो चाख ममा पनि सर्‍यो । मानसिक चेतना विकास गर्न शिक्षाको ठूलो भूमिका हुन्छ । चेतनास्तर उकासिएपछि अन्य विकास स्वत: हुने ठानेर यस्तो रहर पलाएको हो ।

यसका लागि फाउन्डेसन नै खोल्नु आवश्यक थियो ?

यसअघि पनि मैले साथीहरुसँग मिलेर केही सामाजिक संस्थामा काम गरेँ । तर, त्यसबाट सामाजिक सेवा सोचेजस्तो भएन । पैसा आएपछि झगडा हुने रहेछ । सोही कारण एकल संस्था खोलेको हुँ ।

सरकारी स्कुलतिरै किन तानिनुभएको ?

मेरी नातिनी काठमाडौँको बोर्डिङ स्कुलमा ७ कक्षामा पढ्छिन् । मेराबारेमा लेख्न लगायो भने अंग्रेजीमा जति पनि लेख्न सक्छिन् । तर, नेपालीमा एक अक्षर सर्दैन । उनी भोलि विदेश पुग्ने निश्चित छ । यस्तो छ हाम्रो बोर्डिङ स्कुलको पढाइ । देशमा नअडिने शिक्षा के काम ?

तपाईंले परिकल्पना गर्नुभएको विद्यालय कस्तो हो ?

मेरो जन्मथलोमा एक घन्टा हिँडेर स्कुल पुग्नुपर्छ । बिहान ८/९ बजे खाएको खानाले बेलुका ५ बजेसम्म थाम्नुपर्छ । दिनभर भोकै । छात्रावास, खाजाको व्यवस्था भएको स्कुल । व्यावसायिक, कम्प्युटर पढाइ हुने विद्यालयमा विद्यार्थीले काम गर्दै सिकून् । माटोलाई माया गरुन् । यस्तो छ, सपना ।

तपाईं पहिले राजनीतिमा पनि लाग्नुभयो फाउन्डेसनमार्फत फेरि त्यतै छिर्ने रहर होइन ?

मसँगै गीत–संगीतमा लागेका साथीहरु पार्टीतिर लागे । राजनीति गर्न किन फाउन्डेसन चाहियो ? आत्मसन्तुष्टिका लागि सामाजिक काम गर्ने हो ।

लामो समय नयाँ गीत गाउनुभएको छैन किन ?

संगीत प्रतिष्ठानमा नियुक्ति भयो । अन्य काममा पनि लागेँ । गीत नगाएको ७/८ वर्ष भएछ । प्रतिष्ठानबाट बिदा लिनासाथै गीत रेकर्डिङ गराउन थालेको छु । चाँडै आफ्नो एकल सांगीतिक प्रस्तुति दिने योजना छ । यसबाट आएको रकम विद्यालयलाई हुनेछ ।

छरपस्ट लेकाली समूहलाई फाउन्डेसनले जोड्ला ?

लेकाली अब औलाली (बेसीमा बस्ने) भयो । कार्यक्रम गरेर भेट्ने साइतसम्म फाउन्डेसनले जुराइदेला । सांगीतिक सहकार्य गाह्रो छ । लेकालीको शैली नै हराइसक्यो ।

प्रकाशित: आश्विन २५, २०७५

ट्याग: अचानक